शव उठाउन अवरोध भएपछि तनाव, प्रहरीले प्रहार गर्यो २१ सेल अश्रुग्यास
विराटनगर : विराटनगर महानगरपालिका–१८ स्थित भेडियारी पोखरीमा डुबेर मृत्यु भएका १७ वर्षीय मञ्जितकुमार यादवको शव उठाउने क्रममा शुक्रबार केहीबेर तनाव उत्पन्न भएको छ। कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव कोशी अस्पताल लैजान खोज्दा मृतकका आफन्त र स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने गर्दै माग पूरा नभएसम्म शव लैजान नदिने अडान लिएका थिए। शव लैजान निदिएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो।
नाराबाजीसहितको प्रदर्शन एवं ढुंगामुढाले अवस्था तनावपूर्ण बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार नेपाल प्रहरीले १० र सशस्त्र प्रहरीले ११ गरी कुल २१ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा भएको ढुंगामुढाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर तारानाथ गौतमको दाहिने कुहिना र घुँडामा तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान दिलिप आचार्यको बायाँ आँखामा सामान्य चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अराजक गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका–१ का २१ वर्षीय राजदीप यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ। मञ्जितकुमार यादवको शव शुक्रबार बिहान करिब १०:३० बजे भेडियारीस्थित स्थानीय पोखरीको बीच भागमा पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको थियो।
गत बुधबार बिहान ८:५० बजेतिर अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकल रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर भागेका थिए। भाग्ने क्रममा मोटरसाइकल चालक यादवले भेडियारी पोखरीमा हाम फालेपछि उनी बेपत्ता भएका थिए।
उक्त मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सुपौल जिल्ला, गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको थियो। उनको साथमा रहेको झोला चेकजाँच गर्दा ६ किलो १३० ग्राम गाँजा बरामद भएको एसपी कटवालले जानकारी दिएका छन्। गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर भारतीय नागरिक शिवधरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त मोटरसाइकलका चालक पोखरीमा मृत फेला परेका मञ्जितकुमार यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीले बलप्रयोग गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए। त्यसपछि अवस्था सामान्य भएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !