विश्वासको बोटमा गुनासोको फल

विश्वासको बोटमा गुनासोको फल

विश्वासभन्दा बाहिर बाँचिरहेको मानव जीवन वास्तवमा कस्तो होला ! घण्टा बताउने सुई तथा संकेतलाई घडीबाट बाहिर निकाल्दा घडीले दिने समय के होला ! आकाशमा उदाइरहेको सूर्य कतै लुकिदिए दिनको अस्तित्व के होला ! जिज्ञासाहरू कहीँ विश्वास होलान् त कहीँ अपेक्षा र कहीँ गुनासो पनि । 

उत्तर जे होस्, विश्वासबिनाका सम्बन्ध र सम्बन्धबिनाका जीवनको कुनै अर्थ रहँदैन । सामाजिक जीवनमा हरेक व्यक्ति, परिवार, समुदाय र राष्ट्रबीचको सम्बन्ध विश्वासमा नै टिकेको हुन्छ । विश्वासले नै मानवीय सम्बन्धहरूलाई सुदृढ बनाउँछ, जसको आधारमा हामी भविष्यप्रति अपेक्षा पनि गर्छौं । तर, जब ती अपेक्षाहरू पूरा हुँदैनन्, त्यहाँ गुनासो जन्मिन पुग्छ । विश्वास, अपेक्षा र गुनासा, यी तीनवटा शब्दहरू छुट्टाछुट्टै देखिन्छन् । तर, व्यवहारमा गहिरो रूपमा आपसमा गाँसिएका हुन्छन् । 

तीव्र रूपमा परिवर्तन भइरहेको समाजसँगै मानिसहरूको जीवनशैली, मूल्य मान्यता, सोच, विचार र व्यवहार पनि बदलिँदै छन् । सम्बन्धको महल विश्वासको जगमा अडेको हुन्छ । एक व्यक्तिले अर्को व्यक्ति तथा संस्थाप्रति राख्ने सकारात्मक आशा, भरोसा वा निश्चितताले सम्बन्धलाई सुदृढ बनाउँछ । विश्वासबिना अपेक्षा निर्माण हुँदैन । अनुभव र व्यवहारले विश्वासलाई गति दिएको हुन्छ । सानो छँदा हामी अभिभावकप्रति पूर्णरूपमा विश्वास गर्छौं, कारण हामीसँग विकल्प हुँदैन ।

तर, विस्तारै हाम्रो अनुभवले विश्वास बनाउँछ र भत्काउँछ पनि । विश्वासको मूल भागमा सत्यता, पारदर्शिता र निरन्तरता रहेको हुन्छ । सम्बन्ध चाहे त्यो वैयक्तिक होस् वा संस्थागत । विश्वासबिनाको सम्बन्ध खोक्रो हुन्छ । आजको आधुनिक समाजमा डिजिटल तथा सामाजिक सञ्जाल र समाचार स्रोतहरूकै कारण विश्वास टुट्ने दर तीव्र गतिमा बढ्दै पनि छ । सूचना पाउन सजिलो भए पनि विश्वास गर्न कठिन बन्दै छ । 

हामी जो जसलाई विश्वास गर्छौं, त्यसबाट केही अपेक्षा राख्नु स्वाभाविक नै हो । बच्चाले आमाबाट माया र सुरक्षाको अपेक्षा गर्छ । कर्मचारीले संस्था वा मालिकबाट न्याय र सम्मानको अपेक्षा गर्छ । नागरिकले राज्यबाट सेवा र सुरक्षाको अपेक्षा गर्छ । अपेक्षा जीवनको प्रेरणादायी पक्ष पनि हो । तर, अपेक्षा सधैं यथार्थपरक नहुन पनि सक्छन् । कहिलेकाहीँ हामीले जे अपेक्षा गरेका हुन्छौं, त्यो व्यवहारमा पुरा नहुन सक्छन् वा नहुने खालका पनि हुन सक्छन् । भ्रमपूर्ण जीवनशैलीले मानिसका अपेक्षाहरूलाई कृत्रिम रूपमा उचालिरहेका हुन्छन् । त्यही असन्तुलनले नै गुनासोलाई जन्म दिन्छ ।

अर्थात्, अपेक्षा र यथार्थबीचको टकरावको प्रतिक्रिया हो गुनासो । गुनासो तब उत्पन्न हुन्छ जब अपेक्षा पूरा हुँदैन । सामान्यतया गुनासो शब्द नकारात्मक जस्तो बुझिए, सुनिए वा देखिए पनि व्यावहारिक रूपमा हेर्दा गुनासो सुधारको स्रोत पनि हो भन्दा अत्युक्ति नहोला । मानिसहरू जब आफूलाई न्याय नभएको, सम्मान नदिइएको वा आफूमाथि उचित व्यवहार नभएको महसुस गर्छन् वा ठान्छन् तब गुनासो गर्छन् । गुनासोको स्रोत बुझेपछि मात्र समाधान पनि सम्भव हुने हो । विश्वास तथा भरोसाबाट सुरु भएको सम्बन्धमा अपेक्षा टुटेपछि गुनासो देखा पर्छ । 

आधुनिकीकरण हुँदै गइरहेको समाजमा विश्वासका संकटले कति सम्बन्धहरू थला पर्दै पनि छन् । राज्यप्रति खस्किँदै गएको विश्वास, राजनीतिक दलप्रति टुट्दै गएको अपेक्षाले नागरिकमा व्यापक असन्तोष र गुनासो जन्मिँदै छ । आज सिंगो विश्व त्यही संकटको दलदलमा फस्दै पनि छ । आन्दोलन, बहिष्कार, हिंसाजस्ता गतिविधिहरू यही असन्तोष तथा गुनासोका परिणाम नै हुन् । पारिवारिक सदस्यबीच होस् वा संस्थागत कर्मचारी र संस्थाबीचको सम्बन्ध, सबैतिर विश्वासदेखि गुनासोसम्मको चक्र चलिरहेकै हुन्छ ।

सफल जीवनको कडी पनि हो, विश्वास । विश्वास र गुनासोबीच सन्तुलन कायम गर्ने उपाय हो, संवाद । विश्वास टिकाइराख्ने सबैभन्दा ठूलो साधन हो, संवाद । जोसँग जे अपेक्षा राखिन्छ, अपेक्षाहरू खुलेर भन्नु जरुरी पनि छ । गुनासोलाई दबाउने होइन, सुनुवाइ गर्ने संस्कृतिको विकास गर्नुपर्छ । कहिलेकाहीँ हाम्रो अपेक्षा नै अवास्तविक तथा अव्यावहारिक पनि त हुन सक्छ ।

यथार्थपरक अपेक्षा राख्न सिक्नु र सक्नु पर्छ । यथार्थपरक अपेक्षामा जन्मिएका गुनासोलाई सुधारको अवसर बनाउन सकिन्छ । सरकार, संस्था वा व्यक्तिले आफ्नो व्यवहारमा सत्यता, पारदर्शीता र निरन्तरता कायम राखे विश्वास स्वतः बढ्छ । विश्वसनीयता भनेको व्यवहारमा निरन्तरता पनि हो । आज जुन कुरा गरिन्छ वा भनिन्छ, त्यो भोलि पनि उस्तै ढंगले व्यवहारमा देखिनु आवश्यक हुन्छ ।

विश्वास, अपेक्षा र गुनासोले एउटा चक्र निर्माण गरेको हुन्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ अपेक्षा जन्मिन्छ । अपेक्षा पूरा नहुँदा गुनासो जन्मिन्छ । गुनासो समाधान भएन भने विश्वास भत्किन्छ । तर यही चक्रलाई सकारात्मक ढंगले पनि घुमाउन सकिन्छ । गुनासो सुन्ने र समाधान गर्ने संस्कार हुँदा विश्वास अझै बलियो बन्छ । अपेक्षा यथार्थपरक हुँदा सम्बन्धहरू अझ सशक्त हुन्छन् ।

मानव सम्बन्धमा विश्वास, अपेक्षा र गुनासो जीवनका अपरिहार्य भाग हुन् । तीव्र गतिमा बदलिँदै गएको समाजमा अझ बढी सान्दर्भिक पनि छन् । पारिवारिक सम्बन्ध, प्रेमसम्बन्ध, व्यावसायिक सम्बन्ध, राजनीतिक सम्बन्ध, सामाजिक सम्बन्ध, वा नागरिक र राज्यबीचको सम्बन्ध । सबै सम्बन्धहरू विश्वासमै आधारित छन् । विश्वासलाई बलियो बनाउने उपायहरू अपनाउने, यथार्थपरक अपेक्षा राख्ने र गुनासोलाई सुन्ने/सुधार्ने संस्कार अपनाउने हो भने समाजमा सद्भाव, सहिष्णुता र स्थायित्व कायम रहन सक्छ ।

एकपटक विचार गरौं । के विश्वास दिलाउन खोजिरहेका छौं ? को बाट के अपेक्षा गरेका छौं ? के अपेक्षाहरू यथार्थपरक छन् ? के त्यो अपेक्षा उसको क्षमताभित्र छ ? गुनासो गर्नुभन्दा पहिला संवाद गर्यौँ ? र आफैं अरू सामु कत्तिको विश्वसनीय छौं? यदि हामीले आफैंभित्र यस्ता प्रश्नहरूको उत्तर इमान्दारीपूर्वक खोज्न थाल्यौं भने विश्वासका टुटेका पुलहरू फेरि जोडिन सक्छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.