कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
वीरेन्द्रनगर : राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतका कार्यवाहक उपसभापति जगत बस्नेत, कर्णालीका संस्थापक महामन्त्री चन्द्रकला विक लगायतले पार्टी परित्याग गरेका छन् । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
निर्वाचनको सम्मुखमा सुर्खेतका कार्यवाहक सभापतिले नै पार्टी छोडेपछि रास्वपालाई गम्भीर धक्का लागेको छ । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिकरुपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको दावी गरिन् । 'पार्टीका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार हुन अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजारको लेखाजोखा न प्रदेशले दिन सकेको छ न त जिल्लाले नै । यसको रहस्य अझै बुझ्न सकिएको छैन,' उनले भनिन् ।
नेताद्वय बस्नेत र विकले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डा अघि बढाउन रास्वपा असंक्षम रहेकाले बेलैमा सचेत हुन आग्रह गरे । उनीहरुलाई कांग्रेसमा स्वागत गर्दै शर्माले लोकतन्त्र सुदृढीकरण र जनताका मुद्दामा एकजुट भएर अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस !