स्वामी अवधेशानन्द गिरिको नेपाल यात्रा सभ्यतागत संवादको अवसर
‘सही ज्ञान सूचना मात्र होइन, रूपान्तरण हो।’ यो विचार हिन्दू धर्मको सबैभन्दा ठूलो सन्यासी परम्परामध्ये एक-जूना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिजी महाराजको हो। यो वाक्यले उनको सम्पूर्ण आध्यात्मिक दृष्टिकोणलाई संक्षेपमा व्यक्त गर्छ। उनका लागि ज्ञान पुस्तकमा सीमित सूचना होइन, व्यक्तित्व, समाज र सभ्यतालाई रूपान्तरण गर्ने चेतना हो।
हजारौँ सन्यासीका मार्गदर्शक, लाखौँ श्रद्धालुका प्रेरणास्रोत तथा अन्तर्राष्ट्रिय रूपमा सम्मानित आध्यात्मिक व्यक्तित्व स्वामी अवधेशानन्द गिरि असार ५, ६ र ७ गते तीन दिने धार्मिक तथा सांस्कृतिक यात्राका क्रममा नेपाल आउँदै छन्। झट्ट हेर्दा यो एउटा धार्मिक भ्रमण जस्तो देखिए पनि यसको महत्व त्यसभन्दा धेरै व्यापक छ। यो भ्रमणले नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्ध, सनातन सभ्यताको साझा विरासत, अन्तरधार्मिक संवाद तथा नेपालको आध्यात्मिक पहिचानबारे नयाँ विमर्शको ढोका खोल्न सक्छ।
को हुन् स्वामी अवधेशानन्द गिरि ?
दशकौँदेखि उनले आध्यात्मिक जागरण, नैतिक मूल्य, सामाजिक सद्भाव, पर्यावरणीय चेतना तथा मानव कल्याणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनका प्रवचनहरू भारत, नेपाल, अमेरिका, युरोप, अफ्रिका र एसियाका विभिन्न मुलुकहरूमा लाखौँ मानिसले सुन्ने गरेका छन्।
सन् २००८ मा उनलाई प्रदान गरिएको ‘हिन्दू पुनर्जागरण पुरस्कार’ उनको व्यक्तिगत सम्मान मात्र नभई आधुनिक विश्वमा सनातन दर्शनलाई नयाँ पुस्तासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको योगदानको मान्यता पनि हो। हिन्दू सन्यास परम्परामा ‘आचार्य महामण्डलेश्वर’ अत्यन्त प्रतिष्ठित पद हो। यो पद प्रशासनिक नेतृत्वभन्दा धेरै माथिको अवधारणा हो। यसले शास्त्रीय ज्ञान, तपस्या, आध्यात्मिक अधिकार, चरित्र, अनुशासन र समाजप्रतिको उत्तरदायित्वलाई प्रतिनिधित्व गर्छ।
‘आचार्य’ ले ज्ञान प्रदान गर्ने गुरुको भूमिका जनाउँछ भने ‘महामण्डलेश्वर’ ले विशाल आध्यात्मिक समुदायको नेतृत्व गर्ने व्यक्तिलाई संकेत गर्छ। त्यसैले आचार्य महामण्डलेश्वर कुनै संस्थाको प्रमुख मात्र होइनन्, सम्पूर्ण परम्पराको वैचारिक र आध्यात्मिक दिशानिर्देशक पनि हुन्। आज धार्मिक नेतृत्वलाई प्रायः कर्मकाण्ड वा संस्थागत व्यवस्थापनमा सीमित रूपमा बुझ्ने प्रवृत्ति बढिरहँदा, आचार्य महामण्डलेश्वरको भूमिका सभ्यता, संस्कृति र मूल्यहरूको संरक्षणसँग जोडिएको देखिन्छ।
जूना अखाडा : सन्यास परम्पराको सबैभन्दा प्रभावशाली केन्द्र
जूना अखाडा हिन्दू धर्मका १३ प्रमुख अखाडामध्ये सबैभन्दा ठूलो र प्रभावशाली अखाडा मानिन्छ। यसको सम्बन्ध आदिशंकराचार्यद्वारा पुनर्संरचित दशनामी सन्यास परम्परासँग जोडिन्छ। यो संस्था वेदान्त, योग, तपस्या, धर्मरक्षा र सन्यास जीवनको प्रमुख केन्द्रका रूपमा परिचित छ।
विशेषतः नागा साधुहरूको सबैभन्दा ठूलो संगठनका रूपमा जूना अखाडाको विशिष्ट स्थान छ। स्वामी अवधेशानन्द गिरिले करिब १० लाख नागा साधुहरूलाई सन्यास दीक्षा प्रदान गरिसकेका छन्। यो संख्या सन्यास परम्पराप्रतिको आकर्षण र विश्वासको सूचक पनि हो। हरेक १२ वर्षमा आयोजना हुने महाकुम्भ तथा कुम्भमेलामा जूना अखाडालाई शाही स्नानमा पहिलो प्रवेशको अधिकार प्राप्त छ। लाखौँ श्रद्धालुको उपस्थितिमा सम्पन्न हुने शाही स्नान केवल धार्मिक अनुष्ठान मात्र होइन, हिन्दू सभ्यताको ऐतिहासिक निरन्तरता, संगठन शक्ति र सांस्कृतिक आत्मविश्वासको सार्वजनिक अभिव्यक्ति पनि हो।
विश्वमञ्चमा सनातन दर्शनका प्रतिनिधि
स्वामी अवधेशानन्द गिरिको प्रभाव धार्मिक मञ्चमा मात्र सीमित छैन। उनी हिन्दू धर्म आचार्य सभाका अध्यक्ष हुन् भने विश्व धार्मिक नेतृत्वसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संस्थामा पनि आबद्ध छन्। उनले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विभिन्न मञ्चहरूमा विश्वशान्ति, सहअस्तित्व, पर्यावरण संरक्षण, नैतिक मूल्य तथा आध्यात्मिकताको विषयमा आफ्ना विचार प्रस्तुत गरिसकेका छन्।
विश्व धर्म महासभा लगायतका अन्तरधार्मिक सम्मेलनहरूमा उनले हिन्दू धर्मको प्रतिनिधित्व गर्दै धार्मिक सहिष्णुता, संवाद र पारस्परिक सम्मानको सन्देश दिएका छन्। यसको विशेष महत्व के हो भने उनले सनातन दर्शनलाई केवल आस्थाको विषयका रूपमा होइन, आधुनिक मानवताले सामना गरिरहेका मानसिक तनाव, हिंसा, पर्यावरणीय संकट र नैतिक विचलनका प्रश्नसँग जोडेर व्याख्या गर्ने गरेका छन्।
सनातन सम्मेलन : तीन परम्पराबीच संवादको नयाँ अध्याय
असार ६ गते विराटनगरमा आयोजना हुने सनातन सम्मेलन स्वामी अवधेशानन्द गिरिको भ्रमणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम हो। सम्मेलनमा हिन्दू धर्मका प्रतिनिधिका रूपमा स्वामी अवधेशानन्द गिरि, किराँत परम्पराका प्रतिष्ठित धर्मगुरु मुहिगंमु अंसिमाङ आत्मानन्द लिङ्देन सेइङ तथा बौद्ध धर्मका प्रतिनिधि फुपु छेम्बे शेर्पा थुप्तेन जिग्दोल सहभागी हुनेछन्।
नेपालमा हिन्दू, बौद्ध र किराँतलाई प्रायः अलग–अलग धार्मिक पहिचानका रूपमा प्रस्तुत गरिन्छ। तर इतिहास, भूगोल, संस्कृति, दर्शन र जीवनपद्धतिको दृष्टिले हेर्दा यी परम्पराहरूबीच गहिरो अन्तर्सम्बन्ध रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन।
प्रकृतिप्रतिको सम्मान, धर्मप्रतिको आस्था, कर्मको सिद्धान्त, नैतिक जीवन, आध्यात्मिक उन्नति र सत्यको खोजी जस्ता आधारभूत मूल्यहरूमा यी परम्पराहरू उल्लेखनीय रूपमा नजिक देखिन्छन्। यस दृष्टिले हेर्दा विराटनगरको सम्मेलन केवल धार्मिक कार्यक्रम होइन। यो नेपालको मौलिक सभ्यतागत संरचनालाई नयाँ कोणबाट बुझ्ने प्रयास पनि हो। यसले ‘पहिचानको राजनीति’ भन्दा माथि उठेर ‘सभ्यताको साझा आधार’ को बहसलाई बल दिन सक्छ।
प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण तथा राज्यका महत्वपूर्ण कार्यक्रमहरूमा हिन्दू, बौद्ध र किराँत संस्कृतिका प्रतीकहरूको संयुक्त उपस्थिति देखिँदै आएको छ। यसले नेपालको मौलिक सभ्यताको बहुआयामिक स्वरूपलाई प्रतिबिम्बित गर्छ। विराटनगरको सनातन सम्मेलनलाई यही सांस्कृतिक एकताको सन्देशलाई संस्थागत रूप दिने प्रयास पनि हो।
पशुपतिनाथदेखि कुमारीसम्म : नेपालको आध्यात्मिक विशिष्टताको सन्देश
असार ७ गते स्वामी अवधेशानन्द गिरिले पशुपतिनाथको दर्शनपछि वसन्तपुरमा जीवित देवी कुमारीको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ। यो कार्यक्रम विशेष महत्वको छ। किनभने कुमारी परम्परा संसारका अन्य कुनै पनि देशमा यति विकसित र संस्थागत स्वरूपमा पाइँदैन। शताब्दीयौँदेखि जीवित रहेको यो परम्परा नेपालको अद्वितीय धार्मिक–सांस्कृतिक सम्पदा हो।
नेपालमा आउने अधिकांश हिन्दू तीर्थयात्रीहरूको ध्यान पशुपतिनाथ, मुक्तिनाथ वा जनकपुरमा केन्द्रित हुने गरेको छ। तर यदि अन्तर्राष्ट्रिय स्तरका प्रभावशाली धार्मिक नेतृत्वहरूले कुमारी परम्पराको महत्वलाई विश्वसमक्ष प्रस्तुत गर्न थाले भने यो नेपालको धार्मिक पर्यटनका लागि नयाँ सम्भावना बन्न सक्छ। यसले नेपालको सांस्कृतिक कूटनीति, धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय पहिचानलाई समेत सकारात्मक प्रभाव पार्न सक्छ।
प्रबुद्ध नागरिक गोष्ठी : धर्म र आधुनिकताबीचको संवाद
असार ५ गते काठमाडौंको कमलादीमा हिन्दू स्वयंसेवक संघ नेपालको आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठी पनि उत्तिकै महत्वपूर्ण छ। यसमा शिक्षाविद्, नीति निर्माता, सञ्चारकर्मी, बौद्धिक समुदाय, युवा तथा सामाजिक नेतृत्वको सहभागिता रहने अपेक्षा गरिएको छ।
आजको विश्व कृत्रिम बुद्धिमत्ता, डिजिटल क्रान्ति, सामाजिक ध्रुवीकरण, सांस्कृतिक संक्रमण, मानसिक तनाव र नैतिक चुनौतीहरूको बीचबाट गुज्रिरहेको छ। यस्ता प्रश्नहरूको समाधान केवल प्रविधिले दिन सक्छ कि सक्दैन भन्ने बहस विश्वभर चलिरहेको छ।
यही सन्दर्भमा स्वामी अवधेशानन्दको विशेषता के छ भने उनले धर्मलाई कर्मकाण्डमा सीमित राख्दैनन्। उनी धर्मलाई जीवन व्यवस्थापन, आत्मानुशासन, नैतिक नेतृत्व, सामाजिक उत्तरदायित्व र मानवीय चेतनासँग जोडेर व्याख्या गर्छन्। त्यसैले यो गोष्ठी केवल धार्मिक प्रवचनको कार्यक्रम होइन। यो आधुनिकता र आध्यात्मिकता बीचको सम्बन्धबारे गम्भीर बौद्धिक संवादको अवसर पनि हो।
नेपालका लागि महत्वपूर्ण भ्रमण
यो भ्रमणलाई केवल धार्मिक दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन। यसको महत्व तीन तहमा देखिन्छ। पहिलो, यसले नेपाल र भारतबीचको हजारौँ वर्ष पुरानो सांस्कृतिक सम्बन्धलाई जनस्तरमा थप मजबुत बनाउन सक्छ। दोस्रो, यसले हिन्दू, बौद्ध र किराँत परम्पराबीचको साझा सभ्यतागत आधारबारे नयाँ बहस सिर्जना गर्न सक्छ। तेस्रो, यसले नेपाललाई विश्वको एक अद्वितीय आध्यात्मिक केन्द्रका रूपमा पुनः प्रस्तुत गर्ने अवसर प्रदान गर्न सक्छ।
आज विश्वभर मानिसहरू आर्थिक समृद्धिसँगै आध्यात्मिक अर्थको खोजीमा छन्। मानसिक स्वास्थ्य, जीवनको उद्देश्य, सांस्कृतिक पहिचान र आध्यात्मिक सन्तुलनका प्रश्नहरू झन् गम्भीर बन्दै गएका छन्। यस्तो समयमा नेपालसँग पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुर, किराँत आध्यात्मिक परम्परा र जीवित देवी कुमारीजस्ता अद्वितीय सम्पदाहरू छन्। तर प्रश्न यो हो-के नेपालले यी सम्पदाहरूलाई सभ्यतागत शक्ति र सांस्कृतिक कूटनीतिको माध्यमका रूपमा पर्याप्त रूपमा उपयोग गरिरहेको छ ?
स्वामी अवधेशानन्द गिरिको नेपाल भ्रमण यही प्रश्नमाथि पुनर्विचार गर्ने अवसर पनि हो। अन्ततः, यो तीन दिने यात्रा केवल धार्मिक कार्यक्रमहरूको शृङ्खला होइन। यो काठमाडौंमा बौद्धिक जागरण, विराटनगरमा हिन्दू–बौद्ध–किराँत संवाद, पशुपतिनाथमा आध्यात्मिक आस्था र वसन्तपुरमा नेपालको अद्वितीय सांस्कृतिक विरासतको अन्तर्राष्ट्रिय परिचयलाई जोड्ने एउटा व्यापक सभ्यतागत अभियान हो। यदि यसको सन्देशलाई दीर्घकालीन दृष्टिले आत्मसात गर्न सकियो भने यस भ्रमणले नेपाललाई दक्षिण एसियाको मात्र होइन, विश्वकै महत्वपूर्ण आध्यात्मिक र सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने दिशामा अर्थपूर्ण योगदान पुर्याउन सक्छ।
प्रतिक्रिया दिनुहोस !