विश्वासको बोटमा गुनासोको फल
विश्वासभन्दा बाहिर बाँचिरहेको मानव जीवन वास्तवमा कस्तो होला ! घण्टा बताउने सुई तथा संकेतलाई घडीबाट बाहिर निकाल्दा घडीले दिने समय के होला ! आकाशमा उदाइरहेको सूर्य कतै लुकिदिए दिनको अस्तित्व के होला ! जिज्ञासाहरू कहीँ विश्वास होलान् त कहीँ अपेक्षा र कहीँ गुनासो पनि ।
उत्तर जे होस्, विश्वासबिनाका सम्बन्ध र सम्बन्धबिनाका जीवनको कुनै अर्थ रहँदैन । सामाजिक जीवनमा हरेक व्यक्ति, परिवार, समुदाय र राष्ट्रबीचको सम्बन्ध विश्वासमा नै टिकेको हुन्छ । विश्वासले नै मानवीय सम्बन्धहरूलाई सुदृढ बनाउँछ, जसको आधारमा हामी भविष्यप्रति अपेक्षा पनि गर्छौं । तर, जब ती अपेक्षाहरू पूरा हुँदैनन्, त्यहाँ गुनासो जन्मिन पुग्छ । विश्वास, अपेक्षा र गुनासा, यी तीनवटा शब्दहरू छुट्टाछुट्टै देखिन्छन् । तर, व्यवहारमा गहिरो रूपमा आपसमा गाँसिएका हुन्छन् ।
तीव्र रूपमा परिवर्तन भइरहेको समाजसँगै मानिसहरूको जीवनशैली, मूल्य मान्यता, सोच, विचार र व्यवहार पनि बदलिँदै छन् । सम्बन्धको महल विश्वासको जगमा अडेको हुन्छ । एक व्यक्तिले अर्को व्यक्ति तथा संस्थाप्रति राख्ने सकारात्मक आशा, भरोसा वा निश्चितताले सम्बन्धलाई सुदृढ बनाउँछ । विश्वासबिना अपेक्षा निर्माण हुँदैन । अनुभव र व्यवहारले विश्वासलाई गति दिएको हुन्छ । सानो छँदा हामी अभिभावकप्रति पूर्णरूपमा विश्वास गर्छौं, कारण हामीसँग विकल्प हुँदैन ।
तर, विस्तारै हाम्रो अनुभवले विश्वास बनाउँछ र भत्काउँछ पनि । विश्वासको मूल भागमा सत्यता, पारदर्शिता र निरन्तरता रहेको हुन्छ । सम्बन्ध चाहे त्यो वैयक्तिक होस् वा संस्थागत । विश्वासबिनाको सम्बन्ध खोक्रो हुन्छ । आजको आधुनिक समाजमा डिजिटल तथा सामाजिक सञ्जाल र समाचार स्रोतहरूकै कारण विश्वास टुट्ने दर तीव्र गतिमा बढ्दै पनि छ । सूचना पाउन सजिलो भए पनि विश्वास गर्न कठिन बन्दै छ ।
हामी जो जसलाई विश्वास गर्छौं, त्यसबाट केही अपेक्षा राख्नु स्वाभाविक नै हो । बच्चाले आमाबाट माया र सुरक्षाको अपेक्षा गर्छ । कर्मचारीले संस्था वा मालिकबाट न्याय र सम्मानको अपेक्षा गर्छ । नागरिकले राज्यबाट सेवा र सुरक्षाको अपेक्षा गर्छ । अपेक्षा जीवनको प्रेरणादायी पक्ष पनि हो । तर, अपेक्षा सधैं यथार्थपरक नहुन पनि सक्छन् । कहिलेकाहीँ हामीले जे अपेक्षा गरेका हुन्छौं, त्यो व्यवहारमा पुरा नहुन सक्छन् वा नहुने खालका पनि हुन सक्छन् । भ्रमपूर्ण जीवनशैलीले मानिसका अपेक्षाहरूलाई कृत्रिम रूपमा उचालिरहेका हुन्छन् । त्यही असन्तुलनले नै गुनासोलाई जन्म दिन्छ ।
अर्थात्, अपेक्षा र यथार्थबीचको टकरावको प्रतिक्रिया हो गुनासो । गुनासो तब उत्पन्न हुन्छ जब अपेक्षा पूरा हुँदैन । सामान्यतया गुनासो शब्द नकारात्मक जस्तो बुझिए, सुनिए वा देखिए पनि व्यावहारिक रूपमा हेर्दा गुनासो सुधारको स्रोत पनि हो भन्दा अत्युक्ति नहोला । मानिसहरू जब आफूलाई न्याय नभएको, सम्मान नदिइएको वा आफूमाथि उचित व्यवहार नभएको महसुस गर्छन् वा ठान्छन् तब गुनासो गर्छन् । गुनासोको स्रोत बुझेपछि मात्र समाधान पनि सम्भव हुने हो । विश्वास तथा भरोसाबाट सुरु भएको सम्बन्धमा अपेक्षा टुटेपछि गुनासो देखा पर्छ ।
आधुनिकीकरण हुँदै गइरहेको समाजमा विश्वासका संकटले कति सम्बन्धहरू थला पर्दै पनि छन् । राज्यप्रति खस्किँदै गएको विश्वास, राजनीतिक दलप्रति टुट्दै गएको अपेक्षाले नागरिकमा व्यापक असन्तोष र गुनासो जन्मिँदै छ । आज सिंगो विश्व त्यही संकटको दलदलमा फस्दै पनि छ । आन्दोलन, बहिष्कार, हिंसाजस्ता गतिविधिहरू यही असन्तोष तथा गुनासोका परिणाम नै हुन् । पारिवारिक सदस्यबीच होस् वा संस्थागत कर्मचारी र संस्थाबीचको सम्बन्ध, सबैतिर विश्वासदेखि गुनासोसम्मको चक्र चलिरहेकै हुन्छ ।
सफल जीवनको कडी पनि हो, विश्वास । विश्वास र गुनासोबीच सन्तुलन कायम गर्ने उपाय हो, संवाद । विश्वास टिकाइराख्ने सबैभन्दा ठूलो साधन हो, संवाद । जोसँग जे अपेक्षा राखिन्छ, अपेक्षाहरू खुलेर भन्नु जरुरी पनि छ । गुनासोलाई दबाउने होइन, सुनुवाइ गर्ने संस्कृतिको विकास गर्नुपर्छ । कहिलेकाहीँ हाम्रो अपेक्षा नै अवास्तविक तथा अव्यावहारिक पनि त हुन सक्छ ।
यथार्थपरक अपेक्षा राख्न सिक्नु र सक्नु पर्छ । यथार्थपरक अपेक्षामा जन्मिएका गुनासोलाई सुधारको अवसर बनाउन सकिन्छ । सरकार, संस्था वा व्यक्तिले आफ्नो व्यवहारमा सत्यता, पारदर्शीता र निरन्तरता कायम राखे विश्वास स्वतः बढ्छ । विश्वसनीयता भनेको व्यवहारमा निरन्तरता पनि हो । आज जुन कुरा गरिन्छ वा भनिन्छ, त्यो भोलि पनि उस्तै ढंगले व्यवहारमा देखिनु आवश्यक हुन्छ ।
विश्वास, अपेक्षा र गुनासोले एउटा चक्र निर्माण गरेको हुन्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ अपेक्षा जन्मिन्छ । अपेक्षा पूरा नहुँदा गुनासो जन्मिन्छ । गुनासो समाधान भएन भने विश्वास भत्किन्छ । तर यही चक्रलाई सकारात्मक ढंगले पनि घुमाउन सकिन्छ । गुनासो सुन्ने र समाधान गर्ने संस्कार हुँदा विश्वास अझै बलियो बन्छ । अपेक्षा यथार्थपरक हुँदा सम्बन्धहरू अझ सशक्त हुन्छन् ।
मानव सम्बन्धमा विश्वास, अपेक्षा र गुनासो जीवनका अपरिहार्य भाग हुन् । तीव्र गतिमा बदलिँदै गएको समाजमा अझ बढी सान्दर्भिक पनि छन् । पारिवारिक सम्बन्ध, प्रेमसम्बन्ध, व्यावसायिक सम्बन्ध, राजनीतिक सम्बन्ध, सामाजिक सम्बन्ध, वा नागरिक र राज्यबीचको सम्बन्ध । सबै सम्बन्धहरू विश्वासमै आधारित छन् । विश्वासलाई बलियो बनाउने उपायहरू अपनाउने, यथार्थपरक अपेक्षा राख्ने र गुनासोलाई सुन्ने/सुधार्ने संस्कार अपनाउने हो भने समाजमा सद्भाव, सहिष्णुता र स्थायित्व कायम रहन सक्छ ।
एकपटक विचार गरौं । के विश्वास दिलाउन खोजिरहेका छौं ? को बाट के अपेक्षा गरेका छौं ? के अपेक्षाहरू यथार्थपरक छन् ? के त्यो अपेक्षा उसको क्षमताभित्र छ ? गुनासो गर्नुभन्दा पहिला संवाद गर्यौँ ? र आफैं अरू सामु कत्तिको विश्वसनीय छौं? यदि हामीले आफैंभित्र यस्ता प्रश्नहरूको उत्तर इमान्दारीपूर्वक खोज्न थाल्यौं भने विश्वासका टुटेका पुलहरू फेरि जोडिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस !