अर्जेन्टिना फुटबल संघमाथि अमेरिकाको एफबीआईले किन गर्दैछ अनुसन्धान?
काठमाडौं : फिफा विश्वकप २०२६ को उपाधि रक्षा गर्ने तयारी गरिरहेका बेला अर्जेन्टिना फुटबल संघ (एएफए)माथि अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई)ले अनुसन्धान सुरू गरेको छ।
अर्जेन्टिनी दैनिक ला नासियोनको अनुसन्धानात्मक रिपोर्टअनुसार एफबीआईले अमेरिकाभित्र एएफएको व्यावसायिक तथा प्रायोजनसम्बन्धी आर्थिक कारोबारमाथि प्रारम्भिक अनुसन्धान थालेको हो। अनुसन्धानमा वित्तीय ठगी, कर छली तथा सम्पत्ति शुद्धीकरणको आशंकालाई केन्द्रमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
रिपोर्टका अनुसार वासिङ्टन डीसी र मियामीका संघीय अभियोजकसँग मिलेर एफबीआईले एएफएका अन्तर्राष्ट्रिय प्रायोजन तथा व्यावसायिक सम्झौताबाट प्राप्त सयौं मिलियन डलर अमेरिकी वित्तीय प्रणालीमार्फत कसरी स्थानान्तरण गरियो भन्ने विषयको अनुसन्धान गरिरहेको छ।
अनुसन्धानको मुख्य केन्द्रमा फ्लोरिडामा दर्ता भएको टुरप्रोडएन्टर एलएलसी नामक कम्पनी छ। एएफएको विदेशस्थित मार्केटिङ आम्दानी र वित्तीय दायित्व व्यवस्थापनका लागि उक्त कम्पनीलाई नियुक्त गरिएको थियो।
पत्रकारहरूले अध्ययन गरेका गोप्य बैंक अभिलेखअनुसार एएफएको कम्तीमा ४ करोड २० लाख अमेरिकी डलर फ्लोरिडास्थित केही 'शेल कम्पनी'मार्फत सारिएको देखिएको छ। ती कम्पनीमा कर्मचारी नभएको र कुनै व्यावसायिक गतिविधि पनि घोषणा नगरिएको दाबी गरिएको छ।
अमेरिकी अनुसन्धानकर्ताले अहिले खेल व्यवसायसँग सम्बन्धित विज्ञ तथा अन्य सरोकारवालासँग बयान लिइहेका छन्। यी रकम अवैध स्रोत लुकाउन वा कर छली गर्न प्रयोग गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित छ।
एफबीआईको अनुसन्धानअघि अर्जेन्टिनामा पनि एएफएमाथि कानुनी दबाब बढेको थियो। अर्जेन्टिनाका अधिकारीहरूले एएफएको केन्द्रीय कार्यालय, राष्ट्रिय प्रशिक्षण केन्द्र तथा रेसिङ क्लब र सान लोरेन्जोलगायत १७ व्यावसायिक फुटबल क्लबमा एकैपटक ३० भन्दा बढी स्थानमा छापा मारेका थिए।
यो अनुसन्धान अर्जेन्टिनाको कर तथा भन्सार निकाय एआरसीएको सूचनाका आधारमा सुरु भएको बताइएको छ। अनुसन्धानमा एक निजी वित्तीय कम्पनीसँग सम्पत्ति शुद्धीकरणको सम्बन्ध रहेको आशंका गरिएको छ।
यसैबीच १ करोड ३० लाख अमेरिकी डलर बराबरको कर छली मुद्दामा अर्जेन्टिनाका संघीय न्यायाधीशले एएफए अध्यक्ष क्लाउडियो ‘चिकी’ तापिया र कोषाध्यक्ष पाब्लो टोभिगिनोविरुद्ध औपचारिक अभियोग दर्ता गरेका छन्। उनीहरूको सम्पत्ति रोक्का गर्नुका साथै सन् २०२५ को अन्त्यतिर केही समयका लागि विदेश भ्रमणमा समेत प्रतिबन्ध लगाइएको थियो।
एएफएले भने सम्पत्ति शुद्धीकरण र आर्थिक अनियमिततासम्बन्धी सबै आरोप अस्वीकार गरेको छ। सन् २०२५ को डिसेम्बर अन्त्यमा जारी विज्ञप्तिमा एएफएले अनुसन्धानसम्बन्धी समाचारलाई 'पूर्वाग्रही र आधारहीन' भन्दै खारेज गरेको थियो।
एएफएले टुरप्रोडएन्टर एलएलसीसँगको सम्बन्ध कानुनी र पारदर्शी रहेको दाबी गर्दै उक्त सम्झौता अर्जेन्टिना र अमेरिकाका विभिन्न अदालतबाट समीक्षा भइसकेको तथा कुनै अनियमितता नभेटिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !