सभ्यता हराउँदै कि समाज बदलिँदै ?
गाली गर्ने संस्कार कुनै एउटा पुस्ताको असफलता होइन, यो परिवर्तनको तीव्र गतिमा हिँडिरहेको समाजको चेतावनी हो।
समाजको सभ्यता मानिसले बनाएका अग्ला भवनले होइन, मानिसले प्रयोग गर्ने शब्दले मापन हुन्छ। मीठो बोलीले संसार जित्न सकिन्छ भन्ने उखान कुनै समय धेरै सुनिन्थ्यो। अहिले पनि कहिलेकाहीँ सुनिन्छ। जुन केवल भाषिक सौन्दर्यमात्र थिएन, बरु सामाजिक दर्शन थियो, जसले सम्मान, सहिष्णुता र पारस्परिक विश्वासलाई जीवनको आधार मान्थ्यो। गाउँका चौतारीदेखि घरको आँगनसम्म, विद्यालयका कक्षादेखि सार्वजनिक भेलासम्म, खेतबारीदेखि हाटबजारसम्म असहमति हुन्थ्यो, विवाद पनि हुन्थ्यो, तर शब्दको एउटा मर्यादा कायम राख्ने प्रयास भइरहेको देखिन्थ्यो।
आज परिस्थिति निकै फेरिएको छ। सामाजिक सञ्जालका टिप्पणीहरू पढ्दा, सडकमा सामान्य विवाद हेर्दा, राजनीतिक भाषण सुन्दा वा दैनिक सार्वजनिक व्यवहार नियाल्दा एउटा प्रश्न बारम्बार उठ्ने गर्छ– के हाम्रो भाषा कठोर भएको हो ? के हाम्रो समाज नै संवेदनशीलताबाट टाढिँदै गएको हो ? धेरैजसो मानिस यसको सरल उत्तर दिन्छन्, आजको पुस्तामा संस्कार छैन। तर समाजशास्त्रले दोष केवल निश्चित पुस्तालाई दिँदैन र यति सहजै निष्कर्षमा पनि पुग्दैन। कुनै पनि पुस्ता जन्मजात सभ्य वा असभ्य हुँदैन।
प्रत्येक पुस्ता आफूभन्दा अघिल्लो पुस्ताले निर्माण गरेको सामाजिक संरचना जस्तै वातावरण, पारिवारिक संस्कार, राजनीतिक संस्कृति, आर्थिक अवस्था र शैक्षिक प्रक्रियाको उत्पादन हुन्छ। त्यसैले आज युवाहरूको भाषामा देखिएको आक्रोश र अराजक शब्द चयनलाई बुझ्न उनीहरूलाई मात्र होइन, उनीहरूलाई हुर्काएको हाम्रो समाज पनि पढ्न आवश्यक हुन्छ।
हरेक मानिसले प्रयोग गर्ने शब्दहरू कहिल्यै केवल उसको व्यक्तिगत रोजाइका परिणाम हुँदैनन्। तिनमा समयको प्रभाव, समाजको छाप र सम्बन्धहरूको अनुभव समेत मिसिएको हुन्छ। सम्मानजनक वातावरणमा हुर्किएको बालकले सम्मानलाई स्वाभाविक व्यवहार ठान्छ भने अपमान, असहिष्णुता र चर्को प्रतिक्रियाबीच हुर्किएको बालकका लागि त्यही भाषा सामान्य लाग्छ। त्यसैले गालीको संस्कार कुनै शब्दको समस्या मात्र होइन, यो हाम्रो सामाजिक संरचनाको ऐना पनि हो।
- सभ्य समाज कानुनले मात्र निर्माण हुँदैन, बरु सम्मान परिवारमा अभ्यास हुन्छ, विद्यालयमा परिष्कृत हुन्छ, समाजमा विस्तार हुन्छ र राज्यका संस्थाले त्यसलाई अधिग्रहण गर्छन्। त्यसैले सभ्य भाषाको प्रश्न वास्तवमा सभ्य समाजको प्रश्न हो।
- हामी सन्तानलाई महँगा विद्यालय, अत्याधुनिक प्रविधि, विश्वस्तरीय अवसर दिन सक्छौं तर यदि सम्मान, धैर्य, सहिष्णुता र जिम्मेवार संवादको संस्कार दिन सकेनौं भने ती सबै उपलब्धि अधुरा रहनेछन्।
फ्रान्सेली समाजशास्त्री एमिल दुर्खाइमका अनुसार जब समाजलाई एकताबद्ध राख्ने साझा मूल्यहरू कमजोर बन्छन्, मानिसहरू सही–गलत छुट्ट्याउने सामूहिक आधार गुमाउन थाल्छन्। आज नेपाली समाजलाई नियाल्दा यही संक्रमण स्पष्ट देखिन थालेको छ। परम्परागत मूल्यहरू क्रमशः कमजोर हुँदै गएका छन् भने आधुनिक संस्कार अझै पर्याप्त रूपमा संस्थागत हुन सकिरहेको छैन। परिणामस्वरूप हामी एउटा यस्तो मोडमा उभिएका छौं, जहाँ स्वतन्त्रता त बढेको छ, तर आत्मसंयम भने कमजोर बन्दै गइरहेको छ।
यही परिवर्तन परिवारभित्र पनि देख्न सकिन्छ। कुनै समय घर केवल बस्ने ठाउँ थिएन, त्यो व्यवहार सिक्ने पहिलो विद्यालय थियो। अहिले अधिकांश अभिभावक आफ्ना सन्तानलाई राम्रो विद्यालय, महँगो शिक्षा, प्रविधि र सुविधा दिन संघर्ष गरिरहेका छन् तर व्यस्त जीवनशैली, बढ्दो महत्त्वाकांक्षा, वैदेशिक रोजगार, संयुक्त परिवारको विघटन र डिजिटलमा निर्भरता हुनाले पारिवारिक संवादलाई क्रमशः साघुरो बनाइदिएको छ। एउटै घरमा बसेका मानिसहरू फरक–फरक स्क्रिनमा व्यस्त हुन्छन्, सँगै बसे पनि संवाद न्यून हुँदै गएको छ, जसले गर्दा भावनात्मक दूरी बढ्दै जान्छ। यसो हुँदा नैतिक शिक्षा र संस्कार पुस्तान्तरण हुने प्राकृतिक प्रक्रिया पनि कमजोर बन्छ।
मानिसले आफ्नो घर, विद्यालय, समुदाय र दैनिक अनुभवबाट एउटा अदृश्य व्यावहारिक ढाँचा निर्माण गर्छ, जसले पछि उसको सोच, भाषा र निर्णयलाई प्रभावित गर्छ। बालबालिकाले नैतिकता किताबभन्दा धेरै व्यवहारबाट सिक्छन्। यदि उनीहरूले घरभित्र सामान्य असहमतिसमेत गालीगलौज, अपमान र चर्को स्वरमा टुंगिएको देखे भने त त्यही शैली उनीहरूको स्वाभाविक भाषा बन्छ। यदि विद्यालयमा बालबालिकाले गर्ने गल्तीलाई सिकाइको अवसरभन्दा गालीगलौज गर्ने आधार बनाइयो भने उनीहरूले शक्ति र सम्मानको सम्बन्धलाई विकृत रूपमा बुझ्न सक्छन्।
सामाजिक सिकाइको सिद्धान्तले भन्छ– मानिसले सबैभन्दा धेरै सिक्ने माध्यम प्रत्यक्ष अनुभव होइन, अनुकरण हो। जसलाई मानिसले सफल, प्रभावशाली वा लोकप्रिय देख्छ, त्यसैको व्यवहार दोहो¥याउने सम्भावना बढ्छ। डिजिटल युगमा यो प्रक्रिया झन् तीव्र भएको छ। सामाजिक सञ्जालमा सभ्य बहसभन्दा विवादास्पद अभिव्यक्तिले बढी ध्यान केन्द्रित गर्छ। चर्को भाषा, अपमानजनक टिप्पणी र उत्तेजना बढाउने सामग्रीले धेरै प्रतिक्रिया बटुल्छ। एल्गोरिदमले पनि त्यही सामग्रीलाई व्यापक रूपमा फैलाउँछ। यस्तो अवस्थामा किशोर किशोरीले अञ्जानमै शान्त र सभ्य भएर बोल्नेभन्दा चर्को भएर बोल्ने मानिस बढी सफल हुन्छ भन्ने सिक्न सक्छन्।
आजको जेनेरेसन जेड र जेनेरेसन अल्फाले अघिल्ला पुस्ताले अनुभव नगरेको संसारमा आँखा खोलेका छन्। उनीहरूका लागि इन्टरनेट कुनै नयाँ प्रविधि होइन; जीवनको स्वाभाविक हिस्सा हो। उनीहरूले संसारलाई एउटै स्क्रिनबाट हेर्छन्, तर त्यही स्क्रिनले उनीहरूलाई निरन्तर तुलना, प्रतिस्पर्धा र मूल्यांकनको दबाब पनि दिइरहेको हुन्छ। लाइक, सेयर, फलोअर र डिजिटल स्वीकृतिले आत्मपहिचानलाई समेत प्रभावित गर्ने अवस्था बनेको छ। अरूको सफलता हरेक दिन देख्ने तर आफ्ना संघर्षहरू एक्लै भोग्ने पुस्तामा मानसिक दबाब, असुरक्षा र चिडचिडापन बढ्नु पनि स्वाभाविक हो।
यसको अर्थ अहिलेको पुस्ता कमजोर छन् भन्ने होइन। बरु उनीहरू नयाँ अवसर, नयाँ सोच र विश्वव्यापी चेतनासँग जोडिएको पुस्ता हुन्। उनीहरू लैंगिक समानता, मानसिक स्वास्थ्य, वातावरण संरक्षण र मानव अधिकारजस्ता विषयमा अघिल्ला पुस्ताभन्दा धेरै सचेत छन्। समस्या उनीहरूको स्वभावमा होइन, उनीहरू हुर्किएको सामाजिक वातावरणको असन्तुलनमा छ। हामीले उनीहरूलाई प्रतिस्पर्धा सिकायौं तर सहकार्य कम सिकायौं, अधिकारबारे धेरै बोल्यौं तर जिम्मेवारीको अभ्यास कम गरायौं, प्रविधि हातमा दियौं तर डिजिटल नैतिकताको संस्कार निर्माण गर्न सकेनौं।
त्यसैले आज देखिएको गालीगलौजको संस्कृतिलाई केवल भाषिक विकृति भनेर बुझ्नुमात्रै पर्याप्त हुँदैन। यो समाजभित्र बढ्दो असहिष्णुता, कमजोर सामाजिक सम्बन्ध, टाढिँदै गएको भावनात्मक दुरी, निरन्तर प्रतिस्पर्धा र सामूहिक विश्वासको ह्रासको परिणाम पनि हो। शब्दहरू केवल मुखबाट निस्कने ध्वनि होइनन् तिनले समाजको मनोविज्ञान बोकेका हुन्छन्। भाषा बदलिनु भनेको सम्बन्ध बदलिनु पनि हो। यही कारणले अहिलेको सबैभन्दा ठूलो प्रश्न अहिलेको पुस्ता किन गालीगलौजमा उत्रन्छन् भन्ने होइन, अझ गहिरो प्रश्न त यो हो की हामीले कस्तो समाज निर्माण गरिरहेका रहेछौ र छौं, जहाँ सम्मानभन्दा अपमान छिटो फैलिन्छ, संवादभन्दा आक्रोश चाँडो निस्कन्छ र असहमतिभन्दा शत्रुताले बढी स्थान पाउँछ ?
यदि भाषाको परिवर्तन सामाजिक सम्बन्धको संकेत हो भने त्यसको सबैभन्दा स्पष्ट प्रभाव सार्वजनिक जीवनमा देखिन्छ। कुनै पनि लोकतान्त्रिक समाजमा असहमति स्वाभाविक हुन्छ, असहमतिलाई सम्मानपूर्वक व्यक्त गर्न सक्नु भने लोकतान्त्रिक संस्कृतिको परिपक्वता हो। तर जब तर्कको ठाउँ आरोपले, संवादको ठाउँ व्यंग्यले र विचारको ठाउँ गालीले लिन थाल्छ, त्यहाँ समस्या व्यक्तिको स्वभावभन्दा गहिरो हुन्छ। त्यो समाजभित्र सञ्चित असन्तोष, कमजोर सामाजिक विश्वास र संस्थागत संस्कृतिको प्रतिबिम्ब बन्छ।
आज सरकारी कार्यालयमा सेवा लिन पुगेका धेरै नागरिक आफूलाई सम्मानित सेवाग्राहीभन्दा प्रक्रियाको एउटा झन्झटिलो अनुभव गर्छन्। अर्कोतर्फ, नियम उल्लंघन गर्ने, अनावश्यक दबाब सिर्जना गर्ने वा कर्मचारीमाथि सुरुदेखि नै आक्रामक व्यवहार गर्ने नागरिक पनि कम छैनन्। परिणामतः दुवै पक्षबीच विश्वासको सट्टा अविश्वास, सहकार्यको सट्टा प्रतिरक्षा र संवादको सट्टा तनाव विकसित हुन्छ। जब सार्वजनिक संस्थामा सम्मान कमजोर हुन्छ, नागरिकको राज्यप्रतिको भावनात्मक सम्बन्ध पनि कमजोर बन्छ त्यसको असर केवल कार्यालयको सेवामा सीमित रहँदैन; त्यो विस्तारै सामाजिक व्यवहारको हिस्सा बन्छ।
यस्तै प्रभाव राजनीतिमा पनि देख्न सकिन्छ। कुनै पनि देशका राजनीतिक नेतृत्वले केवल नीति निर्माणमात्रै होइन उनीहरूले सार्वजनिक भाषाको स्तर पनि निर्धारण गर्नुपर्दछ। संसद्, चुनावी सभा, टेलिभिजन बहस वा सार्वजनिक अभिव्यक्तिमा यदि व्यक्तिगत आरोप, कटाक्ष, गाली र अपमानलाई सामान्य शैली बनाइन्छ भने नागरिकले पनि त्यसैलाई प्रभावकारी अभिव्यक्तिको रूपमा ग्रहण गर्न थाल्छन्। फलस्वरूप नेतृत्वको भाषा समाजको भाषामा रूपान्तरण हुन धेरै समय लाग्दैन। त्यसैले सभ्य लोकतन्त्र केवल संविधानले होइन, सार्वजनिक संवादको संस्कृतिले पनि निर्माण हुन्छ।
डिजिटल सञ्चारले यो परिवर्तनलाई अझ तीव्र बनाएको छ। सामाजिक सञ्जालले विचार व्यक्त गर्ने अभूतपूर्व स्वतन्त्रता दिएको छ तर त्यससँगै एउटा नयाँ प्रतिस्पर्धा पनि जन्माएको छ, अरूको ध्यान आकर्षित गर्ने प्रतिस्पर्धा। आज धेरैजसो डिजिटल प्लेटफर्ममा शान्त, सन्तुलित र विवेकपूर्ण अभिव्यक्तिभन्दा उत्तेजक सामग्रीले धेरै प्रतिक्रिया पाउँछ। त्यसैले कतिपयलाई सभ्य संवादभन्दा आक्रामक भाषा प्रभावकारी लाग्न थालेको छ। यसरी, अभिव्यक्तिको स्वतन्त्रता विस्तार हुँदै जाँदा अभिव्यक्तिको जिम्मेवारी भने समान गतिमा विकास हुन सकिरहेको छैन।
नेपाली समाजले पछिल्ला दशकहरूमा तीव्र परिवर्तन भोगेको छ। संयुक्त परिवार क्रमशः सानो परिवारमा रूपान्तरण भएको छ। वैदेशिक रोजगारीले लाखौं परिवारलाई आर्थिक रूपमा सशक्त बनाए पनि भावनात्मक रूपमा टाढा पारेको छ। सहरीकरणले अवसर बढाएको छ तर छिमेकीबीचको आत्मीयता घटाएको छ। गाउँका चौतारी, मेलापात, गुठी, सामुदायिक श्रम र नियमित भेटघाटजस्ता सामाजिक अभ्यासहरू धेरै ठाउँमा कमजोर भएका छन्। जब प्रत्यक्ष सम्बन्ध कम हुन्छ, सहानुभूति पनि कमजोर हुन सक्छ। अहिलेको गालीगलौजको संस्कृति बिकास हुँदै जानुका सम्पूर्ण दोष नयाँ पुस्तामाथि थोपर्नु न त न्यायसंगत हुन्छ, न समाजशास्त्रीय रूपमा सही। प्रत्येक पुस्ताले आफ्नो समयको चुनौती बोकेको हुन्छ। अहिलेका युवाले कृत्रिम बुद्धिमत्ता, तीव्र प्रतिस्पर्धा, अनिश्चित रोजगारी, मानसिक स्वास्थ्यको दबाब, सामाजिक तुलना र डिजिटल उपस्थितिको निरन्तर दबाबबीच आफ्नो भविष्य निर्माण गरिरहेका छन्। उनीहरूमा अधैर्यता देखिन सक्छ, तर उनीहमा नवीन सोच, उद्यमशीलता, लैंगिक समानताप्रतिको संवेदनशीलता, विश्वव्यापी दृष्टिकोण र परिवर्तनको आकांक्षा पनि छ। त्यसैले उनीहरूलाई समस्या होइन, भरपुर सम्भावनाको पुस्ताका रूपमा हेर्न आवश्यक छ।
समाधानको सुरुवात दोषारोपणबाट होइन, आत्मसमीक्षाबाट हुनुपर्छ। परिवारले आफ्ना बालबालिकालाई केवल सफल हुन होइन, असफलतासँग जुध्न पनि सिकाउनुपर्छ। विद्यालयले केवल परीक्षामा उच्च अंक ल्याउने विद्यार्थी होइन, असहमतिलाई सम्मान गर्न सक्ने नागरिक पनि तयार पार्नुपर्छ। सार्वजनिक संस्थाले सेवाभन्दा पहिले सम्मानको संस्कार स्थापित गर्नुपर्छ। राजनीतिक नेतृत्वले मतभेदलाई शत्रुतामा होइन, लोकतान्त्रिक बहसमा रूपान्तरण गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ। सामाजिक सञ्जाल प्रयोग गर्ने प्रत्येक नागरिकले एउटा साधारण प्रश्न आफैंलाई सोध्नुपर्छ– मैले लेखेको यही शब्द म कसैको आँखामा हेरेर भन्न सक्छु कि सक्दिनँ ? परिवारसँग बसेर पढ्न सक्छु कि सक्दिनँ ?
सभ्य समाज कानुनले मात्र निर्माण हुँदैन, कानुनले अपराध नियन्त्रण गर्न सक्छ, तर सम्मान सिकाउन सक्दैन। सम्मान परिवारमा अभ्यास हुन्छ, विद्यालयमा परिष्कृत हुन्छ, समाजमा विस्तार हुन्छ र राज्यका संस्थाले त्यसलाई अधिग्रहण गर्छन्। त्यसैले सभ्य भाषाको प्रश्न वास्तवमा सभ्य समाजको प्रश्न हो। अन्ततः हामीले स्वीकार्नैपर्छ– गाली गर्ने संस्कार कुनै एउटा पुस्ताको असफलता होइन; यो परिवर्तनको तीव्र गतिमा हिँडिरहेको समाजको चेतावनी हो। यदि हामी भविष्यका पुस्तालाई फरक बनाउन चाहन्छौं भने उनीहरूलाई मात्र बदल्न खोजेर पुग्दैन उनीहरू हुर्किने वातावरण बदल्नुपर्छ। उनीहरूलाई बुझ्ने दृष्टिकोण बदल्नुपर्छ। हामी सन्तानलाई महँगा विद्यालय, अत्याधुनिक प्रविधि, विश्वस्तरीय अवसर दिन सक्छौं तर यदि सम्मान, धैर्य, सहिष्णुता र जिम्मेवार संवादको संस्कार दिन सकेनौं भने ती सबै उपलब्धि अधुरा रहनेछन्। किनभने कुनै राष्ट्रको वास्तविक उन्नति सडक, पुल वा गगनचुम्बी भवनमा मात्र देखिँदैन, त्यो मानिसहरूले एकअर्कासँग बोल्ने शब्दमा पनि देखिन्छ।
भविष्यको नेपाल कस्तो हुनेछ भन्ने प्रश्नको उत्तर संसद्को बहसमा मात्र छैन, विद्यालयको कक्षामा मात्र छैन, सामाजिक सञ्जालको पर्दामा मात्र छैन, त्यसको उत्तर हाम्रो घरको बैठकमा, परिवारको कुराकानी गर्ने शैलीमा, छिमेकीसँगको व्यवहारमा, कार्यालयको सेवामा र फरक विचार राख्ने मानिसप्रति हाम्रो दृष्टिकोण र शब्द चयनमा लुकेको छ। सभ्यता सम्मानजनक शब्दबाट सुरु हुन्छ जब समाजले आफ्ना शब्दहरूलाई मर्यादित बनाउन सिक्छ तब उसले आफ्ना सम्बन्धलाई पनि दीर्घकालसम्म सुरक्षित राख्न सक्छ र अन्ततः, सम्मानपूर्वक बोल्न सक्ने समाज नै सम्मानपूर्वक बाँच्न सक्ने समाज हुन्छ।
समाजशास्त्री ढकाल काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त हुन् ।
प्रतिक्रिया दिनुहोस !