इरानका कट्टरपन्थीहरूको आरोप : गणतन्त्र र क्रान्तिको आदर्शविरुद्ध कू’ को प्रयास हुँदैछ
इरान : गत साता तेहरानमा सर्वोच्च नेता अली खामेनीको शवयात्रामा इरानका राष्ट्रपति मसुद पेजेस्कियान कालो पोसाक लगाएका शोकाकुल मानिसहरूसँगै हिँडिरहेका थिए । तर केही सहभागीहरूले दिवंगत नेताको सम्मानमा नारा लगाउनुको सट्टा उनकै विरुद्ध नारा लगाए, ‘सम्झौता गर्नेको मृत्यु होस् ।’
त्यस स्थानबाट धेरै टाढा नभई, इरानका शीर्ष कूटनीतिज्ञ अब्बास अराघ्ची, जसले ट्रम्प प्रशासनसँग युद्धविराम वार्ता गरेका थिए र इस्लामिक गणतन्त्रमाथि लगाइएका केही प्रतिबन्ध हटाउन भूमिका खेलेका थिए, उनलाई भीडले ढुंगा प्रहार गरेपछि शवयात्राबाट भाग्न बाध्य भए । भीडले उनलाई ‘देश बेच्ने गद्दार’ भन्दै मृत्युको नारा लगाएको थियो ।
शवयात्राका क्रममा उच्च अधिकारीहरूमाथि देखिएको यस्तो आक्रोशले इरानका कट्टरपन्थी समूहहरूबीच पछिल्ला महिनादेखि फैलिरहेको एउटा धारणालाई बल दिएको छ । उनीहरूको दाबी छ कि अमेरिकासँग सम्झौता गर्ने र युद्ध अन्त्य गर्ने इरानी नेताहरूले इस्लामिक गणतन्त्र र क्रान्तिका आदर्शविरुद्ध ‘सफ्ट कू’ (नरम सत्तापलट) को प्रयास गरिरहेका छन् ।
उनीहरूका अनुसार नयाँ सर्वोच्च नेता अझै सार्वजनिक रूपमा नदेखिनु उनको सुरक्षाको डर वा स्वास्थ्य अवस्थाका कारण हुन सक्छ । शवयात्रामा ठूलो संख्यामा सहभागी भएका कट्टरपन्थी समूहहरूको विश्वास छ कि खामेनीको हत्याको बदला लिनुको सट्टा इरानी अधिकारीहरूले उनका छोरा तथा उत्तराधिकारी मोज्तबा खामेनीका आदेश विपरीत सम्झौता गरेर आत्मसमर्पण गरेका छन् । तर मोज्तबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । उनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन् र आफ्नो अधिकार पनि खुलेर प्रयोग गरेको देखिएको छैन ।
कट्टरपन्थीहरूले आरोप लगाएका छन् कि खामेनी सार्वजनिक रूपमा नदेखिएको अवस्थामा देश चलाइरहेका नेताहरूले संसद निलम्बन गर्ने, वार्तामा सर्वोच्च नेताको आदेश बेवास्ता गर्ने र कट्टरपन्थीहरूको शक्ति बनेका सडक प्रदर्शनहरू रोक्ने प्रयास गरिरहेका छन् । कट्टरपन्थी सांसद महमुद नाबाभियानले खामेनीको अन्त्येष्टि भन्दा केही दिनअघि सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘इरानका जनतालाई चेतावनी : के कू हुन लागेको छ?’
केही दिनपछि उनले लेखे, ‘शहीद इमाम (खामेनी) को विदाइको क्षणमा हामी उनको रगतको बदला लिने झण्डा उठाउँछौँ र कूविरुद्ध दृढताका साथ उभिन्छौं ।’ मोज्तबा खामेनीको अनुपस्थितिमा मुख्य वार्ताकार मोहम्मद बाघेर गालिबाफ, राष्ट्रपति पेजेस्कियान र अब्बास अराघ्ची युद्धपछिको इरानका सबैभन्दा देखिने अनुहार बनेका छन् । अमेरिकामा रहेका इरान विशेषज्ञ अराश अजिजीका अनुसार नयाँ सर्वोच्च नेतासँग प्रत्यक्ष पहुँच नहुँदा असन्तुष्ट कट्टरपन्थीहरूले गालिबाफ र पेजेस्कियानमाथि कूको षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘मोज्तबाको निरन्तर अनुपस्थितिले उनीहरूसँग पहुँच छैन । यसले गालिबाफ र उनका सहयोगीहरू प्रभावकारी रूपमा देश चलाइरहेका छन् भन्ने देखिन्छ । त्यसैले अति कट्टरपन्थीहरूले उनीहरूमाथि मोज्तबाविरुद्ध कू गर्ने आरोप लगाएका छन् ।’
‘हामी छुरा, तपाईं घाँटी’
इरानमा युद्धकालीन एकताको आह्वान भइरहे पनि खामेनीको एक सातासम्म चलेको भव्य अन्त्येष्टि समारोह इस्लामिक गणतन्त्रका सबैभन्दा कट्टर समर्थकहरूका लागि शक्ति प्रदर्शनको अवसर बन्यो । उनीहरूले अमेरिकासँग पुनः युद्ध गरेर नेताको बदला लिनुपर्ने र ट्रम्पसँग भएको कुनै पनि सम्झौता अस्वीकार गर्नुपर्ने मागलाई जोड दिए ।
तर अहिले उनीहरूको चाहना पूरा भएको जस्तो देखिएको छ । इरान र अमेरिकाबीचको कमजोर युद्धविराम यसै साता लगभग धराशायी भयो, जब इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि आक्रमण सुरु गरे । त्यसपछि अमेरिकाले जवाफी हमला गर्यो र इरानी कट्टरपन्थीहरूले युद्धविराम रद्द गर्न माग गरे ।
एक समारोहमा सुरक्षा निकायसँग सम्बन्धित धार्मिक गायक मोहम्मद अली बख्शीले राष्ट्रपति पेजेस्कियानलाई धम्की दिँदै भने, ‘यदि नेताका शर्तहरू पूरा भएनन् भने, हामी छुरा र तपाईंको घाँटी हुनेछौं । हामी तपाईंमाथि नरक ल्याउनेछौं ।’ राष्ट्रपतिलाई मार्ने यस्तो खुला धम्कीको व्यापक आलोचना भए पनि बख्शीमाथि कुनै कानुनी कारबाही भएको जानकारी छैन ।
प्रतिक्रिया दिनुहोस !