उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरू छन्। कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट र दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ।
दार्चुलाको ऐतिहासिक धरोहर मानिएको उकु महलको चर्चा कालापानी जत्तिकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छ । विभिन्न इतिहासविद् तथा संस्कृतिविद्ले उकु महलबारे मुद्दाहरू उठान गरे पनि होलान् । तर स्थानीय सरकार तथा अन्य निकायको ध्यान नजानु दुःखद् हो । कालापानीका बारेमा त चुनावताका राजनीतिक एजेन्डाको रूपमा ठूलै बहसको विषय बन्छ । तर उकु महलको बारेमा चुनावी एजेन्डा बन्ने कुरै भएन ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकुको सिरानमा रहेको पुरातात्विक, प्राचीन, ऐतिहासिक महत्त्व बोकेको उकु महलको भग्नावशेष संरक्षण र पुनर्निर्माणको पर्खाइमा छ । उकु महलको निर्माणको समयको बारेमा तथ्यपरक खोज अनुसन्धान गरी पत्ता लगाउनु त धेरै कठिन कार्य नै हो । तथापि यसको तथ्यपरक खोज अनुसन्धान गर्नु महत्त्वपूर्ण हुन्छ । तथापि अहिलेसम्म यो महलबारे कुनै पनि अनुसन्धानकर्ता, इतिहासविद्, संस्कृतिविद्, राजनीतिकर्मी तथा राज्य पक्षबाट समेत खोज अनुसन्धान छैन । संरक्षण, जीर्णाेद्वार तथा पुनर्निर्माणका लागि त कुनै पहलकदमी नै देखिँदैन ।
उकु महलको संरक्षण, पुनर्निर्माण तथा जीर्णाेद्वारका लागि सम्बन्धित कुनै पक्षको ध्यानाकर्षण भएको देखिँदैन । २०७४ सालमा मालिकार्जुन गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले धेरै पहली कदम चाले । तर पनि सार्थकता भने पाउन सकेन । आफू पालिकाको अध्यक्ष भएको बेला र आफू नहुँदा पनि बेलाबेलामा उकु महलको बारेमा केन्द्र स्तरमा कुरो भने नगरेको होइन । तर राज्यको ध्यान नपुगेर उकु महलको अवस्था नाजुक बनेको स्थानीय गोकर्ण धामी बताउँछन् ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–६, महाकाली नदीको तटमा अवस्थितसम्म उर्बर मैदानी भाग एकदमै सुन्दर रमणीयस्थल हो । उकु गाउँमा पाल जाति (थर) को बाहुल्य छ । यो गाउँको प्रमुख अन्नबाली धान, मकै र गहुँ, जौं, भटमास, गहत, मसुरो, मास नै हो । अभयपालले डोटीतिर राज्य स्थापना गरेको समय कुमाउका इतिहास (बद्रीदत्त पाण्डे) नामक पुस्तकमा सन् १२७९ (सम्वत् १३३६) लाई उल्लेख गरेको पाइन्छ ।
अभयपालको डोटी राज्यको स्थापना, सुदृढीकरण गर्दै अजयमेरु दरबार निर्माण गरेपछि उकुतिर राज्य विस्तार गर्दै उकु महल निर्माण, आठ खस
राजाहरूलाई हराइसकेपछि मात्र अस्कोटको राज्य स्थापना गरेका हुन् । यसरी अस्कोट विजयको समयभन्दा अघि उकु महलको निर्माण भएको इतिहास मालिकार्जुन गाउँपालिका स्थायी घर भई कैलालीमा कार्यरत प्राध्यापक मानसिंह धामी बताउँछन् । मध्यकालीन कत्युरी राजाहरूको राज्यअन्तर्गत पर्ने महत्त्वपूर्ण उक्त महल कुनै कारण भत्किन गई भग्नावशेषमा परिणत भएको किंवदन्ती छ । सुदूरपश्चिम प्रदेशमध्येकै एउटा ऐतिहासिक पुरातात्विक प्राचीन सम्पदाको रूपमा छ । महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन गर्न सकेमा दार्चुलाको मात्र नभएर राष्ट्रकै ऐतिहासिक उपलब्धि हुनुका साथै बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रचुर सम्भावना छ ।
अझ अध्ययन, अनुसन्धान, अन्वेषण र उत्खननले मात्र पनि ऐतिहासिक, पुरातात्विक सम्पदा भन्न यो महलसँग साक्षात्कार गर्ने जो कोहीले पनि हिचकिचाउनुपर्ने हुन्छ । यो ऐतिहासिक पुरातात्विक महलको संरक्षण तथा जगेर्ना गर्न सकेमा मात्र दार्चुला जिल्लाको ऐतिहासिक पुरातात्विक प्राचीन सम्पदा हो भन्दा छाती गर्वले फुल्नेछ । उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरू छरिएका छन् । देवीदेवताका मूर्तिहरू, आमलक, शिखर गजुरका अर्ध भागहरू, ढुंगेधारा, नाग, बसाह, सिंह, चक्रशिलासहित थरीथरीका आकृतिहरू विभिन्न शिलामा कुदिएको स्पष्ट देख्न सकिन्छ । उक्त शिलाहरू र उकु गाउँको तस्बिरहरूसमेत राखिएको छ । 
मालिकार्जुन गाउँपालिका पूर्वअध्यक्ष नरेन्द्रसिंह धामीसित गरिएको कुराकानीको अंश :
उकु महलको अवस्था कस्तो छ ? किन ओझेलमा छ यति महत्त्वको सम्पदा ?
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उकुस्थित उकु महलको भग्नावशेष प्रचारप्रसार र अनुसन्धान हुन नसक्दा ओझेलमा परेको छ । भन्ने हो भने जसको अस्तित्व नै लोप हुने अवस्थामा छ । पुरानो दरबारको भग्नावशेषको रूपमा रहेको ठाउँको अध्ययन अन्वेषण नहुनुले उकु महल संकटमा छ र संरक्षणको पर्खाइमा छभन्दा अत्युक्ति नहोला ।
मध्यकालीन कत्युरी राजाहरूको राजधानीको रूपमा यसलाई निर्माण सुरु गरेको इतिहास भेटिन्छ । कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट, दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ ।
उकुमा कुन राजाको बसोबास थियो ?
उकु महलको भग्नावशेष स्थलमा विभिन्न शिलालेख लेखिएका चट्टानहरू छन् । कत्युरी राजवंशको अन्त्यपछि १२औं शताब्दीमा पाल राजाहरू अस्कोट, अजयमेरुकोट र दिपालयकोटलगायतका क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ । सर्वप्रथम रजबार भारती पाल सो क्षेत्रमा दरबार बनाएर बसेको इतिहास रहेको इतिहासका जानकार बताउँछन् । तिनका अनुसार उकु भग्नावशेष नाग पाल राजाले दरबारमा मन्दिर बनाउन उक्त क्षेत्रमा मूर्ति शिलालेखहरू जम्मा गरेका थिए । अहिले सो क्षेत्रमा भेटिने सूर्यनारायणका मूर्ति, शिलालेखहरू हेर्दा दरबारभित्रको मन्दिर बनाउन जम्मा गरिएको हुन सक्ने ठम्याइँ छ ।
यो ऐतिहासिक महत्त्वको स्थल हो भन्ने कुरा त्यहाँ भेटिने कोटघर, देवस्थल, दरबारको मजवुत किल्लाहरू, ढुंगामा कुदिएका विभिन्न भगवान्को मुर्तिहरू, विभिन्न आकृतिका ढुंगाहरूले दर्शाइरहेको कुराबाट प्रष्ट हुन्छ । दार्चुला जिल्ला मध्यकालीन शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा थियो भन्ने ऐतिहासिक दस्तावेजहरूले पुष्टि गरेका छन् । उकुको ऐतिहासिक सम्बन्ध सीमावर्ती भारतको अस्कोटसँग छ । अस्कोटको इतिहास अनुसार सन् १२७९ मा अभय पाल रणचुलाहाटस्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए । अभयपालले वरपरका विभिन्न अस्सीवटा कोटहरूको एकीकरण गरेर अस्कोट नामकरण गरेको इतिहासमा उल्लेख छ ।
निरै पालहरूको ऐतिहासिक अभिलेख के कस्तो छ ?
निरै पालको ऐतिहासिक अभिलेख डोटी डँडेलधुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेखअनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । अल्मोडाको पहाडमा निरैपाल लेखिएको ढुंगा सन् १३५४ भेटिएको छ भनेर जानकार बताउँछन् । यी सबै ऐतिहासिक कालक्रमहरू समान देखिएकाले उकु भग्नावशेषमा निरै पालको ऐतिहासिकता र राज्यकालबारे शंका गर्ने ठाउँ नभएको उनीहरूको भनाइ छ । निरै पाललाइ उकु अस्कोटका राजा भनिएको छ । विभिन्न ठाउँमा पाइएको ऐतिहासिक अभिलेखहरूले निरै पाल शक्तिशाली राजा भएका संकेत गर्छ । जसको केन्द्र महाकाली किनारमा अवस्थित उकु भएको कारणले यो स्थलको पुरातात्विक महत्त्वलाई बेवास्ता गर्न सकिँदैन ।
निरै पाललाई उकुका रजबार भारती पालका पूर्ववर्ती राजबार थिए भन्ने कालक्रमहरूले प्रष्ट्याएको छ । उकुको इतिहाससम्बन्धी एउटा लेखअनुसार उकुकोटको खण्डहरूमा रहेको हरिहर मन्दिर नाग पालका तीन रानीहरूले निर्माण गराएका थिए । नाग मल्ल डोटीका राजा थिए । यसको राजधानी हालको डँडेलधुरा जिल्लाको अजयमेरुकोटमा थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखि सन् १३९३ सम्म थियो ।
यसलाई आधार मान्ने हो भन्ने माथि उल्लेख गरिएको उकुको हरिहर मन्दिर नाग मल्लको राज्यकालभित्र बनेको अनुमान गरिन्छ । मन्दिर स्थापनाबारेको स्पष्ट तिथिमिति भेटिएको भने छैन । तर पाल वंशहरूको भारतीय शोधकर्ताहरूले उकु राज्य अभय पालले स्थापना गरेको नभएर नाग मल्लले गरेका उल्लेख गरेका छन् । यसको प्रमाणको रूपमा सन् १२३८ को उकुको शिलालेख हो भनिएको छ ।
उकु महलको बारेमा खोजीनिती गर्नु भएको छ ?
खोजीनिति नगर्ने भन्ने कुरो हुँदैन । तर राज्यको हेर्ने नजर हामीसम्म पुगेको छैन । मन्त्रालयमा पटकपटक जानकारी दिएको छु । डीपीआर तयार गरी पठाएको छु तर सुनुवाइ भएको छैन । १६औं शताब्दीमा पाल राजाले निर्माण गरेको उक्त दरबार क्षेत्रमा अहिले पनि विभिन्न आकृतिमा कुँदिएका मूर्तिहरू देखिन्छन् । तर भग्नावशेष महलको उत्खनन र खोजी नीति नहुँदा उकु ओझेलमा छ ।
यस क्षेत्रमा यस्ता सयौं प्रकारका मूर्तिहरू र शिलालेखहरू भेटिने गरेका छन् । उकु महल परिसरमै गएर उकु गाउँको तस्बिर र अन्य महलका छरपस्ट भग्नावशेषका तस्बिरहरू उपलब्ध गराई सहयोग गर्नु भएकोमा दिवाकर जोशीलाई धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया दिनुहोस !