हिसाब होइन, विश्वास बराबर !
राणा शासनको अन्त्यपछि प्रजातन्त्र आयो। समयसँगै व्यवस्था परिवर्तन हुँदै गए। व्यवस्थाअनुकूल संविधान संशोधन हुँदै गए।
साँझको हल्का हावाले काठमाडौं उपत्यकाको आकाशलाई केही शान्त बनाइरहेको थियो। चोकमा भीडभाड क्रमशः पातलिँदै थियो, तर चिया पसलहरूमा बहस अझै बाक्लै थियो। सबै आ–आफ्ना विचार बहसमा देखिन्थे। कसैले निराश भएर भनिरहेको थियो, ‘यो देशमा कसैले कसैलाई सुन्नेवाला नै छैनन्।’ त्यो वाक्यले राजनीतिक यात्राको एउटा गहिरो सत्य झल्काइरहेको थियो। हामी संवादभन्दा आरोपमा छिटो विश्वास गर्छौं, सहकार्यभन्दा प्रतिशोधमा सजिलै उत्साहित हुन्छौं पनि। तर प्रश्न उठ्छ, के राजनीति प्रतिशोधको मैदान हो, कि समन्वयको पुल ?
इतिहासले दिएको संकेत : नेपालको आधुनिक राजनीतिक इतिहास हेर्दा एउटा रोचक तर दुःखदायी लय पनि देखिन्छ। परिवर्तनका हरेक अध्याय आशाले सुरु हुन्छन्, तर धेरैजसो अध्याय अविश्वास र प्रतिस्पर्धाको दौडमा अल्झिन्छन्। राणा शासनको अन्त्यपछि प्रजातन्त्र आयो। समयसँगै व्यवस्था परिवर्तन हुँदै गए। व्यवस्थाअनुकूल संविधान संशोधन हुँदै गए। नयाँ–नयाँ ऊर्जा थपिँदै गयो।
तथापि राजनीतिक स्थायित्वको ग्यारेन्टी भने दिन सकेन। जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान। यी सबै उपलब्धिले नेपाललाई नयाँ दिशा दिएका छन्। तर उपलब्धिबीच राजनीतिक शक्तिहरूमा समन्वयको अभावको समस्या बारम्बार देखिन्छ। राजनीति जब प्रतिशोधको भावनाले निर्देशित हुन्छ, तब निर्णयहरू नीतिभन्दा भावना र अहंकारले निर्धारण गर्न थाल्छन्। त्यसबेला नीति होइन, व्यक्ति केन्द्रमा आउँछ; समाधान होइन, संघर्ष प्राथमिकता बन्छ। विकासभन्दा बहसमा केन्द्रित हुन पुग्छ प्रतिशोधको राजनीति।
प्रतिशोध र यसका असर: प्रतिशोधको राजनीति सुरुमा निकै आकर्षक देखिन सक्छ। जनता पनि कहिलेकाहीँ कठोर कदमको अपेक्षा गर्छन्। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ भन्ने भावना स्वाभाविक पनि हो। तर जब राज्य सञ्चालनको आधार प्रतिशोध बन्छ, तब समस्या सुरु हुन्छ। विश्वासको क्षय हुँदै राजनीतिक दलहरूबीच आपसी विश्वास हराउँदै जान्छ। आज जसले प्रतिशोध लिन्छ, भोलि ऊ नै प्रतिशोधको लक्ष्य बन्न सक्छ। यस्तो चक्रले राज्यको ऊर्जा विकासभन्दा संघर्षमा खर्च गराउँछ।
दोस्रो समस्या हो, संस्थागत कमजोरी। जब निर्णयहरू व्यक्तिगत हिसाबकिताबबाट प्रेरित हुन्छन्, तब संस्थाहरू कमजोर बन्छन्। नियमभन्दा शक्ति ठूलो हुन्छ, प्रक्रियाभन्दा दबाब बलियो हुन्छ। तेस्रो समस्या हो, जनताको निराशा। राजनीतिक संघर्षको धुवाँभित्र जनताका वास्तविक समस्या हराउन थाल्छन्। सफल लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिशोध होइन। प्रतिशोध अशान्ति र कलहका बीजहरू हुन्। समन्वय शान्तिको परिभाषा हो। समन्वयको क्षमता जो सबैसँग नहुन पनि सक्छ र यो कठिन काम पनि हो।
समन्वयको अर्थ र आवश्यकता : समन्वयको राजनीति भन्नेबित्तिकै सबै दल एउटै विचारमा सहमत हुन्छन् वा हुनुपर्छ भन्ने पनि होइन। लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक हो, आवश्यक पनि हो। तर समन्वयको राजनीति भनेको भिन्नताबीच साझा आधार खोज्ने क्षमता हो। जहाँ विपक्षीलाई शत्रु होइन, प्रतिस्पर्धी मानिन्छ। बहसलाई कमजोरी होइन, परिपक्वताको संकेत मानिन्छ। सिद्धान्त बेचेर होइन, साझा हितलाई प्राथमिकता दिएर सम्झौता गर्ने कला पनि हो समन्वयको राजनीति।
एउटा कथा, गाउँको एउटा पान पसलमा दुई वृद्ध मित्र भेटिए। दुवै भिन्न राजनीतिक विचारका थिए। विभिन्न समयमा भएका उथलपुथल र व्यवस्था परिवर्तनपछिका अवस्था परिवर्तनका साक्षी पनि थिए। कहीँ आशा थिए त कहीँ आशापछिका निराशा अभिव्यक्तिमा समेत झल्किरहेका थिए। पहिलोले भने, ‘हाम्रो दलले सरकार बनाएपछि सबै हिसाब बराबर गर्छ।’ दोस्रो मुस्कुराए, पान चपाउँदै भने, ‘हिसाब बराबर गर्न खोज्दा नागरिक र देश–समाजप्रतिको घाटा र नाफा के हुने, कहिल्यै सोच्यौ ?’ पहिलो अलि अचम्ममा परे, ‘त्यसो भए के गर्ने ?’ दोस्रोले भने, ‘हिसाब होइन, विश्वास बराबर गर्नुपर्छ।’
नयाँ पुस्ताको अपेक्षा : वाक्य साधारण थियो तर अर्थ गहिरो। राजनीतिक प्रतिस्पर्धा स्वाभाविक हो, तर राज्य सञ्चालन विश्वासको आधारमा मात्र सम्भव हुन्छ। जब युवा देश छोडेर विदेश जाने निर्णय गर्छन्, त्यसको कारण आर्थिक अवसरको कमी मात्र पनि होइन, राजनीतिक निराशा पनि हो। युवापुस्ताको अपेक्षा राजनीतिक भाषण र सपनाभन्दा परिणाम हो। उनीहरूलाई आरोपको होइन, अवसरको राजनीति चाहिएको छ।
यदि राजनीतिले प्रतिशोधको चक्र तोडेर सहकार्यको संस्कृति विकास गर्न सक्यो भने युवाको विश्वास पनि फर्किन सक्छ। समन्वयको राजनीति आफैं जन्मिने भन्ने पनि होइन। यसलाई नेतृत्वले सिर्जना गर्नुपर्छ। साँचो नेतृत्वले विजयलाई पनि संयमित बनाउँछ भने पराजयलाई पनि गरिमापूर्ण बनाउँछ। जब नेतृत्वले प्रतिशोधभन्दा सहकार्यलाई प्राथमिकता दिन्छ, तब संस्थाहरू बलियो हुन्छन्, नीति स्थिर हुन्छन्, र जनताको विश्वास पनि बढ्दै जान्छ। भौगोलिक नाप–नक्सामा नेपाल सानो देश हो, तर सम्भावना ठूला र धेरै अमूल्य छन्। प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, युवा जनशक्ति सबैले नेपाललाई उज्यालो भविष्यतर्फ डोहोर्याउँछन्। सम्भावनालाई वास्तविकतामा बदल्न राजनीतिक परिपक्वता भने अनिवार्य झैं हुन्छ।
फेरि गाउँकै त्यही पान पसल सम्झिन्छु। बहस अझै जारी छ। के हामी प्रतिशोधको बाटो रोज्छौं, जसले अर्को संघर्षको बीउ रोप्छ ? कि समन्वयको पुल बनाउँछौं, जसले भविष्यको यात्रालाई सजिलो बनाउँछ ? देशको भविष्य साझा प्रयासबाटै निर्माण हुने हो। विगतको इतिहासले धेरै पाठ दिएको छ। अबको समय भनेको ती पाठलाई बुद्धिमानीका साथ प्रयोग गर्ने पनि हो। अन्ततः राजनीति केवल सत्ता प्राप्त गर्ने कला मात्र होइन; यो समाजलाई अघि बढाउने जिम्मेवारी पनि हो। र त्यो जिम्मेवारी पूरा गर्न प्रतिशोध होइन, समन्वयको राजनीति नै सबैभन्दा बलियो आधार हो।
भौगोलिक नाप–नक्सामा नेपाल सानो देश हो, तर सम्भावना ठूला र धेरै अमूल्य छन्। प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, युवा जनशक्ति सबैले नेपाललाई उज्यालो भविष्यतर्फ डोहोर्याउँछन्। सम्भावनालाई वास्तविकतामा बदल्न राजनीतिक परिपक्वता भने अनिवार्य झैं हुन्छ।
प्रतिक्रिया दिनुहोस !