उच्च अदालत तुलसीपुरमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट
दाङ : उच्च अदालत तुलसीपुरले संकटका बाबजुद पनि आर्थिक वर्ष २०८२ /०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गर्न सफल भएको छ । न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाअनुसार ६५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखिएकोमा अदालतले ६८.०७ प्रतिशत प्रगति हासिल गरेको हो ।
आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरेर आएका २१२ थान र आर्थिक वर्ष २०८२/०८३ मा नयाँ दर्ता भएका ८५३ थान गरी कुल १०६५ थान मुद्दाको लगत कायम भएको थियो । जसमध्ये ७२५ थान मुद्दा फर्छ्याैट भइसकेका छन् भने ३४० थान मुद्दा बाँकी रही आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि जिम्मेवारी सरेका छन् ।
यो उपलब्धि अदालतले सामान्य अवस्थामा नभई अत्यन्तै जटिल र चुनौतीपूर्ण परिस्थितिमा हासिल गरेको जनाएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश राजेश्वर तिवारीले भौतिक पूर्वाधारको अभाव र असामान्य संकटका बाबजुद पनि ६८ दशमलव ०७ प्रतिशत मुद्दा फर्छ्याैट गर्न सफल भएको बताए । एउटै कोठाबाट बहुविध सेवा सञ्चालन गर्दै अदालतले सीमित स्रोत साधनमै न्याय सेवा निरन्तरता दिएको जानकारी दिए । एउटा टेवुलमा १० जनासम्म बसेर काम गरिरहेका छौ, उनले भने, ‘पूर्वाधारविहीन अवस्थामा पनि नागरिकलाई सेवाबाट बञ्चित हुन दिएका छैनौँ, उनले भने अव तत्काल भवनको आवश्यकता छ ।’
उनका अनुसार २०८२/०८३ मा एकहजार ३० नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएकोमा ८५३ मुद्दा दर्ता भएका छन् । जिम्मेवारी सरेका २१२ मुद्दासहित कुल १०६५ मुद्दामध्ये ७ सय २५ मुद्दा फर्छ्याैट गरिएको छ । बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका २ सय ५ वटा , ६ महिनादेखि १ वर्षभित्रका ८३ वटा, १ वर्षदेखि १८ महिनाभित्रका १ र १८ महिनादेखि २ वर्षभित्रका १ वटा मुद्दा रहेका छन् ।
जेन–जेड आन्दोलनका क्रममा मिति २०८२ भदौ २४ गते अदालत भवनमा भएको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतको भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । उक्त घटनामा अदालतमा विचाराधीन रहेका ३०३ थान चालु मुद्दाका मिसिलहरू जलेर नष्ट भएका थिएख । उक्त संकटका बाबजुद अदालतले देखाएको तदारुकता उदाहरणीय देखिएको छ ।
वार्षिक कार्यप्रगति विवरणका बारेमा जानकारी गराउँदै उनले भवन अभावका कारण अदालतले सात महिना सवारी पार्किङ क्षेत्रबाट इजलास सञ्चालन गरेको बताए । भवन नहुँदा एउटै कोठाबाट मुद्दा दर्ता, चलानी, विभिन्न मुद्दा फाँट, सुपरीवेक्षक तथा उपरजिस्ट्रारका काम समेत सञ्चालन गर्दा सेवा व्यवस्थापनमा उच्च दबाब सिर्जना भएको अनुभव सुनाए ।
पार्किङ स्थलबाट इजलास
अदालतले भवन क्षतिग्रस्त भएपछि अदालतले करिब ७ महिनासम्म गाडी पार्किङ क्षेत्रबाटै इजलास सञ्चालन गरेर सेवा प्रवाह गरेको थियो । पार्किङस्थल र ग्यारेजबाट सेवा सुरु गरेर लक्ष्य पुरा गरेको अदालतको भनाइ छ । त्यसै गरेर दर्ता चलानी, मुद्दा दर्ता, ३ वटा मुद्दा फाँट, सुपरीवेक्षक र उपरजिस्ट्रारबाट हुने सम्पूर्ण कार्यसम्पादन एउटै कोठाबाट मिलाइएको थियो ।
मिसिल पुनर्निर्माणमा चुनौती देखिएको अवस्थामा छ । नष्ट भएका मिसिलका कागजातहरू संकलन गर्न २०८२ कात्तिक २३ देखि पुस २३ सम्म (६० दिने म्याद) तोकिएकोमा, कतिपय मिसिल पूर्ण रूपमा प्राप्त हुन नसकेको र कतिपय आंशिक मात्र प्राप्त हुँदा मुद्दा पेसी चढाउन समेत ठुलो समस्या भएको मुख्य न्याधीश रावलले बताए ।
अदालतका अनुसार आगामी वर्षका लागि सरेका ३४० थान मुद्दाहरूमध्ये अधिकांश ६ महिनाभित्रका रहेका छन् । बाँकी मुद्दाहरूको विवरण यसप्रकार छ । ६ महिनाभित्रका २५५ थान‚ ६ महिनादेखि १ वर्षभित्रकाः ८३ थान‚ १ वर्षदेखि १८ महिनाभित्रका १ थान र १८ महिनादेखि २ वर्षभित्रका मात्र १ थान मुद्दा बाँकी रहेको जानकारी दिए ।
अदालतको तथ्यांकअनुसार कुल लगत भएको एकहजार ६५ मुद्दामध्ये सबैभन्दा वढी ६ सय १८ वटा सरकारवादी फौजदारी मुद्दा रहेको छ । यसैगरी २ सय १९ दुनियाँवादी देवानी मुधा, १ सय ६ वटा दुनीयाँवादी फौजदारी मुद्दा, १ सय ८ वटा रिट र १४ वटा सुरु मुद्दा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !