ॐ गं गणपतये नमः

धर्म र अध्यात्म

ॐ गं गणपतये नमः

जेठ ३ देखि अधिक मास सुरु भएको छ। यतिबेला धर्म र अध्यात्ममा अझ बढी प्रवेश गर्नुपर्ने हुन्छ। कुनै दिन यस्तो नहोस्– सत्संगबिना दिन बितोस्। हाम्रो शरीर पञ्च तत्वले बनेको छ। वैदिक धर्मानुरागीका लागि पाञ्चायनको उपासना जरुरी छ। पाञ्चायन देवतामा पाँच प्रमुख देवता छन्– सूर्य, गणेश, देवी, विष्णु र शिव। वास्तु पद्धति अनुरूप तिनको वासस्थान मिलाइनु पर्छ।

भाद्र शुक्ल चतुर्र्थीलाई गणेशको जन्म दिनको रूपमा मान्ने चलन हो। यो दिनलाई शिवा भनिन्छ। माघ शुक्ल चौथीलाई भने शान्ता भनिन्छ र हरेक मंगलबारको चौथीलाई सुखा भनिन्छ र यी यस्ता दिन विशेष वन्दनीय छन्। अन्य दिनमा गरिएका हजारौं पुण्य कर्म बराबरको फल यस्ता दिनको एकैक्षणले प्राप्त हुन्छ। कल्प अनुसार गणेशजीको उदयबारे फरक मत छ। सूर्य पुत्र शनिको दृष्टि पर्दा उनको शिरच्छेदन भई श्रीविष्णुको हातबाट हात्तीको टाउकोद्वारा जियाइएको प्रसंग पनि छ।

कतै माता पार्वतीले आफ्नो शरीरको मयलबाट गणेशको उदय गराएको र पछि पिता शिवको कोपभाजन हुँदा शिरच्छेदन भएको र माता पार्वतीको शोक निवारण गर्न हात्तीको टाउकोले उनलाई जियाएको कथा प्रसंग छन्। पछि गणेशजीकै व्रतबाट पार्वती माता र सबै देवताको कष्ट निवारण भएका प्रसंग पुराणहरूमा पाइन्छ। गणेशका ठूला कान छन्, जसले अरूको कुरा धेरै सुन्नुपर्ने संकेत गर्छ, तर प्रतिक्रिया दिने कम गर्नु पर्छ भन्ने हो। उनमा भएको ठूलो पेटले संसारका सबै प्राणी जति खाए पनि नअघाउने संकेत गर्छ तर मानिसले थोरै र सात्विक आहार गर्नु पर्ने संकेत मिल्छ। उनका आँखा साना छन्, हात्तीका आँखा साना भए पनि सूक्ष्म सियो पनि उसले सजिलै देख्छ।

हात्ती हेर्दा आकारले ठूलो छ तर एउटा सामान्य माउतेको अधिनमा हुन्छ। यसको तात्पर्य हामी सबैले अरूलाई ठूलो देख्नु पर्छ, समाजमा आफू सानै देखिएर पनि प्रगतिमा अग्रसर हुन सकिन्छ, बडप्पन गर्नु हुन्न। बांगो सूँडले भने सबैलाई समालोचनात्मक, समीचीन रूपमा हेर्नुपर्छ भन्ने हो। आग्रह पूर्वाग्रहको दृष्टिले हेर्नु हुँदैन। गणेशका आँखा साना छन् तर संसार हेर्ने दृष्टि साह्रै ठूलो छ। बाहन मूसो हो र पनि मयुर बाहक कुमारभन्दा प्रतिस्पर्धामा खरो उत्रन्छन्, श्रीगणेश। आमाबाबुको सेवा गर्नु भनेको संसारको विजय गर्नु हो भन्ने संकेत मिल्छ यसबाट।

मोहलाई नाश गर्नु भन्ने पनि हो। आफ्नो ह्याउ हेरेर काम गर्ने, घाँटी हेरी हाड निल्ने, अरूको धेरै नक्कल नगर्ने, सादा जीवन उच्च बिचार पनि हो। गणेशको शरीरमा भएका मालाले मानिसले गर्ने हरेक दिनको सुकर्मको गिन्ती गर्न सिकाउँछ, हामीले हरेक दिन कति राम्रो काम गर्न सकियो त्यही नै हाम्रो सम्पत्ति हो भन्ने सिकाउँछ। देवताका गलामा लागेका अक्ष मालाले पुण्यलाई अक्षय गर्न भनिएको हो। यता होइन, उपकार गर अरूलाई देऊ को अर्थ नै देवता हो। आफ्नो मात्र सोच्ने जिन्दगी राक्षसी हुन्छ, पशुवत् हुन्छ। मानिस आफैं देवता हो। यसले जति परोपकार कसैले गर्न सक्दैन।

प्राचीन, अर्वाचीन मात्रै होइन– सत्ययुगदेखि नै तपोपुरीको नामले चिनिने नेपालको मुख्य स्थल काठमाडौंको चारै दिशामा सूर्य विनायक, कार्य विनायक, अशोक विनायक र चन्द्र विनायकले यस नगरीलाई संरक्षण दिएका छन्। स्थान विशेषमा गणेशको मन्दिर, मूर्ति मुलुकभरि यत्रतत्र नै छन्। हनुमती, वागमती, विष्णुमती एवं रुद्रमती साक्षी स्वरूप बग्ने चार नदी यी चारै गणेशका स्थल हिजो आज प्रदूषित छन्। यी लगायत नेपालमा रहेका असंख्य प्रसिद्ध देवदेवी स्थलहरूवाट हामीले धर्म रअध्यातमको जागरण गराई वाह्य पर्यटनलाई समेत प्रसस्त टेवा, सेवा गर्न सक्छौं। विश्वका सभ्य र विकसित क्षेत्रमा जे छैन, त्यो हामीकहाँ छ यसलाई हामीले गौरव मान्नुपर्छ, नष्ट हुन दिनु हुँदैन।

पूर्वीय दर्शनमा मंगलचौथीलाई अत्यन्तै शुभ दिन मानिन्छ। मानिसलाई नैतिक र चारित्रिक बनाउने हाम्रो पूर्वीय दर्शन शास्त्रका अधिकांश रचनाका मूललेखक श्रीगणेश नै हुन्। पूर्वीय धर्म संस्कृतिमा कुनै पनि कार्य सिद्धिका लागि मंगलाचरण गर्ने गरिन्छ। वाणीका देवता श्रीगणेशलाई स्मरण गर्नाले निर्विघ्नतापूर्वक कार्य सम्पन्न हुने र मानिसका इच्छा सिद्धि हुने विश्वास गरिन्छ। शिव–गौरी पुत्रका रूपमा रहेका श्रीगणेशको उदय भाद्र शुक्ल चतुर्थीमा भएको हो।

त्यस दिनको सर्वकल्याण महत्व वढी भए झैं माघशुक्ल, आषाढशुक्ल र मंगलबार सहितको चतुर्थीलाई मानिसका लागि क्रमशः मनको शान्ति र शरीरको सुखको प्रतीकका दिनका रूपमा लिइन्छ। त्यस्तै, मंगलबारयुक्त चौथी परेको मंगलचौथीले जीवनमा असीम आनन्द प्राप्त हुने गर्छ। वर्षमा कहिलेकंही मात्र पर्ने यस्तो पर्वको विशेष महत्व छ। गणेश उपासना गर्दा धेरै मन्त्र जप गर्न सकिन्छ। मूल मन्त्रः भने ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोदयात् हो। सबैलाई सजिलो मन्त्र भनेः ॐ गं गणपतये नमः हो।

तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति मेटाउन पनि र कलहका कारक मंगलग्रहको दोष निवारण हेतु पनि श्रीगणेशको उपासना गर्नु पर्छ। २१ वटा मंगलबारको व्रतले मांगल दोष निवारण हुन्छ। ज्योतिष शास्त्रअनुसार जन्म कुण्डलीमा मंगलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगीनी दशा शान्ति गर्न पनि मंगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नुपर्ने हुन्छ। २१ दुवो, २१ लड्डू, रातो बस्त्र, रातो  फूल  सहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ। व्रतमा गहुँको परिकार र शख्खरको सेवन राम्रो मानिन्छ।

यसो गर्दा शरीरका बिकार नाश भई तेज वृद्धि हन्छ। तमाम बिघ्न बाधा हटाई सम्मान चाहनेले श्रीगणेशको आराधनामा अल्छी गर्नु हुन्न। बालकहरूलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्रीगणेशाय नमः भनी सरस्वतीको पूजा साथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा बेलपत्र अर्पण निषेध छ। विध्नेश, हेरम्व, गजानन, सुर्पकर्ण, विनायक, लम्वोदर, एकदन्त र गणेश गरी तिनको ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास छ।

सबैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेश नै हुन्। जीवनको सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोवल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक छ। मानिसको शरीर भनेको पञ्चतत्वको पिण्ड हो। चित्त् शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ। प्रकृतिका पाँच तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन हुन्छ। शिव ज्ञानका प्रतीक, विष्णु शरीर सञ्चालक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धि, वाणीका देवता हुन्।

श्रीगणेशको उपासनाको अर्र्थ हुन्छ, व्यक्ति असल संस्कारको हुने। संस्कारले हीन भएको, गायत्री, दीक्षामन्त्रको उपासना नगर्ने, आफ्नो मन्त्र सिद्धि गर्न नसक्नेले गरेको समाज सेवा निरर्थक हुन्छ। ढुंगामा, मूर्तिमा देवता मान्छेले बनाउने हो, त्यसैले देवता बनाउने शक्ति भएको मान्छेले उसको दिमागले सिर्जना गरेको विज्ञानको दुरुपयोग गर्नु हुन्न, विज्ञान ज्ञानको उपज हो। विज्ञान निर्माता मानव मस्तिष्क देवताको उपज हो।

त्यसैले व्यक्ति सबै आस्तिक हुन जरुरी छ। आस्तिक हुँदैमा सधै मन्दिर जानु पर्ने होइन। शरिर नै मन्दिर हो, यसभित्र रहेको आत्मा परमात्माको निराकार रूप हो। यो रूप मान्छेमा मात्रै होइन, हर प्राणीमा हुन्छ। त्यसैले सकेसम्म माँसाहार, मदिरा, नसालु पदार्थको सेवन नगर्नु भनिएको हो। यसले तनाव, क्रोध, आवेग बढाउँछ अनि व्यक्तिले आफ्नो आदर्श छोड्न थाल्छ, बेहोसी भई।

क्रोध, आवेगले समाज, देश कस्तो हुन्छ भन्ने कुरा संसारका युद्धहरूले पनि देखाएका छन्। रोषपूर्वक अरूलाई दिइएको बस्तुले परिणाम राम्रो दिँदैन, देव सम्पत्ति हडप गर्ने, स्त्रीको धनमा आशक्त हुने, अरूलाई दिइएकोमा बखान र पछुतो गर्ने, चोरीको धन अरूलाई दिने, मठ, मन्दिरमा लगाउँने, पतितको हातको अन्न खाने, दम्र्भी, आसुरी, अर्काको मन दुखाएर आर्जन गर्ने, शोषक, वेदको बिक्री गर्ने, अरूलाई निन्दा र अपमान गर्नेको हात कहिल्यै पवित्र हुँदैन। भोजनमा विभेद गर्ने, परस्त्रीगामी, परपुरुषमा आकर्षित हुने, परिश्रम नगरी धनी हुन खोज्ने यी सबै कुमार्गी हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.