सञ्चारगृहको गेटमा शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ती, कारबाहीको माग
काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमै शंकास्पदरुपमा सवारीसाधन पार्किङ गरी आतंक सिर्जना गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बिहान ७ बजेदेखि थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँ बानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन का कार्यालयको गेटमा गाडी पार्किङ गरी पत्रकारलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको जनाएको छ।
महासंघले तत्काल गाडी हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पुर्याउने यस्तो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
महासंघले अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी समेत दिएको छ।

नयाँ बानेश्वरस्थित अनलाइन खबरको अफिस अगाडि तेर्साइएको अवैध गाडी।
प्रतिक्रिया दिनुहोस !