अमेरिका : उत्तर अमेरिकी मुलुकहरू अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकपको २३औं संस्करणमा पहिलो चरणका खेलहरू भइरहेका छन् ।
इतिहासमै पहिलोपटक ४८ राष्ट्रको सहभागिता रहेको यस महाकुम्भमा सबै टोलीले आआफ्नो पहिलो खेल खेलिसकेका छन्। पहिलो चरणको नतिजा कतिपय देशका लागि अपेक्षित रह्यो भने कतिपय स्थापित देशहरूले अप्रत्याशित नतिजा भोग्नुपर्यो । विश्वकपअघि उत्कृष्ट लयमा देखिएका केही ‘पावरहाउस’ टोलीहरू तुलनात्मक रूपमा कमजोर आकलन गरिएका प्रतिद्वन्द्वीसँग बराबरीमै रोकिन पुगेका छन्।
साविक विश्वविजेता अर्जेन्टिना, पूर्वविजेता फ्रान्स, जर्मनी र इङ्ल्यान्डले आआफ्नो पहिलो खेलमा उत्कृष्ट जित दर्ता गरेका छन्। अर्कोतर्फ, विश्वकपमा सबैभन्दा बढी उपाधि जितेको ब्राजिल, पूर्वविजेता स्पेन, युरोपेली महारथी पोर्चुगल र पूर्वविश्वविजेता उरुग्वे भने पहिलो खेलमै बराबरीमा रोकिएका छन्।
पहिलो चरणका खेलहरूमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले, फ्रान्सले सेनेगललाई ३–१ ले, जर्मनीले पहिलोपटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ को विशाल गोलअन्तरले तथा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्यो । तर, ब्राजिल मोरक्कोसँग १–१ को, स्पेन पहिलोपटक सहभागी काबोभेर्दे (केप भर्डे) सँग गोलरहित (०–०) को, उरुग्वे साउदी अरेबियासँग १–१ को र पोर्चुगल डोमिनिकन रिपब्लिकसँग १–१ को बराबरीमा रोकिन बाध्य भए। यसरी पहिलो चरणमै देखिएका यी मिश्रित नतिजाहरूले विश्वकपमा थप कौतुहलता र तरंग पैदा गरिदिएको छ।
कीर्तिमान र गोलका वर्षा
विश्वविख्यात अर्जेन्टिनी कप्तान लियोनल मेसीले अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक गर्दै विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमानसँग बराबरी गरेका छन्। उनको वर्तमान लयलाई हेर्दा उनी चाँडै नै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने निश्चित प्रायः देखिन्छ।
यस्तै, क्यानडाका जोनाथन डेभिडले पनि कतारविरुद्ध सानदार ह्याट्रिक पूरा गरेका छन्। यस्तै, अमेरिकाका फोलारिन बालोगुन, स्विडेनका यासिन अयारी, जर्मनीका काइ हाभट्र्ज, न्युजिल्यान्डका एलिजाह जस्ट, इङ्ल्यान्डका ह्यारी केन र नर्वेका एर्लिङ हालान्डले पहिलो खेलमै २–२ गोल गरिसकेका छन्। आयोजक राष्ट्रहरूमध्ये अमेरिका र मेक्सिकोले आफ्नो पहिलो खेलमा जित निकालेका छन् भने क्यानडाले बराबरी खेलेको छ।
पहिलो चरणमै जापान र नेदरल्यान्ड्सबीच निकै प्रतिस्पर्धात्मक खेल भयो । जसमा दुवै टोलीले २–२ गोलको बराबरी खेले। यस्तै, इजिप्ट र बेल्जियमले पनि १–१ को प्रतिस्पर्धात्मक खेल खेल्दै बराबरीमा चित्त बुझाए । यसपटक पनि विगतका विजेताहरूले नै बाजी मार्ने हुन् या फुटबलले नयाँ विश्वविजेता पाउने हो, त्यो आकलन गर्न अझै केही समय कुर्नुपर्ने हुन्छ।
१६ देशमा पूर्वखेलाडीकै कमान्ड
मैदानमा भिड्ने खेलाडीहरूलाई रणनीतिक रूपमा मार्गनिर्देशन गर्ने मुख्य प्रशिक्षकहरूको पाटो झनै रोचक छ। विश्वकपमा सहभागी ४८ देशमध्ये साविक विजेता अर्जेन्टिनासहित १६ राष्ट्रले आफ्नै देशका पूर्वखेलाडीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पेका छन्।
३८ देखि ७८ वर्षसम्मका मुख्य प्रशिक्षक
जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समान (३८ वर्ष) सबैभन्दा कम उमेरका प्रशिक्षक हुन्। इतिहास रच्दै पहिलोपटक विश्वकप आइपुगेको कुरासाओका मुख्य प्रशिक्षक डिक एड्भोकाट (७८ वर्ष) सबैभन्दा पाका प्रशिक्षक हुन्।
यस विश्वकपमा अर्जेन्टिना र फ्रान्सका ५–५ जना प्रशिक्षकहरूले विभिन्न देशको प्राविधिक जिम्मेवारी सम्हालेका छन्। यस्तै जर्मनी, स्पेन र इटालीका ३–३ जना प्रशिक्षक फरक–फरक राष्ट्रको रणनीतिक कमान्ड सम्हालिरहेका छन्।
प्रमुख देशका प्रमुख प्रशिक्षक
लियोनेल स्कालोनी (अर्जेन्टिना)
४८ वर्षीय अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनी पूर्वराष्ट्रिय डिफेन्डर हुन्। सन् २०१८ को अगस्टमा प्रशिक्षक नियुक्त भएयता उनले अर्जेन्टिनालाई विश्व फुटबलको शीर्ष स्थानमा पुनः स्थापित गरेका छन्। खेलाडीका रूपमा उनले स्पेन, इटाली र इङ्ल्यान्डका डिपोर्टिभो ला कोरुन्या र वेष्ट ह्याम युनाइटेड जस्ता शीर्ष क्लबहरूबाट खेलेका थिए।
प्रशिक्षकका रूपमा स्कालोनीको सबैभन्दा ठूलो सफलता सन् २०२२ को फिफा विश्वकप उपाधि हो। उनको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ र २०२४ को उपाधिसमेत जितिसकेको छ। सन्तुलित आक्रमण, उच्च रणनीतिक अनुशासन, बल पोसेसन (बलमाथिको नियन्त्रण) र खेलाडीहरूबीचको सामूहिकएकता उनको प्रशिक्षण शैलीको मुख्य
विशेषता हुन् ।
टोनी पोपोभिच (अस्ट्रेलिया)
अस्ट्रेलियाका मुख्य प्रशिक्षक ५२ वर्षीय टोनी पोपोभिच पूर्वराष्ट्रिय डिफेन्डर हुन्। अस्ट्रेलियाका लागि ५८ अन्तर्राष्ट्रिय खेल खेलेका उनले इङ्ल्यान्ड र जापानमा व्यावसायिक फुटबल खेलेका थिए। सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका पोपोभिच घरेलु लिगका सफल प्रशिक्षक हुन्।
उनले वेस्टर्न सिड्नी वान्डरर्स र पर्थ ग्लोरी जस्ता क्लबहरूलाई उपाधि दिलाइसकेका छन्। अनुशासित रक्षात्मक संगठन र तीव्र काउन्टर–अट्याक (जवाफी आक्रमण) मा विश्वास राख्ने पोपोभिच खेलाडीको कडा मिहिनेत र सामूहिक एकतालाई बढी जोड दिन्छन्।
राल्फ राङनिक (अस्ट्रिया)
अस्ट्रियाका मुख्य प्रशिक्षक ६७ वर्षीय जर्मन रणनीतिकार राल्फ राङनिक आधुनिक फुटबलका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक हुन्। सन् २०२२ जुनमा अस्ट्रियाको कमान्ड सम्हालेका उनलाई आधुनिक फुटबलको चर्चित खेल शैली ‘गगेनप्रेसिङ’ को मुख्य जन्मदाता मानिन्छ, जसमा विपक्षीले बल गुमाउनेबित्तिकै तुरुन्तै उच्च दबाब सिर्जना गरिन्छ।
आरबी लेइपजिगलाई जर्मन र युरोपेली फुटबलको शक्ति केन्द्र बनाउनुका साथै म्यानचेस्टर युनाइटेड जस्तो शीर्ष क्लब सम्हालेको अनुभव उनीसँग छ। संरचित प्रेसिङ र तीव्र गतिको खेल शैली नै उनका मुख्य विशेषता हुन्।
रुडी गार्सिया (बेल्जियम)
बेल्जियमका मुख्य प्रशिक्षक ६२ वर्षीय रुडी गार्सिया फ्रान्सेली पूर्वअर्ध–व्यावसायिक खेलाडी हुन्। सन् २०२५ को जनवरीमा बेल्जियमको प्रशिक्षण सम्हालेका गार्सियाले युरोपेली शीर्ष लिगहरूमा ठूलो सफलता हासिल गरेका छन्।
उनले सन् २०१०–११ को सिजनमा लिलेलाई फ्रेन्च लिग १ को ऐतिहासिक उपाधि दिलाएका थिए भने एएस रोमा, ओलम्पिक मार्से र एसएससी नापोली जस्ता क्लबहरूको नेतृत्व गरिसकेका छन्। सन्तुलित आक्रमण र लचिलो रणनीतिक प्रणालीका धनी गार्सिया बेल्जियमको ’गोल्डेन जेनेरेसन’ पछि टोलीलाई पुनः विश्व मञ्चको शीर्ष स्थानमा फर्काउने अभियानमा छन्।
सर्जेइ बार्बारेज (बोस्निया र हर्जगोभिना)
बोस्निया र हर्जगोभिनाका मुख्य प्रशिक्षक ५४ वर्षीय सर्जेइ बार्बारेज पूर्वस्ट्राइकर हुन्। सन् २०२४ अप्रिलमा साढे दुई वर्षका लागि नियुक्त भएका बार्बारेजको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा यो पहिलो अनुभव हो। खेलाडीका रूपमा उनले जर्मन बुन्डेसलिगामा ह्याम्बर्गर एसभीका लागि खेल्दै स्टार स्ट्राइकरका रूपमा स्थापित गरेका थिए।
कार्लो एन्चेलोटी (ब्राजिल)
ब्राजिल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ६७ वर्षीय कार्लो एन्चेलोटी इटालियन फुटबलका लिजेन्ड तथा पूर्वमिडफिल्डर हुन्। सन् २०२५ को मे महिनामा ब्राजिलको कमान्ड सम्हालेका एन्चेलोटी विश्व फुटबल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक मानिन्छन्।
प्रशिक्षकका रूपमा कीर्तिमानी ५ पटक यूएफा च्याम्पियन्स लिगको उपाधि जितेका उनले एसी मिलान, रियल म्याड्रिड, चेल्सी, र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता विश्वकै धनाढ्य र ठूला क्लबहरूमा कपको वर्षा गराएका छन्।
जेसी मार्स (क्यानडा)
क्यानडाका मुख्य प्रशिक्षक ५२ वर्षीय जेसी मार्स अमेरिकी पूर्वमिडफिल्डर हुन्। सन् २०२४ को मे महिनामा क्यानडाको प्रशिक्षक नियुक्त भएका मार्स आधुनिक फुटबलको ‘हाई–प्रेसिङ’ (उच्च दबाब) शैलीका कट्टर अनुयायी हुन्।
रेडबुल साल्जबर्गलाई लगातार लिग उपाधि दिलाउँदै युरोपमा तहल्का मच्चाएका मार्सको टोली तीव्र गति र उच्च ऊर्जाका लागि चिनिन्छ। खेलाडीको शारीरिक तन्दुरुस्ती र निरन्तर दबाब दिने रणनीतिमार्फत उनले क्यानडालाई विश्व स्तरमा स्थापित गराउने लक्ष्य लिएका छन्।
ज्लात्को डालिच (क्रोएसिया)
क्रोएसियाका ५९ वर्षीय मुख्य प्रशिक्षक ज्लात्को डालिच देशको फुटबल इतिहासकै सबैभन्दा सफल प्रशिक्षक हुन्। सन् २०१७ को अक्टोबरदेखि निरन्तर टोलीको कमान्ड सम्हालेका डालिचको नेतृत्वमा क्रोएसिया सन् २०१८ को फिफा विश्वकपमा ऐतिहासिक उपविजेता बनेको थियो भने २०२२ को विश्वकपमा तेस्रो स्थान हासिल
गरेको थियो।
डिक एड्भोकाट (कुरासाओ)
कुरासाओका मुख्य प्रशिक्षक ७८ वर्षीय डच फुटबल लिजेन्ड डिक एड्भोकाट हुन्। सन् २०२४ को जनवरीमा जिम्मेवारी सम्हालेका एड्भोकाटलाई फुटबल वृत्तमा ‘लिटल जनरल’ उपनामले चिनिन्छ।
नेदरल्यान्ड्स, दक्षिण कोरिया, रुस, बेल्जियम, सर्बिया र इराक जस्ता धेरै राष्ट्रिय टोलीहरू सम्हालिसकेका आफ्नो विशाल अनुभव र रणनीतिक चतुरताका कारण उनले कुरासाओलाई इतिहासमै पहिलोपटक फिफा विश्वकप २०२६ को मञ्चमा पुर्याएर ऐतिहासिक सफलता दिलाएका छन्।
होसाम हसन (इजिप्ट)
इजिप्टका मुख्य प्रशिक्षक ५९ वर्षीय होसाम हसन देशका सर्वकालीन महान स्ट्राइकर हुन्। सन् २०२४ को फेब्रुअरीमा नियुक्त भएका हसनले इजिप्टका लागि कीर्तिमानी ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
अफ्रिकी फुटबलमा आफ्नो समयमा अमिट छाप छोडेका हसन अहिले इजिप्टको टोली पुनर्निर्माण अभियानमा छन्। युवा खेलाडीबीचको सन्तुलन मिलाउँदै इजिप्टलाई पुनः अफ्रिकी महादेशको राजा बनाउने उनको प्रमुख लक्ष्य छ।
थोमस टुचेल (इङ्ल्यान्ड)
इङ्ल्यान्डका मुख्य प्रशिक्षक ५२ वर्षीय जर्मन रणनीतिकार थोमस टुचेल हुन्। सन् २०२५ को जनवरीमा १.५ वर्षका लागि नियुक्त भएका टुचेल आधुनिक फुटबलका सबैभन्दा प्रखर र सफल प्रशिक्षक हुन्।
चोटका कारण खेलाडी जीवन छोटो भए पनि प्रशिक्षकका रूपमा उनले जर्मनी, फ्रान्स र इङ्ल्यान्डका शीर्ष क्लबहरूमा आफ्नो डंका पिटिसकेका छन्। विशेषगरी चेल्सीलाई सन् २०२१ को युएफा च्याम्पियन्स लिगको उपाधि दिलाएर विश्वकै उत्कृष्ट साबित भएका टुचेलको रणनीतिक लचकता र बलियो रक्षात्मक संरचनाबाट इङ्ल्यान्डले ठूलो अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने विश्वास गरिएको छ।
दिदिएर देशाँ (फ्रान्स)
फ्रान्सका मुख्य प्रशिक्षक ५७ वर्षीय दिदिएर देशाँ अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सबैभन्दा सफल र सम्मानित व्यक्तित्वमध्ये एक हुन्। सन् २०१२ को जुलाईदेखि निरन्तर फ्रान्सको कमाण्ड सम्हालिरहेका देशाँले खेलाडी (कप्तान) का रूपमा सन् १९९८ को विश्वकप र युरो २००० को उपाधि जितेका थिए भने प्रशिक्षकका रूपमा फ्रान्सलाई सन् २०१८ को फिफा विश्वकप जिताएका थिए।
यस्तै २०२२ को विश्वकपमा पनि उनले टोलीलाई फाइनलसम्म पुर्याएका थिए। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने इतिहासकै दुर्लभ व्यक्तित्व देशाँ आफ्नो स्थिर सफलता र अद्वितीय नेतृत्व कौशलका लागि चिनिन्छन्।
जुलियन नागेल्समान (जर्मनी)
जर्मनीका मुख्य प्रशिक्षक ३८ वर्षीय जुलियन नागेल्समान युरोपकै सबैभन्दा युवा र ‘ट्याक्टिकल मास्टरमाइन्ड’ (रणनीतिक रूपमा चतुर) प्रशिक्षक हुन्। सन् २०२३ को सेप्टेम्बरमा नियुक्त भएका नागेल्समान बारम्बारको चोटका कारण कम उमेरमै खेलाडी जीवन त्याग्न बाध्य भएका थिए। तर, उनले प्रशिक्षणमा असाधारण सफलता हासिल गरे।
आधुनिक रणनीति, नवीन खेल शैली र युवा खेलाडीहरूलाई मैदानमा निखार्ने उनको शैलीले गर्दा जर्मनीले यस विश्वकपमा आफ्नो पुरानो गौरव र आक्रामक लय पुनः फर्काउने लक्ष्य
राखेको छ।
हाजिमे मोरियासु (जापान)
जापानका मुख्य प्रशिक्षक ५७ वर्षीय हाजिमे मोरियासु पूर्वराष्ट्रिय मिडफिल्डर हुन्। सन् २०१८ देखि निरन्तर (विगत ८ वर्षदेखि) जापानको कमान्ड सम्हालिरहेका मोरियासु आधुनिक जापानी फुटबलका संवाहक हुन्।
उनको दीर्घकालीन योजना र ‘हाई–प्रेसिङ’ आक्रामक शैलीका कारण जापानले विश्वकपमा जर्मनी र स्पेन जस्ता भीमकाय टोलीहरूलाई घुँडा टेकाइसकेको छ। मोरियासुकै कारण जापान अहिले विश्व फुटबलकै एक नियमित र प्रतिष्ठित शक्तिका रूपमा स्थापित छ।
हाभियर आगिरे (मेक्सिको)
मेक्सिकोका मुख्य प्रशिक्षक ६७ वर्षीय हाभियर आगिरे मेक्सिकन फुटबलका सबैभन्दा आदरणीय र अनुभवी व्यक्तित्व हुन्। सन् २०२४ मा पुनः मेक्सिकोको कमान्ड सम्हालेका आगिरेले यसअघि पनि विभिन्न संस्करणका विश्वकपहरूमा मेक्सिकोको नेतृत्व गरिसकेका छन्। दबाबपूर्ण खेलहरूमा टोलीलाई शान्त राख्दै रणनीतिक लचिलोपन दिन सक्ने उनको खुबीकै कारण मेक्सिकोले घरेलु विश्वकपमा ठूलो सपना बुनेको छ।
मोहमद वाहबी (मोरक्को)
मोरक्कोका ४९ वर्षीय मोहमद वाहबी मोरक्कन फुटबलको संरचनागत विकास र युथ एकेडेमीका खम्बा हुन्। सन् २०२४ मा राष्ट्रिय टोलीको रणनीतिक विकासको जिम्मा पाएका वाहबी युवा खेलाडीहरूको प्राविधिक सुधार र दीर्घकालीन प्रतिभा प्रवद्र्धनमा केन्द्रित छन्।
रोनाल्ड कोमान (नेदरल्यान्ड्स)
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षक ६३ वर्षीय डच लिजेन्ड रोनाल्ड कोमान हुन्। पूर्वविश्वविख्यात डिफेन्डर कोमान सन् २०२३ मा दोस्रोपटक डच टोलीको प्रशिक्षक बनेका हुन्। क्लब फुटबलमा स्पेनिस महारथी एफसी बार्सिलोना, एभर्टन र साउथह्याम्पटन जस्ता क्लब सम्हालेका कोमान आक्रामक फुटबल, बल पोसेसन र बलियो डिफेन्सको फ्युजन (मिश्रण) मन पराउँछन्।
ड्यारेन बाजेली (न्युजिल्यान्ड)
न्युजिल्यान्डका मुख्य प्रशिक्षक ५३ वर्षीय अंग्र्रेज नागरिक ड्यारेन बाजेली हुन्। सन् २०२३ मा नियुक्त भएका बाजेलीले लामो समयदेखि न्युजिल्यान्डको फुटबल प्रणाली र ओसिनिया क्षेत्रको युवा विकासमा काम गर्दै आएका छन्। शारीरिक सुगठन र अनुशासित खेल शैली उनको रणनीतिको मुख्य हिस्सा हो।
प्रतिक्रिया दिनुहोस !