पुस्तक विमोचनमै लाखौं मानिस ?

पुस्तक विमोचनमै लाखौं मानिस ?

अचेल पुस्तक विमोचन कार्यक्रममा कति मानिस उपस्थित होलान् ? कहिलेकाहीँ त कोही नआएर वैराग लाग्छ। यसो भनिरहँदा एउटा पुस्तक विमोचनमा लाखौं मानिसको उपस्थिति हुन सक्ला त ? तर, २ अप्रिल २०२३ मा भारतको लखनउस्थित रमाबाई अम्बेडकर मैदानमा एउटा अचम्मको दृश्य देखिएको थियो। जहाँ १ लाख १४ हजार ७ सय ४ जना मानिसको विशाल समारोहबीच पुस्तक विमोचन कार्यक्रम भयो। डा. प्रेम रावतको हिन्दी संस्करणका रूपमा अनुदित ‘स्वयंकी आवाज’ पुस्तकले गिनिज बुकमा नयाँ विश्व कीर्तिमान (गिनिज वल्र्ड रेकर्ड) हात पारेको थियो। उक्त समाचार भारतीय सञ्चार माध्यममा चर्चाको विषय बन्यो।

यसअघिको ६ हजार ७ सय ८६ मानिस उपस्थित रहेको पुरानो विश्व कीर्तिमान तोडिन पुग्यो। आज मानिस पुस्तकीय ज्ञानभन्दा प्रविधितिर उन्मुख छ। तथापि, त्यहाँ यति धेरै मानिस कसरी जम्मा भए ? उनले यस पुस्तकको विमोचन कार्यक्रममा एकल लेखकद्वारा लिखित आफ्नो पुस्तकलाई सबैभन्दा धेरै श्रोताबीच वाचन गरेर गिनिज बुकमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। यस पुस्तकको मूल कृतिको सन्दर्भ चाहिँ उनले लेखेको ‘हियर योरसेल्फ’बाट सुरु हुन्छ। उनले पहिलो पटक यस पुस्तकलाई अमेरिकाको न्युयोर्क सहरबाट सन् २०२१ सेप्टेम्बर १४ मा लोकार्पण गरे।

‘न्युयोर्क टाइम्स’ पत्रिकाले यस पुस्तकलाई छोटो अवधिमा नै सर्वाधिक बिक्री हुने १० पुस्तकको सूचीमा सूचीकृत गरेको थियो। हालसम्म नेपाली भाषामा ‘स्वयंको आवाज’सहित संसारका १८ भन्दा बढी भाषामा अनुवाद भइसकेको उक्त पुस्तकमा प्रेम रावतले हाम्रो दिमागी होहल्लालाई हटाएर आफ्नो ध्यानलाई स्वयम्मा केन्द्रित गर्न जोड दिएका छन्। सन् २०२५ मा भारतीय लेखक विपुल रिखीले ‘ड्रंक अन लभ’ तथा डा. रावतले आफ्नो अंगेजी पुस्तक ‘ब्रेथ’को हिन्दी भाषामा अनुवाद गरिएको ‘श्वास’ पुस्तकको अंश वाचन गरे।

यसबाट ‘बहुलेखकद्वारा लिखित पुस्तक वाचन’का सन्दर्भमा अर्को विश्व कीर्तिमान कायम कायम हुन पुग्यो। यो पनि एउटा पृथक् विषय बन्यो किनभने यस कार्यक्रममा पनि सबैभन्दा धेरै दर्शकका रूपमा १ लाख ३३ हजार २ सय ३४ जनाको उपस्थिति रह्यो। यसबाट सन् २००० मा जेके रोलिङ तथा क्यानडाका दुई लेखकद्वारा २० हजार २ सय ६४ जना मानिसबिच गरिएको अघिल्लो कीर्तिमानी तोडिन पुग्यो।

यी सन्दर्भहरूलाई वास्तवमा लेखक रावत एक शान्तिवक्ता हुनुले नै विशेष अर्थ राख्यो। किनभने, सन् २०२३ मै लेखक रावतले ३ लाख ७५ हजार ६ सय ३ जना दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’का लागि विश्व कीर्तिमान स्थापित गरिसकेका थिए। यसरी हेर्दा उनले पुस्तकका लागि दुई र सबैभन्दा बढी दर्शक/श्रोताका सन्दर्भमा एक गरी तीनओटा विश्व कीर्तिमान कायम गरिसकेका छन्। यी पुस्तकका रावतका ‘साथै दि पट विथ द होल’, ‘पिस इज पोसिबल’ र ‘स्प्लिटिङ द एरो’ जस्ता पुस्तक पनि प्रकाशित छन्। उनी एक प्रसिद्ध लेखक हुन्, पाइलट हुन्, शान्तिवक्ता हुन्, मानवताका एक अभियन्ता हुन्।

यति मात्रै नभएर जापानबाट प्रकाशित उनको पुस्तक ‘स्प्लिटिङ द एरो’ विश्वमै अधिक चर्चामा रह्यो। यसलाई हिन्दी भाषामा ‘तीरका लक्ष्य’ भन्ने नाम दिएर अनुवाद गरेपछि नेपाली भाषामा ‘तीरको लक्ष्य’ नामबाट अनुवाद गरी प्रकाशनमा ल्याइएको छ। यी पुस्तकहरू अहिले पनि आत्मज्ञान प्रचार संघ नेपालका साथै विभिन्न पुस्तकालयमा उपलब्ध छन्।

पुस्तकभित्र अटाएको जीवन र शान्तिको जादु : अब प्रश्न उठ्छ– यी पुस्तकभित्र कस्ता विषय अटाएका होलान् ? किन यति धेरै मानिस यस्ता पुस्तक किन्न र पढ्न चाहन्छन् ? यसपछि भने, हामीले आफैंलाई पनि केही प्रतिप्रश्न गर्नैपर्छ। के हामीभित्र पनि एउटा संसार छ त ? वास्तविक सत्य के हो ? शान्ति भनेको के हो ? प्रेम रावत भन्छन्, ‘सत्य सोच्ने चिज होइन, अनुभव गर्ने चिज हो।’

गीताले भन्छ– खुसी हामीभित्रै छ। बुद्ध भन्छन्– शान्ति हाम्रै विचार र भावनाको गहन खोजमा छ। वेद भन्छ– आत्मज्ञान जीवनको सार हो। कुरानले भन्छ– आफूभित्रको संसार सुन्दर छ। अनि फेरि अर्को प्रश्न उठ्छ– के हामी आफ्नै श्वासका बारेमा कहिल्यै सोच्छौं ? के यो श्वासको महŒवलाई मनन् गरेका छौं ? हाम्रो हृदयको एउटा कुनाबाट आवाज आउँछ– श्वासमा ध्यान देऊ। यद्यपि हामी जीवनका अप्ठ्यारा अनि आरोह अवरोहका बीचमा यसलाई वास्तै गर्दैनौं।

यस सन्दर्भमा डा. रावत आफ्नो हिन्दी अनुदित पुस्तक ‘श्वास’मा लेख्छन् :– ...अलिकति हावा तपाईंभित्र आउँछ, तपाईंका लागि केही ल्याउँछ। त्यसपछि जान्छ, तपाईंका लागि केही ल्याउँछ, फेरि जान्छ, पटकपटक यस्तै भइरहन्छ। तपाईंको जीवन कसरी प्रारम्भ भयो ? पहिलो श्वास भित्र आएर। तपाईंको जीवन कसरी समाप्त हुनेछ ? अन्तिम श्वास बाहिर गएर। अनि, भित्र आउनु र जानुका बीचमा एउटा कथा छ।... 
...अन्तिम घडी आएपछि तपाईंलाई श्वासको मूल्य थाहा हुनेछ। तपाईंलाई थाहा त हुनेछ तर त्यस बेलाको विवेकले तपाईं केही पनि गर्न सक्नुहुने छैन। म के चाहन्छु भने तपाईं अहिले नै श्वासको मूल्यलाई बुझ्नुहोस्। परिणामत: तपाईं जीवित रहेसम्म त्यस विवेकको आनन्द लिन सक्नुहोस्।... 

डा. रावतको नामसँग शान्ति, अनुभव र मानवताको भाव पर्याय बन्छ। हामी विज्ञानसँग वस्तुगत प्रमाणको नातो खोज्छौं। उत्तरआधुनिक सोचभित्र रम्न थालेको आजको मान्छे वास्तवमा सिद्धान्तका सिमलभुवामा कल्पनाको सागर बोकेर बाँच्न सक्दैन। यसको अर्थ हामीले भावनालाई लत्याएको पनि ठहर्दैन। के हामीले यसै दुनियाँमा रहेर सबै कर्तव्य पालनासँगै जीवनको गन्तव्यमा पनि वस्तुगत प्रमाणको खोजी गर्न सक्छौं ?

आखिर यस धर्तीमा हाम्रो जीवन प्राप्तिको सार्थकता के हो ? के हामी जीवनको अर्थलाई आफैंमा अनुभूत हुने गरी बोध गर्न सक्छौं ? के सफलताको वास्तविक अर्थसँग साक्षात्कार गर्न सक्छौं ? मानिस दुनियाँमा हरेक दिन तँछाडमछाड गर्दै दौडिरहन्छ। यो उसको बाध्यता र आवश्यकता दुवै हो। यी सवालहरूमा रावतले जीवनमा आन्तरिक क्षमता पहिचान गर्नुलाई पनि अत्यावश्यक चिजका रूपमा अथ्र्याएका छन्। वास्तवमा जीवन के हो त ? 

आफ्नो हिन्दी भाषामा अनुदित पुस्तक ‘स्वास’मा उनी लेख्छन्, ‘यो जीवन हामीभित्र आइरहेको र गइरहेको श्वासका कारण सम्भव भएको हो। तपाईं जीवनको अर्थलाई हचुवाका भरमा बताउन सक्नुहुन्न। वास्तवमा यसलाई त अनुभव गर्नुपर्छ।’ ‘स्वयंको आवाज’मा उनी सकारात्मक कुराको छनोट गरेर आत्मज्ञानका माध्यमबाट आन्तरिक स्थिरता, एकाग्रता, सन्तुष्टि र शान्तिसम्मको जीवन परिवर्तनको यात्राको सार्थक आधार पस्किन्छन्। आफूभित्र स्थिर शान्तिलाई चिनेपछि वास्तविक सत्यसँग साक्षात्कार गर्न सकिने सन्देशमा पाठकलाई डुबाउँछन्।

अनि, यसै जीवनमा संसारको आफ्नो दायित्व निर्वाह गरेर पनि शान्ति प्राप्त गर्न सकिने दाबी पेस गर्छन्। के यो सिद्धान्तको पोको हो त ? उनी व्यावहारिक र प्रयोगात्मक तवरले अनुभूत गर्न सकिने तथ्यमा दाबी गर्छन्। सायद १५ हजार घण्टाभन्दा पनि बढी उडान भरेको अनुभव जोडिएका एक पाइलट हुनुले पनि उनमा वस्तुपरक वैज्ञानिक तथ्य हुनुपर्ने माग जोडिन्छ। सायद यसैले व्यावहारिक ज्ञानसँग विज्ञानको जादु जोडेर जीवन जिउने कला सिकाउनुसँग उनको प्रेमिल भाव सजिएको हुँदो हो। अनि, एकै व्यक्तिको सन्देशभित्र विश्वका करिब एक सय बढी देशका इच्छुक मानिसहरू एकत्रित भएका हुन्नन् पनि। यो अर्को जादुसँग मानवताको भाव गाँसिएको छ। विभेदको पर्दा देख्दै देखिएन भने त त्यसलाई च्यात्नुपर्ने बाध्यता नै आइलाग्दैन। त्यहाँ केवल मानवताको फूल फुल्छ। भावनाको महल बन्छ। प्रेमको हृदय पग्लिन्छ अनि मानिस हुनुले संसारको सीमारेखा तोडेर मानवताको राज्य एकीकरण हुन पुग्छ। आखिर जीवनको आन्तरिक तहको आनन्दमा डुबुल्की मार्न थालेपछि संसारका हरेक व्यक्तिले संसारलाई आफन्त नै ठान्दो रहेछ क्यार। र, आज पनि उनी आफ्नो यही र यस्तै सन्देशका साथ संसारभर यात्रा गरिरहन्छन्। 

मानवतावादी सोचको दृष्टान्त : नेपालमा भूकम्पले थिल्थिलो हुँदा ‘द प्रेम रावत फाउन्डेसन’ नामक संस्थाले ठाउँठाउँमा खाद्यान्नदेखि लत्ताकपडा वितरण गरिरहेको देखिन्थ्यो। नेपालको धादिङस्थित तर्सपुमा आज पनि सयौं बालबालिकालाई दैनिक रूपमा नि:शुल्क खाजा वितरण गरिरहिएको छ। मानवताको पाठ सिद्धान्तमा भन्दा बढी व्यवहारमा देखिनुपर्ने रहेछ। नि:शुल्क रूपमा खाना, पानी, स्वास्थ्य सेवादेखि समयानुकूल मानवीय सहयोगमा उनै लेखक रावतको देन हुनुले उनलाई लेखकका रूपमा भन्दा बढी मानवसेवामा समर्पित झैं लाग्ने रहेछ।

आज पनि ४७ ओटा देशका विभिन्न संस्थासँग साझेदारीसहित यो पुनित मानवीय कार्यले निरन्तरता पाइरहेको छ। नेपालको तसर्पु (धादिङ), भारतको वनटोली (राँची), अफ्रिकाको घाना (ओटिनिबी) र दक्षिण अफ्रिकाको केप फ्ल्याट्सम्म यो मानवताको दुन्दुभी घन्किरहेको छ। त्यस क्षेत्रका विपन्न समुदायका बालबालिका तथा वृद्धवृद्धाहरूलाई दैनिक रूपमा नि:शुल्क खाना प्रदान गर्ने यस कार्यले त्यहाँका विद्यार्थीले पढ्न पाए। वृद्धवृद्धाले भोकै मर्नु परेको छैन। पढाइको गुणस्तर बढ्दा समाज सुधार भएको छ। अपराधको दरमा कमी आउँदा स्थानीय अर्थतन्त्रमा समेत सुधार आएको छ। तब उनलाई लेखकभन्दा बढी मानवतावादी व्यक्तित्व हुन् भन्नुमा पनि अत्युक्ति हुँदैन। 

शिक्षाले बदलेको समाज : भारतको तेलंगाना राज्यका पाँचओटा कारागारहरू कैदीविहीन भए। उता अमेरिकास्थित टेक्सास राज्यको एउटा जेलमा छुटेर गएका कैदीबन्दीहरूको पुन: फर्कने दर घट्यो। टेक्सास विश्वविद्यालयका लागि यो एउटा नवीन अनुसन्धानको विषय बन्यो। निष्कर्ष एउटै निस्कियो– डा. प्रेम रावतको पिस एजुकेसन प्रोग्राम (शान्ति शिक्षा कार्यक्रम) को सकारात्मक प्रभाव। तर, यो काल्पनिक कुरा नभएर सत्य घटना हो। किनभने, त्यतिखेर त्यहाँ प्रेमको पिस एजुकेसन प्रोग्राम सञ्चालन गरिएको थियो। फलत: कैदीबन्दीहरू जेलबाट छुटेपछि परिवार र समाजमा सजिलै घुलमिल हुन सक्षम भए। उत्तरदायी बने अनि दोहो¥याएर आपराधिक कार्यमा संलग्न भएनन्।

भित्री अनुभव र त्यसको विधि : रावतको सन्देश संसारका मानिस मात्रका लागि एक समान छ। मानव हुनुको अस्तित्व र यसको गहिराइमा गएर जोडिने अनुभवसँग जीवनको गन्तव्य समावेश छ। उनले आफ्नो पूरा जीवनलाई संसारभर शान्ति र मानवताको जग निर्माणार्थ अर्पण गरिरहनुले एक सुन्दर मानवीय भाव सुसज्जित भएको पुष्टि हुन्छ। आफैंमा एक शान्तिवक्ता, लेखक, समाजसेवी, अभियन्ता, पाइलट, आविष्कारक, फोटोग्राफर, संगीतकारलगायतका बहुगुण भएर पनि उनको सन्देशले मानिसको हृदयलाई स्पर्श गर्छ अनि भित्री आनन्दको महासागरमा डुबुल्की मार्ने सुअवसर प्रदान गर्दछ।

सन् १९५७ डिसेम्बर १० मा भारतको हरिद्वारमा जन्मेका रावतले आफू केवल चार वर्षको हुँदादेखि आजसम्म केवल एकै भावलाई जनमानसमा पस्किरहेका छन्, ‘शान्ति हामीभित्रै छ। यसलाई हामीले यसै जीवनमा प्रत्यक्ष रूपमा अनुभव गर्न सक्छौं।’ उनको सन्देशले संसारका करोडौं मानिसको हृदयलाई स्पर्श गरिरहेछ। यो सन्देश नितान्त व्यक्तिगत शान्ति र आनन्दमा केन्द्रित हुनुले छुट्टै अर्थ राखेको पनि छ। उनी संसारका ससाना गाउँदेखि विश्वका प्रतिष्ठित मञ्चसम्म पुग्छन्। उनको यात्राले विश्वलाई शान्ति, आनन्द र मानवताको पाठ पढाइरहेछ।

आज पनि उनी आफ्नो सन्देशमार्फत मानिसलाई श्वासको मूल्य सिकाइरहेकै छन्। उनी मानवतालाई भूगोल, वर्ग, सम्प्रदायजस्ता विषयमा उनेर संकुचित बनाउँदैनन्। यसकारण उनी संसारका हरेक मानिसलाई आफूभित्रको सम्भावनाको अर्थबोध गराउन सफल छन् पनि। आखिर यस संसारमा मानिसले युद्ध, हत्या, आतंकका लागि यति धेरै लगानी गर्छ, खर्च गर्छ तर शान्तिका लागि कति खर्चिन्छ त ? तर, एक प्रखर वक्ता रावतले चार वर्षको उमेरदेखि नै श्रोताहरूका माझमा आफ्नो सन्देश प्रस्तुत गरे। करिब ९ वर्षको हुँदा आफ्ना पिताजीको देहावसानपश्चात् आन्तरिक शान्ति सन्देश विषयक प्रचार अभियानलाई सम्हाले। सन् १९७१ मा केवल १३ वर्षको उमेरमा भारतबाहिर लन्डन (इङ्ल्यान्ड) र लस एन्जलस (अमेरिका) बाट सन्देश प्रस्तुतिका लागि निमन्त्रणा आएपछि विदेशयात्रा प्रारम्भ गरे। उनको यस्तो मानवतावादी सन्देशलाई आज करिब ८० भन्दा बढी भाषामा अनुवाद गरेर अपनाइन्छ। किनभने, उनी आफ्नो हृदयको आवाजलाई मानिसहरूसमक्ष पस्कन्छन् र त्यसलाई अनुभव गर्ने व्यावहारिक तरिका प्रदान गर्छन्।

टुंग्याउनितिर... : प्रेम रावतको शान्ति र मानवताका पुजारी हुन्। हुन त उनको उद्देश्य सम्मानको भोक पक्कै देखिन्न। तथापि इन्टरनेसनल युनिभर्सिटी अफ पिस (युनिपाज) तथा तीन अन्य विभिन्न सरकारी निकायहरूबाट शान्तिदूतको उपाधि दिइनुले उनको उँचो व्यक्तित्वलाई संकेत गर्छ। कतिपय देशले उनलाई सम्मानार्थ नागरिकता प्रदान गरेका छन् भने युरोप, एसिया र अमेरिकाजस्ता मुलुकमा २० भन्दा बढी सहरका लागि सम्मानस्वरूप चाबी प्रदान गरिएको छ। सन् २०१२ मा मलेसियामा उनलाई ‘ब्रान्ड लरियट लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मानित गरियो। यो प्रतिष्ठित सम्मान प्राप्त गर्नेमध्येमा स्वर्गीय नेल्सन मन्डेला पनि पर्छन्। 

उता पेरुको कुस्को सहरमा ‘द वान्ड अफ पावर’ नामक त्यहाँको सर्वोच्च सम्मान प्रदान गरियो भने न्युजिल्यान्डको मावोरीमा पनि सर्वोच्च सम्मानद्वारा विभूषित गरियो। यसअघि २०८२ सालमा नेपाल आएका उनले सिपाडोल, भक्तपुर र सैनामैना, रूपन्देहीमा लाखौं नेपालीमाझ आफ्नो सन्देश प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.