अमेरिका र इरानबीचको तनाव पुन : चर्कियो
काठमाडौं : मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरुमध्य स्थित क्युशिम (केश्म) टापुमा 'आत्मरक्षाका लागि' सैन्य कारबाही गरेको जनाएपछि स्थिति थप तनावपूर्ण बनेको हो।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार अमेरिकी कारबाहीको जवाफमा इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ। कुवेतको वायु प्रतिरक्षा प्रणालीले आफ्नो आकाशमै ती आक्रमणहरू निष्क्रिय पारेको दाबी गरेको छ भने बहराइनतर्फ प्रहार गरिएका मिसाइलहरूलाई अमेरिकी र बहराइनी सुरक्षा संयन्त्रले बीचमै अवरोध गरेको दाबी गरिएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी आक्रमणको जवाफमा आफूहरूले ड्रोन र मिसाइल प्रहार गरेको पुष्टि गरेको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एउटा इरानी तेल ट्याङ्कर र केश्म टापुको दक्षिणी क्षेत्रमा अवस्थित सञ्चार टावरलाई निशाना बनाएको थियो।
तेल ट्याङ्कर र सञ्चार टावरमा आक्रमण भएलगत्तै आईआरजीसीले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली स्वार्थ जोडिएका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ। पछिल्लो सैन्य गतिविधि र प्रत्याक्रमणका शृङ्खलाका कारण मध्यपूर्वको समग्र सुरक्षा अवस्था थप जटिल र संवेदनशील बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस !