आत्मदाह र सुकुम्बासीको विपत् : न बोले रवि, न बालेन नै
काठमाडौं : नगर प्रहरीसँगको विवादपछि मुगुका गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरे। नेपालीलाई वीर अस्पताल पुर्याइए पनि उपचार सम्भव भएन। शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
गणेश नेपालीको आत्मदाहपछि काठमाडौंमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय व्यवसायी आश्विनकुमार राउतको मृत्यु भयो। उनको पनि वीर अस्पतालमा मृत्यु भएको छ। शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाए। गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ।
बागमती खोलाको बाढीले काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा पर्यो। होल्डिङ सेन्टरभित्र राति अचानक बाढी पसेपछि त्यहाँ आ श्रय लिइरहेका विस्थापित सुकुम्बासीहरूको बिचल्ली भएको छ।
सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि ३ महिना बितिसक्दासमेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरू आक्रोसित छन्।
विगतमा आत्मदाह प्रयास होस् या सुकुम्बासी व्यवस्थापनको विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पीडितको पक्ष लिन्थे र तत्कालीन सरकारविरुद्ध आगो ओकल्थे। गणेश नेपालीको आत्मदाह गरेको तीन दिन बित्दासमेत दुवैले न स्वास्थ्यलाभको कामना गरे न श्रद्धाञ्जलीमा शब्द खर्चिए। जबकि २०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाह गरे।
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख वालेन्द्र शाहले आचार्यको आत्मदाहको घटनापछि आक्रोशपूर्ण अभिव्यक्ति दिँदै भनेका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’ उनले यतिमात्र होइन आचार्यको आत्मदाहलाई लिएर ३१९ शब्द खर्चिएका थिए।
आचार्यको घटना हुँदा गृहमन्त्री थिए रवि लामिछाने। नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु झन् दुःखद् भएको बताउँदै लामिछानेले लेखेका थिए, ‘मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।’ उनै लामिछानेको दल अहिले संसद्मा दुईतिहाइनजिक छ। एकल बलियो सरकार छ। तर, उनले पनि आत्मदाह प्रकरण होस् या सुकुम्बासी प्रकरणमा बोलेका छैनन्।
प्रतिक्रिया दिनुहोस !