यसरी पक्राउ परेका थिए विष्णु पौडेल
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित शुभ होटलको रारा हलमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू खचाखच थिए। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापाको नेतृत्वमा गठन गरेको कार्यदलले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो।
एमाले केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको अध्यक्षतामा कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्लाका पदाधिकारीहरू सहितका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागीता थियो।
कार्यक्रममा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र कार्यशैली सुधारबारे छलफल भइरहेका बेला प्रहरी टोली पार्टीका उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई प्रहरीले फोन गरे। एमाले कालिकोटका उपसचिव पवित्रकुमार शाहीले भने, 'कार्यक्रमको मञ्चमा नै उपाध्यक्ष पौडेल बसिरहनु भएको थियो। एकाएक उहाँ त्यहाँबाट उठेर हलबाहिर जानुभयो। हामीले त व्यक्तिगत केही कामले बाहिर जानुभयो भन्ने सोचेका थियौं। तर, उहाँ बाहिर जानुको खास कारण त प्रहरीको फोन रहेछ। उहाँ हल बाहिर गएको आधा घण्टापछि मात्र उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको सूचना हामीले पायौं। किन पक्राउ गरेको भन्दा सम्पत्ति शुघीकरणको मुद्दा रहेछ। त्यसपछि हल एकछिन तितरवित्तर भयो। एक घण्टापछि पुन कार्यक्रम निरन्तर भयो।'
कार्यक्रममा उपाध्यक्ष थापाको नेतृत्वमा पार्टी रूपान्तरण, पुनर्जागरण र संस्थागत सुदृढीकरणबारे गम्भीर छलफल भइरहेको थियो। जहाँ पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेता छविलाल विश्वकर्मालगायतका नेताहरूको उपस्थिति थियो। एक पदाधिकारीले भने, 'आज केन्द्रका नेताहरूले बोल्दै बोलेनन्। प्रदेश र जिल्लाका नेताहरूले पार्टी रूपान्तरण, पुनर्जागरण र संस्थागत सुदृढीकरणबारे रायसुझाव दिए। प्रहरी टोली कार्यक्रमस्थलभित्र प्रवेश गरेको थिएन। ‘काम छ’ भन्दै बाहिर बोलाइएपछि प्रहरीले पक्राउ पुर्जी देखाएर नियन्त्रणमा लियो। धेरैजसो कार्यकर्ताले थाहा नै पाएनन्। त्यसपछि उनलाई सरकारी सवारीसाधनमा राखेर कार्यक्रमस्थलबाट बाहिर लगियो। एकछिनपछि त काठमाडौं लैजान नेपालगञ्ज लगिएको खबर प्राप्त भयो।'
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डLएसपी कविन्द्रसिंह बोहोराले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागबाट प्राप्त पत्र र पक्राउ पुर्जीका आधारमा पौडेललाई पक्राउ गरिएको बताए। उनले भने, 'विभागको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पक्राउ गरेको हो। उहाँलाई आज नेपालगञ्ज लगिएको छ। त्यहीँ स्टे गर्ने कुरा छ। भोलि बिहान काठमाडौं लैजाने तयारी छ।'
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा इन्स्पेक्टर श्याम यादवसहितको टोली परिचालन गरिएको थियो। पक्राउपछि उनलाई तत्काल काठमाडौं लैजाने तयारी गरिए पनि सुर्खेतबाट साँझको समयमा काठमाडौंका लागि सिधा हवाई सेवा उपलब्ध नभएकाले सडकमार्ग हुँदै नेपालगञ्ज पठाइएको हो।
प्रतिक्रिया दिनुहोस !