आखिर फुटबल भनेपछि ग्राउन्ड, किट, प्रशिक्षक, रेफ्रीको कथा पनि जोडिएर आउने नै भयो।
हालैका दिनमा नेपाली फुटबल इतिहास समेटेर गतिलो दस्तावेज प्रकाशनमा आएको छ। विश्व परिवेशमा पेले, मेस्सी, रोनाल्डो, अनेकन् प्रशिक्षक एवं क्लबबारे प्रशस्त पुस्तक प्रकाशनमा आइसके पनि नेपालमा यसअघि फुटबलसम्बन्धी गतिलो पुस्तक थिएन।
यस्तो खडेरीका बेला नेपाली फुटबल खेल इतिहासको पुस्तक लेखनको श्रीगणेश गरेका छन्– खेल पत्रकार हिमेश वज्राचार्यले। ‘स्वर्ण कथा’ शीर्षक राखिएजस्तै नरशमशेर लेड दरबारिया टिमको कथादेखि नेपाली फुटबलका करिब ५० भन्दा बढ्ता अपत्यारिला, अकल्पनीय एवं लोककथा जस्ता लाग्ने कथाहरू र नेपाली फुटबलरको व्यथा समेटिएको छन्।
यसमा राणाकालको जगजगीमा सर्वसाधारणको तर्फबाट स्थापित आरसीटीको कथादेखि झन्डै डेढ शतकअघि नै डुरान्ड कप खेलेको, राजाले सजाय दिने कुरा गरेर थप गोल खानबाट वञ्चित भएको, उही बेलै नेपालले अर्जेन्टिनासँग खेलेको, खुकुरी नचाएर कम गोल खाएको, म्याराडोनाबाट शत्रु देश (नेपाल) प्रशंसा, नेपाली खेलाडीको टाउकोमा मलेसियन पुलिसको पेस्टोल राखेको, अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर आउँदा पूर्वी नाकामा अबिर र मालाले पुरिएको, पहिलो पटक साफ जित्ने स्वर्ण पुस्ता, खेल जितेर राजा भेट्ने इच्छाएको कथा समेटिएको छ।
नेपालले गोल गर्न नसक्ने रोग नयाँ होइन रहेछ। उत्तिबेलै १३ खेलसम्म गोलविहीन यात्राको कथा, कोचलाई नै रुवाउने, ओलम्पिक खेल्दै आफ्नै प्रशिक्षकबबीच नाराबाजी गर्ने, उत्कृष्ट खेलाडी नै छनोटमा नपर्दा छानबिन आयोग गठन गर्ने, तीस गोलको उपनाम पाउने, विदेशी राजकुमारलाई निराश तुल्याई फर्काउने, विपक्षी किपरको औंला नै भाँचिने गरी गोल हान्ने, ओभर कन्फिडेन्ट टोलीलाई पहिलो खेलमै हराएपछि रंगशालामा दंगाफसाद गरेको, खेल सकिए पनि अढाई घण्टा प्रदर्शनका कारण होटल फर्किन ढिलाइ भएको कथा पनि उनिएको छ।
पछिल्लो समय क्रिकेटको जगजगी भएजस्तै कुनैबेला नेपालमा फुटबलको क्रेज निकै थियो, भलै नेपाली फुटबलको कोर्स अहिले गतिलो अवस्थामा छैन। नेपाली फुटबल क्षेत्रमा पनि ब्रेनड्रेनकै समस्या छ।
पुस्तकमा मोटामोटी नौ वटा खण्ड छन्। एकदमै सपाट तरिकाले विभाजन छैन तर पनि पहिलो खण्डलाई विषय प्रवेश र मिक्स ब्याग भन्न मिल्छ, दोस्रो खण्डमा घरेलु फुटबलका विभिन्न पक्ष उतारिएको छ। तेस्रोमा अन्तर्राष्ट्रिय सहभागिताबारे छ। चौथो र पाँचौंमा क्रमशः अन्तर्राष्ट्रिय माहोलमा नेपाली फुटबल अकासिएको र नमीठो तरिकाले थेचारिएको कथा छ। सातौंमा पनि उतारचढावकै कथा भए पनि अलि बढी दक्षिण एसियाली फुटबलको कथा छ। आठौंमा खेलाडी विशेष भन्दामा हुन्छ। अन्तिममा चाहिँ नेपाली फुटबलका दुईजना हीरामोतीको कथा उनिएको छ।
सिनेमाको बीचबीचमा नयाँ पात्रहरू प्रवेश गरेजस्तै यस पुस्तकमा पनि नेपाली फुटबलका हस्तीका फुत्तफुत्त आइराख्छ। राजबहादुर सिंह, अविश्वसनीय डाइभिङमा माहिर विष्णुगोपाल श्रेष्ठ, बुद्धिबहादुर गुरुङ, धनबहादुर बस्नेत, लोकबहादुर शाही, प्रकाशविक्रम शाह, हास्यविधामा महजोडी जस्तै नेपाली फुटबलमा थापा बस्नेतको जोडी, अनफच्र्युनेट रुपक दाई, मणि शाहको कथा त छ नै। त्यसमाथि अहिले नेपाली चेली साम्बा, अन्जिला, रेखा नै विदेशमा व्यावसायिक खेल खेलिरहेका बेला म्याराडोनाकै प्रतिरुप भन्दामा मिल्ने खेलाडीले होमसिककै कारण विदेशी अफर गुमाउने अनि अर्कोतिर सेनाबाट भागेर विदेशमा व्यावसायिक फुटबल खेल्नेको कथा पनि छ।
टिम चिकित्सकले ठोकठाक पारेर केवल ९० मिनेटका लागि रेडी पारेको, त्यसै त रुन्चे खेलाडी त्यसमाथि कसैले नदेख्ने गरी विपक्षीको मुक्का प्रहार खाएको, डिफेन्डरले गोलरक्षक नै पोस्टभित्र छिराएको, विपक्षीलाई चार दिन थला पर्ने पावर सट हानेको, सेन्टरबाटै एअरबल हानी गोल गरेको, जिउँदा सहिद आन्दोलनकारी फुटबलरको कथा, नेपाली फुटबलको नोबल प्राइज सरहको पुरस्कारको स्थापनाको कथा, ब्राजिलियन प्रशिक्षकबाट फ्रिकिकको विशेष तालिम पाएर फ्रिकिक र पेनाल्टी किकमा एक्सपर्ट भएको मिडफिल्डर, तत्बेलाका गोल मेसिन र नेपाली म्याराडोनाको कथा, उत्कृष्ट खेल्दाखेल्दै फुटबलबाट छिट्टै बिट मार्न बाध्य पारेको, देशमा प्रजातन्त्र आएर घाटा परेको कथा पनि समेटिएको छ।
आखिर फुटबल भनेपछि ग्राउन्ड, किट, प्रशिक्षक, रेफ्रीको कथा पनि जोडिएर आउने नै भयो। फुटबल प्रशिक्षकको बनवासको कथा, विदेशमा रहँदा आफ्नो अर्धांिगनी नै बिर्सने प्रशिक्षकको कथा छ। प्रशिक्षकहरूमा चाङ, किट्टदेखि नेपाली प्रशिक्षक धीरेन्द्र (केदार) श्रेष्ठ, पदमकृष्ण श्रेष्ठ, एक से एक जर्मन प्रशिक्षकको कथा पनि छन्। इन्द्रजात्रामा लाखे हुन छोडेका खेलाडी भएका, फुटबलकै कारण झन्डैझन्डै विवाह गर्न बिर्सेका खेलाडीबाटै रेफ्री अनि व्यवस्थापक र प्रशासक भएको, नेपाललाई दोस्रो घर मान्ने टेक्निकल डाइरेक्टरको कथा पनि छ।
के नेपालले पनि इटालीको नियति भोग्ने गरेको छ। इटालीले मात्र ठूल्ठूला स्क्यामपछि विश्वकप जित्ने गरेको छ भने नेपालले पनि विवादताकै बीच सफलता चुम्ने गरेको कथा रहेछ। राम्रा अनुभवी खेलाडी नसमेट्दा पनि स्वर्ण जितेको, नेवारी परम्परामा सगुन लिई जाँदा स्वर्ण जितेको, एकपटक साफमा फुटबलबाट मात्र स्वर्ण जितेको, एमबीबीएस पढ्ने बाह्रौं खेलाडीकै कारण स्वर्ण जितेको, स्वर्ण कथाले मागेको अद्वितीय फ्रिकिक गोलको, स्वर्ण जितेबापत जितारुलाई नेताबाट एक एक थान ल्यान्डलाइन आश्वासन मात्रैको कथा, स्वर्ण विजेता कप्तानकै भएको जागिर पनि गएको, स्वर्ण जितेकै कारण राजपरिवारसँग गेट टुगेडर एउटा स्वर्णले के कस्तो फरक पार्दोरहेछ भन्ने कथा पनि छ।
पछिल्लो समय क्रिकेटको जगजगी भएजस्तै कुनैबेला नेपालमा फुटबलको क्रेज निकै थियो, भलै नेपाली फुटबलको कोर्स अहिले गतिलो अवस्थामा छैन। नेपाली फुटबल क्षेत्रमा पनि ब्रेनड्रेनकै समस्या छ। तर कुनै समय नेपालमै पनि खेलहरूको राजाको इतिहास स्वर्णमय भने थियो। यही इतिहास कोर्न जमर्को गरेका हिमेशले कतिपय लेख वा ऐतिहासिक जानकारी ब्ल्याक एन्ड ह्वाइट फोटो हेरेर पनि उतारेको देखिन्छ। एकाध मुद्राराक्षसबाहेक पृथक् फ्लेवर लेखनशैली भएका हिमेशको ट्वाक्क, ट्विटर फ्रेन्डली वाक्य गठनले व्याकरणको ठ्याक्कै नियम पालना गरेको देखिँदैन तर पनि लेखकको वाक्य गठन वाचाल पार्ने खालको छ।
अहिलेका पिँढीलाई मनपर्ने खालको, कुरेकुरे खालको एवं सोसियल मिडिया फ्रेन्ड्ली वाक्य छन्, हिमेशका। यस पुस्तकका कारण थुप्रै प्रश्न, केही कन्ट्रोभर्सी निश्चय पनि जन्मिने छ तर यसअघि कसैले धृष्टता नगरेको काम हिमेशले गरेको छ। नेपाली फुटबल कथ्ने सिलसिलामा कतै नेवारी पाराका त कतै छोटा छोटा वाक्य, कतै अचारजस्तो ट्वाक्क, पिरपिरो त कतै अश्रुपूर्ण अनि करेला जत्तिकै तीतो सत्यका कथा पनि पस्केका छन्। महाभारतमा सञ्जयले जस्तै हिमेशले रंगशालामा भएको दुर्घटना, अहिलेको पिँढीको, नेपाल सुपर लिग, फुटबल खेलाडी लिजेन्ड, क्लब आदिको कथा कथ्न बाँकी नै छ। त्यसो भएर हिमेशले नेपाली फुटबलको कथा सिरिजमा ल्याउनुपर्ने देखिन्छ, किनकि ‘पिक्चर अभि बाँकी है दोस्त’।
प्रतिक्रिया दिनुहोस !