योग भनेको बिहानै पार्क वा कोठामा ‘योगा–म्याट’ (तन्ना वा चटकी) ओछ्याएर गरिने केही आसनहरूमा मात्रै सीमित कुरा पनि होइन । योग त हरेक दिनको, हरेक पलको र हाम्रा प्रत्येक श्वासको सहयात्री हो ।
आज संसारभरि नै अन्तर्राष्ट्रिय योग दिवसको बेग्लै रौनकता र तामझाम छ । भनूँ भने, सिङ्गो विश्व नै यतिखेर योगमय बनेको छ । मानिसहरूमा योगप्रति एउटा अद्भूत श्रद्धा, उमङ्ग र कौतुहलता पलाएको प्रस्टै देखिन्छ ।
हुन त, मानव समुदायले योगलाई यसरी उत्सवको रूपमा धुमधामसँग मनाउन थालेको धेरै हिउँद–बर्खा बितेका छैनन् । सन् २०१५ जुन २१ तारिखदेखि मात्रै विश्वमञ्चमा औपचारिक रूपमा अन्तर्राष्ट्रिय योग दिवसको श्रीगणेश भएको हो । यता हाम्रो नेपालमा भने हरेक वर्षको माघ १ गते (मकर संक्रान्ति) का दिन राष्ट्रिय योग दिवस मनाउने मौलिक परम्परा पनि छ ।
तर, खाँट्टी कुरा के हो भने योग कुनै एउटा ‘दिवस’को घेराभित्र मात्रै खुम्चिने विषय होइन । वर्षको एक दिन यसको महत्त्वलाई सम्झाउन र मानिसहरूलाई झकझक्याउन मात्र एउटा तिथिमिति तोकिएको हो । त्यस्तै, योग भनेको बिहानै पार्क वा कोठामा ‘योगा–म्याट’ (तन्ना वा चटकी) ओछ्याएर गरिने केही आसनहरूमा मात्रै सीमित कुरा पनि होइन । योग त हरेक दिनको, हरेक पलको र हाम्रा प्रत्येक श्वासको सहयात्री हो । यो हाम्रो व्यक्तिगत र सामाजिक जीवनलाई एकाकार बनाउने, म्याटभन्दा निकै माथिको ‘बियोन्ड द म्याट’, अर्थात् चौबिसै घण्टा जिउनुपर्ने एउटा पवित्र जीवन–पद्धति हो ।
ऋषि संस्कृति : योगको वैदिक जग
योगको जरा पहिल्याउँदै जाने हो भने हामी सुदूर प्राचीन वैदिक कालको आँगनमा पुग्छौँ । जीवनलाई सुन्दर र सुखी बनाउने यो अमूल्य विद्या कुनै एउटा व्यक्तिको लहड वा आविष्कार होइन । मानव जीवनलाई मङ्गलमय बनाउन अहोरात्र खटिएका अनगन्ती तपस्वी ऋषिमुनिहरूको अनुभव, चिन्तन र अथक साधनाबाट निस्केको अमृत–रस हो । योग हाम्रा आर्ष ऋषिहरूको नासो हो, उनीहरूको उच्च चेतनाको देन हो ।
योगको चर्चा सबैभन्दा पहिले ‘युञ्जते मन उत युञ्जते’ भन्दै हाम्रो सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको पाँचौँ मण्डल (सूक्त ८१, पहिलो ऋचा) मा भएको छ । यस ऋचाको सोझो र खाँट्टी अर्थ हो— ‘विप्रा’ अर्थात् संसारका ती तमाम ज्ञानी र ध्यानीजनहरू, जो बुद्धि र ज्ञानका महासागर हुन्, उनीहरू आफ्नो मन र बुद्धिलाई परमात्माकै चरणमा समर्पण गर्दछन्, उसैमा लीन गराउँछन् । किनभने उनी मात्रै एक यस्ता सर्वव्यापी देव हुन्, जो सबै कुराका ज्ञाता हुन्, जसले ब्रह्माण्डको सारा यशलाई थामेका छन् र जसको महिमा अपरम्पार छ । यसरी हेर्दा, हाम्रा वैदिक संहिताहरूले चञ्चल मनलाई बाँधेर परमात्माको ध्यानमा मग्न गराउनुलाई नै ‘योग’ मानेका छन् ।
योगको यो त्यान्द्रो हिजो–आजको होइन, यो त अनादि छ, अनन्त छ । स्वयं जगद्गुरु भगवान् श्रीकृष्णले गीताको चौथो अध्यायको सुरुमै अर्जुनसँग भन्नुभएको छ— ‘इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।’ अर्थात्, यो कहिल्यै नास नहुने अविनाशी योगको रहस्य मैले सबैभन्दा पहिले विवस्वान् सूर्यलाई सुनाएको थिएँ । अगाडि भन्नुहुन्छ— ‘स एवायं मया तेऽद्ययोग : प्रोक्त : पुरातन : ।’ (४/३) अर्थात्, त्यही परापूर्व कालको पुरातन योग आज मैले तिमीलाई फेरि सुनाएको हुँ ।
जब मानिसले यी यम र नियमलाई आफ्नो जीवनको ‘नित्यकर्म’ बनाउँछ, तब ऊभित्रको स्वार्थ, इर्ष्या र अहङ्कारको त्यान्द्रो आफैँ खिइएर जान्छ ।
त्यसैले त गीता आफैँमा एउटा महा–योगशास्त्र हो । भगवान् श्रीकृष्णले यसमा राजयोग, हठयोग, लययोग जस्ता अनेकौँ विशेषणहरू झुन्ड्याएर पनि योगलाई टुक्रा–टुक्रा पार्नुभएको छैन । उहाँले योगलाई सिङ्गो रूपमा, समग्रतामा स्विकार्नुभएको छ । अनि त गीताको आखिरी श्लोकमा सञ्जय भन्छन्— ‘यत्र योगेश्वर : कृष्णो...’ (१८/७८)। यहाँ श्रीकृष्णलाई कुनै साधारण योगी होइन, सिङ्गो जगत्कै ‘महायोगेश्वर’ को उपमा दिइएको छ ।
अब अलिकति व्याकरणको चस्मा लगाएर हेरौँ । महर्षि पाणिनिको संस्कृत व्याकरण अनुसार योग शब्दको मूल ‘युज्’ धातु हो । यो धातु तीनवटा गणमा भेटिन्छ, जसले योगको भित्री मर्मलाई छर्लङ्ग पार्छ :
१. युज् समाधौ (दिवादिगण, आत्मनेपदी) : यसको अर्थ हुन्छ— समाधि । अर्थात्, मनका सारा भड्कावहरू शान्त भएर परम आनन्दमा डुब्नु ।
२. युजिर् योगे (रुधादिगण, उभयपदी) : यसको अर्थ हुन्छ— जोड्नु । अर्थात्, आत्मा र परमात्माको मिलन हुनु, एकाकार हुनु ।
३. युज् संयमने (चुरादिगण, परस्मैपदी) : यसको अर्थ हुन्छ— संयम वा नियन्त्रण । अर्थात्, आफ्ना इन्द्रिय र मनलाई सही बाटोमा डोर्याउनु, बाँधेर राख्नु ।
सारमा भन्नुपर्दा पाणिनीय व्याकरणको यो कसीले योग भनेको शरीर बङ्ग्याउने कसरत मात्र होइन, बरु मनको संयम, चेतनाको जोड र आत्माको समाधि हो भन्ने कुरालाई अकाट्य रूपमा पुष्टि गर्दछ ।
योगको महासागरमा डुबुल्की मार्दा महर्षि पतञ्जलिको नाम नआउनु त, दूधबिनाको खिर जस्तै खल्लो हुन्छ । यो सम्भव नै छैन । ऋषिकालीन युगदेखि यत्रतत्र छरिएर रहेका, गुरु–शिष्य परम्परामा मौखिक रूपमा मात्रै जीवित रहेका योगका अथाह ज्ञानका त्यान्द्रोहरूलाई एउटै सूत्रमा उनेर व्यवस्थित गर्ने श्रेय महर्षि पतञ्जलिलाई नै जान्छ । उनले नै भौँतारिरहेको मानव मनलाई तह लगाउन र चेतनालाई जगाउन ‘योगसूत्र’ जस्तो कालजयी ग्रन्थको रचना गरे ।
यदि वेद र उपनिषद्हरू योगका मुहान हुन् भने, महर्षि पतञ्जलि त्यो मुहानबाट बगेको पानीलाई तिर्खाएका आम मानिससम्म पुर्याउने भगीरथ हुन् । उनकै अष्टाङ्ग योग— यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको जगमा उभिएर आज सिङ्गो संसारले आरोग्यता र मानसिक शान्तिको सास फेरिरहेको छ ।
यम र नियम : सामाजिक सौन्दर्य बढाउने ‘योग’
हामी प्राय : योग भन्नेबित्तिकै म्याटमा गरिने आसन र प्राण तान्ने प्राणायामलाई मात्रै बुझ्ने गल्ती गर्छौँ । महर्षि पतञ्जलिले अष्टाङ्ग योगको जग बसाल्दा सबैभन्दा पहिले ‘यम’ र ‘नियम’ लाई अगाडि सारे । यम र नियम बिनाको योग जग बिनाको घर जस्तै हो, जुन जतिबेलै ढल्न सक्छ । यी दुई अङ्गले मानिसलाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि सुन्दर र सुसंस्कृत बनाउँछन् ।
यम सामाजिक अनुशासनको कडी हो । यमले हामीलाई समाजमा कसरी बस्ने र अरूसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा सिकाउँछ । यसका पाँचवटा पाटा छन् :
१) अहिंसा : कसैलाई मन, वचन र कर्मले दु : ख नदिनु, वैरभाव त्याग्नु ।
२) सत्य : ओँठ र मनमा कति पनि कपट नराखी सत्यको बाटोमा हिँड्नु ।
३) अस्तेय : अरूको हक–अधिकार वा वस्तुमाथि आँखा नलगाउनु (चोरी नगर्नु)।
४) ब्रह्मचर्य : आफ्नो ऊर्जालाई गलत ठाउँमा खेर नफालेर सही र उच्च कार्यमा लगाउनु ।
५) अपरिग्रह : लोभ–लालचमा फसेर चाहिनेभन्दा बढी धन–सम्पत्ति थुपार्ने मरिहत्ते नगर्नु ।
यदि समाजका हरेक मानिसले यो ‘यम’लाई आफ्नो व्यवहारमा उतार्ने हो भने, अदालत, प्रहरी वा झैझगडाको कुनै नामोनिसान रहने थिएन । यो आफैमा सामाजिक सौन्दर्यको पहिलो सर्त हो । अर्थात् योग सामाजिक रोगको ओखती पनि हो ।
त्यस्तै, नियम चाहिँ व्यक्तिगत शुद्धताको कसी हो । नियमले मानिसलाई भित्री र बाहिरी रूपमा कञ्चन बनाउँछ । यसमा पर्ने कुराहरू पनि पाँच छन् :
१) शौच : शरीर र मन दुवैलाई सफा राख्नु ।
२) सन्तोष : जे छ, जस्तो छ, त्यसमा खुसी रहन सक्नु (चित्त बुझाउनु)।
३) तप : जीवनका अप्ठ्यारा र चुनौतीहरूलाई हाँसेर झेल्नु, साधना गर्नु ।
४) स्वाध्याय : राम्रा पुस्तक पढ्नु र आफ्नो आत्मसमीक्षा गर्नु (म को हुँ भनी घोत्लिनु) ।
६) ईश्वर प्रणिधान : गर्ने–गराउने मै हुँ भन्ने शेखी छोड्नु । आफ्नो अहंकारलाई त्यागेर त्यो परम शक्तिप्रति समर्पित हुनु ।
जब मानिसले यी यम र नियमलाई आफ्नो जीवनको ‘नित्यकर्म’ बनाउँछ, तब ऊभित्रको स्वार्थ, इर्ष्या र अहङ्कारको त्यान्द्रो आफैँ खिइएर जान्छ । यसरी बदलिएको मानिसले नै एउटा सुन्दर, शान्त र सभ्य समाजको निर्माण गर्छ । यसरी बदलिएका मानिसहरू भए मात्र समाज र सुख–शान्ति–समृद्धिबीच साँचो ‘योग’ हुन्छ । त्यसैले, यम र नियम केवल व्यक्तिगत स्वास्थ्यका लागि होइनन्, बरु हाम्रा भत्किँदै गएका सामाजिक मूल्य–मान्यताहरूलाई जोड्ने, समाजमा आपसी विश्वासको महक फैलाउने र सिङ्गो मानव समुदायलाई नै ‘अमृतमय’ बनाउने योगका असली प्राण हुन् ।
योग दिवस : विश्वमञ्चमा पुर्खाहरू नासो
हिजो हाम्रा त्यागी र तपस्वी पुर्खाहरूले मानव मन, शरीर र चेतनालाई एकाकार गराउन जुन योगको बलियो जग बसालेका थिए, आज त्यही दिव्य विद्या विश्वभरिका मानिसहरूको दैनिक नित्यकर्म र जीवनको अभिन्न अङ्ग बनेको छ । आरोग्यता प्राप्तिकै लागि किन नहोस्, वा केही आसन र प्राणायामको बहानामै किन नहोस्— योगले आज सिङ्गो भूगोल, संस्कृति र मानव मनहरूलाई एउटै सुकोमल धागोमा उनिदिएको छ ।
आजको यो हाडछाला घोट्ने भागदौड, मानसिक तनाव र अशान्तिको भुमरीमा परेको आधुनिक मानव समुदायका लागि शारीरिक स्फूर्ति र भित्री शान्ति भर्ने यो भन्दा अचुक अर्को ओखती छैन । यही सत्यलाई आत्मसात् गर्दै आज संसारभरिका लाखौँ मानिसहरू योगको शीतल छहारीमा शरण लिन आइपुगेका छन् । हाम्रा सनातन कालका ‘प्राचीन वैज्ञानिक’ अर्थात् दिव्य द्रष्टा ऋषिमुनिहरूले कोरिदिएको यो अनमोल मार्गलाई आज विश्वले ससम्मान शिरोपर गरेको छ ।
मानिसहरूले आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई सुखमय, शान्त र अमृतमय बनाउन यसै प्राचीन विद्याबाट ऊर्जा र प्रेरणा लिइरहेका छन् । अत : , हिजो कन्दरा र त्रिवेणीहरूमा योगको आविष्कार गर्ने तिनै महान् ऋषिमुनिका सच्चा सन्तति हुनुको नाताले— अन्तर्राष्ट्रिय योग दिवस मनाउनु हाम्रा लागि एउटा पर्व मात्र होइन, बरु यो हाम्रो सांस्कृतिक स्वाभिमान, ऐतिहासिक विरासत र विश्वमञ्चमा हाम्रो पहिचान झल्काउने गौरवको महा–उत्सव हो ।
(नेपाल संवाद केन्द्रका प्रमुख कार्यकारी अधिकृत, मिश्र सामाजिक–सांस्कृतिक विषयका अध्येता हुन् ।)
प्रतिक्रिया दिनुहोस !