एआईको परिभाषामा ‘सिर्जनशीलता’

एआईको परिभाषामा ‘सिर्जनशीलता’
सुन्नुहोस्

आजको डिजिटल युगमा कसैको ध्यान लामो समयसम्म तान्नु अत्यन्तै कठिन काम हो। एक सामान्य मोबाइल प्रयोगकर्ताले कुनै पनि रिल, भिडियो वा विज्ञापनलाई औसतमा २.५ सेकेन्डमै स्क्रोल गरेर छोड्छ। आजको एआई (एआई)को जमानामा यदि कुनै सर्जकले त्यति नै समयमा दसवटा प्रभावकारी विज्ञापन क्याम्पेनका अवधारणाहरू तयार गर्न सक्छ भने— त्यो केवल प्रतिस्पर्धात्मक लाभ मात्र होइन, एक क्रान्तिकारी परिवर्तन नै हो भन्न सकिन्छ। 

केही वर्षअघिकै कुरा गर्ने हो भने पनि विज्ञापन निर्माण प्रक्रिया परम्परागत नै थियो– बैठक कोठामा सीमित, ब्रेनस्टर्मिङ, अनुभव र सहज अनुमानमा आधारित। विचार तथा कन्सेप्टहरू बिस्तारै–बिस्तारै फुर्थे र निर्णय प्रक्रियाले केही समय लिन्थ्यो। तर, समयसँगै आज त्यो प्रक्रिया पूर्णरूपमा भत्किएको छ।

आर्टिफिसियल इन्टेलिजेन्सको उदयसँगै विज्ञापन उद्योगमा तीव्र परिवर्तन आएको छ। विज्ञापन सर्जकहरूले छोटो समयमै धेरै विज्ञापन क्याम्पेनहरू बनाउन थालेका छन्। डिजाइन, कपी (सन्देश) र रणनीति— सबै क्षेत्रको गति अभूतपूर्व रूपमा बढेको छ। तर, यस परिवर्तनबीच एउटा आधारभूत सत्य यथावत् नै छ। 

च्याटजीपीटी, जेमिनाइ, क्यानभा र एआई जेनेरेटिभ भिडियो प्लाटफर्मजस्ता चर्चित एआई एपहरूको पहुँच सहज भए तापनि उत्कृष्ट विज्ञापन सिर्जना एआईले गर्दैन; एआईको मद्दतले मानिसले नै गर्छन्। एआईले सम्भावना वा विकल्पहरू दिन्छ तर अर्थपूर्ण र प्रभावकारी कन्सेप्ट तथा डिजाइन छनोट गर्ने जिम्मेवारी सर्जककै हुन्छ।

यही सन्दर्भमा ‘प्रम्प्टिङ’ (सोध्ने कला) नयाँ सिर्जनात्मक सीपको रूपमा उदाएको छ। स्पष्ट, सुसंगत र रणनीतिक रूपमा तयार गरिएको प्रम्प्टले मात्र गुणस्तरीय परिणाम दिन सक्छ। कस्ता शब्द चयन गर्ने तथा कसरी प्रश्न सोध्ने भन्ने कुराले एकदमै माने राख्दछ। यसैले परम्परागत ‘क्रिएटिभ ब्रिफ’ क्रमशः ‘स्मार्ट प्रम्प्ट’मा रूपान्तरण हुँदै छ। यस नयाँ सिर्जनात्मक युगमा अन्तिम प्रतिस्पर्धात्मक लाभ सबैभन्दा महँगो उपकरण भएको व्यक्तिलाई होइन, सबैभन्दा शक्तिशाली प्रश्न सोध्ने व्यक्तिलाई हुन्छ।

आजका उपभोक्ताहरू सामाजिक सञ्जालमा आउने सामग्रीहरूको बाढीमा डुबेका छन्। सामाजिक सञ्जालमा आउने छोटो भिडियो र निरन्तरका सूचनाले मानिसको ध्यान दिने समय घटाइरहेको छ। यस्तो अवस्थामा, कमजोर सन्देशहरू तुरुन्तै मानसपटलबाट हराउँछन्। एआईले विज्ञापन सन्देश बनाउने गति बढाए पनि यदि सोच स्पष्ट छैन भने यसले औसत विज्ञापन सन्देशलाई अझै छिटो गतिमा फैलाउँछ। एआईको प्रयोग त भइरहेको छ तर धेरै संस्थाहरू वा ब्रान्डहरूको विज्ञापन सोचेजस्तो प्रभावकारी हुन सकेको छैन। हामीमा स्पष्ट नीति, ब्रान्डको गहिरो बुझाइ र गुणस्तर नियन्त्रणको अभाव टड्कारो देखिन्छ।

अर्को महत्वपूर्ण प्रश्न विश्वासको हो। एआई प्रणालीहरू शक्तिशाली भए पनि सधैं विश्वसनीय हुँदैनन्। गलत जानकारीलाई विश्वस्त रूपमा प्रस्तुत गर्न सक्ने क्षमता, प्रतिस्पर्धीको शैली नक्कल गर्ने प्रवृत्ति र सतही आकर्षण— यी सबै जोखिमहरू हुन्। विशेषगरी विश्वास नै प्रमुख आधार रहेको बैंकिङ, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा यस्तो त्रुटि भएमा सबैलाई महँगो पर्न सक्छ। नेपालमा एआईसम्बन्धी छुट्टै कानुनी व्यवस्था नभए पनि विद्यमान कानुनहरू लागू हुन्छन्। प्रतिलिपि अधिकार ऐन २०५९, उपभोक्ता संरक्षण ऐन २०७५ र गोपनीयता ऐन २०७५ ले सामग्रीको उत्तरदायित्व स्पष्ट रूपमा निर्धारण गर्छन्। एआईद्वारा सिर्जित सामग्रीमा त्रुटि भएमा जिम्मेवारी अन्ततः प्रकाशन गर्ने संस्थाकै हुन्छ। यस सन्दर्भमा सोच्ने संस्थाहरूले एआई प्रयोगका स्पष्ट मापदण्ड तय गरिरहेका छन्।

मानव अनुमोदन प्रणाली, सामग्री परीक्षण र प्रम्प्ट व्यवस्थापनजस्ता प्रक्रियाहरू लागू गरिरहेका छन्। यद्यपि, एउटा कुरा स्पष्ट छ— एआईले मानवीय भावना प्रतिस्थापन गर्न सक्दैन। उत्कृष्ट विज्ञापन तथा सिर्जनाहरू तथ्यभन्दा बढी भावनामा आधारित हुन्छन्। तिनीहरूले दर्शकसँग सम्बन्ध बनाउँछन्, संस्कृति प्रतिबिम्बित गर्छन् र दीर्घकालीन प्रभाव छोड्छन्। यही पक्ष एआईका लागि अझै चुनौतीपूर्ण छ।

भविष्यको विज्ञापन उद्योग ‘मानव र मेसिन’को सहकार्यमा आधारित हुनेछ। एआईले गति, दक्षता र विस्तार दिन्छ भने मानिसले अर्थ, संवेदना र निर्णय दिन्छ। सफल सर्जक ती हुनेछन्, जसले यी दुईबीच सन्तुलन कायम गर्न सक्छन्। नेपालका लागि यो परिवर्तन एउटा अवसर पनि हो। सही दृष्टिकोण र प्रणालीसहित एआई अपनाउन सके देशले प्रत्यक्ष रूपमा फाइदा लिन सक्छ। विद्यालय तहबाटै एआई शिक्षा दिने हो भने हरेक नेपालीले यसको लाभ लिन सक्नेछन्। एआईको मद्दतले सस्तो, छिटो र भरपर्दो सिर्जना तथा उत्तर वा समाधान खोज्न सकिने हुनाले सबै क्षेत्रले राम्रै फाइदा लिन सक्छन्।

समय साँच्चिकै बलवान् छ, समयअनुसार चल्न नसके सकिने निश्चित छ। राजनीतिमा ‘सच्चिने कि सकिने’ भन्ने चर्चित भनाइ हरेक क्षेत्रमा उत्तिकै लागू हुन्छ। अन्ततः एआईले हामीलाई प्रतिस्थापन गर्ने होइन, बरु एआईलाई प्रभावकारी रूपमा प्रयोग गर्न जान्नेले अरूलाई भने अवश्य पछि पार्नेछ र सबैभन्दा ठूलो प्रतिस्पर्धात्मक शक्तिको रूपमा आफूलाई उभ्याउन सक्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.