चीनको रणनीतिक चिन्ता

टिप्पणी

चीनको रणनीतिक चिन्ता

छिमेकी मुलुकहरूसँगका सम्बन्ध आधुनिक इतिहासकै सबैभन्दा सुदृढ चरणमा पुगेको चीनको दाबी छ।

चीनको रेनमिन विश्वविद्यालयअन्तर्गतको पत्रकारिता तथा सञ्चार विभागको निमन्त्रणामा जुन २२ देखि जुलाई ३ सम्म चीन भ्रमण गर्ने अवसर मिल्यो। भ्रमणका क्रममा बेइजिङ र नानजिङमा विश्वविद्यालयका प्राध्यापक, चिनियाँ विदेश मन्त्रालयका अधिकारी, सञ्चारकर्मी तथा नीतिनिर्माणसँग सम्बन्धित व्यक्तिहरूसँग मिडिया, विकास, कृत्रिम बुद्धिमत्ता (एआई), चिनियाँ शैलीको लोकतन्त्र, चीन–अमेरिका सम्बन्ध तथा चीनको छिमेकी कूटनीतिका विषयमा विस्तृत अन्तरक्रिया भयो। औपचारिक कार्यक्रमसँगै भएका अनौपचारिक संवादहरूले पनि चीनले आफ्नो छिमेकी नीतिलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने बुझ्न महत्वपूर्ण आधार प्रदान गरे। 

कुराकानीका क्रममा नेपालको नयाँ सरकारप्रति चिनियाँ पक्षको दृष्टिकोण सकारात्मक देखियो। अधिकारी र प्राध्यापकहरूले एउटै सन्देश दोहोर्‍याए—चीनले नेपालको आन्तरिक राजनीतिक प्रक्रियामा हस्तक्षेप गर्ने नीति लिँदैन। नेपाली जनताले रोजेको राजनीतिक प्रणाली र विकासको मार्गमा सहयोग गर्न चीन तयार रहेको उनीहरूको भनाइ थियो। नयाँ सरकारसँग मिलेर परम्परागत मित्रतालाई थप सुदृढ बनाउन चीन इच्छुक रहेको उनीहरूले स्पष्ट पारे। उनीहरूले नयाँ सरकारसँग सहकार्य गर्न सकिने क्षेत्रहरूका बारेमा नेपालका मन्त्रीहरूसँग विस्तृतमा प्रस्ताव गरिएको र अब नेपालको तर्फबाट आउने प्रस्तावको प्रतिक्षा गरिरहेको उनीहरूको 
भनाइ थियो। 

यद्यपि, चीनका केही रणनीतिक चिन्ताहरू पनि प्रस्ट देखिए। विशेषगरी नेपालमा चीनका मूल सुरक्षा चासो, खासगरी एक चीन सिद्धान्तसँग सम्बन्धित विषयमा उनीहरू संवेदनशील छन्। सरकारप्रति उनीहरू आशावादी देखिए पनि केही राजनीतिक शक्ति वा समूहबाट चीनविरोधी गतिविधि हुन सक्ने सम्भावनाप्रति उनीहरू सतर्क देखिन्थे। यसै सन्दर्भमा केही साताअघि भएको नेपाली परराष्ट्रमन्त्रीको चीन भ्रमणलाई उनीहरूले सकारात्मक संकेतका रूपमा व्याख्या गरे। 

त्यस्तो उच्चस्तरीय संवादले पारस्परिक विश्वास निर्माणमा योगदान पुर्‍याएको उनीहरूको धारणा थियो। उनीहरूका अनुसार छिमेकीलाई सहयोग गर्नु र सौहार्दपूर्ण सम्बन्ध निर्माण गर्नु चिनियाँ सभ्यता र कूटनीतिक परम्पराको अभिन्न अंग हो। नानजिङ विश्वविद्यालयका प्राध्यापक झाउ फेङसँगको छलफलमा ताइवान प्रश्न चीनका सबै छिमेकी मुलुकसँगको सम्बन्धमा महत्वपूर्ण विषय रहेको उल्लेख भयो। 

उनका अनुसार चीनले आफ्ना सबै साझेदार मुलुकबाट एक चीन सिद्धान्तप्रतिको स्पष्ट प्रतिबद्धतालाई आधारभूत राजनीतिक विश्वासको रूपमा हेर्छ । संयोगवश यही अवधिमा बंगलादेशका प्रधानमन्त्रीको चीन भ्रमण भएको थियो। भ्रमणपछि जारी १५ बुँदे संयुक्त वक्तव्यमा पनि बंगलादेशले एक चीन सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको थियो। एक चिनियाँ अधिकारीले भने, ‘यो नेपालसँग मात्र जोडिएको विषय होइन। चीन भ्रमण गर्ने अधिकांश विदेशी नेताले एक चीन सिद्धान्तप्रति आफ्नो समर्थन व्यक्त गर्ने गरेका छन्।’

भ्रमणका क्रममा चीनको आर्थिक कूटनीतिबारे पनि विस्तृत छलफल भयो। चिनियाँ पक्षको जोड स्पष्ट थियो—कम विकसित मुलुकहरूले भूराजनीतिक प्रतिस्पर्धामा फस्नुभन्दा विकासलाई केन्द्रमा राख्नुपर्छ। सबै प्रमुख शक्तिसँग सन्तुलित सम्बन्ध कायम गर्दै आर्थिक विकासलाई प्राथमिकता दिनु नै दीर्घकालीन हितमा हुने उनीहरूको सुझाव थियो। चिनियाँ प्राध्यापकहरूले चीनले छिमेकी मुलुकहरूका लागि सयौं वस्तुमा शून्य भन्सार सुविधा उपलब्ध गराए पनि धेरै देशले त्यसको पर्याप्त उपयोग गर्न नसकेको बताए। नेपालका लागि पनि यो एउटा अवसर हुन सक्ने उनीहरूको संकेत थियो। छलफलको अर्को महत्वपूर्ण विषय चिनियाँ कम्युनिस्ट पार्टीले गत वर्ष आयोजना गरेको छिमेकी कूटनीतिसम्बन्धी पहिलो उच्चस्तरीय सम्मेलन थियो। 

उक्त सम्मेलनले चीनको छिमेकी नीतिलाई नयाँ दिशातर्फ उन्मुख गरेको देखिन्छ। विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले ‘छिमेकी देशहरूसँग साझा भविष्य भएको समुदाय’ निर्माण गर्ने अवधारणालाई अब आफ्नो क्षेत्रीय कूटनीतिको प्रमुख आधार बनाएको छ। यस अवधारणाअन्तर्गत चीनले छिमेकी मुलुकहरूसँग रणनीतिक विश्वास सुदृढ गर्ने, उनीहरूको राष्ट्रिय अवस्थाअनुसार विकासको मार्ग रोज्ने अधिकारलाई सम्मान गर्ने, मतभेदलाई संवादमार्फत व्यवस्थापन गर्ने तथा विकास साझेदारीलाई अझ गहिरो बनाउने नीति अघि सारेको छ। 

त्यससँगै उच्चस्तरीय कनेक्टिभिटी निर्माण, औद्योगिक तथा आपूर्ति शृंखलामा सहकार्य विस्तार, सुरक्षा तथा कानुन कार्यान्वयनमा सहयोग, जनस्तरको आदानप्रदान वृद्धि तथा क्षेत्रीय स्थायित्वलाई मजबुत बनाउने विषयलाई पनि समान महत्व दिइएको छ। चिनियाँ अधिकारीहरूको भनाइमा अहिले चीनका छिमेकी मुलुकहरूसँगका सम्बन्ध आधुनिक इतिहासकै सबैभन्दा सुदृढ चरणमा पुगेको छ। 

तर, उनीहरू यो पनि स्वीकार्छन् कि क्षेत्रीय शक्ति सन्तुलन, विश्वव्यापी प्रतिस्पर्धा र भूराजनीतिक परिवर्तनका कारण अहिलेको अवस्था अत्यन्त संवेदनशील पनि छ। त्यसैले चीनले विकास र सुरक्षालाई समान महत्व दिँदै अघि बढ्ने नीति अपनाएको छ।

उनीहरूका अनुसार शान्ति, सहकार्य, खुलापन र समावेशितामा आधारित एसियाली मूल्यलाई प्रवद्र्धन गर्नु चीनको दीर्घकालीन रणनीति हो। संवाद, परामर्श र साझा हितका आधारमा मतभेद व्यवस्थापन गर्ने ‘एसियाली सुरक्षा अवधारणा’ लाई पनि उनीहरूले जोडका साथ प्रस्तुत गरे। एसियाली सुरक्षा अवधारणमा उनीहरूले आर्थिक विषयलाई केन्द्रमा राखेका छन्। 

एक चिनियाँ प्राध्यापकले दोस्रो विश्वयुद्धपछि एसियामा ठूलो युद्ध नहुनुलाई क्षेत्रीय विकासको मुख्य कारणका रूपमा उल्लेख गरे। ‘हामी कोरियाली युद्ध र अहिले युरोपमा भइरहेको युद्धबाट पाठ सिकिरहेका छौं। एसियामा शान्ति कायम रहनु सबै देशका लागि साझा हित हो,’ उनले भने। उनका अनुसार यदि यस क्षेत्रमा ठूलो द्वन्द्व भयो भने त्यसको सबैभन्दा बढी असर नेपालजस्ता साना र विकासशील मुलुकमा पर्नेछ। 

उनीहरूका अनुसार एसियामा कुनै पनि खालको युद्ध हुन नदिनु चीनको अहिले प्रमुख प्राथमिकता हो र त्यसमा छिमेकी मुलुकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। विश्वव्यापी अनिश्चितता र द्वन्द्वका बीच पनि एसियाले आर्थिक वृद्धिलाई निरन्तरता दिएकोमा चिनियाँ पक्ष उत्साहित देखिन्छ। गत वर्ष विश्व आर्थिक वृद्धिमा ६० प्रतिशतभन्दा बढी योगदान एसियाले गरेको उल्लेख गर्दै उनीहरूले त्यसलाई चीन र अन्य एसियाली मुलुकहरूको संयुक्त उपलब्धिका रूपमा व्याख्या गरे।

नेपालका लागि चीनको सन्देश बहुआयामिक देखिन्छ। पहिलो, राजनीतिक रूपमा चीन नेपालको सार्वभौमिकता र स्वतन्त्र निर्णय प्रक्रियाको सम्मान गर्ने नीति दोहोर्‍याइरहेको छ। दोस्रो, सुरक्षासम्बन्धी आफ्नो मूल चासो, विशेषगरी एक चीन सिद्धान्तप्रति नेपालको निरन्तर प्रतिबद्धता अपेक्षा गरिरहेको छ। तेस्रो, आर्थिक रूपमा व्यापार, लगानी, पूर्वाधार, कृषि, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि तथा कनेक्टिभिटीमा सहकार्य विस्तार गर्न चीन इच्छुक देखिन्छ।

भ्रमणभरि चिनियाँ प्राध्यापक, अधिकारी र पत्रकारहरूले दोहोर्‍याएको एउटा उखान विशेष अर्थपूर्ण लाग्यो— ‘टाढाको आफन्तभन्दा नजिकको छिमेकी राम्रो हुन्छ।’ यही सोच अहिले चीनको छिमेकी कूटनीतिको आधार बनेको देखिन्छ। चीन अब केवल आर्थिक साझेदारको रूपमा मात्र होइन, क्षेत्रीय स्थायित्व, विकास र साझा समृद्धिका दीर्घकालीन साझेदारका रूपमा आफूलाई प्रस्तुत गर्न खोजिरहेको छ।

नेपालका लागि यसमा अवसर र चुनौती दुवै छन्। अवसर यस अर्थमा कि चीनसँगको आर्थिक, पूर्वाधार, व्यापार र प्रविधि सहकार्यलाई राष्ट्रिय हितअनुसार अझ प्रभावकारी बनाउन सकिन्छ। चुनौती यस अर्थमा कि बढ्दो शक्ति प्रतिस्पर्धाको बीच नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति, सन्तुलित कूटनीति र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै चीनसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने हुन्छ। समग्रमा हेर्दा चीनको नयाँ छिमेकी नीति केवल कूटनीतिक नारामा सीमित देखिँदैन। यसले सुरक्षा, विकास, व्यापार, पूर्वाधार, प्रविधि, जनस्तरको सम्बन्ध र क्षेत्रीय स्थायित्वलाई एउटै रणनीतिक ढाँचाभित्र राखेर अघि बढाउने प्रयास गरेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.