गोलकिपर रुमको उत्कृष्ट प्रदर्शनसहित कुरासाओलाई विश्वकपमा पहिलो अंक
काठमाडौं : फिफा विश्वकप २०२६ मा विश्वकप डेब्यू गरेको कुरासाओका गोलकिपर एलोए रुमको उत्कृष्ट १५ बचावसहित विश्वकपमा पहिलो अंक जोडेको छ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै कुरासाओले विश्वकपमा पहिलो अंक जोडेको हो। खेलअवधीभर एलोएले एक दर्जनभन्दा बढी सटहरु बचाए।
लगातार दबाब बनाएको इक्वेडरलाई गोलरहित बराबरीमा रोक्न गोलकिपर रुमको उत्कृष्ट प्रदर्शन रह्यो। हालसम्म विश्वकपमा सर्वाधिक सेभ(वचाब) गर्ने किर्तिमान अमेरिकन गोलकिपर टिम हर्वाडको नाममा रहेको छ। उनले सन् २०१४ मा बेल्जियमविरुद्ध १६ सेभ गरेका थिए। उनलाई पछ्याउँदै कुरासाओका गोलकिपर रुमले १५ सेभ गरे। ३७ वर्षीय रुम अमेरिकन मेजर लिग सकरमा मायमी एफसीबाट खेल्ने गर्छन्।
आजको खेलमा इक्वेडरको गोलकिपर हर्नान गालिन्डेजले पनि कुरासाओको ३ प्रहार बचाव गरे। यो खेल गोलकिपरको प्रदर्शनले उत्कृष्ट बन्यो। इक्वेडर र कुरासाओको नकआउट सम्भावना सकिएको भने छैन।
यी दुई टोलीले आफ्नो अन्तिम खेलमा जित निकाल्न सकेमा सम्भावना बाँकी नै रहेको छ। इक्वेडर पहिलो खेलमा आइभरी कोस्टसँग २–१ ले पराजित भएको थियो। कुरासाओ भने जमर्नीसँग ७–१ ले पराजित भएको थियो।
आजको पहिलो खेलमा जमर्नीले आइभरी कोस्टलाई २–१ ले हराएको थियो। आइभरी कोस्टलाई पराजित गर्दै जमर्नी नकआउट चरणमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस !