ट्रम्पको हस्तक्षेपले फिफाको निष्पक्षतामा प्रश्न
न्युयोर्क : अमेरिकी पुरुष फुटबल टोलीका मुख्य गोलकर्ता फोलारिन बालोगनमाथि लागेको विश्वकप प्रतिबन्ध फिफाले उल्टाएको छ। उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेपछि फिफाले यो कदम चालेको हो। यस विषयसँग जानकार चार व्यक्तिहरूले यो कुराकानीको पुष्टि गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूले फिफासँग अमेरिकी स्ट्राइकर फोलारिन बालोगनको एक–खेलको प्रतिबन्धबारे पुनर्विचार गर्न आग्रह गरेको पुष्टि गरेका छन्। फिफाले उक्त खेलको प्रतिबन्धलाई १२ महिनाका लागि स्थगित गर्ने स्तब्धकारी निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ। बुधबारको खेलपछि ट्रम्पले इन्फान्टिनोलाई फोन गरेका थिए, त्यसपछि फिफाले आइतबार प्रतिबन्ध उल्टाउँदै बालोगन सोमबार बेल्जियमविरुद्धको खेलका लागि योग्य भएको घोषणा गर्यो।
रेड कार्ड पाएर निलम्बनमा परेका खेलाडीलाई विश्वकपको अर्को खेल खेल्न दिइएको यो घटना अत्यधिक असामान्य हो। सन् १९६२ पछि फिफाले रेड कार्डका कारण लागेको प्रतिबन्धलाई यसरी खारेज गरेको यो पहिलो पटक हो। फिफा अध्यक्ष इन्फान्टिनोले विगत केही वर्षदेखि ट्रम्पसँगको सम्बन्ध सुमधुर बनाउने प्रयास गरिरहेका छन्। गत वर्षमात्रै फिफाले ट्रम्पका लागि ‘फिफा शान्ति पुरस्कार’ स्थापना गरी प्रदान गरेको थियो।
बालोगनले रेड कार्ड पाएको केही समयमै ट्रम्प प्रशासनका उच्च अधिकारीहरूले अमेरिकी फुटबल महासंघलाई पुनरावेदनका लागि कानुनी सहायता जुटाउन पहल थालेका थिए, जबकि फिफाको नियममा यस्तो पुनरावेदनको प्रावधान छैन।
अमेरिकी अधिकारीहरूले बालोगनलाई गलत तरिकाले रेड कार्ड दिइएको तर्क गरेका थिए। रेफ्रीले स्लो–मोसन भिडियो रिप्ले हेरेर निर्णय लिनु गलत भएको उनीहरूको दाबी थियो।
अमेरिकी फुटबलका ठूला दाता एवं हेज फन्ड म्यानेजर स्कट गुडविनले खेल खेलाउने मुख्य रेफ्री राफेल क्लाउस ब्राजिलमा म्याच फिक्सिङमा संलग्न रहेको आरोप लागेको ट्रम्प अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए। ब्राजिलियन अधिकारी र फिफाले क्लाउसविरुद्ध कुनै प्रमाण नभेटे तापनि ट्रम्पले इन्फान्टिनोसँगको फोन वार्तामा यो आरोपको प्रसंग उठाएका थिए।
आइतबार बालोगनको प्रतिबन्ध फुकुवा भएलगत्तै ट्रम्प र इन्फान्टिनोबीच पुनः कुराकानी भएको थियो, जहाँ ट्रम्पले यो ‘सही निर्णय’ भएको बताए। ट्रम्पले अमेरिकी टोलीका प्रशिक्षक मौरिसियो पोचेटिनोलाई पनि फोन गरेर सोमबार बेल्जियमविरुद्धको खेलका लागि शुभकामना दिएका छन्।
बेल्जियम आक्रोशित
फिफाको यस निर्णयप्रति बेल्जियम फुटबल महासंघले तीव्र आक्रोश व्यक्त गरेको छ। आइतबार जारी एक विज्ञप्तिमा बेल्जियमले भनेको छ, ‘प्रतिबन्धित अमेरिकी खेलाडी फोलारिन बालोगनलाई अमेरिका–बेल्जियम खेलका लागि योग्य घोषित गर्ने फिफाको निर्णयबाट हामी स्तब्ध भएका छौं।’ महासंघले यसका विरुद्ध आफ्ना सबै सम्भावित विकल्पहरूको खोजी गरिरहेको जनाएको छ।
ह्वाइट हाउसले पनि ट्रम्प र इन्फान्टिनोबीच रेड कार्डको विषयमा कुराकानी भएको पुष्टि गर्दै एक स्वतन्त्र समीक्षापछि ‘सही र उचित परिणाम’ निस्किएको बताएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत फिफाको निर्णयको स्वागत गर्दै लेखेका छन्, ‘सही काम गरेकोमा र एउटा ठूलो अन्यायलाई सच्याएकोमा फिफालाई धन्यवाद।’
बुधबार बोस्निया र हर्जगोभिनाविरुद्धको खेलमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएका बालोगन खेलको दोस्रो हाफको मध्यतिर विपक्षी खेलाडीसँग बल खोस्ने क्रममा अल्झिएका थिए। सो क्रममा बालोगनको खुट्टा विपक्षी खेलाडीको गोलीगाँठोमा पर्न गई ती खेलाडी घाइते भएका थिए। भिडियो रिप्ले गरेपछि रेफ्रीले उनलाई रेड कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए, जसका कारण उनले बेल्जियमविरुद्धको एक खेल गुमाउनुपर्ने थियो।
तर आइतबार फिफाले अनुशासन नियमावलीको नियम २७ को हवाला दिँदै बालोगनको निलम्बनलाई एक वर्षको परीक्षणकालका लागि स्थगित गरिएको जनायो। यद्यपि, अन्य खेलाडीलाई जस्तो उनलाई किन स्वतः प्रतिबन्ध लगाइएन भन्नेबारे फिफाले स्पष्ट पारेको छैन।
अमेरिकी टोलीका लागि बालोगन मुख्य गोलकर्ता हुन्। उनी टोलीमा फर्किंदा अमेरिकालाई २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न ठूलो मद्दत मिल्नेछ। तर, फिफाको यो कदमले खेल जगतमा एउटा गलत नजिर बस्ने र अन्य टोलीले पनि आफ्ना खेलाडीको प्रतिबन्ध फुकाउन दबाब दिने भन्दै खेल अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !