नेमारको दुःखद् बिदाइ

नेमारको दुःखद् बिदाइ
सुन्नुहोस्

मेक्सिको सिटी : ब्राजिलका स्टार फरवार्ड नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँगको २–१ को अप्रत्याशित हारसँगै पाँच पटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेमारले राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रामा पूर्णविराम लगाउने निर्णय गरेका हुन्।

नर्वेविरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नेमारले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे पनि ब्राजिललाई हारबाट जोगाउन सकेनन्। खेलपछि मैदानमै धरधरी रोएका उनले भनेका थिए, ‘मैले धेरै प्रयास गरेँ। तर, अब यो यात्रा सकिएको छ। जहाँबाट मेरो अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो, त्यहीँ आएर अन्त्य भएको छ।’ उनले सन् २०१० मा अमेरिकाविरुद्ध यही न्युजर्सी रंगशालाबाट ब्राजिलको जर्सीमा डेब्यु गरेका थिए।

सन्न्याससँगै नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट बिदा भएका छन्। उनले १३० अन्तर्राष्ट्रिय खेलमा ८० गोल र ५८ असिस्ट गर्दै पेलेसहितका ब्राजिलियन महान् खेलाडीहरूको कीर्तिमान उछिनेका छन्। व्यक्तिगत रूपमा असाधारण सफलता हासिल गरे पनि उनले विश्वकपको उपाधि भने जित्न सकेनन्। ब्राजिलका लागि उनको प्रमुख अन्तर्राष्ट्रिय उपलब्धि सन् २०१३ को कन्फेडेरेसन कपको उपाधि हो। 

सन् २०१४, २०१८, २०२२ र २०२६ गरी चार विश्वकप खेलेका नेमारको विश्वकप यात्रा भने चोट र निराशाले भरिएकाथियो। घरेलु मैदानमा भएको सन् २०१४ को विश्वकपमा चोटका कारण उनले सेमिफाइनल खेल गुमाउनुपरेको थियो। त्यही खेलमा ब्राजिल जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो। त्यसपछि २०१८ मा बेल्जियम, २०२२ मा क्रोएसिया र २०२६ मा नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएको थियो। 

ब्राजिलकै सान्तोसबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका नेमारले बार्सिलोना, पेरिस सेन्ट जर्मेन र अल–हिलाललगायतका क्लबबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको ड्रिब्लिङ, गति, सिर्जनात्मक खेल र गोल गर्ने क्षमताले एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमण सम्हालेको थियो। उनी राष्ट्रिय टोलीका कप्तान र नेतृत्वदायी खेलाडीका रूपमा पनि स्थापित भएका थिए। 

नेमारको सन्न्याससँगै ब्राजिलियन फुटबलको एउटा स्वर्णिम अध्याय समाप्त भएको छ। अब भिनिसियस जुनियर, एन्ड्रिक र अन्य युवा खेलाडीहरूलाई केन्द्रमा राख्दै ब्राजिलले नयाँ युगको सुरुआत गर्ने अपेक्षा गरिएको छ। तर, विश्व फुटबलमा नेमारले छोडेको प्रभाव, उनको कौशल र क्यानारिन्हो जर्सीमा उनले कोरेका अविस्मरणीय क्षणहरू भने सधैं सम्झिइनेछ।

एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.