बहराइनस्थित अमेरिकी सैन्य ठेगानामा इरानको आक्रमण
काठमाडौं : इरानी सेनाले बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै बहराइनको 'शेख इसा'बेसमा अवस्थित अमेरिकी ठेगानाहरूमा आक्रमण गरिएको जनाएको हो ।
इरानले यो कारबाही दक्षिणी इरानका सैन्य तथा गैर-सैन्य क्षेत्रहरूमा भएका अमेरिकी हमलाहरू र १४ बुँदे समझदारी पत्रको उल्लंघनको जवाफमा गरिएको बताएको छ । सेनाका अनुसार उक्त हमला ड्रोनमार्फत गरिएको थियो ।
विज्ञप्तिमा इरानी सेनाले 'युद्धविराम उल्लंघनको परिणाम' भोग्नुपर्ने चेतावनी दिँदै यस क्षेत्रमा रहेका सम्पूर्ण अमेरिकी सैन्य ठेगानाहरू इरानी ड्रोनको निशानामा रहने स्पष्ट पारेको छ । इरानी सेनाको यो दाबी सार्वजनिक भइरहँदा बहराइनमा पुनः विस्फोटका आवाजहरू सुनिएको खबर आएका छन् ।
यो हमला इरानको 'रिभोलुसनरी गार्ड्स'ले गरेको दाबीको केही समयपछि नै भएको हो । रिभोलुसनरी गार्ड्सले इरानमाथि भएका अमेरिकी हमलाहरूको बदला लिन बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य बेसका ८५ भन्दा बढी स्थानहरूलाई निशाना बनाइएको दाबी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !