पाकिस्तानी प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच फोनवार्ता
इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग शुक्रबार फोनवार्ता गर्दै क्षेत्रीय शान्तिका लागि कूटनीति र संवाद अनिवार्य रहेको उल्लेख गरे।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत उक्त संवादबारे जानकारी दिए । शनिबार मध्यरातमा एक पोस्ट गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लेखेका छन्, 'आज मैले मेरा भाइ एवं इरानका राष्ट्रपति डा. मसूद पेजेस्कियानसँग कुराकानी गरेँ। हामीले क्षेत्रको बदलिँदो परिस्थितिबारे चर्चा गर्दै पछिल्ला महिनाहरूमा कायम भएको शान्तिलाई जोगाउन संयम, संवाद र कूटनीति नै उत्तम विकल्प भएको कुरामा जोड दियौँ।'
प्रधानमन्त्री सरिफले क्षेत्रमा स्थायी शान्ति स्थापनाका लागि पाकिस्तानले एक इमानदार र सच्चा मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको समेत दोहोर्याए। साथै, इरानी राष्ट्रपतिको हालैको इस्लामावाद भ्रमणका क्रममा तय भएका द्विपक्षीय सहयोगका एजेन्डाहरूलाई अगाडि बढाउने विषयमा पनि दुई नेताबीच सहमति भएको छ।
अमेरिका र इरानबीचको तनाव कम गर्न, शान्ति स्थापना गर्न तथा सम्भावित युद्धको जोखिमलाई पूर्ण रूपमा टार्नका लागि पाकिस्तानले पछिल्लो समय मध्यस्थकर्ताको रूपमा सक्रिय भूमिका खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस !