कप्तान रोहितको अर्धशतकमा नेपालले कतारलाई दियो १४८ रनको विजयी लक्ष्य
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए। उनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेलको विकेट गुमायो। २.४ ओभरमा कुशलले ८ बलमा १ चौकासहित ६ रनमा मिर्जा मोहम्मद बैगको बलमा विकेटकिपरको हातमा क्याच भए।
अर्का ओपनर आसिफ शेख १२ बलमा ११ रन बनाउँदै पेभेलियन फर्किए। दुवै ओपनरको विकेट मिर्जाकै नाममा रह्यो।
पावरप्लेमा नेपालले दुवै ओपनरको विकेट गुमाउँदै ३३ रन जोडेको थियो।
६.५ ओभरमा २ रनमा क्याच मिस हुँदा जीवनदान पाएका कुशल मल्ल ७.४ ओभरमा ८ रनमा कट एण्ड बोल्ड भए।
४८ मा ३ विकेट गुमाएको नेपालले चौथो विकेटको दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले ६२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा १४.६ ओभरमा दीपेन्द्र सिंह ऐरी क्याच आउट भए। उनले २१ बलमा २६ रन बनाए।
पाँचौँ विकेटको रूपमा आजको खेलमा मौका पाएका आदिल आलम २ रनमा कट एण्ड बोल्ड भए। छैटौं विकेटको रूपमा कप्तान रोहितको विकेट गयो। १७.१ ओभरमा सन्दीप जोरा १ रनमै बोल्ड भए। गुल्सन झा १८.४ ओभरमा ८ बलमा १६ रन बनाएर बोल्ड भए।
सोमपाल कामी अन्तिम बलमा १४ रन बनाउँदै रनआउट भए। नन्दन यादव १ रनमा अविजित रहे।
कतारका लागि बलिङ तर्फ डेनिअल आर्चर र मिर्जा मोहम्मद बैगले समान ३–३ विकेट लिँदा मोहम्मद असिम अलि र ओइस अहमदले १–१ विकेट लिए।
आजको खेलमा नेपालले कतारलाई हराएको खण्डमा नेपालले तेस्रो पटक विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ।
आजको पहिलो खेलमा ओमान र यूएईले यही पिचमा खेलेका थिए। जसमा ठुलो स्कोर बन्न सकेको थिएन । ओमानले सुपर सिक्समा २ खेल जित्दै हाल अंक तालिकामा राज गरिरहेको छ। नेपालले ओमानलाई पछ्याईहेको छ।
प्रतिक्रिया दिनुहोस !