न्यूजिल्याण्डलाई हराउँदै इजिप्टको विश्वकपमा पहिलो जित
काठमाडौं : विश्वकप २०२६ को समूह जी को खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३–१ ले पराजित गरेको छ। भ्यानकुभर स्टेडियममा भएको खेलमा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा न्यूजिल्याण्डले इजिप्टसँग हार बेहोरेको हो।
पहिलो हाफमा १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो हाफमा ३ गोल बेहोर्यो। खेलको १५ औं मिनेटमा न्यूजिल्याण्डले सेटपिसमार्फत गोल गर्दै अग्रता बनाएको थियो। न्यूजिल्याण्डका लागि फिन सरम्यानले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका हुन्।
खेलको ३५ औं मिनेटमा मोहम्मद सलाहले हानेको फ्रि किक वाइड भयो। पहिलो हाफमा १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो हाफमा अग्रता जोगाउन सकेन।
दोस्रो हाफको सुरुवातबाट नै इजिप्टले न्यूजिल्याण्डमाथि दबाब बनायो। जसको फलस्वरुप खेलको ५८ औं मिनेटमा इजिप्टले बराबरी गोल फर्कायो। इजिप्टको लागि मुस्तफा जिकोले मोहम्मद हानीको क्रसमा राम्रो हेडर प्रहार गर्दै गोल गरे। इजिप्टको लागि दोस्रो गोल कप्तान मोहम्मद सलाहको नाममा रह्यो। मोहम्मद जिकोको असिस्टमा सलाहले खेलको ६७ औं मिनेटमा राम्रो फिनिस गरे।
खेलको ८२ औं मिनेटमा मोहम्मद सलाहको असिस्टमा महमूद ट्रेजेगुएटले हेडरमार्फत गोल गरे। यो इजिप्टको विश्वकपमा पहिलो जित हो। न्यूजिल्याण्डमाथि जित दर्ता गर्दैं इजिप्ट समूह जी को शीर्ष स्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस !