सुकुम्बासीको नियति : खोला किनारबाट लखेटिए, होल्डिङ सेन्टरमा डुबे

सुकुम्बासीको नियति : खोला किनारबाट लखेटिए, होल्डिङ सेन्टरमा डुबे

काठमाडौं : दिनभरिको थकाइले मस्त निदाइरहेकी रस्मिला उप्रेतीको ओछ्यान एक्कासि चिसो भयो। आँखा खोल्दा नखोल्दै टेन्टभित्र पानी नाच्न थाल्यो।

‘चिसोले ब्युँझिँदा त आधा शरीर पानीमा डुबिसकेको रहेछ,’ थापाथली सुकुम्बासी बस्तीबाट उठाएर सरकारले राखेको कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेकी उप्रेतीले शनिबार भनिन्, ‘चारैतिर पानी नै पानी थियो। त्यत्रो डुबान हुँदा पनि राति उद्धार टोली आइपुगेन। हामीले आफैं रोइकराई गर्दै, बालबच्चा च्यापेर सुरक्षित स्थानतिर भाग्यौं।’

बागमती नदीमा आएको बाढीले कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १ सय ५४ जना प्रभावित भएका छन्। केही महिनाअघि मात्रै नदी किनार र सार्वजनिक जग्गाबाट डोजर लगाएर हटाइएका भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवार दोहोरो संकटमा परेका छन्। null

होल्डिङ सेन्टरमा आ श्रय लिइरहेकी हरिकुमारी जिम्बाको पीडा झनै कारुणिक छ। फोक्सोको गम्भीर संक्रमणबाट ग्रसित उनीसँग अहिले न बस्ने ओत छ, न त ओखतीमूलो गर्ने पैसा नै। ‘दुःख गरेर बनाएको छाप्रो सरकारले भत्काइदियो। २१ दिनका लागि मात्र हो भनेर यहाँ ल्याएको, आज ३ महिना बितिसक्यो तर केही अत्तोपत्तो छैन,’ सरकारले बास दिने भनेर अहिले अलपत्र बनाएको बताउँदै उनी भन्छिन्, ‘अहिले आएर २५ हजार दिन्छु भन्छ। २५ हजारले काठमाडौंमा कहाँ कोठा पाइन्छ ? सरकारले हाम्रो मात्र होइन, हाम्रा छोराछोरीको समेत भविष्य अन्धकार बनाइदियो।’

  •  बागमती नदीमा आएको बाढीका कारण कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर पूर्णरूपमा डुबानमा परेको छ।
  •     काठमाडौं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गाबाट केही महिनाअघि डोजर लगाएर हटाइएका भूमिहीन परिवार होल्डिङ सेन्टर नै डुबेपछि पुनः संकटमा परेका छन्।
  •     बाढीका कारण होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १ सय ५४ जना प्रभावित भएका छन्, जसमध्ये ५४ जनालाई सुरक्षा निकायले उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ।
  •     मध्यरातमा अचानक बाढी पसेका कारण पीडितहरूले सामान जोगाउन पाएनन्; उनीहरूका खाद्यान्न, लत्तााकपडा, भाँडाकुँडा र बालबालिकाका शैक्षिक सामग्री सबै नष्ट भएका छन्। 
  •     २१ दिनका लागि मात्र भनी ल्याइएका पीडितहरू ३ महिना बितिसक्दा पनि स्थायी पुनस्र्थापना नभएको र सेन्टरमा सुरुदेखि नै खानेपानी, स्वास्थ्य तथा सरसफाइको अभाव रहेको भन्दै आक्रोशित छन्।

सरकारले वैशाख १२ गतेदेखि काठमाडौं उपत्यकाभित्रका बागमती, विष्णुमती, मनोहरालगायतका नदी किनारका बस्तीहरू हटाउने अभियान चलाएको थियो। नदी अतिक्रमण रोक्ने र सहरी सौन्दर्य बढाउने नाममा सयौं परिवार विस्थापित भएका थिए। वैकल्पिक व्यवस्थाका नाममा उनीहरूलाई होल्डिङ सेन्टरमा सारिएको थियो। 

तर, होल्ङि सेन्टर सुरुदेखि नै न्यूनतम मानवीय सुविधाबाट वञ्चित थियो। खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षाको अभाव त छँदै थियो। दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने धेरैले पुरानो बासस्थान छुटेसँगै रोजगारीसमेत गुमाएका छन्। सास्तीबीच गएराति परेको अविरल वर्षाले बागमती नदीको जलस्तर ह्वात्तै बढायो र मध्यरातमा बाढी सिधै होल्डिङ सेन्टरभित्र पस्यो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार होल्डिङ सेन्टरमा रहेका १ सय ५४ जनामध्ये ५४ जनालाई तत्काल उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारिएको छ। केही परिवार आफन्तको शरणमा पुगेका छन् भने बाँकीलाई अन्यत्र सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य गरे पनि ढिलो गरी आइपुगेको भन्दै पीडितहरूले असन्तुष्टि पोखेका छन्। बाढीका कारण उनीहरूका बाँकी रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र बालबालिकाका विद्यालयका सामग्री सबै नष्ट भएका छन्।

३ महिनामै दोस्रो विपत्ति

बागमती नदीमा आएको बाढीले कीर्तिपुर–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवार पुनः संकटमा परेका छन्। बाढीका कारण होल्डिङ सेन्टरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, ओछ्यान, विद्यालयका सामग्री तथा दैनिक उपभोगका वस्तुमा क्षति पुगेको छ। सीमित सामानसमेत बाढीले बगाएको छ। कतिपय परिवार अहिले राहत सामग्री र सुरक्षित आवासको प्रतीक्षामा छन् भने कतिपय आफन्तको घरमा अस्थायी रूपमा बसिरहेका छन्।null

बाढीपछि होल्डिङ सेन्टरको अवस्थाले सरकारको अस्थायी व्यवस्थापन पर्याप्त नभएको भन्दै प्रभावित परिवारले दीर्घकालीन समाधानको माग गर्न थालेका छन्। उनीहरूले सरकारले नदी किनारबाट हटाएर पुनः अझ जोखिमयुक्त स्थानमा राखेको आरोप लगाएका छन्। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश परिवारले आफूहरूलाई केही दिनका लागि मात्रै राखिने जानकारी दिइएको तर महिनौं बितिसक्दा पनि स्थायी व्यवस्थापन नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार सरकारले सुरक्षित आवासको आश्वासन दिए पनि व्यवहारमा त्यसको अनुभूति हुन सकेको छैन। बाढीले उनीहरूको बाँकी रहेको सामानसमेत नष्ट गरेपछि उनीहरूमाझ भविष्यप्रति थप चिन्ता बढ्दै गएको छ।

पीडितहरूका अनुसार बाढी पस्न थालेपछि धेरै परिवारले आफ्ना बालबालिका, वृद्धवृद्धा र बिरामी सदस्यलाई जोगाउनुपर्ने अवस्था आयो। लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, कागजात तथा दैनिक उपभोगका सामग्री पानीले भिजेपछि उनीहरूको दैनिकी थप कठिन बनेको छ। कतिपय परिवारले राहत सामग्रीबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन्।

होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकलाई सरकारले सुरक्षित स्थानमा राखिने विश्वास दिलाएको भए पनि अहिले त्यो विश्वास कमजोर बन्दै गएको छ। पहिला बस्दै आएको स्थानबाट हटाउँदा सरकारले नयाँ ठाउँ सुरक्षित रहेको बताए पनि पहिलाको भन्दा हाल असुरक्षित रहेको उनीहरू बताउँछन्। 

बालबालिकाको पढाइ, खानेपानी र सरसफाइको समस्या पहिलेदेखि नै रहेको र बाढीपछि अवस्था झनै कष्टकर बन्दै गएको छ। डुबानका कारण रातभरि निदाउन नसकेका नागरिक, पानी पस्न थालेपछि बच्चा बोकेर बाहिर निस्कनुपर्‍यो।

अस्थायी व्यवस्थापन गर्दा पनि न्यूनतम सुरक्षा मापदण्ड पालना हुनुपर्ने हो। तर, बाढीको सम्भावित जोखिमको पूर्वानुमान र सुरक्षित स्थानको छनोटमा पर्याप्त ध्यान नदिँदा अहिलेको अवस्था सिर्जना भएको आमनागरिकले गुनासो व्यक्त गरिरहेका छन्।

बाढीको जोखिम भएको क्षेत्रमा अस्थायी बासस्थान बनाउँदा पूर्वतयारी, जोखिम मूल्यांकन र वैकल्पिक योजना अनिवार्य हुन्छ। अन्यथा यस्ता घटनाले प्रभावित समुदायलाई दोहोरो पीडा दिने निश्चित हुन्छ।null

शनिबार बिहान सरकारको प्रतिनिधि भएर होल्डिङ सेन्टर पुगेका गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिव ओजश्वी थापाले सरकारको उद्धार र राहतको काम तीव्र बनाएको बताएका थिए। ‘होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ रहेका वृद्ध र बालबालिकाहरूलाई आराम गर्ने ठाउँ, लुगाफाटो र खानपिनको व्यवस्थापन गर्न टोली खटिएको छ,’ उनले भने, ‘राज्यभित्र जुनसुकै नागरिकलाई समस्या पर्दा वा यस्ता घटना हुँदा सरकारले त्यसको जिम्मेवारी लिनुपर्ने र समस्या समाधानका लागि प्रहरी तथा स्थानीय तहका प्रतिनिधिहरू फिल्डमा खटिएको छ।’

सुरक्षित भनिएको ठाउँमा पनि बाढी पसेर बासिन्दाहरूको उठिबास हुनुमा कतै न कतै व्यवस्थापनमा कमीकमजोरी भएको थापाले स्वीकार गरे।

बाढीपछि होल्डिङ सेन्टरमा प्रभावित परिवारको अवस्था बुझ्न दिउँसो पुगेका स्थानीय र अधिकारकर्मीसँग प्रहरीको तनाव भएको थियो। कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ परेका छन्। 

शनिबार होल्डिङ सेन्टरबाट अन्सारीसहित जेन–जी अभियन्ता नहेन्द्र खड्का र सरिश्मा थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए। ‘होल्डिङ सेन्टरमा गएर होहल्ला गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता भट्टराईले भने।

अन्सारीसहितका जेन–जी युवाहरूलाई लछारपछार गर्दै प्रहरीले पक्राउ गरेको हो। प्रहरीले धक्कामुक्का गर्दा उनको अनुहारमा चोट लागेको छ। अन्सारीसहित तीनै जनालाई कीर्तिपुरस्थित प्रहरी बिटमा राखिएको छ। केही व्यक्तिले नियन्त्रणको क्रममा प्रहरीबाट दुर्व्यवहार भएको आरोप पनि लगाएका छन्।

हामीले रास्वपालाई भोट हालेर गल्ती गरिएछ। दुःख गरेर बनाएको घरसमेत सरकारले भत्काइदियो, अहिले यहाँबाट पनि अन्तै लैजाने कुरा गरिरहेको छ। म फोक्सोमा इन्फेक्सन भएको मान्छे, उपचार गर्नेसमेत पैसा छैन। हिजो राति सुतिरहेको ठाउँमा डुबान भयो, न समयमा खान पाइएको छ। २१ दिन भनेर राखेको, आज ३ महिना बितिसक्दा पनि के गर्ने अत्तोपत्तो छैन। अहिले आएर २५ हजार दिएर हुन्छ ? बस्नलाई कोठा पाइँदैन। कि कोठा खोजीदेऊ सरकार, हामी आफैँ जान्छौँ। सरकारले हाम्रो त भविष्य बिगार्‍यो, साथै हाम्रा छोराछोरीको समेत भविष्य अन्धकार बनाइदियो।  - हरिकुमारी जिम्बा

लामो समयदेखि थापाथलीमा बस्दै आएका थियौं। यहाँ सरकारले केही पनि खान दिएको छैन, सबै संस्थाबाट मात्रै खानेकुराहरू दिइरहेका छन्। सरकारले त पानी समेत खान दिएको छैन। बाढी हिजो राति १२÷१ बजेतिर आएको हो। हामीले थाहा पाउँदा लगभग आधा डुबान भइसकेको रहेछ। दिनभरिको थकानले निदाएको, आधा डुबान हुँदासमेत थाहा पाइएन। सुतेकै ठाउँमा आधा शरीर भिजेको थियो। त्यत्रो डुबान हुँदा पनि राति २, ३ बजेतिर मात्र उद्धार टोली आयो, त्यतिखेर सम्म हामी एक्लै रोइकराई गर्दै सुरक्षित स्थानमा गयौं। यहाँभन्दा बरु हामी पहिला बसेकै ठाउँमा सुरक्षित थियौं।  - रस्मिला उप्रेती

राति १ बजे मात्र थाहा भयो, खोला अगाडि नै पसिसकेको रहेछ। राति पानीपानीमा आफ्ना बालबच्चाहरूलाई बाहिर निकालियो, तर सामान सबै भिजेर गयो। अहिले खाने बस्ने केही ठेगान छैन। घर भत्काउँदा १५ दिन भन्यो, हामीले पनि पहिलाको जस्तो ढुंगामुढा गरेनौं। तर, आज ३ महिना बितिसक्यो, केही ठेगान छैन। पहिलाकै ठाउँमा खोला पस्दैनथ्यो, यहाँ खोला पसेर झन् बिजोग बनायो। - जानकी माझी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.