के कसुरमा पक्राउ परेका हुन् दुर्गा प्रसाईं ?
वीरगन्ज : जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट सोमबार बेलुकी मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे खुलाएको छ ।
मंगलबार वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुनका लागि आएका बेला सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।
सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दैगर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसुरबारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन । होटलबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईंलाई सिधै जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे मंगलबार प्रश्न गर्दा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रसाईंले विभिन्न समयमा अभिव्यक्त गरेका आपत्तिजनक अभिव्यक्तिका कारण नियन्त्रणमा लिइएको बताए ।
बस्नेतले भने, ‘विभिन्न व्याक्ति तथा सार्वजनिक संस्थालाई लक्षित गरी मानमर्दन र सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धको अभिव्यक्ति दिएका कारण उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’ प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
बस्नेतले भने, ‘हामी अहिले पनि अनुसन्धानकै क्रममा छौं । म्याद थप भइसकेको छैन ।’ राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार काठमाडौंबाट सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका थिए । वीरगन्जको सिद्धार्थ दियालो होटलमा सोमबार साँझ पुगेका उनले प्रहरीले पक्राउ गर्नुअघि पत्रकार सम्मेलन पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !