निमुखाप्रति असंवेदनशील राज्य
काठमाडौं : कर्णालीको विकट जिल्ला मुगुको सोरु– १ का गणेश नेपाली सुखद र सुरक्षित भविष्यको कल्पना गर्दै काठमाडौं पस्छन्। श्रीमती र तीन वर्षकी अबोध छोरीको सुन्दर सपना बोकेका गणेशका लागि ‘कल्पना गरेजस्तो सहर’ बन्दैन। तैपनि, परिवारको मुखमा माड लगाउन केही त गर्नैपर्यो, किनकि चरम गरिबीले गर्दा गणेशका काँध हलचल गर्नै मिल्ने अवस्थामा थिएनन्। अन्ततः २५ वर्षकै उमेरमा मोटरसाइकल राइडर बनेर उनले आफ्नो र परिवारको यात्रा तय गर्छन्।
तर, देशमा कस्तो समय आयो, जहाँ आम नागरिकले आफ्नो पीडा सुनाउन र राज्यको ध्यानाकर्षण गराउन आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउनुपर्ने परिस्थितिको निर्माण भयो ? सहर पसेका गणेशले अनाहकमा ज्यान गुमाउनुपर्यो।
हुन त गणेशको उमेर रम्ने–रमाउने नै हो, तर आर्थिक बोझ र परिवारको खम्बा बन्नुपर्ने बाध्यता उनको काँधमा आइलाग्यो। आफ्नै पसिनाको कमाइले भक्तपुरमा कोठाभाडा तिर्नु, बिहान–बेलुकाको छाक टार्नु र छोरीको पढाइको खर्च बेहोर्नु— यी सबै दायित्व उनै २५ वर्षीय युवकको काँधमा थियो। मुगुमा रहेको जग्गाको लालपुर्जा धरौटी राखेर ऋण काढेर उनले तीन महिनाअघि मात्र एउटा मोटरसाइकल किनेका थिए। त्यही मोटरसाइकललाई ‘पठाओ’ र ‘इन्ड्राइभ’जस्ता राइड सेयरिङ एपमार्फत चलाएर उनले आफ्नो दैनिकी सुरु गरे। मोटरसाइकल नै उनको परिवारको पेट पाल्ने एक मात्र सहारा बनेको थियो। तर, अन्तिम उपाय केही नदेखेपछि त्यही मोटरसाइकलको पेट्रोल शरीरमा छर्केर उनले अन्तिम सास लिए।
पढेका जेटीए, चलाउनुपर्यो पठाओ
कृषि विषयमा जेटीएसम्म पढेका गणेश पठाओ चलाउन विवश थिए। राज्यले आम नागरिक र युवा वर्गलाई रोजगारी दिने आश्वासन दिए पनि प्रत्येक चरणमा धोकामात्र दियो। गणेशजस्ता न्यून वर्गका युवा परिवारको समस्यासँग जुध्दै, दुःख गरेर पढे पनि राज्यबाट कुनै रोजगारी पाउन सकेनन्। अन्ततः ऋण र किस्तामा लिएको त्यही मोटरसाइकल गुडाएर उनले आफ्नो भविष्य खोज्ने प्रयास गरे। यात्रु ओसारपसार गर्नु नै उनको दैनिकी बनेको थियो, तर त्यही मोटरसाइकल अन्ततः राज्यको आँखामा बिझायो।
राम्रो भविष्यको खोजीमा भौंतारिँदै गर्दा त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि यात्रु ओराल्ने क्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदियो।
महानगर प्रहरीले तोकेको जरिबाना तिर्न उनले सरसापटका लागि साथीभाइसँग हारगुहार गरे। तर, केही सीप नलागेपछि उनी दुःखद् निर्णय लिन बाध्य भए। चढेकै अवस्थामा ह्विल लकः महानगरको बलमिच्याइँ जिल्ला प्रहरी परिसर काठमाडौं र महानगरकै कर्मचारीले खिचेको भिडियो तथा सीसीटीभी फुटेजमा गणेश मोटरसाइकलमाथि बसिरहेकै अवस्थामा नगर प्रहरीले पछाडिको टायरमा लक लगाएको देखिन्छ। यसपछि गणेश र एक महिला नगर प्रहरीबीच केहीबेर वादविवाद भएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ।
नगर प्रहरीले उनीसँग निकै क्रूर र रुखो भाषामा संवाद गरेको सुनिन्छ। संवादका क्रममा गणेशले ‘नम्र भाषामा कुरा गर्दा मान्छेलाई हेप्ने’ भन्दै आफ्नो कुरा राख्दा पनि राज्यका ती निकायका कर्मचारीले झनै ठूलो स्वरमा धम्क्याएको सुनिन्छ।
त्यसपछि १० हजार रुपैयाँ जरिबानाको चिट थमाइन्छ। तर, गणेशका लागि झन्डै एक महिनाको कमाइबराबरको जरिबाना तिर्न साथमा पैसा थिएन। उनले पटक–पटक माफी मागे, अनुनय–विनय गरे। तर, राज्यको तर्फबाट खटिएका ती कर्मचारीले उनलाई जरिबाना तिर्न बाध्य बनाउन खोजेपछि आक्रोश र चरम निराशामा डुबेका गणेश मोटरसाइकल छाडेर हिँड्छन्। केही समयपछि मोटरसाइकलको पेट्रोल झिकी शरीरमा खन्याउँछन् र आगो लगाउँछन्।
काठमाडौं नगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले भने गणेशले निषेधित ठाउँमा मोटरसाइकल पार्किङ गरेकाले कानुनबमोजिम ह्विल लक लगाइएको दाबी गरेका छन्। ‘सवारी चालक सवारीमै बसिरहेको अवस्थामा चिट काट्ने वा ह्विल लक गर्ने अधिकार नगर प्रहरीलाई छ ? ’ भन्ने प्रश्नमा जोशीको जवाफ छ, ‘महानगरले दिएको जिम्मेवारीमात्र हामीले पूरा गरेका हौं। व्यक्तिगत रूपमा कसैलाई कारबाही गरेर कर उठाएका होइनौं।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले घटनालाई गम्भीरतापूर्वक लिएको बताए पनि स्पष्ट बनाउन सकेनन्। ‘नगर प्रहरी सञ्चालनका लागि महानगर प्रहरी ऐन, २०८० कार्यान्वयनमा छ। ह्विल लक गर्ने र सवारीसाधन नै जफत गर्ने व्यवस्था त्यसमा छ कि छैन भन्नेबारे मलाई यकिन भएन, यो नगर प्रहरीले नै जान्ने विषय हो,’ उनले भने।
प्रहरी फुटेजअनुसार, ह्विल लक गरिएपछि गणेश बागमती प्रदेश ०२–०६४ प ३२५० नम्बरको त्यहीँ छाडेर हिँडेका थिए। त्यसको करिब एक घण्टापछि नगर प्रहरीको टोली उक्त मोटरसाइकल उठाउन भ्यानसहित आइपुगेपछि आक्रोश र निराशामा डुबेका गणेशले आत्मदाहको प्रयास गरेका हुन्। नगर प्रहरीले सोही स्थानमा ‘३२ नम्बर’ को ह्विल लक छाडेर हिँडेको थियो।
अधुरै रह्यो खसीको खुट्टाको झोल
घटनाको अघिल्लो दिन गणेश आफ्ना दाजु मदन नेपालीको कोठामा खसीको खुट्टा बोकेर पुगेका थिए। उनले दाजुलाई खसीको खुट्टा पकाउन आग्रह गरेका थिए। तर दाजुले ‘अहिले ढिला भयो, भोलि बिहान उठेर खाउँला’ भन्दै पाकेको भात मात्र खाएर सुते, किनकि काठमाडौंमा खसीको मासु किन्ने उनीहरूको आर्थिक हैसियत थिएन।
गाउँमा सस्तोमा पाइने मासु काठमाडौंमा प्रतिकिलो १४–१५ सय रुपैयाँ पर्ने भएकाले उनीहरूका लागि त्यो किन्नु निकै धौ–धौ हुन्थ्यो। गरिबीसँग युद्ध लडेर भाइले ल्याएको त्यो खसीको खुट्टा पकाएर खाने सपना सधैंका लागि अधुरै रह्यो। बिहान सूर्योदय हुनुअघि नै दाजुले भाइलाई उठाएर भनेका थिए, ‘भाइ, बाइकको किस्ता तिर्ने बेला भइसक्यो, पठाओ चलाउन जानू।’ गणेशले छिमेकीले थाहा नपाउने गरी बिस्तारै बाइक सडकमा निकालेर दाजुको कोठाबाट निस्किएका थिए।
दिनभर भाइको पर्खाइमा दाजु मदन बसेका थिए। १० बज्यो, ११ बज्यो, १२ बज्यो, तर गणेश आएनन्। पर्खिंदा–पर्खिंदा गलिसकेका मदन ओछ्यानमा ढल्केका मात्र के थिए, दिउँसो साढे २ बजे प्रहरीको फोन आयो, ‘तपाईंको मान्छेले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्, गम्भीर घाइते अवस्थामा वीर अस्पताल ल्याइएको छ, तुरुन्त आउनुहोस्।’
हतार–हतार दाजु ३ बजे वीर अस्पताल पुग्दा गणेश अन्तिम सास फेर्दै थिए। दाजुलाई देख्नासाथ उनले मधुरो स्वरमा भने, ‘दाइ, बाबा–ममीलाई राम्रोसँग हेर्नू, मेरो कुनै गल्ती थिएन।’ उनले यी शब्द दुई पटक दोहोर्याए।
ट्राफिक र नगर प्रहरीले ह्विल लक लगाइदिएको कुरा गर्दागर्दै उनको बोली बन्द भयो। वीर अस्पतालमा उपचाररत गणेशको शुक्रबार बिहान निधन भयो। मदनले अब भाइको आवाज कहिल्यै सुन्न पाउने छैनन्। उनीसँगै हराए हजारौं सपनाहरू, हरायो उनको परिवारको खुसी।
उद्धारको कार्यशैली र कानुनी अधिकारमाथि प्रश्न
सडकमा जलिरहेका गणेशलाई प्रहरीले स्ट्रेचरमा हाल्नुको साटो हिँडाएरै ट्याक्सीसम्म पुर्याएको विषयमा पनि प्रश्न उठेको छ। नेपाल प्रहरीका प्रवक्ताका अनुसार बचाउने नियतले नै त्यसो गरिएको दाबी गरिएको छ। त्यहाँ निकै कम प्रहरी भएकाले स्वास्थ्य मापदण्ड पूरा गर्नेभन्दा पनि जति सक्दो चाँडो अस्पताल पुर्याउने उद्देश्यले मात्र उनलाई केही सेकेन्ड हिँडाइएको प्रहरीको तर्क छ।
तर नेपाल मेडिकल काउन्सिलका सदस्य तथा चिकित्सकहरूका अनुसार यो कदम स्वास्थ्य मापदण्डविपरीत र घातक थियो। गणेशको शरीर आधाभन्दा बढी जलिसकेको थियो, जुन निकै संवेदनशील अवस्था हो। यस्तो बिरामीलाई भुइँमा हिँडाउनै हुँदैनथ्यो। स्ट्रेचर, प्रहरीको मोबाइल भ्यान वा एम्बुलेन्समा हालेर लैजानुपथ्र्यो। यसले आकस्मिक उद्धारका लागि राज्यको तयारी कति कमजोर छ भन्ने देखाउँछ।
के नगर प्रहरीलाई ह्विल लक गर्ने कानुनी अधिकार छ ?
‘काठमाडौं महानगर नगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको ऐन २०८०’ र नगर प्रहरीसम्बन्धी विनियमावली दुवैमा नगर प्रहरीलाई सवारीसाधनमा ह्विल लक लगाउने वा जरिबाना गर्ने अधिकार कतै पनि दिइएको छैन। यी कानुनले नगर प्रहरीलाई सडक र सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकार मात्र दिएका छन्। नगर प्रहरी प्रमुख जोशीले आर्थिक ऐनअनुसार ह्विल लक गरिएको दाबी गरे पनि उक्त ऐनमा समेत ट्राफिक व्यवस्थापन र पार्किङ नियन्त्रणका लागि ह्विल लक लगाउने अधिकार नगर प्रहरीलाई सुम्पिएको छैन।
स्पष्ट कानुनी अधिकारबिना महानगरले सडकमा ‘ह्विल लक आतंक’ मच्चाइरहेको देखिन्छ। यसैबीच, गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ भने काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ।
पहिले यसो भन्थे बालेन र रवि गरिब र निराश नागरिकको पीडामा बोल्दै सत्ता र शक्तिमा पुगेका नेताहरू आज आफैं कठघरामा उभिएका छन्। २०७९ माघ १० मा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले संसद् भवनअगाडि आत्मदाह गर्दा काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले राज्य संयन्त्रमाथि खरो टिप्पणी गरेका थिए।
त्यतिबेला बालेनले लेखेका थिए, ‘एक नागरिक आत्मदाह गर्न बाध्य हुनु राज्यको सबैभन्दा ठूलो असफलता हो। यसको मुख्य दोषी राज्य नै हो र यो चरम असफलताको प्रतीक हो।’ यस्तै रवि लामिछानेले ‘हामी दोषी छौं, म दोषी छु’ भन्दै यस्तै परिस्थितिको अन्त्य गर्न आफूहरू राजनीतिमा आएको दाबी गरेका थिए। आज बालेन र रवि दुवै सत्ता र सार्वजनिक जिम्मेवारीमा हुँदा पनि उस्तै नियति दोहोरिएपछि नागरिकहरूले उनीहरूको पुरानो प्रतिबद्धता र वर्तमान कार्यशैलीको तुलना गर्दै सामाजिक सञ्जालमा ती पोस्टहरू तीव्र रूपमा सेयर गरिरहेका छन्।
‘हुँदा खाने’ र ‘हुने खाने’ बीचको खाडल
राज्य र स्थानीय सरकार केवल जरिबाना र कर उठाउने निकायमात्र होइनन्, उनीहरू त नागरिकका अभिभावक बन्नुपर्छ। सडक व्यवस्थापनका नाममा नागरिकलाई अपमानित गर्ने वा आर्थिक बोझ थप्नेभन्दा पनि मानवीय संवेदना र सचेतनालाई प्राथमिकता दिनु राज्यको पहिलो दायित्व हो।
‘हुँदा खाने’ र ‘हुने खाने’ दुई वर्गबीचको चरम असमानता अनि भुइँमान्छेले समाजमा भोग्नु परेको विभेदकै कारण यस्ता दर्दनाक घटनाहरू घट्ने गर्छन्। ‘कोही नहुनेको राज्य हुन्छ’ भनिन्छ, तर राज्यले नै नागरिकको गुनासो र पीडा नसुनिदिने हो भने भुइँमान्छेहरू सधैं यसरी नै मारमा परिरहनेछन्। कानुन सबैका लागि बराबर हुनुपर्छ। ‘ठूलालाई चैन, सानालाई ऐन’ जस्तो व्यवहार गरियो भने त्यो राज्य असफलताको खुडकलोतिर उन्मुख भएको मान्नुपर्छ।
सहरमा दिनको १०० रुपैयाँ पनि कमाउन नसक्नेदेखि दिनमा लाखौं कमाउनेसम्मका मानिसहरू बस्छन्। यसैले उत्पन्न गर्ने चरम आर्थिक असमानताका कारण आम नागरिकले दैनिक अनेकौं समस्या भोग्नु परिरहेको छ। गणेश नेपाली आफ्नो परिवारको एकमात्र कमाउने स्रोत र भरोसा थिए, आफ्नो परिवारको पेट पाल्दापाल्दै अस्ताए। वीर अस्पतालबाट उनी कहिल्यै नफर्कने गरी बिदा भए। अब उनको बाटो कुरेर बसेकी श्रीमती र भर्खरै मुखबाट ‘बाबा’ भन्न सिकेकी तीन वर्षकी अबोध छोरीले उनलाई कहिल्यै भेट्न पाउने छैनन्।
‘दाइ, मेरो गल्ती थिएन !’
खसीको मासु खान हामीलाई अलि गाह्रो नै हुन्थ्यो। गाउँघरतिर सस्तोमा पाए पनि काठमाडौंमा १४–१५ सय रुपैयाँ पर्ने भएकाले किन्न धौ–धौ हुन्थ्यो। त्यसैले भाइ (गणेश)ले खुट्टामात्र किनेर ल्याएको रैछ। म त खाना खाएर सुतिसकेको थिएँ।
भाइले आएर ‘दाइ उठ्नू न, बनाउनू’ भन्यो। ऊ आफ्नी भाउजू (मेरो श्रीमती) सँग त्यति धेरै बोल्दैनथ्यो। उनीहरू दुवै जना अलि कम बोल्ने, लजालु स्वभावका छन्। म नभएकाले उसले आफ्नी भाउजूलाई पनि भन्न सकेनछ र मलाई नै उठायो। मैले ‘अहिले छोडिदेऊ’ भनेपछि उसले त्यही भात खाएर सुत्यो।
बिहानै मैले भनेँ, ‘गणेश, उज्यालो भइसक्यो, जाऊ न त। पठाओका लागि लिएको बाइकको किस्ता बुझाउने दिन पनि आइसक्यो। जाऊ, पठाओ गर्न जाऊ।’ मेरो कुरा सुनेर ऊ हुरुक्क उठ्यो। छिमेकीहरूलाई डिस्टर्ब होला भनेर उसले बाइक स्टार्ट नगरीकन डोहोर्याउँदै बाहिर रोडसम्म पुर्यायो र त्यहाँ पुगेपछि मात्र स्टार्ट गरेर गयो।
बिहान मैले सिमी र खुट्टाको तरकारी बनाएको थिएँ। १० बज्यो ऊ आएन, ११ बज्यो ऊ आएन। मैले सोचेँ— पठाओ गर्ने मान्छेको कहाँ निश्चित समय हुन्छ र, आउला नि त। ११ बजिसकेपछि म सुतेँ। दिउँसो साढे २ बजेतिर मलाई प्रहरीको नम्बरबाट फोन आयो। फोनमा भनियो, ‘तपाईंको मान्छेले पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नुभएको रहेछ, अहिले वीर अस्पतालमा हुनुहुन्छ।’ म तर्सिंदै ठीक ३ बजे अस्पताल आइपुगेँ।
म आउँदा उसको बोली अलिअलि फुटिरहेको थियो। उसले दुई–चार वटा शब्द बोल्यो। ‘दाइ, बाबा–ममीलाई राम्रो हेर्नू’ भन्यो। त्यसपछि उसले भन्यो, ‘दाइ, मेरो गल्ती थिएन है ! दाइ, मेरो गल्ती थिएन है!’ उसले दुई पटक यो कुरा दोहोर्यायो। मैले सोधेँ, ‘कसको के भएको हो र ?’
उसले भन्यो, ‘बाबा–ममीलाई राम्रोसँग सम्हाल्नू।’ उसले ट्राफिकले ह्विललक लगाइदिएको कुरा गर्यो। ह्विललक लगाउँदै गर्दा ट्राफिक आएर के–के गर्यो भन्दै थियो, त्यत्तिकैमा उसको बोली सधैँका लागि बन्द भयो। ट्राफिक र ह्विललकको कुरा गर्दागर्दै उसको बोली अचानक रोकियो। त्यसपछि ऊ कहिल्यै बोल्न सकेन। म २०७२–७३ सालदेखि नै यहीँ बस्दै आएको हुँ। हाम्रो मुगुतिरका बिरामीहरू वीर अस्पतालमा धेरै आउँछन्।
वीर अस्पतालमा बर्न वार्ड छैन भन्ने मलाई अलिअलि थाहा थियो। त्यसैले मैले उसलाई कीर्तिपुर अस्पताल लैजाने कि भनेर सोचिरहेको थिएँ। तर त्यहाँका एक जना डाक्टरले भन्नुभयो, ‘यहाँ बर्न वार्ड छ भाइ।’ मैले सोचेँ, ‘ठीकै छ त, यस्तो अवस्थामा थोरै मात्र भए पनि सास लम्ब्याउन पाए हुन्थ्यो।’ त्यसैले उसलाई वीरमै राखियो। डाक्टरहरूले उसलाई आईसीयूमा राख्नुभयो।
बेलुका ९–१० बजेसम्म मिडियाका मान्छेहरू र आफन्तहरू आउने–जाने क्रम चलिरह्यो। राति १० बजेतिर गृहमन्त्रीज्यू आउनुभयो। गृहमन्त्रीज्यूलगायत प्रधानमन्त्रीको सचिवालयको पूरै टिम नै आएर रातभरि खटिनुभयो। उहाँहरूले बाहिर लैजाने कुरा पनि गर्नुभयो।
पछि डाक्टरले स्वास्थ्यको कारणले गर्दा यहाँबाट बाहिर लैजाँदा बाटोमै समस्या आउन सक्ने कुरा सुनाउनुभयो। मैले पनि सोचेँ— ‘बरु यहीँ केही सुधार हुन्छ कि, पछि लैजाउँला।’
भाइले बाइक किनेको भर्खरै तीन महिना भएको थियो। उसले दुई वटा किस्ता तिरिसकेको थियो र तेस्रो किस्ता भोलिपल्ट तिर्न बाँकी थियो। तर, त्यो किस्ता तिर्नुअघि नै उसले संसार छोड्यो।
मदन नेपाली
(गणेश नेपालीको दाइ)
कांग्रेस–एमालेले भने– सरकारको अमानवीय व्यवहारको परिणाम
काठमाडौं : प्रतिपक्षी दलहरूले मुगुका गणेश नेपालीको आत्मदाहलाई नागरिक निराशाको प्रतिनिधि घटना भनेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई गम्भीर बन्न सुझाव दिएका छन्। ‘नागरिक फ्रस्टेसनको प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह। हामी पुराना गएर, नयाँ आएपछि पनि समाजमा ‘होप क्रियट’ किन हुन सकिरहेको छैन, गहिराइमा गहन दृष्टि जरुरी छ। गम्भीरताप्रति गम्भीर बन्नोस्, समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न,’ शर्माले एक्समा लेखेका छन्।
विगतमा पुराना दलले प्रेम आचार्यलाई बचाउन नसकेको स्वीकार गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत मेन्सन गरेर प्रश्न गरेका छन्, ‘हिजो प्रेम आचार्यलाई हामीले जीवनको आशमा बाँध्न सकेनौं। आज गम्भीर फ्रस्टेसन किन यति छोटो समयमा ? सब ठीकठाक भइरहेको छ, हिजो हाम्रा शीर्षले सोचे। परिणाम नकारात्मक निक्लियो। ठीकठाक भइरहेको दृश्य हो यो ? सरकार आसको होइन त्रासको प्रतीक किन बन्दैछ ? ’
एमाले महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले गरिब, श्रमिक र सुकुम्बासीमाथि शृंखलाबद्ध रूपमा जनविरोधी तथा अमानवीय गतिविधि गरिरहेको आरोप लगाएका छन्। रोजगारीका लागि काठमाडौं आएर संघर्ष गरिरहेका मुगुका नेपाली राज्य संयन्त्रको दबाब र प्रताडनाका कारण आत्मदाहजस्तो कदम चाल्न बाध्य भएको एमालेको दाबी छ। विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको छ।
एमालेले वर्तमान सरकार पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा अघि सारेर सत्तामा पुगे पनि आफ्ना शृंखलाबद्ध जनविरोधी कार्यका कारण जनतासामु पूर्ण रूपमा नांगिएको आरोप लगाएको छ। सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले वर्षायामकै बीच गरिब नागरिकलाई घरबारविहीन बनाएको र सयौँ बालबालिकाको शिक्षामा असर पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
सरकारको नीति र व्यवहारका कारण हालसम्म चार जना सुकुम्बासीले आत्महत्या गरेको तथा सयौं नागरिक डिप्रेसनको सिकार बनेको दाबी एमालेले गरेको छ।
सरकार गठन भएको पहिलो १०० दिनभित्र व्यवस्थापनको अभाव, मानसिक तनाव र विस्थापनको त्रासका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङलगायतले ज्यान गुमाएको विज्ञप्तिमा जनाइएको छ। राज्यद्वारा सञ्चालन गरिएका अस्थायी होल्डिङ सेन्टरबाट समेत नागरिकलाई हट्न अल्टिमेटम दिने, धम्की दिने र भोकमरीको जोखिममा धकेल्ने कार्य सर्वथा अमानवीय भएको भन्दै महासचिव पोखरेलले आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !