त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगलागी
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान ६:३३ बजे काठमाडौंमा अवतरण गर्नेक्रममा टीके ७२६ कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार दायाँ तर्फको ल्यान्डिङ गियरमा आगो र धुँवा देखिनेबित्तिकै दमकल प्रयोग गरी आगो निभाइएको छ। विमानमा सवार यात्रुहरुलाई आपतकालीन ढोका खोलेर निकालिएको थियो।
अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाज मुख्य धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिटौलाले अन्नपूर्ण पोस्ट्सँग भने ‘जहाज अहिले रनवेमा नै छ। अहिले एयरपोर्ट बन्द गरिएको छ। विमानलाई ट्याक्सी-वेतर्फ लैजाने प्रयास भइरहेको छ। केही समयपछि एयरपोर्ट खुल्छ।’
विमानमा २७३ जना यात्रु र ४ जना चालक दलका सदस्य सिटौलाले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। एक जना यात्रुलाई एम्बुलेन्समा लगिएको छ।
यसअघि पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना परेको थियो।
प्रतिक्रिया दिनुहोस !