जेटिएको जागिर नपाएपछि पठाओ सेवा गर्दै आएका थिए आत्मदाह गरेका नेपाली
भक्तपुर : बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपाली भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। मुगु सोरु गाउँपालिका-१ स्थायी घर भएका नेपाली भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित चाँगुनारायण पेट्रोल पम्प नजिक उनी रञ्जित भण्डारीको घरमा डेरा गरी बस्दै आएका थिए। गत दुई महिनादेखि डेरा लिएर बसेका उनी जेटिए रहेका घरबेटी भण्डारीले बताए। जेटिएको जागिर नपाएपछि उनी मोटरसाइकल मार्फत पठाओ सेवा गर्दै आएका पाइएको छ।
२५ वर्षीय नेपाली श्रीमती र करिब ४ वर्षको छोरीसहित घरको भुईँ तलामा एउटा कोठामा बस्दै आएका थिए। श्रीमतीलाई बागेश्वरी क्याम्पस पढाउन नजिक हुने भन्दै उनले कोठा लिएका घरबेटी भण्डारीको भनाइ छ। नेपालीले कोठा भाडा भने समयमै बुझाउने गरेका उनले बताए। नेपालीले आत्मदाह गरेको खबरले आफू र आफ्नो परिवारलाई गहिरो पीडा भएको भण्डारीको भनाइ छ। ‘हामी राम्ररी निदाउन सकेका छैनौं, परिवार जस्तै मिलेर बसेको होनहार युवाको मृत्यु स्वीकार गर्न गाह्रो भएको छ’, उनले भने।
स्थानीय केएम बाइक सर्भिसका सञ्चालक किरण बुढाथोकीले नेपालीको निधन अप्रत्याशित र दु:खद रहेको बताए। नेपाली मिलनसार र मिहिनेती स्वभावका रहेका उनको भनाइ छ। उनी घटनाको दुई दिनअघि मोटरसाइकल मर्मत गर्न आएको स्मरण गर्दै बुढाथोकीले श्रमजीवी नागरिकलाई आत्मदाह गर्न बाध्य पार्ने प्रवृत्तिको विरोध र भर्त्सना समेत गरेका छन्।
स्थानीय समेत रहेका अर्थ राजनीतिका विश्लेषक एवं नेता डिपी ढकालले राज्य र सरकार गरिखाने मान्छेका लागि कति क्रूर छ भन्ने नेपालीको आत्मदाहले पुस्टि गरेको प्रतिक्रिया दिए। यो राष्ट्रिय लज्जाको विषय भएको उनले बताए। सरकारमा रहनेहरूले गरिबलाई बाँच्न वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन्। स्थानीयले राज्य जिम्मेवार हुनुपर्ने र मृतकको श्रीमतीलाई रोजगारी दिएर उनको नाबालक छोरीको भविष्य सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !