समृद्धिको तलाउमा पानीका फोका
एक झिलिमिली आकृति – चम्किलो तर कमजोर अनि क्षणिक। फुल्ने, तर खोक्रो अनि एकछिनमै फुट्ने। प्रेम र सद्भावले सिँगार्नुपर्ने समाज आज घृणा, विभाजन र बनावटी सम्बन्धहरूले रंगिँदै छ। सहज, समृद्ध र न्यायपूर्ण हुनपर्ने मानव जीवन आज खोक्रो शृंगार बन्दै गएको छ। वास्तविकतासँग पौंठेजोरी खेल्दै सामाजिक, राजनीतिक र आर्थिक पक्षहरू बन्दैछन्, ‘पानीको फोका’।
मानव जीवनको आधारस्तम्भ अर्थात् मूलधार प्रेम र सद्भाव नै आज असन्तुलनमा छन्। वृद्धा आमा–बुवाप्रति सन्तानले देखाएका तिरस्कारपन, छोराछोरीबीच सम्पत्तिको झगडा, जातीय विभाजनजस्ता घटनाहरू बढिरहेका छन्। प्रेमले भौतिक आकर्षण, सौन्दर्य र सामाजिक हैसियतसँग नाता सम्बन्ध बढाउँदै छ। आत्मीयता, समर्पण, धैर्य र समझदारीले भरिएको सम्बन्धहरू गल्दै गएका छन्। प्रेम र सद्भावहरू सामाजिक सञ्जालको स्टाटस, फोटो, उपहारमा सीमित हुँदैछन्। मानिसको आत्ममूल्य सामाजिक ‘लाइक’ र ‘फलो’मा निर्भर हुन थालेको छ। हेर्दा भव्य तर सानो झट्कामै फुट्ने।
त्यसैगरी, आजको हाम्रो समाजसँगै राजनीति र अर्थतन्त्र पनि त्यस्तै अनिश्चितता, खोक्रोपन, प्रदर्शनमुखी प्रवृत्तिले भरिँदैछन्। हाम्रो सामाजिक संरचना परम्परागत रूपमा सामूहिकता, सहकार्य र सहिष्णुतामा आधारित थियो। तर, पछिल्लो समय सामाजिक सम्बन्ध, मान्यता र मूल्यहरूमा गम्भीर विचलन देखिँदो छ। समाजमा विष घोल्ने मनोवृत्ति मौलाउँदै गएको छ। राजनीतिमा विचार र सिद्धान्तभन्दा ‘हामी र तिमी’का द्वन्द्व हावी हुँदैछन्। एकले अर्कालाई ‘शत्रु’ ठान्ने, संवादको साटो आरोप–प्रत्यारोप गर्ने प्रवृत्तिहरूले समाधान होइन, समाजमा कटुता निम्त्याउने हुन्।
राजनीति भनेको जनताका लागि सेवा गर्ने माध्यम हो। तर आज नेपालको राजनीतिक यथार्थ भने ‘पानीको फोका’ जस्तै देखिन्छ, ठूलो भाषण, ठूला सपना, तर त्यसको सार गहिराइ नभएको, छुनासाथ फुट्ने। चुनावअघि दिने वाचा, घोषणापत्र, नारा आदिले जनताको सपना सजाउँछन्, तर चुनावपछि ती सबै फोकाजस्तै फुट्छन्। सिद्धान्त, विचार र दृष्टिकोण भन्दा सत्ताको खेलमा निपुणता राजनीतिक मूल्य बन्दै गएको छ। हिजो सडकमा बोल्ने नेताहरू आज सिंहदरबारमा कुर्सी गुमाउने डरले मौन देखिन्छन्। समयअनुसार भाष्य बन्छ। राजनीतिक दलहरूप्रति जनताको विश्वास दिनानुदिन खस्किँदै जानुको मुल कारण पनि यही हो।
आधुनिकताले भरिएको जीवनशैलीमा भौतिक सम्पन्नता प्राप्तिको होडले हामीलाई मानसिक रूपमा अझ खोक्रो बनाइरहेको छ। दौडधुप, तनाव, एक्लोपन, आत्महत्या, मानसिक स्वास्थ्य समस्या यिनै आधुनिक ‘समृद्धि’का परिणाम हुन्। पारिवारिक र साथीभाइ, अभिभावक र बालबालिकाबीचका सम्बन्धहरू पनि भावनात्मकभन्दा उपहार, पैसा, सम्पत्तिको गणनामा सीमित हुन थालेका छन्। प्रेममा लेनदेन हावी हुँदैछ भन्दा अत्युक्ति नहोला। अपरिचितभन्दा परिचितहरूबाटै डराउन पर्ने भाष्य बन्दैछ। परिचित र आफन्तहरू संलग्न आपराधिक गतिविधि बढ्दै गएको प्रहरी तथ्यांकले पनि देखाउँछ।
आजको नेपाली समाज उपभोगमा केन्द्रित हुँदै गएको छ भन्दा फरक नपर्ला। मोबाइल, बाइक, गाडी, फेसन, ब्रान्ड यी सबै वस्तुहरूमा खर्च गर्ने ऋणीका संख्या बढ्दैछन्। आर्थिक व्यवहार पनि पानीको फोका झैं देखिन थालेका छन्, हेर्दा चम्किलो तर भित्र खोक्रो। देखावटी संस्कार र समारोहहरू विवाह, व्रतबन्ध, भोजभतेरजस्ता सामाजिक कार्यहरूमा अत्यधिक खर्च र देखावटी प्रदर्शन गर्न तँछाडमछाड गरिरहेका छौं। क्षणिक आनन्दका लागि गरिन्छन्, जसको दीर्घकालीन सामाजिक वा नैतिक मूल्य प्रायः हुँदैन।
गरीबले ऋण लिएर भोज गर्छ, धनीले प्रतिस्पर्धामा अरूलाई हराउन प्रदर्शन गर्छ। समाज एक किसिमको कृत्रिमता र भ्रमको आडमा चलिरहेको छ। सबै भ्रम चिर्न सक्ने हतियार भनेको शिक्षा नै हो। शिक्षा नै चेतना र सशक्तीकरणको माध्यम पनि हो। प्रतिस्पर्धा हुन्छ र हुनुपर्छ पनि। तर शैक्षिक प्रणालीलाई हेर्ने हो भने धेरैजसो अवस्थामा प्रतिस्पर्धा अंक र उपाधिमा सीमित भएको छ। ज्ञान र व्यवहारको सन्तुलन छैन। नतिजा ? बेरोजगारी, असन्तुष्टि, आत्महत्या, मानसिक तनाव आदि। शैक्षिक विकास पनि पानीको फोकाजस्तै भ्रामक साबित हुँदैछन्।
अर्थतन्त्रको प्रमुख आधार देशभित्रका उद्योग कलकारखाना तथा रोजगार हुनपर्ने हो। तर वैदेशिक रोजगार तथा रेमिट्यान्सले स्थान लिँदैछ। खाडी, मलेसिया, कोरिया, जापानमा लाखौं नेपालीहरूले पसिना बगाइरहेका छन्। उनीहरूले पठाएको रेमिट्यान्सले हाम्रो घर र समाज त टिकेको छ, तर यो अस्थायी र अनिश्चित माध्यम हो। उठ्दै गरेको अर्थतन्त्र कहीँ पानीको फोका झैं नबनुन्। ‘पानीको फोका’ केवल सपना हुन्। विपनामा बिउँझिँदा सपनामा देखिएका कति कुराहरू स्परणमा पनि आउँदैनन्।
अब प्रश्न उठ्छ– के हामी हाम्रा विकासका संरचनाहरूमा पानीको फोकाभन्दा फरक मजबुत र दीर्घकालीन दृष्टिकोण बनाउन सक्दैनौं ? हामीले सामाजिक सम्बन्ध, संस्कार र परम्परालाई देखावटी प्रतिस्पर्धाको माध्यम होइन, सहकार्य, माया र समर्पणको माध्यम बनाउन सक्नुपर्छ। व्यावहारिक तथा नैतिक मूल्यमान्यतामा आधारित शिक्षा, मिडिया र परिवारले नै सही दिशा देखाउन सक्छ। राजनीति जनताप्रति जवाफदेही बन्नुपर्छ। सत्ताको लिलाम होइन, जनताको अधिकारको रक्षा गर्ने राजनीति बन्नुपर्छ। पारदर्शिता, उत्तरदायित्व र नीति–निर्माणको प्रक्रिया जनमुखी हुनुपर्छ। रेमिट्यान्समुखी अर्थतन्त्रबाट हटेर आफ्नै देशभित्र रोजगारी सिर्जना गर्न सक्नुपर्छ। शिक्षा प्रणालीलाई व्यावहारिक, अनुसन्धानमुखी, नैतिकता–केन्द्रित बनाउनु अत्यावश्यक छ। केवल परीक्षा पास गर्ने शिक्षामा होइन, जीवन जिउन सिकाउने शिक्षामा केन्द्रित हुनुपर्छ।
चमकधमक, बोली, देखावटी विकास, खोक्रो आदर्श, र भ्रामक समृद्धिले स्थायित्व र शान्ति दिन सक्दैन। पानीका फोकाहरू भित्रको सत्यलाई चिन्नुपर्छ। केवल फुट्ने डर हुने होइन, समयको आँधीमा अडिने, जनताको भरोसामा टिक्ने, न्याय र समानतामा आधारित समाज निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ। हामी सबैले व्यक्तिगत स्तरदेखि सामूहिक स्तरसम्म परिवर्तन ल्याउने संकल्प लिन सकेमा आजको ‘पानीको फोका’ भोलिको ‘सागर’ पनि बन्न सक्छ।
प्रतिक्रिया दिनुहोस !