मिलेछ भने हेरौला। नभए चाँडै फर्किएर तिम्रो हात बाबासँग मागौंला हुँदैन ?
चिसंखुगढी–५ ओखलढुंगामा जन्मिएका कथाकार होमशंकर बास्तोला समसामयिक धाराका कथाकार हुन्। साहित्यिक पत्रकार उनले २२ वर्षदेखि अन्तर्बोध साहित्यिक पत्रिकाको निरन्तर सम्पादनसमेत गरिरहेछन्। उनका आँसुका झरनाहरू (कथासंग्रह, २०५८), घाम हराएको दिन (गजलसंग्रह, २०६१) बन्दुकको छाया (कथासंग्रह, (२०६७) हिमाल पहाडका कथा (संकलित कथासंग्रह, २०७१) र भोका सपनाहरू (कवितासंग्रह, २०७८) प्रकाशित कृति हुन्।
नेपाली साहित्यका सक्रिय कथाकार उनी विशेषतः सामाजिक यथार्थ, मानवीय संवेदना र ग्रामीण जीवनका सूक्ष्म पक्षहरूलाई कथामार्फत प्रस्तुत गर्न सिपालु छन्। उनका कथाहरूमा समाजका विविध वर्ग, संघर्ष, असमानता र मानवीय सम्बन्धका जटिलताहरू प्रभावकारी रूपमा चित्रित भएका पाइन्छन्। ‘रगतको मूल्य’का कथा पनि सामाजिक यथार्थवादी घटनामा आधारित छन्। कथाहरूमा म तिम्री आमा हुँ, जाहेरी, फैसला, नछुइने बैंस, रगतको मूल्य, राप, कोरोना, एक थुँगो फूल, अवसान, मुगलान, राहत, भोक, हिउँको ओछ्यान, जिलो, नागिना, चरित्र, अठोट, सिउँदो र आतंककारी रहेका छन्।
श्रमिक वर्गको पीडा, शोषण र वर्गीय असमानताको जीवन्त चित्रण गर्ने महत्वपूर्ण कृति हो यो। उनका कथात्मक प्रवृत्ति समसामयिक सामाजिक यथार्थवाद नजिक छन्। विशेषगरी गरिबीको पीडालाई विषय बनाइएका उनका कथामा आर्थिक अभावले मानिसको जीवनमा पार्ने गहिरो असरलाई यसरी चित्रण गरिएको छ :
खोलाको बगरमा ठूला ढुंगा थिए। ती ढुंगाको आडमा सुकेका काँसका डाँठहरू जम्मा गरेर उनले राखिन्। वरिपरि ढुंगाको गारो लगाएर सानी ओडारजस्तो बनाइन्। अनि मजेत्रोमाथि बच्चा सुताएर उठेकी मात्र के थिइन् फेरि बच्चा टिपेर छातीमा टाँसिन् र स्वॉक्वाँ रुन थालिन्। उनका आँखाबाट फरेका आँसुले बच्चाको अनुहार अलेली भिजेको थियो।
उनले बच्चालाई छातीमा टाँसेर अघाउन्जेल दूध खुवाइन् र त्यहीँ सुताइन्। बच्चालाई ढुंगाले नकिचिने गरी छोपेपछि उनी दृढ भएर उभिइन्। त्यसपछि उनी खोलामाथिको टारी खेतको डिलमा पुगेर छाती पिटीपिटी दुवै हातले आँसु पुछेर रोइरहेकी थिइन्। एकाएक रोई मूच्र्छा परेर बिउँतिदा एउटा अधबैंसे मानिसले बच्चा बोकेको देखिन् (पृ.५)।
‘रगतको मूल्य’ कथा संग्रहका कथा सामाजिक यथार्थवादमा आधारित सशक्त र विचारोत्तोजक कथा कृति हो। यसले पाठकलाई सामाजिक अन्यायप्रति सचेत बनाउँदै सोच्न बाध्य पार्दछन्।
मुख्य पात्र दैनिक जीविकाका लागि संघर्ष गर्छ र गरिबीका कारण उसले भोग्नु परेका अपमान, पीडा र असहाय अवस्थालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। मानवीय सम्बन्धलाई परिवार र समाजभित्रको सम्बन्धहरू कति जटिल र संवेदनशील हुन्छन् भन्ने कुरा उनका कथाहरूमा चित्रित गरिएको पाइन्छ। सानोसानो कुराले पनि सम्बन्ध बिग्रन सक्छ भन्ने सन्देश दिँदै उनका कथाले अन्ततः सहानुभूति र समझदारीको महत्वलाई उजागर गर्छ भन्ने विषयलाई कथामा प्रस्तुत गरिएको पाइन्छ :
मैले पनि इच्छाले कहाँ पिएकी हुँ र सर! बाध्यता न हो। नखाऊँ व्यापार हुँदैन, व्यापार नभए तलब आउँदैन। तलब नआए मुखमा माड लाग्दैन। छोरीका लागि पनि त अलिकति भोजन, बास र स्कुलको फिसको जोहो गरिदिनै पर्यो। मर्न सकिँदैन। मरौं भने छोरीले दुःख पाउली भन्ने झझल्को आउँछ। दुनियाँको हात शरीरभरि फैल्याउनुभन्दा त घाटको धुवाँमा उड्नु बेस हो तर सोचेजस्तो कहाँ हुन्छ र ? (पृ.९)।
गाउँको यथार्थको चित्रण गर्दै लेखिएका ग्रामीण जीवनका समस्यामा अशिक्षा, गरिबी र परम्परागत सोचलाई यथार्थपरक रूपमा चित्रण गरिएको छ। गाउँका पात्रहरू मार्फत लेखकले विकास र चेतनाको आवश्यकता औंल्याएका छन्। प्रायः संघर्ष र आशा जगाउने सकारात्मक सोचका कथाहरूमा मुख्य पात्र जीवनका विभिन्न कठिनाइ पार गर्दै अगाडि बढ्ने प्रयास गर्दछन्। कथाकार बास्तोलाका कथामा अन्याय र शोषणको विरुद्ध एक पात्रको संघर्षको चित्रण गरिएको पाइन्छ। कथामार्फत उनी सामाजिक अन्यायको विरुद्ध आवाज उठाउनु आवश्यक छ भन्ने सन्देश दिन चाहन्छन् :–
“मिलेछ भने हेरौला। नभए चाँडै फर्किएर तिम्रो हात बाबासँग मागौला हुँदैन ? मैले त्यसोभन्दा ऊ यति खुसी भई कि सायद मैले यति धेरै खुसी भएको देखेको थिइनँ। र उसले हाँसेर मेरो हात अँठ्याई। मैले पनि उसका हात समाएर छातीमा राखें। त्यतिखेरै खोला गड्तीरमा गाई चराउने गोठालाले सुसेलेको आवाज सुनेर झस्किएपछि ऊसँग बिदा मास्दै भनें– “बाई...बाई...कविता।” यति भनेर म हिँडें। उसले पनि हात हल्लाएर बिदाइ गरी। म मिलको कुलो नउक्लिउन्जेल मलाई हेरेर हात हल्लाइरहेकी थिई( पृ.१२२) ।
पुस्तकको मूल कथाको शीर्षक रगतको मूल्य अत्यन्त अर्थपूर्ण र प्रतीकात्मक छ। ‘रगत’ले यहाँ श्रम, पसिना र जीवनशक्तिको संकेत गर्छ भने ‘मूल्य’ले त्यसको उचित कदर नहुनु वा अवमूल्यन हुनु जनाउँछ। यसरी शीर्षकले नै कथाको मूल भावलाई प्रष्ट पार्छ–
दूधकोशी किनारैकिनार सिलौरीसम्म दर्बे र उसको छोरा खोजिरहेका थिए रे। दिउँसभरि खोज्दा कतै हाम्रो लास र सास नभेटेपछि जल्किनीको चौतारोमा बसेर दर्बे भन्दै थियो रे “मेरो दाजुलाई छबे र चक्रेले मारेर कहाँ फालेफाले। ती बजियाहरूलाई कहिल्यै शान्ति नहोस्। हामीले सजाय दिन नसके पनि एक दिन भगवान्ले सजाय देलान्’ (पृ.३५)।
कथामा श्रमिक वर्गको कठोर जीवन यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ। मजदुरले दिनभर गरेको श्रमको उचित मूल्य पाउन सक्दैन र मालिक वर्गबाट शोषित हुन्छ। यसले समाजमा विद्यमान वर्गीय विभाजन र आर्थिक असमानतालाई उजागर गर्छ। कथामा श्रमिक र मालिकबीचको द्वन्द्व स्पष्ट रूपमा देखिन्छ, जसले सामाजिक संरचनाको असमानतालाई संकेत गर्छ। पात्र निर्माणका दृष्टिले मुख्य पात्र श्रमिक वर्गको प्रतिनिधि हो। उसको पीडा, संघर्ष र निराशा अत्यन्त मार्मिक रूपमा चित्रित गरिएको छ।
कथाकार बास्तोलाका भाषा र शैली सरल, सहज र भावनात्मक छन्। लेखकले सहज शब्दावली प्रयोग गरी गहिरो भाव अभिव्यक्त गरेका छन्, जसले कथालाई सबै पाठकका लागि सुलभ र सुबोध्य बनाएको छ। तर कतिपय ठाउँमा अत्यधिक भावुकता देखिनु यसको सानो कमजोरी मान्न सकिन्छ। बास्तोलाका कथाका मुख्य सन्देश श्रमको सम्मान र मानवीय मूल्यको संरक्षण हो। कथाले देखाउँछ कि मानिसको जीवन र श्रमको मूल्य पैसाभन्दा ठूलो हुन्छ। यसले पाठकलाई सामाजिक अन्यायप्रति सचेत बनाउँदै सोच्न बाध्य पार्दछन्।
समग्रमा ‘रगतको मूल्य’ कथासंग्रहका कथा सामाजिक यथार्थवादमा आधारित सशक्त र विचारोत्तेजक कथा कृति हो। केही संरचनात्मक सीमितता हुँदाहुँदै पनि यसले श्रमिक वर्गको पीडा र शोषणलाई प्रभावकारी रूपमा उजागर गर्न सफल भएको छ भन्न सकिन्छ। साझा प्रकाशनद्वारा प्रकाशित १३६ पृष्ठमा संरचित कृतिका कथाहरू पठनीय र कृति संग्रहनीय छ।
प्रतिक्रिया दिनुहोस !