कत्युरी सभ्यताको हिस्सा, उकु महल

सम्पदा

कत्युरी सभ्यताको हिस्सा, उकु महल

उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरू छन्। कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट र दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ।

दार्चुलाको ऐतिहासिक धरोहर मानिएको उकु महलको चर्चा कालापानी जत्तिकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छ । विभिन्न इतिहासविद् तथा संस्कृतिविद्ले उकु महलबारे मुद्दाहरू उठान गरे पनि होलान् । तर स्थानीय सरकार तथा अन्य निकायको ध्यान नजानु दुःखद् हो । कालापानीका बारेमा त चुनावताका राजनीतिक एजेन्डाको रूपमा ठूलै बहसको विषय बन्छ । तर उकु महलको बारेमा चुनावी एजेन्डा बन्ने कुरै भएन ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुको सिरानमा रहेको पुरातात्विक, प्राचीन, ऐतिहासिक महत्त्व बोकेको उकु महलको भग्नावशेष संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । उकु महलको निर्माणको समयको बारेमा तथ्यपरक खोज अनुसन्धान गरी पत्ता लगाउनु त धेरै कठिन कार्य नै हो । तथापि यसको तथ्यपरक खोज अनुसन्धान गर्नु महत्त्वपूर्ण हुन्छ । तथापि अहिलेसम्म यो महलबारे कुनै पनि अनुसन्धानकर्ता, इतिहासविद्, संस्कृतिविद्, राजनीतिकर्मी तथा राज्य पक्षबाट समेत खोज अनुसन्धान छैन । संरक्षण, जीर्णाेद्वार तथा पुनर्निर्माणका लागि त कुनै पहलकदमी नै देखिँदैन ।

उकु महलको संरक्षण, पुनर्निर्माण तथा जीर्णाेद्वारका लागि सम्बन्धित कुनै पक्षको ध्यानाकर्षण भएको देखिँदैन । २०७४ सालमा मालिकार्जुन गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले धेरै पहली कदम चाले । तर पनि सार्थकता भने पाउन सकेन । आफू पालिकाको अध्यक्ष भएको बेला र आफू नहुँदा पनि बेलाबेलामा उकु महलको बारेमा केन्द्र स्तरमा कुरो भने नगरेको होइन । तर राज्यको ध्यान नपुगेर उकु महलको अवस्था नाजुक बनेको स्थानीय गोकर्ण धामी बताउँछन् ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, महाकाली नदीको तटमा अवस्थितसम्म उर्बर मैदानी भाग एकदमै सुन्दर रमणीयस्थल हो । उकु गाउँमा पाल जाति (थर) को बाहुल्य छ । यो गाउँको प्रमुख अन्नबाली धान, मकै र गहुँ, जौं, भटमास, गहत, मसुरो, मास नै हो । अभयपालले डोटीतिर राज्य स्थापना गरेको समय कुमाउका इतिहास (बद्रीदत्त पाण्डे) नामक पुस्तकमा सन् १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेको पाइन्छ ।
अभयपालको डोटी राज्यको स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरबार निर्माण गरेपछि उकुतिर राज्य विस्तार गर्दै उकु महल निर्माण, आठ खस

राजाहरूलाई हराइसकेपछि मात्र अस्कोटको राज्य स्थापना गरेका हुन् । यसरी अस्कोट विजयको समयभन्दा अघि उकु महलको निर्माण भएको इतिहास मालिकार्जुन गाउँपालिका स्थायी घर भई कैलालीमा कार्यरत प्राध्यापक मानसिंह धामी बताउँछन् । मध्यकालीन कत्युरी राजाहरूको राज्यअन्तर्गत पर्ने महत्त्वपूर्ण उक्त महल कुनै कारण भत्किन गई भग्नावशेषमा परिणत भएको किंवदन्ती छ । सुदूरपश्चिम प्रदेशमध्येकै एउटा ऐतिहासिक पुरातात्विक प्राचीन सम्पदाको रूपमा छ । महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन गर्न सकेमा दार्चुलाको मात्र नभएर राष्ट्रकै ऐतिहासिक उपलब्धि हुनुका साथै बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ ।

अझ अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खननले मात्र पनि ऐतिहासिक, पुरातात्विक सम्पदा भन्न यो महलसँग साक्षात्कार गर्ने जो कोहीले पनि हिचकिचाउनुपर्ने हुन्छ । यो ऐतिहासिक पुरातात्विक महलको संरक्षण तथा जगेर्ना गर्न सकेमा मात्र दार्चुला जिल्लाको ऐतिहासिक पुरातात्विक प्राचीन सम्पदा हो भन्दा छाती गर्वले फुल्नेछ । उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरू छरिएका छन् । देवीदेवताका मूर्तिहरू, आमलक, शिखर गजुरका अर्ध भागहरू, ढुंगेधारा, नाग, बसाह, सिंह, चक्रशिलासहित थरीथरीका आकृतिहरू विभिन्न शिलामा कुदिएको स्पष्ट देख्न सकिन्छ । उक्त शिलाहरू र उकु गाउँको तस्बिरहरूसमेत राखिएको छ । null

मालिकार्जुन गाउँपालिका पूर्वअध्यक्ष नरेन्द्रसिंह धामीसित गरिएको कुराकानीको अंश :

उकु महलको अवस्था कस्तो छ ? किन ओझेलमा छ यति महत्त्वको सम्पदा ? 
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उकुस्थित उकु महलको भग्नावशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेको छ । भन्ने हो भने जसको अस्तित्व नै लोप हुने अवस्थामा छ । पुरानो दरबारको भग्नावशेषको रूपमा रहेको ठाउँको अध्ययन अन्वेषण नहुनुले उकु महल संकटमा छ र संरक्षणको पर्खाइमा छभन्दा अत्युक्ति नहोला ।

मध्यकालीन कत्युरी राजाहरूको राजधानीको रूपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट, दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।

उकुमा कुन राजाको बसोबास थियो ?
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरू छन् । कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट र दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन् । तिनका अनुसार उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेखहरू जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरू हेर्दा दरबारभित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइँ छ ।

यो ऐतिहासिक महत्त्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरबारको मजवुत किल्लाहरू, ढुंगामा कुदिएका विभिन्न भगवान्को मुर्तिहरू, विभिन्न आकृतिका ढुंगाहरूले दर्शाइरहेको कुराबाट प्रष्ट हुन्छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरूले पुष्टि गरेका छन् । उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग छ । अस्कोटको इतिहास अनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरूको एकीकरण गरेर अस्कोट नामकरण गरेको इतिहासमा उल्लेख छ ।

निरै पालहरूको ऐतिहासिक अभिलेख के कस्तो छ ?
निरै पालको ऐतिहासिक अभिलेख डोटी डँडेलधुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेखअनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर जानकार बताउँछन् । यी सबै ऐतिहासिक कालक्रमहरू समान देखिएकाले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको उनीहरूको भनाइ छ । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाउँमा पाइएको ऐतिहासिक अभिलेखहरूले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्त्वलाई बेवास्ता गर्न सकिँदैन ।

निरै पाललाई उकुका रजबार भारती पालका पूर्ववर्ती राजबार थिए भन्ने कालक्रमहरूले प्रष्ट्याएको छ । उकुको इतिहाससम्बन्धी एउटा लेखअनुसार उकुकोटको खण्डहरूमा रहेको हरिहर मन्दिर नाग पालका तीन रानीहरूले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डँडेलधुरा जिल्लाको अजयमेरुकोटमा थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म थियो । 

यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालभित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथिमिति भेटिएको भने छैन । तर पाल वंशहरूको भारतीय शोधकर्ताहरूले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् । यसको प्रमाणको रूपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ ।

उकु महलको बारेमा खोजीनिती गर्नु भएको छ ?

खोजीनिति नगर्ने भन्ने कुरो हुँदैन । तर राज्यको हेर्ने नजर हामीसम्म पुगेको छैन । मन्त्रालयमा पटकपटक जानकारी दिएको छु । डीपीआर तयार गरी पठाएको छु तर सुनुवाइ भएको छैन । १६औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुँदिएका मूर्तिहरू देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा उकु ओझेलमा छ ।

यस क्षेत्रमा यस्ता सयौं प्रकारका मूर्तिहरू र शिलालेखहरू भेटिने गरेका छन् । उकु महल परिसरमै गएर उकु गाउँको तस्बिर र अन्य महलका छरपस्ट भग्नावशेषका तस्बिरहरू उपलब्ध गराई सहयोग गर्नु भएकोमा दिवाकर जोशीलाई धन्यवाद दिन चाहन्छु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.