सुतिरहेको अवस्थामा ५२ वर्षीय यादवको वीभत्स हत्या
रौतहट : सर्लाहीमा सुतिरहेको अवस्था एक पुरुषको हत्या भएको छ। जिल्लाको बसबरिया गाउँपालिका-१ मानपुरमा भैंसी गोठमा सुतिरहेका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजेतिर अज्ञात व्यक्तिहरूले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि परिवारका सदस्यले उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र हत्यामा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको सर्लाही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए। घटनाको कारण खुल्न बाँकी रहेको छ र विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।
मृतकका जेठा छोरा सुवासकुमार यादवले आफ्ना बुवा अत्यन्त सरल स्वभावका व्यक्ति रहेको बताउँदै कसैसँग कुनै विवाद वा दुश्मनी नरहेको बताए। हत्याको कारण र संलग्न व्यक्तिबारे परिवारसमेत अनभिज्ञ रहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !