रोनाल्डो युगको अन्त्य
काठमाडौं : पछिल्लो पुस्ताका महान खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोको फिफा विश्वकप यात्रा अब इतिहासको पानामा सीमित हुने निश्चित भएको छ। ६ पटक विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाएका पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोको युगसँगै विश्व फुटबलको एउटा स्वर्णिम अध्याय पनि समाप्त हुने अवस्थामा पुगेको छ।
सन् २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपबाट डेब्यु गरेका रोनाल्डोले त्यसयता २०१०, २०१४, २०१८ र २०२२ गरी लगातार ६ संस्करण खेलेका थिए। उनले विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको ऐतिहासिक उपलब्धि पनि हासिल गरेका छन्। व्यक्तिगत रूपमा उनले हरेक विश्वकपमा चर्चा बटुले पनि ट्रफी भने जित्न सकेनन्।
अरु विश्वकपका संस्करणभन्दा सन् २०२२ को कतार विश्वकप रोनाल्डोका लागि निकै भावनात्मक बनेको थियो। टोलीका नियमित कप्तान भए पनि नकआउट चरणका केही खेलमा उनी बेञ्चबाट मैदान प्रवेश गरेका थिए। मोरक्कोसँगको क्वार्टरफाइनल खेलमा पराजित भएपछि आँसु झार्दै मैदान छाडेको दृश्य विश्वभरका फुटबल समर्थकका लागि निकै मार्मिक बनेको थियो। त्यो क्षणलाई धेरैले रोनाल्डोको विश्वकप यात्राको अन्तिम दृश्यका रूपमा सम्झिएका थिए। तर, ४० वर्ष नाघिसकेका रोनाल्डोले धेरैको भविष्यवाणीलाई गलत सावित गर्दै यो विश्वकपमा पनि सहभागिता जनाएका थिए।
उनी अझै पनि क्लब र राष्ट्रिय टोलीमा सक्रिय छन्। आगामी विश्वकपसम्म पुग्दा उमेर, प्रतिस्पर्धात्मक स्तर र टोलीको पुस्तान्तरणका कारण उनको सहभागिता भने निश्चित छैन। यस विषयमा कुरा गर्नु अहिले नै हतार हुने उनले बताइसकेका छन्। पोर्चुगलका प्रशिक्षक जर्ज जेससले पनि अब नयाँ पुस्ताका खेलाडीलाई केन्द्रमा राखेर भविष्यको योजना अघि बढाउनु पर्ने बताइसकेका छन्।
पाँच पटकका ब्यालोन डी’ओर विजेता, पाँच पटकका च्याम्पियन्स लिग विजेता र युरो २०१६ का च्याम्पियन रोनाल्डोले आफ्नो क्लब र देशका लागि विश्व कीर्तिमानी ९७६ गोल गरिसकेका छन्। उनले कीर्तिमानी ६ वटा विश्वकपमा गोल गरेका छन्। तर, उनी विश्वकपको उपाधिको सबैभन्दा नजिक पुगेको क्षण भने सन् २००६ हो। विश्वकपमा डेब्यु गरेका उनले पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याएका थिए।
रोनाल्डोको विश्वकप यात्रा केवल गोल र कीर्तिमानमा सीमित छैन। उनले आफ्नो अथक मेहनत, अनुशासन, नेतृत्व क्षमता र जितप्रतिको अदम्य इच्छाशक्तिमार्फत विश्वभरका लाखौं युवा खेलाडीलाई प्रेरित गरेका छन्। फुटबल समर्थकका लागि रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीबीचको दुई दशक लामो प्रतिस्पर्धा आधुनिक फुटबलको सबैभन्दा रोमाञ्चक अध्यायमध्ये एक रह्यो।
अब रोनाल्डोको विश्वकप युग समाप्तिको संघारमा पुग्दा विश्व फुटबलले नयाँ पुस्ताका खेलाडीलाई केन्द्रमा राखेर अर्को युगतर्फ यात्रा सुरु गरेको छ। क्रिस्टियानो रोनाल्डोले विश्वकप ट्रफी उचाल्न नसके पनि उनले बनाएका कीर्तिमान, देखाएको समर्पण र विश्व फुटबलमा पुर्याएको योगदान सदैव स्मरणीय रहनेछ।
प्रतिक्रिया दिनुहोस !