दोस्रो विश्वयुद्धपछिको हिमाल आरोहणको वैभव

दोस्रो विश्वयुद्धपछिको हिमाल आरोहणको वैभव
फाइल तस्बिर।
सुन्नुहोस्

त्यो समय थियो, सन् १९५० को दशक। जुन बेला नेपाल प्रकारान्तरले उचाइमा उडेको साहस र नाटकीयताको विश्व रंगमञ्चमा परिणत हुँदै थियो। सन् १९५० को दशक नेपालको पर्यटन इतिहासमा आरोहण अभियानहरूको दशक थियो। त्यो समय ब्रिटिस र फ्रेन्चबीच ‘८ हजार मिटर’का हिमालहरूमा एक प्रकारको प्रतिस्पर्धा चलिरहेको थियो। फ्रेन्चहरूले अन्नपूर्ण जिते भने ब्रिटिसहरूले सगरमाथामा आफ्नो झन्डा गाडे। दोस्रो विश्वयुद्धपछिको थकित संसारले नयाँ गौरव खोजिरहेको थियो र त्यो गौरव उनीहरूले हिमालमा पाए, नेपालका हिमालमा।

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण र १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण मानव इतिहासकै सबैभन्दा गौरवशाली क्षणमध्ये पर्छन्। चन्द्रमामा मानव पुग्नुजत्तिकै महŒवपूर्ण मानिने यी उपलब्धिले नेपाललाई विश्व पर्यटनको नक्सामा स्थायी रूपमा स्थापित गरिदिए। सगरमाथा सदियौंदेखि मानवीय साहसको प्रतीक थियो। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले देखाएको साहसले नेपाललाई विश्वव्यापी पहिचान दियो। तर, यसअघि नै १९५० मा अन्नपूर्ण प्रथमको सफल आरोहणले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याइसकेको थियो। नेपाल स्वयं राजनीतिक र सामाजिक संक्रमणमा थियो, तर हिमालले दिएको पहिचानले नेपाललाई विश्वसामु गर्वका साथ उभ्यायो। यही समयबाट नेपाल पर्यटनको अन्तर्राष्ट्रिय यात्रामा प्रवेश ग¥यो।

तर, यसको पटकथा निकै रोमाञ्चक छ। पेरिसको बाहिरी चक्रमा रहेको अमेरिकी अस्पतालमा हातका १० औंला र खुट्टाका बूढी औंला गुमाएर बसेका एक पर्वतारोही निकट भविष्यमा विश्वप्रसिद्ध ‘बेस्ट सेलर’ हुन गइरहेको किताबको पाण्डुलिपिमा घोत्लिँदै थिए। दोस्रो विश्वयुद्धको विध्वंस र अपमानबाट गुज्रिरहेको फ्रान्सको राष्ट्रिय गौरव जुरुक्क उठाउने ती महानायक थिए– मौरिस हर्जोग। सन् १९५० जुन ३ का दिन ८ हजार मिटर अग्लो हिमाल पहिलोपटक आरोहण गर्ने कालजयी आरोही हर्जोग। 

हिमाल थियो– अन्नपूर्ण। सोही नामको पुस्तक ‘अन्नपूर्ण’ कालान्तरमा बेस्ट सेलर बन्यो। यो केवल साहसिक खेल मात्र थिएन, निराशाको भुमरीमा फसेको युद्धोपरान्तको समाजका लागि आशा अझै सकिएको छैन भन्ने सन्देश पनि थियो। फ्रान्स र स्वयं मौरिसका लागि यो समयविरुद्धको दौड पनि थियो।

यो साहसको पृष्ठभूमि सन् १९४४–४५ को युद्धको मैदानले कोर्दै थियो। फ्रान्स अजेय जर्मनीसँग आल्प्समा युद्धरत थियो। त्यो युद्धमा युवा मौरिस जर्मनीको शक्तिको सामना गर्दै थिए। दोस्रो विश्वयुद्धको पश्चिमी मोर्चामा यसलाई ‘आल्प्सको दोस्रो लडाइँ’को नामले चिनिन्छ। यही लडाइँमा २७औं अल्पाइन टुकडीमा सामेल थिए– मौरिस हर्जोग र लियोनेल टेरी। अन्नपूर्ण प्रथमको पहिलो आरोहणमा पछि यी दुवै जना एउटै टोलीमा थिए। आरोहणमा कहलिएको परिवारमा जन्मिएका मौरिस र टेरी सोही विरासत बोकेर आल्प्सको लडाइँमा फ्रान्सको रक्षाका लागि मोर्चामा डटेका थिए।

सन् १९४५ मा युद्धको अन्त्यपछि मौरिस एउटा टायर कम्पनीमा काम गर्न थाले। सैनिक सेवाका लागि सरकारबाट सम्मान पाएका मौरिसको मन भने हिमालमै थियो। फ्रान्स अग्ला हिमालको आरोहणको अनुभवमा काँचो देश थियो। सन् १९३६ मा काराकोरम पर्वतमा गरिएको आरोहणको अनुभव मात्र फ्रान्ससँग थियो। युद्धको खरानीबाट माथि उठ्न पहिलोपटक ८ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने निर्णय फ्रान्सले ग¥यो। टोली नेता छानिए मौरिस हर्जोग। काबिल आरोही लुइस लाचेनल र सहयोद्धा लियोनेल टेरी साथमा थिए। यसरी सुरु भयो– मानव इतिहासको एउटा कालजयी घटनाको यात्रा।

भर्खरै स्वतन्त्र भएको भारतको यात्रा हुँदै नेपाल प्रवेश गर्न टोली सन् १९५० को अप्रिल ४ मा कायरो र कराँची हुँदै नयाँदिल्ली आइपुग्छ। दिल्लीबाट आरोहणका बन्दोबस्तीका सामानसहित रेल नौतनवाका लागि छुट्छ। होचो कदका बलिया शेर्पाहरू फ्रेन्च टोलीसँग त्यहीँ भेट्छन्। १९५० को नेपालको दृश्य अहिलेभन्दा बिलकुल फरक थियो। भारतीय सीमाबाट भैरहवा र बुटवलको घना जंगलको बाटो हुँदै टोली पाल्पाको तानसेन उक्लन्छ। औलोले आक्रान्त तराईका जंगलमा आगो लगाइएको छ। यो दृश्य मौरिसको टोलीका लागि रोमाञ्चक थियो। एक प्रकारको प्रलय (कयामत) जस्तो लाग्ने परिदृश्य थियो त्यो। नेपाल आफ्नै आन्तरिक संघर्षमा थियो।

राणाहरूको जहानियाँ शासनबाट मुक्तिका लागि देशमा आन्दोलन चलिरहेको थियो। तत्कालीन शासकले जीबी राणालाई सम्पर्क अधिकृत तोकेको थियो। १ सय ६० जना भरिया, ८ शेर्पा, ९ जना फ्रेन्च नागरिक र ६ टन बन्दोबस्तीका सामानसहितको लस्कर कुनै अद्भुत बसाइँसराइभन्दा कम थिएन। पेन्टरले क्यानभासमा पोतेको रङजस्तो आकर्षक भूमि, जीवनप्रतिको सामान्य तर सम्पूर्ण दर्शन बोक्ने नेपाली समाज, गोरा मान्छे देख्दा विचित्र पाराले पछि लाग्ने केटाकेटीको ताँती— यी सारा अनुभूति लिएर क्याराभान अघि बढ्यो।

यो अलौकिक भूमिमा एक अद्भुत यात्रा थियो, जसलाई दैवीय यात्राभन्दा पनि फरक पर्दैन। यो टोली कालीगण्डकीको सभ्यतामा समयको यात्रा गरिरहेको थियो। सन् १९३६ मा केही युरोपियन आरोहण टोलीको अनुभव र हिमालसम्बन्धी लेखकहरूको अनुभूतिबाट अभिप्रेरित यो टोलीलाई यस क्षेत्रको सुन्दरताले झनै मोहित बनायो। यात्राका क्रममा नेपाली समाजको सरलता र दैनिक जीवनमा प्रकृतिसँगको सान्निध्य तथा समर्पणले दोस्रो विश्वयुद्धको विनाश भोगेका हर्जोगलाई आफैंमा उद्वेलित बनायो। व्यक्तिगत रूपमा उनका लागि यो जीवनलाई पुनर्परिभाषित गर्ने आरोहणको यात्रा पनि थियो।

९ जना आरोहीका साथ मौरिस २१ अप्रिल १९५० का दिन टुकुचे आइपुग्छन्। आरोहणको इतिहासमा टुकुचेको निकै चाखलाग्दो महत्व छ। खासमा यो टोलीसँग धौलागिरि वा अन्नपूर्णमध्ये कुनै एउटाको मात्र आरोहण गर्ने अनुमति थियो। कालीगण्डकीको पश्चिममा धौलागिरि र पूर्वमा अन्नपूर्ण पर्छ। धौलागिरिको भव्यतालाई मौरिसले त्रासमि िश्रत भावले अनुभव गर्छन्। ‘यो विशाल चुचुरो आरोहणका लागि म आएको हुँ’ भन्ने भावले उनी भावविह्वल हुन्छन्। यो स्थान आरोहण इतिहासको ‘टर्निङ प्वाइन्ट’ रह्यो। प्रार्थनाका ध्वजाहरूको फरफर, निस्फिक्री तर निश्चिन्त देखिएका मान्छेहरू, विशाल हिमालको फेदमा चित्त शान्त पार्ने हिमाली हावा– यो कुनै स्वर्गजस्तो थियो।

टुकुचेको डाँडाबाट अतुल्य धौलागिरि र अन्नपूर्ण हिमालको दर्शनले टोलीमा बालसुलभ रहर मौलाएको छ। आरोहीहरू तीन जनाको टोलीमा बाँडिए। करिब दुई हप्तासम्म धौलागिरि र अन्नपूर्णको आरोहण मार्ग पहिल्याउने प्रयास गरिरहे। मे १४ मा टोली अन्तिम निर्णयका लागि भेला भयो। सबैले सम्भावित मार्गका बारेमा आफ्ना धारणा राखे। अन्तिम निर्णय मौरिसले लिनुपर्ने भयो। बाटोमा भेटिएका लामा गुरुले धौलागिरिको आरोहण नगर्ने सल्लाह दिएका थिए। आरोहणका लागि प्रक्षेपित दिन (जुन ५) नजिकिँदै गएकाले टोलीलाई हतारो थियो। धौलागिरिमा भवितव्य परे उद्धार कठिन हुन सक्ने आकलनसहित टोली नेताको हैसियतमा मौरिसले अन्ततः अन्नपूर्णको आरोहण गर्ने निर्णय गरे। यो एउटा ऐतिहासिक निर्णय थियो।

आरोहणका लागि चारवटा टोली बनाइयो। दोस्रो टोलीमा मौरिस थिए। मे १५ मा मौरिसको टोली निस्कियो। चार दिनसम्म बादल र हिउँसँग संघर्ष गर्दै, शेर्पाहरूले झाडी फाँड्दै र बाटो बनाउँदै मौरिसलगायतको टोली हिमाल आरोहणको इतिहासको स्वर्ण समयको सपना बोकेर अघि बढ्यो। कहिल्यै नहिँडेको मार्ग पक्कै सजिलो थिएन। बाटोमा भेटिएका लामा गुरुको सल्लाह मानेर मौरिस मुक्तिनाथको बाटोतर्फ लागे। अघिल्लो दिन नै मौरिसले टोलीलाई भनेका थिए, ‘हामी अन्नपूर्ण आरोहण गर्ने छौं।’ नेपाल प्रवेश गरेको ६० दिनपछि मौरिसले अन्नपूर्णको सफल आरोहण गरे।

आरोहणपछिको माहोल राजकीय थियो। टोली जुलाई १७ मा मात्र पेरिस पुग्यो। अगस्ट १९ मा ‘पेरिस म्याच’ म्यागेजिनमा मौरिस शिखरमा उभिएको तस्बिर छापियो। उक्त तस्बिर लाचेनलले खिचेका थिए। मौरिस लामो समय पेरिसबाहिर रहेको अमेरिकी अस्पतालमा उपचारका लागि बसे। यही समय उनी आफ्नो किताब ‘अन्नपूर्णः प्रिमियर ८०००’ लेख्नमा व्यस्त रहे। सन् १९५१–५२ मा यस पुस्तकका ५ करोडप्रति बिक्री भए।

आधुनिक विश्वका लागि ८ हजार मिटर अग्लो हिमालको पहिलो सफल आरोहण सिनेमाभन्दा पनि तिलस्मी रहस्यजस्तो लागेको थियो। हर्जोग, लाचेनल र आङ थार्केलाई फ्रान्सले प्रतिष्ठित ‘लेजियन अफ अनर’बाट सम्मानित गर्‍यो। मौरिसले त्यसपछि फेरि कहिल्यै हिमाल चढेन्। तर, उनले कैयौं पुस्तालाई प्रेरित गरिरहे। सगरमाथा आरोहणको चुनौती सम्भव छ भन्ने साहस उनैले ब्रिटिस आरोहण दलमा भरिदिएका थिए।
थपलिया, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक हुन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.