सुक्खा मनसुनको संकेत : धान खेती र खाद्य सुरक्षामा चुनौती
काठमाडौं : मौसमी प्रणाली ‘एल निनो’ को प्रभावले आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। एल निनोको प्रभाव रहेको समयमा नेपालमा प्रायः कम वर्षा हुने गर्छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार विगत ४५ वर्षको अवधिमा नेपालको मनसुन सिजनमा ९ पटक एल निनो रहेको थियो। जसमध्ये ८ वटा वर्षमा नेपालमा औसतभन्दा कम वर्षा भएको थियो। तर, सन् १९८७ मा एल निनो रहे पनि औसतभन्दा केही बढी वर्षा भएको विभागले जनाएको छ।
विभागले प्रायजसो दुईवटा मुख्य सिजन (बर्खा र हिउँद) मा ‘मनसुन आउटलुक’मार्फत मौसमको पूर्वानुमान गर्दै आएको छ। यसै सिलसिलामा विभागले शुक्रबार ‘मनसुन ऋतुको जलवायु आकलन’ सार्वजनिक गरेको छ। उक्त आकलनले यस वर्ष पनि देशका धेरैजसो ठाउँमा एल निनोको प्रभाव रहने भएकाले कम पानी पर्ने प्रक्षेपण गरेको छ। उक्त आकलनले जेठ १८ देखि असोज १४ को मनसुन अवधिलाई अध्ययन गरेको छ। कर्णाली प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको जानकारी दिइएको छ।
अन्य स्थानमा कम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ। त्यसैगरी, कोशी र कर्णाली प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने ३५ देखि ४५ प्रतिशत सम्भावना रहेको र मुलुकका अन्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जनाइएको छ।
गत वर्ष विभागले देशका धेरैजसो भागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। मधेस प्रदेशको पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा कम र कोशी प्रदेशको दक्षिणी भागमा सरदर वर्षा हुने भनिएको थियो। तर, धेरैजसो भूभागमा सरदरभन्दा कमदेखि सरदर वर्षा भएको थियो। केही स्थानमा भने सरदरभन्दा बढी वर्षा भएको थियो। त्यसैले विभागले यस प्रक्षेपणलाई ‘सम्भावना’ भन्दै आएको छ। त्यसैगरी, अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपणअनुसार नै मापन गरिएको थियो।
मौसमविद्हरूले पनि आउँदो मनसुनमा एल निनोको प्रभाव रहने भएकाले कम वर्षा हुने भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए। त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले यस वर्षको मनसुनमा जेठ १५ देखि साउन १५ को अवस्था हेर्दा यसपटक मनसुनको पहिलो आधा समय सुक्खा हुने अनुमान रहेको बताएका छन्। मुख्यतः कृषि क्षेत्रमा यसको असर पर्ने देखिन्छ। गत वर्ष पनि मधेस प्रदेशमा कम वर्षा हुँदा रोपाइँ गर्न सकिएको थिएन। यस वर्ष पनि ३० देखि ४० प्रतिशत मात्र रोपाइँ होला कि भन्ने चिन्ता उनले व्यक्त गरेका छन्।
विभागकै अर्का सहप्राध्यापक मदन सिग्देलले नेपालमा मात्रै नभएर दक्षिण एसियाका अधिकांश भागहरूमा आगामी मनसुनमा थोरै वर्षा हुने देखिएको बताए। जसले यी क्षेत्रहरूमा न्यूनतम र अधिकतम तापक्रम पनि सामान्यभन्दा धेरै हुने सिग्देलले उल्लेख गरे। गत वर्ष पनि मधेसले चरम खडेरी सामना गर्नु परेको उनले बताएका छन्।
जलाधार विज्ञ तथा कृषि एवं खाद्य सुरक्षाका विषयमा निरन्तर लेखिरहेका मधुकर उपाध्यायले नेपालमा आउँदो मनसुनमा समग्रमा करिब ७ देखि ८ प्रतिशत कम पानी पर्ने अनुमान गरिएको बताए। कम पानी पर्ने भए पनि यसले कुनै पनि समयमा विपद् ल्याउन सक्ने भएकाले चनाखो रहनुपर्ने पनि उनले बताए। एकै पटक अत्यधिक वर्षा हुँदा त्यसले बाढी, पहिरो, डुबानजस्ता विपद् ल्याउँछ तर कृषि कार्यका लागि खासै काम दिँदैन। पछिल्लो समय ‘क्लाउड ब्रस्ट’ (बादल फुट्ने) को समस्या नेपालका विभिन्न स्थानमा देखिएको र त्यसले विपद् ल्याएको पनि उनले बताए। उनले भने, ‘मनसुनमा पानी नपर्नुको असर गम्भीर छ, यसले खाद्य सुरक्षामा चुनौती ल्याउँछ।’ यसपटक मनसुनमा कम वर्षा हुने सवालमा भारतलगायत अन्य देशहरूमा पनि प्रक्षेपण भइसकेको उनले जनाए।
कसरी हुन्छ प्रक्षेपण ?
विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार विश्वव्यापी मौसमी आकलनअनुसार विभिन्न ‘टुल’ मार्फत नेपालको जलवायुमा कस्तो प्रभाव पार्छ भन्ने रूपरेखा तयार गरिन्छ। विश्व मौसम संगठनले विश्वव्यापी प्रारूपअनुसार १५ वटा जलवायु पूर्वानुमान सेन्टरका पूर्वानुमान उपलब्ध गराउँदै आएको छ। त्यसबाट धेरैवटा मोडलको औसत अवस्था निकालिन्छ, जसले सिजनल पूर्वानुमान निकाल्न सहयोग गर्छ। दक्षिण एसियाली जलवायु आँकलन मञ्चमा सहभागी भएर छलफल गरी नेपालको राष्ट्रिय जलवायु आकलन तयार गरिन्छ।

एल निनोको नेपालको मनसुनमा प्रभाव
नेपालको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र साउदर्न ओसिलेसन तथा हिन्द महासागरमा विकसित हुने आईओडीको हालको अवस्था एवं जलवायु प्रारूपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँदमा परेको हिउँ तथा प्रि–मनसुनमा परेको हिउँ र अन्तर–ऋतु परिवर्तनशीलताका कारकहरूलाई समेत मध्यनजर गरिन्छ।
एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम अवस्था हो। एल निनोको सामान्य अवस्थालाई ‘तटस्थ अवस्था’ भनिन्छ। यस्तो बेलामा प्रशान्त महासागरको पूर्वी सतहमा चिसो र प्रशान्त महासागरको पश्चिमी सतह केही तातो हुन्छ। पश्चिमबाट पूर्व बग्ने हावा (ट्रेड विन्ड)ले गर्दा यस्तो अवस्था हुन्छ। यतिबेला हामी एल निनोको अवस्थामा जाँदैछौं। आईओडी तटस्थ अवस्थामा रहेको छ तर अन्त्यमा सक्रिय रहनेछ।
मनसुन ऋतुको जलवायु आकलन सार्वजनिक कार्यक्रममा उपस्थित भएकी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जलवायु परिवर्तनको प्रभाव जलस्रोत क्षेत्रमा परेको बताइन्। के–कस्तो असर परेको छ भन्ने विषयमा अध्ययन गर्न जरुरी रहेको उल्लेख गर्दै विभागको कामको प्रशंसा गरिन्। उनले भनिन्, ‘मौसम पूर्वानुमान तथा पूर्वसूचनाले जोखिममा रहेका मानिसको जिउधनको रक्षा गरेको छ। यसलाई अझै सशक्त र
समृद्ध बनाउनुपर्छ।’
हालसम्म विभागले तीन दिने मौसम पूर्वानुमान दिँदै आए पनि यसलाई सात दिनसम्मको बनाउनुपर्ने उनले बताइन्। यस योजनालाई बलियो बनाउन तथा मौसमी सञ्जालहरू अझै हिमाली र पहाडी क्षेत्रमा कम भइरहेकाले त्यस्ता स्थानमा पुग्ने गरी काम गर्नुपर्ने उनको धारणा थियो। जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै हिमताल तथा हिमनदी अवलोकन र तालको पानी घटाउने कामहरू भइरहेको र यस्ता काम प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने उनले सुझाइन्।
पोहोर पनि तराई सुक्खा
पोहोर साल पनि मुख्यतः तराई क्षेत्रमा खडेरी परेको थियो। विभागले सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरे पनि मनसुनको अन्त्यतिर मात्रै मनसुन सक्रिय बनेको थियो। त्यसले गर्दा तराईमा रोपाइँ गर्न समस्या भएको थियो। तराईलाई मन्त्रिपरिषद्को बैठकले ‘प्राकृतिक विपत्तिग्रस्त क्षेत्र’ घोषणा नै गरेको थियो। कोशी र मधेस प्रदेशका दर्जनौं जिल्ला खडेरीको मारमा परेका थिए।
तराईमा खडेरीका कारण धान उत्पादनमा गिरावट आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको थियो। नेपालमा खाद्य सुरक्षाका लागि धान बाली एउटा महत्वपूर्ण बाली मानिन्छ। कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा धान बालीको कुल क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर रहेकोमा यस आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर भएको मन्त्रालयले जनाएको थियो। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को एउटा रिपोर्टले पोहोरको बर्खामा चारदेखि साढे चार लाख मेट्रिक टन धान उत्पादनमा गिरावट आउने बताएको थियो।
त्यसैगरी, एक लाख ४२ हजार हेक्टर खेतीयोग्य जग्गा खडेरीको मारमा परेको जनाइएको थियो। यसपटक पनि मनसुनमा चाहेजति वर्षा नहुने भएकाले बेलैमा सचेत हुनुपर्ने पाठ यसले सिकाएको छ।
प्रधानमन्त्रीको चासो
मौसमी प्रणाली ‘एल निनो’ को प्रभावबारे प्रधानमन्त्री वालेन्द्र शाहले चासो लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसमी प्रभावबारे प्रधानमन्त्रीले चासो लिएको बताएका हुन्। ‘उहाँ उत्साहित हुनुहुन्छ,’ काठमाडौंमा भएको कार्यक्रममा उनले भने, ‘चासो लिइराख्नुभएको छ।’
विज्ञान, अध्ययन तथा विपद् पूर्वतयारीमा आधारित काम गर्ने मञ्चका रूपमा उक्त कार्यक्रमलाई लिइएको भन्दै उनले पूर्वसूचना तथा पूर्वानुमानका लागि विभागले प्रशंसनीय काम गरेको बताए। कार्यक्रममा मन्त्री श्रेष्ठले जल तथा मौसमसम्बन्धी पूर्वानुमान एवं पूर्वसूचनाले जिउधनको सुरक्षा गर्न मद्दत गर्ने तथा विपद्का लागि कार्ययोजना बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यसबाट आर्थिक र भौतिक क्षेत्रलाई लगानी र लागत व्यवस्थापन गर्न पनि सहयोग पुग्ने विचार उनले व्यक्त गरे।
मनसुन आकलनले यातायात, पूर्वाधार, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्न सहयोग पुर्याउने बुझाइ उनको छ। बाढी पूर्वानुमान तथा पूर्वसूचनाले लाखौं नागरिकलाई सुरक्षित बनाएको र क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासनलाई बेलैमा सचेत हुन सिकाएको पनि उनले बताए।
तर, हाल भइरहेको काम अझै पर्याप्त नभएको, अप्रत्याशित र अनियमित खालका मौसमी घटना हुँदै आएकाले त्यसका लागि धेरै काम गर्न बाँकी रहेको पनि उनले बताए। यस क्षेत्रमा अझै लगानी बढाउनुपर्ने तथा एआईसमेतको प्रयोग गर्न सकिने सुझाव उनले दिए।
थप वित्तीय स्रोत दिएर प्रोत्साहन गर्ने र जलवायुका कुरा गर्दा आन्तरिक स्रोतलाई बढी खोतल्दै काम गर्नुपर्ने उनले बताए। खोज, अध्ययन र अनुसन्धान गर्नेहरूका लागि अभिन्न अंगका रूपमा विश्वविद्यालयलाई पनि जोड्न आवश्यक रहेको उनले औंल्याए। नेपालमा कतिपय कार्यक्रमहरू तथ्यहीन रूपमा उद्घोष भए पनि अब तथ्यमा आधारित भएर काम गर्नुपर्ने उनले बताए। स्रोत, साधन र प्रविधिका लागि नीति तथा कार्यक्रमबाट सम्बोधन गर्न सकिने पनि उनले जानकारी दिए।
दुई दिनअघि पनि उनी विभागमा पुगेर त्यहाँ भइरहेका कामको बारेमा जानकारी लिएका थिए। बर्खा लाग्नै लागेकाले आफू त्यहाँ पुगेको उनले बताएका थिए। विभागले प्रवाह गर्दै आएका सूचनाहरू तथ्यगत र विश्वसनीय रहेकाले सबैलाई यसबाट लाभान्वित हुन उनले सुझाएका थिए। पूर्वसूचना प्रणालीलाई अझै छिटोछरितो बनाउने र तीन दिने पूर्वानुमानबाट सात दिने बनाउन बजेट विनियोजन गरेको उनले बताएका थिए।
प्रतिक्रिया दिनुहोस !