हिमालको भविष्य, नेपालको भविष्य

हिमालको भविष्य, नेपालको भविष्य

प्रशान्त महासागरको बीचमा र अस्ट्रेलिया नजिककै देश टुभालु कमै नेपालीले सुनेको नाम हुनुपर्छ। फिजी भन्ने देशको छेउछाउमै पर्ने योमात्रै होइन, किरिबाटी र मार्सल आइल्यान्डजस्ता देशलाई पनि नेपालको हिमाल पग्लिने क्रमबारे चिन्ता छ। टुभालु समुद्र सतहबाट जम्मा दुई मिटर उचाइमा छ। बाँकी देश पनि धेरै उचाइमा छैनन्। नेपालका हिमाल पग्लिँदै जाँदा समुद्री तह बढिरहेको छ र ती देशहरू पानीमुनि पर्ने जोखिम बढेको छ। हो, नेपालको हिमाल जलवायु परिवर्तनले पग्लिँदा त्यसको असर नेपालभित्रमात्रै होइन टाढाटाढाका देशहरूसम्म परिरहेको छ। त्यसो त सारा पृथ्वी जलवायु परिवर्तनको चपेटामा परेको छ।

नेपालको हिमाल पग्लिनु आफैंमा खतरा हो। त्यसमाथि हाम्रो पहाडी जनजीवन पनि उत्तिकै प्रभावित छ र प्रभावित छ तराई पनि। हिमरेखा नै माथिमाथि सरेको छ। अर्थात हिजोका दिनमा जहाँसम्म हिउँ पथ्र्याे, अचेत त्यसभन्दा माथिमाथि मात्रै पर्छ। हिउँले बसाइ उक्लिरहेको छ। पहाडमा पानीका मूल सुकेका छन्। तराई झन् तातिँदो र मरुभूमीकरण हुँदैछ। हिमरेखा माथि सर्नु र हिमालमै हिउँ नहुनु पारिस्थितिकीय प्रणालीमा असन्तुलन खडा हो, जुन भइरहेको छ। अन्नपूर्ण र मनास्लु क्षेत्रको हिमरेखा उक्लिएको इसिमोडको तथ्यांक छ। झन् सगरमाथा क्षेत्रमा हिमरेखा १८० मिटर माथि सरेको छ। मनाङको तिलिचो हिमतालको आकार ३५ प्रतिशतले बढेको छ। लाङटाङ हिमनदी २२ प्रतिशतले घटेको छ। 

हिमरेखा सरेका यी तथ्यांकले जलवायु परिवर्तनको प्रभाव कति गम्भीर छ भनेर प्रस्ट पार्छन्। औद्योगिकीकरणको प्रत्यक्ष असर जलवायु परिवर्तन हो, पृथ्वीको तापक्रम द्रुतगतिमा वृद्धि हुनु हो। कार्बन उत्सर्जन अत्यधिक मात्रामा भएकैले पृथ्वीको तापक्रम अप्राकृतिक तरिकाले बढेको छ। यसमा नेपालको भूमिका भने गौणजस्तै छ। तर जोखिमको भार सबैभन्दा धेरै पर्ने देशमध्येमा छ। जसरी तटीय राष्ट्रहरूले विश्व मञ्चमा ठूला राष्ट्रहरूसँग नोक्सानीको क्षतिपूर्तिका लागि आवाज उठाइरहेका छन्, जलवायु परिवर्तन कम गर्ने गरी कार्बन उत्सर्जन घटाउन भनिरहेका छन्, नेपालले पनि त्यसै त गरिरहेको छ। तर हानिनोक्सानी कोषबाट खास फाइदा उठाउन सकेको छैन। र, जलवायु परिवर्तन अनुकूलन हुने गरी पनि काम गरेको समेत छैन।

जलवायु परिवर्तनले जैविक विविधतामा गहिरो असर पारेको छ। जसरी हिमरेखाले उकालो बसाइ सरेको छ, त्यसैगरी पहाडी वनस्पतिहरू हिमाल छेउछाउसम्म पनि पुग्न थालेका छन्। उच्च हिमाली क्षेत्रमा नयाँ वनस्पति प्रजातिहरू देखिनु त्यसैको द्योतक हो। अनि हिमाली वनस्पति लोप हुँदैछन्। कृषि क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको छ। रैथाने प्रजातिका बालीनाली लोप हुने अवस्थामा छन्। नयाँ रोग र किराहरूको प्रकोप बढेको छ। त्यसले कृषि उत्पादनमा ह्रास ल्याएको छ। तराईमा कीरा र नयाँ रोगले कृषि उत्पादन घटाएका छन्। नेपालले जलवायु परिवर्तनविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आवाज बलियो बनाउनुपर्छ। हिमालदेखि तराईसम्मको पारिस्थितिकीय र सामाजिक सन्तुलन जोगाउन समयमै प्रभावकारी कदम चाल्नु जरुरी छ। अन्यथा, हाम्रो हिमाल, पहाड र तराईको भविष्य थप जोखिममा पर्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.