सम्बोधन गर्दागर्दै अभिजीत दीपकेमाथि महिलाले गरिन् मसी प्रहार
भारत : भारतको जंतर–मन्तर शनिबार निकै तनावपूर्ण बनेको छ । एकातिर बिहान सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई प्रहरीले प्रदर्शनस्थलबाट नियन्त्रणमा लिएर अस्पताल लग्यो भने अर्कोतर्फ अभिजीत दीपकेले अनशन सुरु गरे । यही क्रममा एक महिलाले कक्रोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजीत दीपकेमाथि मसी प्रहार गरिन्, जसका कारण केही समय दुलदंगा मच्चियो । तर दीपकेले घटनालाई सहज रूपमा लिँदै मसीको निलो रङ आफूलाई मन पर्ने भन्दै ‘जय भीम’ को नारा लगाए ।
घटनाका बेला दीपके जंतर–मन्तरमा प्रदर्शनकारीहरूलाई सम्बोधन गरिरहेका थिए । त्यही समयमा एक महिला उनी नजिक पुगेर लगातार तीन पटक मसी छ्यापिन् । मसी दीपकेको अनुहार र हातमा फैलियो । त्यसपछि त्यहाँ उपस्थित कार्यकर्ताहरूले महिलालाई नियन्त्रणमा लिए । दीपकेले उनलाई कुटपिट नगर्न आग्रह गरे पनि केही आक्रोशित समर्थकहरूले दुर्व्यहार गरेको, जुत्ता प्रहार गर्ने र हातपात गर्ने प्रयास गरेको बताइएको छ ।
केही समय अवस्था अस्तव्यस्त
दीपकेको प्रतिक्रिया : निलो मेरो रङ हो
घटनापछि अभिजीत दीपकेले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै लेखे, ‘निलो मेरो रङ हो, जय भीम ।’ उनले घटनाप्रति आक्रोश व्यक्त गर्नुको सट्टा आफूलाई मन पर्ने रङसँग जोडेर प्रतिक्रिया दिएका थिए ।
वाङ्चुकपछि दीपकेको अनशन
नीट परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा कक्रोच जनता पार्टीले करिब एक महिनादेखि जंतर–मन्तरमा आन्दोलन गरिरहेको छ । सोही आन्दोलनअन्तर्गत सोनम वाङ्चुक २१ दिनदेखि अनशनमा थिए । शनिबार बिहान करिब साढे ७ बजे प्रहरीले उनलाई अस्पताल लगेको थियो । त्यसपछि दीपकेले आफू अनिश्चितकालीन भोक हड्तालमा बसेको घोषणा गरे ।
यसैबीच, सीजेपीले जुलाई २० मा संसद मार्च गर्ने घोषणा गरेको छ । सोनम वाङ्चुक पनि उक्त मार्चमा सहभागी हुने तयारीमा थिए । तर हाल उनी अस्पतालमा रहेकाले उक्त कार्यक्रममा सहभागी हुन सक्ने वा नसक्ने विषय स्पष्ट भएको छैन ।
प्रतिक्रिया दिनुहोस !