सन् २०२६ पनि तातो हुने
काठमाडौं : विश्व मौसम संगठनले यो वर्ष सामान्यभन्दा धेरै गर्मी हुने प्रक्षेपण गरेको छ। छिमेकी मुलुक भारतको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ।
प्रशान्त महासागरको सतह तातिने मौसमी प्रणाली ‘एल नीनो’ का कारण जुनको अन्त्यदेखि सेप्टेम्बरसम्म हुने वर्षामा कमी आउने भारतीय मौसमविद्को विश्लेषण छ। यद्यपि, नेपालमा भने आगामी मनसुन कस्तो रहन्छ भन्ने विषयमा जल तथा मौसम विज्ञान विभागले हालसम्म औपचारिक आकलन सार्वजनिक गरेको छैन। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले अहिले नै मनसुनको अवस्थाबारे यकिन गर्न नसकिने बताए। ‘विश्वव्यापी मौसमी प्रणाली हेरेर नै नेपालको मौसम प्रक्षेपण गरिन्छ।
दक्षिण एसियाली क्षेत्रका वैज्ञानिकहरूले गर्ने साझा प्रक्षेपणपछि मात्र हामी सबै तथ्यांक विश्लेषण गरेर आफ्नो धारणा सार्वजनिक गर्छौं,’ पौडेलले भने। उनका अनुसार विभागले हरेक वर्ष जेठको पहिलो साता ‘मनसुन आउटलुक’ सार्वजनिक गर्ने गर्छ। हालसम्मको प्रि–मनसुनको अवधि हेर्दा वर्षाको अवस्था सामान्य नै देखिएको उनले जानकारी दिए।
तराई क्षेत्रमा भने वर्षा कम हुँदा तापक्रम निकै बढिसकेको छ। केही दिन पानी नपर्दा तराईका जिल्लाहरू तात्न सुरु गरिसकेका छन्। पहाडी क्षेत्रमा दुई–चार दिनको अन्तरालमा पानी परिरहे पनि तराई र काठमाडौं उपत्यका भने सुक्खा नै देखिएको छ। नेपालगन्ज र धनगढी क्षेत्रमा तापक्रम बढी भए पनि हालसम्म ‘लु’ (तातो हावा) को घोषणा भने नगरिएको पौडेलले बताए। ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम र लगातार तीन दिनसम्म उस्तै प्रकृतिको अवस्था रहेमा मात्र ‘लु’ घोषणा गरिने प्रावधान छ।
खाद्य तथा जलस्रोतका विषयमा अध्ययनरत जलाधारविज्ञ मधुकर उपाध्यायले यस वर्ष ‘एल नीनो’ ले मौसमी प्रणालीलाई दबाउने भएकाले पानी कम पर्ने बताए। उनी भन्छन्, ‘यसपटक ‘सुपर एल नीनो’ आउने अनुमान गरिएको छ, समुद्रको सतह अहिले नै तातिसकेको छ। यसले गर्दा यो वर्ष निकै गर्मी हुने देखिन्छ।’ कतै खडेरी त कतै आकस्मिक बाढी निम्त्याउन सक्ने खालको मौसमी चरित्र विकास भइरहेकाले यसको सबैभन्दा ठूलो असर कृषि क्षेत्रमा पर्ने उनको विश्लेषण छ।
नेपालको तराईमा अहिले नै तापक्रम ४१ डिग्री सेल्सियस नाघिसकेको छ। भारतका कतिपय स्थानमा ४५ डिग्री पुगेको र यो ५० डिग्रीसम्म पुग्न सक्ने अनुमानले पनि ‘एल नीनो’ को प्रभाव कडा रहने संकेत गरेको छ। जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले काठमाडौं लगायतका क्षेत्रमा अझै केही दिन पानी नपर्ने भएकाले गर्मी बढ्ने बताए। उनका अनुसार अर्को साता मात्रै पानी पर्ने सम्भावना देखिएको छ।
प्रतिक्रिया दिनुहोस !