कान्ति कुमारी पाण्डेमाथि कुटपिट प्रकरण
गौशाला नगरपालिकाका मेयर,वडाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दायर
जनकपुरधाम : मञ्जुरीबिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशाला व्यवस्थापन कार्यालय प्रमुख कान्ति कुमारी पाण्डेमाथि कुटपिट तथा दुव्र्यवहारको घटनामा नगरपालिकाको मेयर,वडाध्यक्षसहित १३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
निगौल गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि गौशाला नगरपालिकाका नगरप्रमुख, वडाध्यक्ष,नगरप्रहरी समेत गरी १३ जनालाई अपराधीक उपद्रव तथा हुलदंगा शीर्षकमा मुद्दा चलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले गौशाला नगरपालिकाका मेयर डा.दिपेन्द्र महतो,गौशाला नपा २ का वडाध्यक्ष श्याम सुन्दर मण्डल, नगरप्रहरी प्रमुख टेकबहादुर लामा, लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितु कुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरीलाई पक्राउ गरी अपराधिक उपद्रव तथा हुलदंगा मुद्दा चलाएको हो ।
यसैगरी घटनामा संलग्न रहेको आरोपमा गौशाला नगरपालिका–११ का दिनेश्वर महतो र गौशाला नगरपालिका–४ का ईन्दल राउतलाई समेत अपराधिक उपद्रव तथा हुलदङ्गा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेले जानकारी दिए ।
गत असार ११ गते बिहीबार गाई गौशालाको मञ्जुरी विनै जग्गामा ढल निकास गर्न खाजेपछि रोक्न गएका पाण्डेलाई हातपात गर्दै दुव्र्यवहारको भिडियो सार्वजनिक भएपछि नगर प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीले अपराधिक उपद्रव तथा हुलदंगा शीर्षकमा दुई पटक म्याद थप गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्याम कुमार सारु मगरले जानकारी दिए । पाण्डेले प्रहरीमा दिएको जाहेरीको आधारमा गौशाला नगरपालिकाका ११ र दुईजना स्थानीयलाई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तत्कालिन निगौल गाई गौशाला प्रमुख शुभेषचन्द्र बरालबीच र तत्कालीन नमुना गौशाला गाविसका सचिव गंगाराम यादवबीच २०६९ असार २२ गते गौशाला व्यवस्थापन समितिको ज्गगामा गोरु बजार,खसी बजार, मासु बजार, घैला बजारलाई ठेक्का लगाउने र लागेको कुल ठेक्काको रकम मध्ये २५ प्रतिशतका दरले गाई गौशालालाई उपलब्ध गराउने सहमति भएकोमा नगरपालिकाद्वारा सहमति कार्यान्वयनमा आनाकानी गरिरहेको छ ।
सहमतिपत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७०/०७१ देखि ०७३/०७४ सम्म ४ वर्षका लागि पहिलो किस्ता साउन मसान्तसम्म, दोस्रो किस्ता कात्तिक मसान्त र तेस्रो फागुन मसान्तसम्म उपलब्ध गराउनु पर्नेछ ।’ तर,तत्कालीन गाविस र हालको गौशाला नगरपालिकाले बर्सेनि ठेक्का लगाए पनि हालसम्म १ रुपैयाँ पनि गाई गौशालालाई उपलब्ध गराएको छैन ।
जसको विवादमा निगौल गाई गौशाला र गौशाला नगरपालिकाबीच पटक–पटक विवाद उत्पन्न हुँदै आएको छ । निगौल गौशाला व्यवस्थापन समितिको जग्गामा नगरपालिकाले बजार लगाई राजस्व उठाउने गरे पनि गौशाला व्यवस्थापन कार्यालयसँग वार्षिक रुपमा भएको करार सम्झौताअनुसारको रकम दिएको छैन ।
प्रतिक्रिया दिनुहोस !