भानुकृति : अनुवाद कि मौलिकता

भानुकृति : अनुवाद कि मौलिकता
सुन्नुहोस्

भानुभक्त आचार्यका कृतिहरूमा अनुवाद कि मौलिकताको सन्दर्भ समालोचक र समीक्षकहरूबाट पुर्पक्ष हुँदै आएको छ। कृतिले प्राप्त गरेको कलात्मक सौन्दर्यले भानुभक्त उच्च विन्दुका सहज, सरल र हृदयस्पर्शी कवि हुन पुगेका छन्। तैपनि उनका कृति अनुवाद कि मौलिकता भन्ने प्रश्नले वि श्राम लिएको छैन। भानुकृतिहरूमा प्रश्नोत्तरा, रामायण, भक्तमाला, वधूशिक्षा र शीर्षकविहीन मुक्तक प्रकृतिका फुटकर कविता छन्।

अनुवाद कि मौलिकताको प्रश्न प्रश्नोत्तरा र रामायणलाई लिएर गरिएको देखिन्छ। भक्तमाला, वधूशिक्षा र फुटकर कविताका अभिव्यक्तिलाई लिएर अनुवाद कि मौलिकता भन्ने प्रश्न उठाएको देखिँदैन। किनकि यी कृतिहरू मौलिक नै ठानिन्छन्। यी कृतिहरूमा जस्तै कलाविधान, सौन्दर्यात्मक अभिव्यक्ति वा सौन्दर्य सिद्धि अनुवाद भनिने प्रश्नोत्तरा र रामायणमा पनि छन् तर कृतिकथ्य वा शब्दार्थका कारण यी दुई कृतिलाई लिएर अनुवाद कि मौलिकताको बहस भइरहेको छ।

चाहे प्रश्नोत्तरा वा रामायण होस्, चाहे लघुकृतिमा पर्ने भक्तमाला र वधूशिक्षा हुन् वा फुटकर कविता हुन्, भानुभक्तीय कविताको कलात्मक सौन्दर्य, अभिव्यक्ति संरचना र सौन्दर्य सिद्धिमा कुनै तात्विक अन्तर देखिन्न। तर कथ्य वा शब्दार्थरहणका कारण समालोचकहरूले अनुवाद भनिएका कृति (प्रश्नोत्तरा र रामायण) र मौलिक भनिएका कृति (भक्तमाला, वधूशिक्षा र फुटकर कविता) बीच काव्य सौन्दर्यबीच विशिष्ट अन्तर फेला पर्दैन। त्यसैले भानुभक्त आचार्यका सम्पूर्ण कृति मौलिक नैै देखिन्छन्। किन्तु प्रश्नोत्तर र रामायणको मौलिकता सिद्ध गर्न पूर्वीय काव्यशास्त्रीका दृष्टिकोणले मीमांसा गर्नुपर्ने देखिएको छ।

काव्यशास्त्रीका दृष्टिकोण र काव्यशास्त्रीय तत्वका दृष्टिले भानुकृतिहरू नहेरिएको गुनासो सुनिँदै आएको हो। त्यसैले काव्यशास्त्री र काव्यशास्त्रबाट भानुकृति मीमांसा गर्ने अध्यवसायीको खाँचो खटकएको छ। १९४८ सालतिरै मोतीराम भट्टले भानुकृतिहरूको मीमांसाको जग हालेका हुन्। उनीदेखि नेपालीमा प्रभावपरक समीक्षण प्रारम्भ भएको मानिन्छ। समीक्षणमा कथ्य वा शब्दार्थतर्फ प्रश्नोत्तरा र रामायणलाई क्रमशः शंकराचार्यको प्रश्नोत्तरा वा मणिरत्नमाला र रामानन्दी अध्यात्मरामायणको अनुदित कृति भन्ने गरिएको छ।

भानुकृतिका मीमांसकहरू दुवै कृतिलाई एकातिर मौलिक कृति भन्न रुचाउँदैनन् भने अर्कोतिर भानुभक्तीय मौलिक भावविधान, शिल्पविधान, कलात्मक सौन्दर्य सिद्धि र शब्दार्थमा आएको भङगमान्तरले मौलिक कृति भन्न पछि पर्दैनन्। यसैले काव्यकलामा सम्पूर्ण कृतिहरूको समान भाननुभक्तीय मौलिक काव्यात्मक सौन्दर्य सिद्धि प्रस्टै छ। शंकराचार्यको प्रश्नोत्तरा वा मणिरत्नमाला र रामानन्दीको अध्यात्मरामायणका कथ्य वा शब्दार्थलाई बिर्सने हो भने काव्यात्मक सौन्दर्य चेतनाका दृष्टिले प्रश्नोत्तरा र रामायण मौलिक कृति ठानिन्छन्।

तैपनि समालोचकहरूले यी कृतिका कथ्य वा शब्दार्थलाई प्रधान बनाएर भावानुवाद भएका कृतिको संज्ञा दिइरहेका छन्। यसोभन्दा भानुभक्तीय मौलिक भावविधान, शिल्पविधान, भङगमान्तर र कालात्मक काव्य सौन्दर्य सिद्धि गौण बन्न पुगेका छन्। गौणताले दुवै कृतिहरू अनुवादतर्फ आकर्षित भएका छन्। त्यसैले यी दुई ओटा कृतिले पूर्वी काव्यशास्त्रीका दृष्टिकोण र काव्यशास्त्रका आधारमा भानुभक्तीय कथ्ययोजना वा शब्दार्थ योजना, भावविधान, शैलीविधान, भङगमान्तर र विशिष्ट काव्य सौन्दर्य सिद्धिको मीमांसा खोजेका छन्। 

काव्यशास्त्री र काव्यशास्त्रका आधारमा भानुभक्तीय कृतिगत कथ्य वा शब्दार्थ, भावयोजना, भङगमान्तर र शिल्पयोजना पर्गलेर अद्यापि विस्तृत समीक्षण भएको छैन। यस कारण प्रश्नोत्तरा र रामायण जस्ता कृतिलाई शब्दानुवाद वा भावानुवादको श्रेणीमा राखिएको हुनुपर्छ। 

किन्तु कथ्यको नव विस्तार, कथ्यको नव भङगमा, कथ्यसंकोचन, भावविधान, शैलीविधान कला र विशिष्ट सौन्दर्य सिद्धि आदिले प्रश्नोत्तरा र रामायणलाई मौलिक ग्रन्थ ठहर्‍याउन सक्ने स्थिति छँदै छ। तर अधिकतर समालोचकहरू यी कृतिलाई अनुवाद र मौलिकताको दोसाँधमा रहेका कृति ठान्दछन्। अहिले यस लेखमा यी कृतिका कृतिगत कथ्यको नव विस्तार तथा नव संकोचन र शैलीगत अभिव्यक्ति (भावविधान र शिल्पविधान प्रदत्त काव्य सौन्दर्य) माथि पूर्वीय काव्यशास्त्रीहरूका समग्र दृष्टिकोण र काव्यशास्त्रीय तात्तिवक दृष्टि पुर्‍याउनु सम्भव छैन। 

मोतीराम भट्टले भानुभक्तलाई सहज कवि भनेका छन्। आशुकवित्वसँगै भावविधान र शैलीविधानद्वारा कलात्मक सौन्दर्यको सृष्टि गर्दै रचना तयार गर्नु भानुभक्तको काव्यात्मक विशेषता हो। मोतीरामले यो विशेषता ठम्याएको देखिन्छ। यी विशेषता सबै भानुकृतिमा भेटिन्छन् तर भानुकृतिका कथ्यस्रोत हेर्दा भक्तमाला, वधूशिक्षा र फुटकर कविता पूर्ण मौलिक कृति ठानिन्छन्। यिनीहरूमा श्रीमद्भागवतका विभिन्न स्कन्ध, गरुण पुराण, अन्य पुराण, शाङ्कर दर्शन र लोकपर्यवेक्षणबाट प्रभवित हुँदै भानुभक्तीय निजत्व कामय गर्दै कथ्य निर्माण भएको छ। नित्तवले गर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन झैं भानुभक्तको पनि भक्तमाला मास्टरपिस हुन पुगेको छ।

यसपछि वधूशिक्षामा चाहिँ आह्निक ग्रन्थ तथा पुराणहरूका भनाइ र तत्कालीन कुलीन पहाडिया ब्राह्मण परिवारका घरव्यवहार, सासू र बुहारीको बीच देखिने चालचलनलाई कथ्य बनाइएको छ। फुटकर कविताहरूले पनि सामाजिक, धार्मिक, प्रशासनिक र व्यावहारिक पक्षलाई कथ्य बनाएका छन्। अघिल्ला तीनवटै कृतिमा कथ्यको मौलिक सृष्टि देखिन्छ। त्यसैले भावविधान, शिल्पविधानद्वारा निर्मित सौन्दर्य सृष्टि र कृतिगत कथ्यका आधारमा भक्तमाला, वधूशिक्षा र फुटकर कविताहरू भानुभक्तका मौलिक कृतिमा दरिएका छन्। 

किन्तु प्रश्नोत्तरा र रामायणजस्ता कृतिले भने पूर्णमौलिक कृतिमा दरिन पुगेका छैनन्। यी कृतिले पूर्वीय काव्यशास्त्रीय काव्यमीमांसाको बोध गरेका छन्। यसो हेर्दा प्रश्नोत्तराको कथ्य शंकराचार्यको प्रश्नोत्तरा वा मणिरत्नमाला र रामायणको कथ्य रामानन्दकृत अध्यात्मरामायणभित्र देखिएको छ तर दुवै कृतिमा भावविधान, शिल्पविधान, काव्यात्मक सौन्दर्य सृष्टि र कथ्यको नवभङगमासँग भानुभक्तको मौलिक निजत्व देखिन्छ। कथ्य वा कथ्यहरणमा नव संकोचन र केही विस्तृतिसमेत देखिने हुँदा कथ्य प्रस्तुतिमा पनि भानुभक्तीय निजत्व स्थापित छ।

कथ्यपश्चात् काव्यशास्त्रका प्रमुख त्तत्वमा शब्दालंकार (वर्ण माधुर्य वा वर्ण सौन्दर्य आदि) वा अनुप्रास, रीति, वक्रोक्ति र अभिव्यक्तिमा अर्थालंकार, गुण, रस र ध्वनिहरूको भानुभक्तीय पृथक् संयोजन उल्लेखनीय छन्। 

तर काव्यत्तत्वका दृष्टिले रामानन्दी अध्यात्मरामायण र भानु रामायणबीच तथा शङ्कराचार्यको मणिरत्नमाला र भानुको प्रश्नोत्तराबीच मौलिकता पर्गलेर समग्र अध्ययन हुन बाँकी नै छ। यस्तो अध्ययनबाट अनुवाद र मौलिकताको साँध खुट्ट्याउन सहज हुनेछ। भानुभक्तले मूल शब्दार्थ वा कथ्यमा गरेका नवविस्तार, विस्तृति र नव संकोचनबाट नव कथ्य वा भंगीमा निर्माण गरेका छन्। भानुभक्तीय कथ्य बनोटमा भएका कतै भाव विस्तार, कतै मूलक कथ्यको सार ग्रहण, कतै नव संकोचन र भङयान्तरणले नवीनता थपेका छन्।

यस नवीनताले प्रश्नोत्तरा र रामायणमा भानुभक्तीय विशेषता पर्गेल्न सकिन्छ। यी दुवै कृतिमा भानुभक्तले शंकराचार्यको प्रश्नोत्तरा र रामानन्दी अध्यात्मरामायणलाई उपजीव्य बनाएका छन्। कथ्य वा शब्दार्थापहरणका आधारमा उपजीव्यलाई भामह, रुद्रट, वामन, दण्डी, अभिनवगुप्त, राजशेखर, भोजराज, कुन्तक, जगन्नाथ आदि काव्यशास्त्रीका दृष्टिकोण र मान्यताले अनुवाद कि मौलिकता भनेर तुलनात्मक खोज भएको छैन। यो लेखले त्यस किसिमको बृहत्तर खोज गर्न खोजेको छैन, केवल उक्त कृतिमा भानुभक्तीय कथ्य वा शब्दार्थलाई भावानुवाद भन्ने गरिएकाले काव्यशास्त्रीद्वय वामन र राजशेखरका काव्यकथ्य वा शब्दार्थापहरणसम्बन्धी दृष्टिकोण मोटामोटी रूपमा चिनाउन खोजिएको छ। 

संस्कृत काव्यशास्त्रको इतिहासमा वामन विक्रमीय आठौं शताब्दीका काव्यशास्त्री मानिन्छन्। यिनले काव्यालङ्कार सूत्रवृत्तिमा काव्यकथ्य वा शब्दार्थलाई पहिलेका कविहरूको छायायोनी नभएको वा कथ्य उत्पत्तिको कारण नभएको अयोनि र कथ्य उत्तपत्तिको भएको अन्यच्छाया योनि गरी दुई प्रकारले वर्गीकरण गरेका छन्। विक्रमको दसौं शताब्दीको उत्तरार्धतिरका राजशेखरले काव्यमीमांसा भन्ने ग्रन्थका ११, १२ र १३ अध्यायमा काव्यको कथ्यापहरण वा शब्दार्थको अपहरणका विभिन्न भेद विस्तारपूर्वक उल्लेख गरेका छन्। शब्दानुवाद वा भावानुवादको संज्ञा पाएका भानुभक्तीय काव्यका कथ्य वा शब्दार्थलाई उल्लिखित काव्यशास्त्रीका दृष्टिकोणबाट पुर्पछ्य गर्न सकिन्छ। 

रामायण र प्रश्नोत्तराको कथ्य अन्यच्छाया योनिअन्तर्गत पर्दछन्। यस्ता काव्य मौलिक हुन सक्दैनन् भन्ने दृष्टिकोण वामनमा पाइन्न। किनभने प्रश्नोत्तरा र रामायणका कथ्य अयोनि होइनन्, अन्यच्छाया योनि हुन्, अन्य भानुकृति अयोनि हुन्। भानुभक्त जस्तो प्रतिभा सम्पन्न कविको नूतन अभिव्यञ्जनाले अन्यच्छाया योनिमा पर्ने उक्त दुवै काव्यका कथ्यमा नवीन सौन्दर्य सृष्टि गरेका छन् भने पूर्ववर्ती कवि (शंकराचार्य र रामानन्द) वा काव्यका कथ्यमा भंगीमा थपोट गर्दै नवीनता ल्याएको छ। पूर्वकथ्यमा गरिएका नव विस्तार, विस्तृति र नव संकोचनले नव कथ्यको सिर्जना भएको छ।

दुवै कृतिमा राजशेखरले भने जस्तो पूर्वकथ्यापरण वा शब्दार्थापहरण भएको देखिन्छ। उनले गरेका शब्दार्थापहरणका विविध उदाहरणले शंकराचार्य र रामानन्दका कृतिमा देखिएका कथ्यभन्दा केही पृथक् नवविस्तार, विस्तृति, नव संकोचन र भङगमाले नवीन कथ्यसृष्टि सिर्जना गरेका छन्। यसरी एकातिर उक्त भानुकृतिमा केही नवीन कथ्यसृष्टि देखिन्छ भने अर्कोतिर भानुभक्तीय शब्दालङ्कार, अर्थालङ्कार, गुण, रीति, रस र ध्वनि आदिले उत्कृष्ट नवीनता दिएका छन्। यी विविध कारणले दुवै कृति शब्दानुवाद वा भावानुवादभन्दा माथि मौलिकताको निकट पुगेका छन्। अर्थात् पूर्वीय काव्यशास्त्रीका दृष्टिकोणले कथ्य वा शब्दार्थ हेर्दा भानुभक्तका प्रश्नोत्तरा र रामायण मौलिक कृति हुन्, अनुदित कृति होइनन् भन्न सकिने स्थिति देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.