इबोला भाइरस संक्रमण : नेपालमा जोखिम कति नजिक ?

इबोला भाइरस संक्रमण : नेपालमा जोखिम कति नजिक ?
सुन्नुहोस्

काठमाडौं : कंगोको इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि नेपालमा पनि हुन सक्ने सम्भावित संक्रमणप्रति सतर्कता अपनाइएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली सेना इटुरी प्रान्तका तीनवटा स्थानमा खटिएका छन्।

नेपाली सेनाका प्रवक्तासमेत रहेका ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार, इटुरी प्रान्तको राजधानी बुनियालगायतका ३ स्थानमा ९ सय ७० जनाभन्दा बढी नेपाली सेना खटिएका छन्। कुनै कारणवश कंगोबाट स्वदेश फर्किएका आफ्ना शान्ति सेनालाई २१ दिनसम्म अनिवार्य आइसोलेसनमा राख्ने निर्णय गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

प्रवक्ता बस्नेतले अन्नपूर्णसँग भने, ‘छुट्टी तथा अन्य कुनै कारणले स्वदेश आउनुपर्ने अवस्था भएको खण्डमा २१ दिन आइसोलेसनमा राखेर मात्र पठाउने निर्णय भएको छ। आइसोलेसनको अवधिमा पनि मेडिकल विभागले सम्बन्धित व्यक्तिसँग समन्वय र सम्पर्क गर्दै स्वास्थ्य परीक्षण गर्नेछ।’

बाहिर पेट्रोलिङ गरेर फर्केको टोलीलाई आइसोलेसनमा राख्ने गरिएको छ। सुरक्षा प्रोटोकल पालना गरेर मात्र परिचालन गरिएको छ
- राजाराम बस्नेत, प्रवक्ता, नेपाली सेना

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि विश्वव्यापी चासो बढेको जनाउँदै विश्व स्वास्थ्य संकट घोषणा गरेको छ। अहिले बुनिया प्रान्त नजिकैका स्थानमा इबोला भाइरसको संक्रमण देखिएको छ। ‘फिल्डमा निर्देशन पनि गइसकेको छ। निर्देशन अनुसारको समन्वय पनि भएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘नेपाली सेनाको शान्ति सेना निर्देशनालय र संयुक्त राष्ट्रसंघको मेडिकल सुरक्षा प्रोटोकल दुवै तर्फबाट निर्देशन भइसकेको छ।’

बस्नेतका अनुसार सुरक्षात्मक उपायका साथै संक्रमणको अवस्थामा गर्न हुने र गर्न नहुने विषयहरूबारे जानकारी गराइसकिएको छ। ‘बाहिर पेट्रोलिङ गरेर फर्केको टोलीलाई आइसोलेसनमा राख्ने गरिएको छ। सुरक्षा प्रोटोकल पालना गरेर मात्र परिचालन गरिएको छ,’ प्रवक्ता बस्नेतले भने। नेपाली शान्ति सेनामा अहिलेसम्म इबोला संक्रमण पुष्टि भएको छैन।

इबोला संक्रमण हालसम्म कंगो र युगान्डामा पुष्टि भएको डब्लूएचओले जनाएको छ। इबोला जंगली जनावरमा पाइने भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ। यो मानिसबाट मानिसमा पनि फैलिने गर्छ। यसका प्रारम्भिक लक्षणमा ज्वरो आउने, अत्यधिक कमजोरी महसुस हुने, मांसपेशी दुख्ने तथा घाँटी खराब हुने लगायतका छन्। 

रोग बढ्दै जाँदा बान्ता हुने, झाडापखाला लाग्ने तथा कतिपय अवस्थामा आन्तरिक र बाह्य रक्तस्रावसमेत हुन सक्छ। भाइरस सङ्क्रमण भएपछि रोगका लक्षण देखिन दुईदेखि २१ दिनसम्म लाग्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.