ग्रोथ हर्मोनको कमीमाथि मेसीको त्यो विजय

ग्रोथ हर्मोनको कमीमाथि मेसीको त्यो विजय
सुन्नुहोस्

ब्युनस आयर्स : विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये गनिने अर्जेन्टिनाका कप्तान लियोनल मेसीको बाल्यकाल निकै चुनौतीले भरिएको थियो। सानै उमेरमा उनलाई ग्रोथ हर्मोन डेफिसियन्सी अर्थात् शरीरमा पर्याप्त मात्रामा वृद्धि हर्मोन उत्पादन नहुने रोग लागेको थियो। यो अवस्थाले बालबालिकाको शारीरिक वृद्धि सुस्त बनाउने भएकाले मेसीको उचाइ पनि उमेर अनुसार बढ्न सकेको थिएन। 

समयमै उपचार नपाएको भए उनको शारीरिक विकास र फुटबल करियर दुवै प्रभावित हुन्थ्यो। समयमै उपचार भएकै कारण मेसीले यो सफलता 
हासिल गरेका हुन्। चिकित्सकहरूका अनुसार ग्रोथ हर्मोन डेफिसियन्सीको उपचार समयमै गर्न सके अधिकांश बालबालिकाले राम्रो शारीरिक वृद्धि हासिल गर्न सक्छन्। त्यसैको उदाहरण मेसी बनेका छन्।

मेसीको जन्म २४ जुन १९८७ मा अर्जेन्टिनाको रोजारियोमा भएको थियो। उनले पाँच वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेका थिए। स्थानीय क्लब न्युवेल्स ओल्ड ब्वाइजबाट खेल्दै गर्दा उनले असाधारण प्रतिभा देखाउन थालेका थिए। तर, १०–११ वर्षको उमेरमा उनका साथीहरूको तुलनामा उचाइ र शारीरिक विकास कम भएपछि परिवारले चिकित्सकसँग परामर्श गरेका थिए। विभिन्न परीक्षणपछि उनी ग्रोथ हर्मोन डेफिसियन्सीबाट पीडित रहेको पुष्टि भएको थियो।

चिकित्सकहरूले मेसीलाई नियमित रूपमा कृत्रिम ग्रोथ हर्मोनको इन्जेक्सन आवश्यक पर्ने बताएका थिए। यो उपचार लामो समयसम्म निरन्तर गर्नुपर्ने भएकाले त्यसबेला यसको खर्च मेसीको परिवारका लागि निकै ठूलो आर्थिक भार बनेको थियो। विभिन्न स्रोतका अनुसार उपचारको मासिक खर्च सयौं अमेरिकी डलरसम्म पुग्थ्यो, जुन उनको परिवारका लागि धान्न कठिन थियो।

आर्थिक कठिनाइका कारण अर्जेन्टिनामै उपचारलाई निरन्तरता दिन समस्या भएपछि मेसीको प्रतिभाले नयाँ मोड लियो। सन् २००० मा स्पेनको प्रतिष्ठित क्लब बार्सिलोनाका स्काउटहरूले उनको खेल देखेपछि उनलाई क्लबको युवा एकेडेमी ‘ला मासिया’मा आबद्ध गराउने निर्णय गरेका थिए। फुटबल प्रशिक्षणसँगै उनको पनि उपचार गर्ने सहमतिपछि मेसीको परिवार स्पेनको बार्सिलोना सरेका थिए।

बार्सिलोनामा पुगेपछि क्लबले मेसीको उपचारको जिम्मेवारी लियो। स्पेनका पेडियाट्रिक एन्डोक्राइनोलोजी विशेषज्ञहरूको निगरानीमा उनको उपचार सुरु भयो। उपचारको मुख्य आधार दैनिक वा नियमित अन्तरालमा दिइने रिकम्बिनेन्ट ह्युमन ग्रोथ हर्मोनको इन्जेक्सन थियो। चिकित्सकहरूले मेसीको उमेर, तौल, शारीरिक विकास र हर्मोनको स्तरलाई नियमित रूपमा परीक्षण गर्दै उपचार गर्दै आएका थिए। 

उपचारसँगै उनलाई सन्तुलित आहार, पर्याप्त आराम, नियमित स्वास्थ्य परीक्षण र व्यावसायिक फुटबल प्रशिक्षण पनि प्रदान गरिएको थियो। हर्मोन उपचारले शरीरको वृद्धि प्रक्रियालाई सक्रिय बनाउन मद्दत गर्‍यो भने पोषण र अभ्यासले उनको समग्र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्‍यो। केही वर्षसम्म निरन्तर उपचार गरेपछि उनको उचाइ उल्लेखनीय रूपमा बढ्यो र उनी करिब १.७० मिटर (५ फिट ७ इन्च) उचाइसम्म पुग्न सफल भए। 

विशेषज्ञहरूका अनुसार ग्रोथ हर्मोन डेफिसियन्सी भएका सबै बालबालिकाको उचाइ अत्यन्तै कम हुन्छ भन्ने हुँदैन। रोगको गम्भीरता, उपचार सुरु गरिएको उमेर, उपचारको निरन्तरता तथा आनुवंशिक कारणले अन्तिम उचाइ निर्धारण हुने उनीहरूको विश्लेषण छ। त्यसैले मेसीको अहिलेको उचाइ उनको रोगकै कारण मात्र नभई उपचार र आनुवंशिक विशेषतासँग पनि सम्बन्धित मानिन्छ।

शारीरिक रूपमा अन्य धेरै फुटबलरभन्दा होचा भए पनि मेसीले त्यसलाई कमजोरी बन्न दिएनन्। तीव्र गतिमा दिशा परिवर्तन गर्ने क्षमता, उत्कृष्ट बल नियन्त्रण र असाधारण खेल दृष्टिले उनलाई विश्वकै उत्कृष्ट खेलाडीको श्रेणीमा उभ्याएको छ। बार्सिलोनाबाट सुरु भएको उनको व्यावसायिक यात्रा अर्जेन्टिनाको राष्ट्रिय टोली, पेरिस सेन्ट–जर्मेन र इन्टर मायामीसम्म विस्तार भएको छ। उनले फिफा विश्वकप, कोपा अमेरिका, यूईएफए च्याम्पियन्स लिग, बालोन डी’ओरलगायतका प्रतिष्ठित उपाधि जितेर इतिहास रचेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.