राजधानीमा दिनदहाडै आत्मदाह गरेका मुगुका २५ वर्षे गणेश नेपालीको मृत्युलाई बुझ्न धेरै मथिंगल हल्लाउनुपर्दैन। प्रधानमन्त्री वालेन्द्र शाहले ४ वर्षअघि व्यक्त गरेको विचार सापटी लिएर एक हरफमै भन्न सकिन्छ, आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। यो विचार शाहले २०७९ माघ ११ गते बानेश्वरको सडकमा इलामका प्रेम आचार्यले आत्मदाह गर्दा व्यक्त गरेका थिए।
आचार्यको आत्मदाहका पछाडि ऋण, व्यावसायिक असफलता लगायत कारण र संकेतहरू त छँदै थिए, तर शाहले भने झैं सबैभन्दा ठूलो कारण राज्य नै थियो, त्यसमा विमति राख्न सकिन्न। र, अहिले पनि मुगुका युवा गणेश नेपालीले मोटरसाइकलमा यात्रु ओसार्दै हातमुख जोर्न संघर्ष गर्दा गर्दै ज्यान गुमाए। रोजगारी खोजे पाएनन्। बिदेसिन सकेनन्। श्रीमती र छोरी पनि पाल्नै पर्ने थियो। किस्ताबन्दीमा मोटरसाइकल किनेर स्वरोजगार बने। तर, पाइलापाइलामा राज्यका नियमको मात्रै होइन, दण्ड र जरिवानाको हन्डर ठक्कर खाइरहे। अन्ततः जीवनमा कुनै आशा देखेनन् र प्राण त्याग गरे।
दुर्भाग्य कस्तो, आत्मदाहले गणेशको मृत्यु भएकै दिन सर्लाहीमा एक शिक्षित युवा विवेक मण्डलले आत्मदाह प्रयास गरे, मुख्य कारण बेरोजगारीकै थियो। र, त्यसको भोलिपल्टै शनिबार काठमाडौंको बुद्धनगरमा व्यवसायी अश्विन राउतको आत्मदाहकै कारण मृत्यु भयो। उनले पनि व्यवसायमा विभिन्न खालका विफलता झेलिरहेका थिए। वालेन्द्र सरकार सुरु भएयता खासगरी सुकुम्बासीका सही व्यवस्थापन हुन नसक्दा यसअघि पनि आत्महत्याका घट्ना दोहोरिरहेका थिए।
३ वर्षअघि प्रेमले जस्तै गणेश नेपालीले यो देशमा बाँच्न सकिन्न भन्ने वातावरण बनाउने राज्य हो। महानगरपालिकाले उनको मोटरसाइकलमा ह्विललक गरेको घटना केवल ट्रिगर प्वाइन्ट बन्यो। खासमा गणेश र गणेशहरू जस्ता युवाले बाँचिखान, गरिखान नसक्ने निष्कर्ष निकाल्ने परिस्थिति राज्य असफलताकै उपज हो। त्यहाँ ह्विललकभन्दा पनि ठूलो जिन्दगी र भविष्य लक भएको अनुभूति र आभास अनि अनुभूतिको भोक्ता युवाहरू भइरहनु सबैभन्दा घातक कुरा हो। गणेश आत्मदाह एउटा घटनामा सीमित हुने विषय होइन, यो त तमाम युवाहरूको मुद्दा हो, जो ‘यो देश मेरो पनि होइन र ? ’ भनेर सोधिरहन बाध्य छन्। अनि उनै प्रधानमन्त्री शाहले र्याप गीत गाए झै, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने दोहोर्याइरहन विवश छन्। गणेश लगत्तै सर्लाहीका विवेक मण्डल हुन् वा काठमाडौं बुद्धनगरका अश्विन राउत। यी सबै युवावयकै हुन्। समग्रमा यो देशका युवा नबाँच्ने निष्कर्षमा किन पुगिरहेका छन् ? मूल प्रश्न यो हो।
यसैपनि प्रधानमन्त्री शाह गरिबी होइन, गरिबको अन्त्य चाहने भनेर आरोपित छन्। महानगरको प्रमुख हुँदा फुटपाथका व्यापारीमाथि निर्दयी डण्डा लगाए, सुकुम्बासीको बास उजाड्न नसकेको इख थियो, प्रधानमन्त्री भएपछि पहिलो एक्सन नै तिनै निर्धामाथि लिए। अहिले होल्डिङ सेन्टरमै उनीहरूको बिल्लीबाठ छ। केटाकेटी स्कुल जान पाएका छैनन्। बिरामीले औषधि त के खाना पाएका छैनन्। वृद्धवृद्धा र अशक्तमाथि हदैसम्मको अमानवीय व्यवहार गरिरहेका छन्।
राज्य भनेको अभिभावक हुनुपर्छ। राज्यको पहिलो कर्तव्य नै नागरिक सुरक्षा हो। तर वालेन्द्रकालमा नागरिक भयभित र त्रसित छन्। सबैभन्दा निमुखो र निर्धाे वर्ग असुरक्षाको भुक्तभोगी बनेको छ। प्रधानमन्त्रीको पार्टी रास्वपा त हिजोका दिनमा प्रेम आचार्यहरूको आत्मदाहको घटनालाई उचाल्दै, उराल्दै र तत्कालीन दलहरूप्रति वितृष्णाको आगो ओकल्दै उदाएको पार्टी हो। आज सत्तामा हुँदा पनि गणेश नेपालीको मोटरसाइकलमा ह्विललक महानगरले लगाएको भन्नेर टिठलाग्दो अनुत्तदायित्व प्रकट गरिरहेको छ। आज देशभरका पालिकाहरूमा भूमिहीनहरूमाथि पालिकाहरूको जुन डन्डा चलिरहेको छ, त्यो सबै संघीय सरकारमा वालेन्द्रको नेतृत्वको आडमा, धापमा र बलमा भइरहेको हो।
शाह सरकार सुशासन, सुशासनमात्रै भनिरहन्छ। त्यसका नाममा उसले जानेको भनेकै डन्डा चलाउनमात्रै त होइन, भन्ने भइरहेको छ। नियम र कानुनको डन्डा चलाउँदैमा समाजमा अमनचयन हुने होइन। सभ्य समाजले त संस्कारको विकास आफैं गर्छ। राज्यले बनाउने हरेक कानुन र नियम भनेको उसले लाद्ने अधिकार क्षेत्रको विषय होइन। लोकतन्त्रमा कानुन पनि नागरिकको सम्मतिमा मात्रै ल्याइनुपर्छ, ल्याइन्छ भन्ने सामान्य र आधारभूत मान्यता बिर्सेर वालेन्द्र सरकार दण्ड, जरिवानाको मात्रा बढाउँदै नागरिकलाई कसूरदार ठहर्याउन उद्यत छ।
यो कदाचित सही बाटो होइन। कडा कानुन बनाएर समाजमा अपराध कम हुन्थ्यो वा थिति बस्थ्यो भने मृत्युदण्ड दिइरहने देशहरूमा भ्रष्टाचार वा अरू अपराधको नाम निशान नहुनुपर्ने, बरु बर्सेनि बढेकै देखिन्छ। उत्तरदायी सरकार र उत्तरदायी नागरिक भएको समाज निर्माण गर्न राज्यकै भूमिका हुनुपर्छ। बालेन सरकार बनेदेखि चलाइएको राज्य आतंकले वास्तवमा हिजोका सरकारहरूले फैलाएको नैराश्यको भाष्यलाई इन्धन भरिरहेको थियो।
झन्डै दुईतिहाइको सरकार बनेपछि जुन आशा देशमा सिर्जना हुनुपर्ने थियो, त्यस ठीकविपरीत त्राहीमामको वातावरण बनेको थियो, त्यसैको द्योतकका रूपमा गणेश नेपालीहरूको बलिवेदीलाई लिनुपर्छ। भुइँमान्छेहरूप्रति सरकारले चलाएको क्रूरताको पराकाष्ठाको विस्फोट हो। यस्तै घटनाक्रम र निराशाहरूको संग्रहबाटै ठूलो विद्रोह हुने हो, जसका सामु दुईतिहाइ प्रतिनिधि भएको सरकारमात्रै होइन, जस्तै निरंकुतन्त्र पनि ढल्छ। तर त्यस्तो दिन नआओस्, राजनीतिक स्थिरतासँगै नागरिकले शान्तिको सास फेर्ने र गरिखाने वातावरण बनोस्। तर, यो सरकार र प्रधानमन्त्री शाहले अरू केही होइन, आफ्नै कुरा र विचार मनन् गरून्। जस्तो कि प्रेम आचार्यको आत्मदाहका बेला बालेनले भनेका थिए, ‘उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ।’
प्रतिक्रिया दिनुहोस !