१९ वर्षीय आदित्य सुवेदी, जसले अमेरिकामा झन्डै ४ अर्ब लगानी जुटाए
काठमाडौं : भनिन्छ, सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। १९ वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उनलाई विश्वस्तरीय सफलतातर्फ डोहोर्याइरहेको छ। १९ वर्षको अल्लारे उमेरमै उनले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।
बंगलादेशी मूलका क्यानेडियन साथी २० वर्षीय इब्राहिम हुसेनसँग मिलेर सुवेदीले स्थापना गरेको कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी काम गर्ने कम्पनी आर्किटेक्ट ल्याब्सका कारण उनी विश्वभर चर्चामा आएका छन्। आर्किटेक्ट ल्याब्सले २ करोड ४० लाख अमेरिकी डलर (करिब ३ अर्ब ६२ करोड रुपैयाँ) बराबरको प्रारम्भिक लगानी जुटाएपछि अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले यसलाई महŒवका साथ समाचारमा स्थान दिएका छन्।
अमेरिकाको क्यालिफोर्नियामा स्थापित यस कम्पनीले एआईको प्रयोगमार्फत सेमिकन्डक्टर चिप डिजाइन प्रक्रियालाई छिटो, सस्तो र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। अहिले एउटा चिप डिजाइन गर्न वर्षौं लाग्ने र करोडौं खर्च हुने अवस्थालाई कम लागत र समयमा सम्पन्न गर्ने उद्देश्य कम्पनीले राखेको छ। कम्पनीले आगामी पुस्ताका लागि आवश्यक कस्टम चिप निर्माणको काम अघि बढाइरहेको छ। गुगल डिपमाइन्डका प्रमुख वैज्ञानिक जेफ डिनसहित ओपनएआई, एनभिडियालगायत विश्वका प्रतिष्ठित प्रविधि कम्पनीका सञ्चालकहरूले समेत लगानी गरेपछि कम्पनीका संस्थापक सुवेदीमात्र स्थापित भएका छैनन्, यसबाट नेपाली युवाको क्षमतालाई विश्वले कदर गरेको छ र नेपाली युवा वर्गले विश्वमञ्चमा आफ्नो क्षमता प्रदर्शन सकिन्छ भन्ने प्रेरणासमेत पाएका छन्।
को हुन् आदित्य सुवेदी
अमेरिकामा पढ्न जानु अघि दुबईको ट्रान्जिटमा रहँदा आदित्यले दुबई सिटी देखाउँदै भनेका थिए, ‘ममी, यो सहरमा संसार ठूला–ठूला कम्पनी छन् र धेरै धनी मानिसहरू पनि यहीँ बस्छन् । हाम्रो कम्पनीको कार्यालय यहाँ पनि हुन्छ ।’ भर्खरै विद्यालय तह पूरा गरेका आदित्यको आत्मविश्वासलाई उनको हजुरआमाले अस्वाभाविक रूपमा लिइन्। ‘अमेरिका पुगेपछि पनि यस्तै हावादारी गफ गर्ने होइन नि बाबु, राम्ररी पढ्ने नि ?’, हजुरआमाले उल्टै सम्झाइन्।
आमा अञ्जु भट्टराईले त्यो विगत सम्झँदै अन्नपूर्ण पोस्ट्सँग भनिन्– कुरै कुरामा ढाडस दिँदै मैले भनें, ‘हो नि !, एलन मस्क र बिल गेट्सँग पनि त सपनामात्र थियो। सपना देख्नेले नै सफलता पाउँछ बाबु।’ आमा अञ्जुलाई छोराप्रति विश्वास त थियो तर आफ्नै छोरा विश्व प्रविधि क्षेत्रमा पहिचान बनाउने यात्रामा छ भन्ने त्यतिबेला थाहा हुने कुरै भएन।
उनी त आफ्नो छोरामा सकारात्मक ऊर्जामात्र भर्दै थिइन्। आदित्य पढाइमा सानैबाट अब्बल थिए। उनी युलेन्स स्कुलको आईबी टपरसमेत हुन्। अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वर्डमा छात्रवृत्तिमा नाम निकालेर विश्वविद्यालयलेले वार्षिक ८१ हजार डलर दिनेगरी पढ्न पाउने भएपछि छोराको भविष्यलाई लिएर उनमा चिन्ता थिएन। तर, सानैदेखि ठूलो सपना देख्ने आदित्यलाई हार्वर्डको हाता घरको आँगनभन्दा सानो हुन पुग्यो र उनले औपचारिक पढाइ तत्काललाई रोकेर उद्यमशीलतातर्फ कदम बढाए।
मोरङ पुख्र्यौली घर भई काठमाडौंमै जन्मेहुर्केका आदित्य सुवेदी साधारण परिवारमा जन्मेका प्रतिभावान् युवा हुन्। बुवा नवराज सुवेदी र आमा अञ्जु भट्टराईको कोखबाट १९ वर्षअघि जन्मिएका उनी कान्छा छोरा हुन्। सानैदेखि उनीमा पढाइसँगै खेलप्रति लगाव थियो। टेनिस र क्रिकेटका उनी राम्रा खेलाडी हुन्। क्रिकेटको अन्डर १९ को क्याम्प र राष्ट्रियस्तरको टेनिस प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन हुन्थ्यो।
‘आदित्य जे काममा लाग्छ, त्यसमै उत्कृष्ट गर्नसक्ने क्षमता राख्छ’, आमा अञ्जु भन्छिन्, ‘उसको दुवै हात र दिमाग उत्तिकै चल्छ। ऊ काम नगरी बस्नै नसक्ने स्वभावको छ र जहिल्यै आउट शेयअफ बक्स सोच्छ।’
आफ्नै कमाइ, आफ्नै संघर्ष
आदित्य आफ्नो खर्च आफैं जुटाउथे। माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) पछि उनले आफू पढेको स्कुलमा समेत पढाए। युलेन्समा पढ्दै गर्दा नै उनी कम्पनी स्थापना गरी उद्यमशीलतातर्फ आकर्षित भइसकेका थिए। ‘कौशला’ नामक कम्पनीमार्फत उनले विद्यालयका निश्चित कक्षाका विद्यार्थीलाई लक्षित गरी उद्यमशीलता विकासको पाठ्यक्रम, पाठ्यसामग्री तयार गरी कक्षा लिने कार्य गर्दथे। उनको काममा दाजु आदितले समेत साथ दिन्थे। उनले त्यतिबेलै नेपाल सानो भए पनि नेपालीको दिमाग ठूलो भएको र यसलाई उचित प्रयोग गरी उद्यम गरे सफलता मिल्ने भन्दै प्रेरित गर्ने गरेका उनका सहकर्मीहरू बताउँछन्।
स्कुले विद्यार्थीलाई गमलामा फूल फुलाएर बेच्न, खेर जाने वस्तुबाट सुन्दर सामग्री निर्माण गर्न र विद्यालयका विभिन्न समारोहमा फुड स्टल सञ्चालन गरी कमाइ गर्न उनी उत्प्रेरित गर्दथे। पब्लिक पोलिसीमा युवा सहभागिता गराउन स्थापित ‘नाभ्य नेपाल’ संस्थाको प्रमुख कार्यकारी अधिकृत बनी काम गरेका थिए भने लुमाइर एजुकेसन संस्थामा आबद्ध भई युवा उद्यमशीलताका विषयमा बहससमेत चलाएका थिए।
उनले ट्युसन पढाएर पनि राम्रै कमाइ गरे। हरेक कुरालाई आइडिया बनाउने, इन्नोभेसनसँग जोड्ने र आम्दानी गर्ने गुण उनमा रहेको अक्षराका सहपाठीहरू सुनाउँछन्। परिवारजनले जनाएअनुसार अमेरिका पढ्न जानु अघि उनले आफैं संघर्ष गर्दै कमाउँदै १७ लाख रुपैयाँ बैंक मौज्दात बनाएका थिए।
कम्पनीको प्रोडक्ट बेच्न जाँदा विद्यालय सञ्चालकहरूले गर्ने तिरस्कारले उनलाई संघर्ष सिकायो। प्रोडक्ट मन पराउने तर किन्न नचाहने प्रवृत्तिसँग जुध्दाजुध्दै उनमा व्यवसायको चुनौती र त्यसलाई अवसरमा बदल्ने साहस विकास भयो। नेपालमा गरेको उद्यमले उनलाई संघर्ष, धैर्य र सफलताको अमूल्य पाठ पढायो। नेपालको सरकारी कार्यालयमा हुने ढिलासुस्ती, विद्यमान अप्ठ्यारा कानुन र तिनले ल्याउने जटिलतालाई पनि उनले नजिकबाट बुझ्न पाए।
हार्वर्डबाट आर्किटेक्ट ल्याब्ससम्म
हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका पुगेका आदित्यले दोस्रो वर्षमै उद्यम रोजे। उनले कम्युटर साइन्स र म्याथ पढिरहेका थिए। उनको रुचि एआई प्रविधिमा बढी केन्द्रित भएकोले त्यसकै अनुसन्धानतर्फ लागे। पहिलो वर्ष पढाइसँगै एआई रिसर्चमा काम गरेका थिए।
त्यहीक्रममा उनले सिटिकन भ्याली स्टार्टअप, स्टान्डफोर्ड रिसर्चजस्ता काम पाई विषयवस्तुमा तिखारिँदै गए। पढाइमा अब्बल छोराले पढाइ छोडेपछि आफैं विद्यालय सञ्चालकसमेत रहेकी आमा अञ्जुलाई कौतुहल लाग्यो। त्यही क्रममा उनले आदित्यको स्ट्यानफोर्ड विश्वविद्यालयमा इब्राहिम हुसेनसँग भेट भएको र दुवैले आर्किटेक्ट ल्याब्स कम्पनी स्थापना गरेका थाहा पाइन्।
अन्ततः छोराको बढी रुचि व्यवसायमै देखेपछि अञ्जुले छोरालाई प्रेरित गरिन्। त्यससँगै आदित्यले पढाइलाई ब्रेक लगाउँदै आर्किटेक्ट ल्याब्सको यात्रालाई गति दिए।
आदित्यले नेपाल सरकारको तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रिसर्च इन्टर्नका रूपमा समेत काम गरेका थिए। त्यसअघि विज्ञान तथा प्रविधिमा सामान्य रुचि राख्ने उनको लगाव ह्वात्तै बढेको थियो। उनको नेतृत्वमा रहेको कम्पनीमा हाल १८ जना विषय विज्ञ कर्मचारीका रूपमा कार्यरत रहेका छन्।
नेपालमै फर्किने लक्ष्य
आदित्यसँग नेपालमा सूचना र प्रविधिको विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य छ। उक्त विश्वविद्यालय मातहत प्रत्येक प्रदेशमा एउटा शिक्षालय खोल्न चाहन्छन्। विभिन्न विद्यालय र विश्वविद्यालयमा प्रविधिको अध्यापन गराउने विषयलाई आफूले प्राथमिकता दिने उनले प्रतिक्रिया दिए।
‘यो त सुरुवातमात्र हो। यसले मलाई जिम्मेवारी थपेको छ। एआई प्रविधिको अनुसन्धान र विस्तारमा काम सिर्जना गर्न सकिन्छ। हाम्रो कम्पनीले विश्वभरलाई नयाँ सन्देश जानेगरी काम थालिसकेको छ, आफ्नो कम्पनीले यति ठूलो मात्रामा लगानी जुटाएपछि खुसी हुँदै सुवेदीले अन्नपूर्ण पोस्ट्सँग प्रतिक्रिया दिए। उनले आफू नेपालमै फर्किएर आफ्नो विषयमा योगदान गर्ने लक्ष्य राखेको समेत बताए।
उनी आफूले स्थापना गर्ने शिक्षालयमा निःशुल्क शिक्षाको व्यवस्था गर्न चाहन्छन्। आदित्यले पटकपटक भन्ने गरेको अञ्जु सम्झन्छिन्, ‘मैले विश्वविद्यालयमा पढे पनि आफ्नो र परिवारको जीवन राम्रो बनाउन पुग्छ। तर, सफल उद्यमी भए नेपाल र नेपालीको जीवन राम्रो बनाउन सक्छु र शिक्षामार्फत त्यसमा योगदान गर्नेछु।’
प्रतिक्रिया दिनुहोस !