काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह : सपनादेखि सफलतासम्मको यात्रा

काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह : सपनादेखि सफलतासम्मको यात्रा
सुन्नुहोस्

हरेक दीक्षान्त समारोहसँग हजारौं व्यक्तिगत कथाहरू गाँसिएका हुन्छन्। कसैका लागि यो वर्षौंको अथक परिश्रमको प्रतिफल हो भने कसैका लागि अभिभावकको सपना साकार भएको गौरवमय क्षण। कतिपयले आर्थिक अभाव, व्यक्तिगत संघर्ष वा अनेक चुनौती पार गर्दै दीक्षान्तको यो क्षणसम्म आइपुगेका हुन्छन्। अब यहाँहरूमध्ये कोही उच्च अध्ययनतर्फ अघि बढ्नु हुनेछ, कोही पेसागत जीवनमा प्रवेश अनि कोही आफ्नै क्षेत्रमा परिवर्तनका संवाहक हुनु हुनेछ।

यही कारण दीक्षान्त केवल डिग्री ग्रहण गर्ने औपचारिक कार्यक्रममात्र होइन। यो परिश्रम, धैर्य, आशा, विश्वास र सफलताको उत्सव पनि हो। यो ज्ञान, सीप र अनुभवलाई समाजप्रतिको जिम्मेवारीसँग जोड्ने विशेष अवसर हो। यस्ता हजारौं सफलताका कथाको साक्षी बनी काठमाडौं विश्वविद्यालयले तीन दशकभन्दा बढी समयदेखि नेपालको उच्च शिक्षामा आफ्नो अलग पहिचान निर्माण गरेको छ। 

२०४८ सालमा स्थापित काठमाडौं विश्वविद्यालय नेपालको पहिलो स्वायत्त, गैरनाफामूलक तथा आत्मनिर्भर सार्वजनिक विश्वविद्यालय हो। स्थापनाकालदेखि नै यसले शिक्षालाई केवल कक्षाकोठाभित्र सीमित नराखी समाजको आवश्यकतासँग जोड्ने प्रयास गर्दै आएको छ। यही दृष्टिकोण यसको मूलमन्त्र ‘क्याम्पस टु कम्युनिटी’मा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। विश्वविद्यालयमा सिर्जना हुने ज्ञान, सीप र प्रविधिको उद्देश्य समाजका आवश्यकता सम्बोधन गर्नु र मानव कल्याणमा योगदान पुर्‍याउनु हो भन्ने विश्वासले यहाँका नीति, कार्यक्रम र गतिविधिलाई मार्गदर्शन गर्दै आएको छ।

तीन दशकको यात्रा, फराकिलो प्रभाव : आज काठमाडौं विश्वविद्यालयका सातवटा स्कुल तथा आंगिक संस्थानमा २१ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। आठ सयभन्दा बढी शिक्षक तथा कर्मचारीको सक्रिय सहभागितामा विश्वविद्यालयले २३ वटा सम्बन्धन प्राप्त कलेज तथा विस्तारित कार्यक्रममार्फत देशभर आफ्नो शैक्षिक पहुँच विस्तार गरेको छ। हालसम्म ४७ हजार ८ सयभन्दा बढी स्नातक उत्पादन गरिसकेको विश्वविद्यालयका पूर्वविद्यार्थीहरू नेपाल र विश्वका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्।

यसको अर्को उल्लेखनीय विशेषता आर्थिक आत्मनिर्भरता हो। कुल सञ्चालन खर्चमध्ये करिब १० प्रतिशतमात्र सरकारी सहयोगबाट प्राप्त हुन्छ भने करिब ६० प्रतिशत विद्यार्थी शुल्कबाट व्यवस्थापन गरिन्छ। बाँकी ३० प्रतिशत अनुसन्धान अनुदान, उद्योग–शैक्षिक सहकार्य, एन्डोमेन्ट फन्ड तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साझेदारीबाट प्राप्त हुने आम्दानीले पूर्ति गर्दछ। उच्च शिक्षामा आत्मनिर्भर व्यवस्थापन सम्भव छ भन्ने उदाहरण विश्वविद्यालयले व्यवहारमै प्रस्तुत गरेको छ।

जहाँ सिकाइ जीवनसँग जोडिन्छ : विश्वविद्यालयको वास्तविक प्रभाव कार्यक्रमको संख्याले होइन, त्यहाँबाट तयार हुने जनशक्तिले समाजमा पु¥याउने योगदानले मापन हुन्छ। काठमाडौं विश्वविद्यालयमा कला, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, चिकित्सा तथा विज्ञान गरी सात वटा स्कुलअन्तर्गत दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्। यहाँको शिक्षणले विद्यार्थीलाई विषयगत ज्ञानसँगै आलोचनात्मक सोच, नेतृत्व क्षमता, समस्या समाधान गर्ने सीप र व्यावसायिक दक्षता विकास गर्ने अवसर प्रदान गर्छ।

धुलिखेलको प्राकृतिक परिवेशमा रहेको मुख्य परिसर आधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, समृद्ध पुस्तकालय तथा अन्तर विषयगत सिकाइको वातावरणका कारण अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको छ। धुलिखेलसँगै बालकुमारी, हात्तिवन, पाँचखाल र भक्तपुरमा रहेका विश्वविद्यालयका परिसरहरूले विभिन्न क्षेत्रका विद्यार्थीलाई सहज पहुँच उपलब्ध गराएका छन्।

बदलिँदो समयसँगै विकसित शिक्षा : बदलिँदो विश्वसँगै उच्च शिक्षाको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। अहिले विद्यार्थीलाई विषयगत ज्ञान मात्र होइन, व्यावहारिक अनुभव, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय एक्सपोजर पनि उत्तिकै आवश्यक छ। काठमाडौं विश्वविद्यालयले यही अवधारणालाई आफ्नो शिक्षण प्रणालीमा समेटेको छ। व्यावहारिक तथा रोजगारमुखी शिक्षाप्रतिको प्रतिबद्धता विभिन्न कार्यक्रममार्फत देख्न सकिन्छ। उदाहरणका रूपमा ब्याचलर इन मेडिया स्टडिज (बीएमएस) कार्यक्रमले आफ्ना स्नातकहरूको शतप्रतिशत रोजगारी उपलब्धिको तथ्य सार्वजनिक गरेको छ। यसले पाठ्यक्रम, उद्योगसँगको सहकार्य र व्यावहारिक सिकाइबीचको प्रभावकारी सम्बन्धलाई प्रतिबिम्बित गर्छ।

समयको आवश्यकताअनुसार विश्वविद्यालयले नयाँ ज्ञानक्षेत्रलाई पनि समेट्दै गएको छ। विश्वविद्यालयले ‘क्र्याफ्ट एन्ड डिजाइन, फाइन आर्टस् तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता विषयमा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै सिर्जनशीलता, डिजाइन, कला तथा अत्याधुनिक प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको छ। साथै, एकेडेमिया– इन्डस्ट्रीको समन्वयमा सन् २०२६ अगस्टदेखि सञ्चालन हुन लागेको ब्याचलर इन बुद्धिस्ट स्टडिज कार्यक्रमले बौद्ध दर्शन, संस्कृति र भाषाको अध्ययनलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्य राखेको छ। त्यसैगरी, ब्याचलर इन योगिक साइन्स एन्ड वेलबिइङ कार्यक्रमले योग, मानसिक स्वास्थ्य र समग्र जीवनशैलीलाई आधुनिक शिक्षासँग संयोजन गर्दै विद्यार्थीलाई समग्र स्वास्थ्य र कल्याणप्रति वैज्ञानिक दृष्टिकोण प्रदान गर्ने उद्देश्य लिएको छ।

प्रयोगशालाबाट समाजसम्म : काठमाडौं विश्वविद्यालयमा अनुसन्धान शैक्षिक उपलब्धिमा मात्र सीमित छैन। यसको उद्देश्य समाजका वास्तविक चुनौतीहरूको समाधान खोज्नु पनि हो। यसको उल्लेखनीय उदाहरण सन् २०२३ मा स्थापना गरिएको नेपालकै पहिलो ग्रीन हाइड्रोजन रिफ्युलिङ स्टेसन हो। पाँच किलोवाट क्षमताको उक्त स्टेसनबाट दैनिक करिब दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्न सकिन्छ। यसले स्वच्छ ऊर्जा, दिगो यातायात तथा हरित प्रविधिको क्षेत्रमा नेपालको सम्भावनालाई नयाँ दिशा दिएको छ।

यसैगरी, टर्बाइन टेस्टिङ ल्याब, ग्रीन हाइड्रोजन ल्याब, मानसिक स्वास्थ्य अनुसन्धान केन्द्र, हिमालयन क्रायोस्फियर तथा जलवायु अनुसन्धान केन्द्र र राष्ट्रिय प्रविधि नवप्रवर्तन केन्द्र, जीओल्याब टनेल, अक्वाटिक इकोलोजी सेन्टर, काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबसन सेन्टर, कन्फ्युसियस इन्स्टिच्युट इत्यादि संस्थाहरूले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई व्यवहारमा रूपान्तरण गर्ने काम गरिरहेका छन्।

शिक्षा, उद्योग र सरकारबीचको सहकार्य : काठमाडौं विश्वविद्यालयभित्र स्थापित अकाडेमिया इन्टस्ट्री कर्पोरेसन नेपालकै पहिलो संस्थागत संरचना हो, जसले शिक्षा, उद्योग र सरकारबीच सहकार्यलाई संस्थागत रूप दिएको छ। ग्रीड अर्थात् ग्रान्टस, रिसर्च, इन्डस्ट्री र डिस्सिमिनेसन मोडलमार्फत कर्पोरेसनले अनुसन्धान, प्रविधि हस्तान्तरण, इन्टर्नसिप, स्टार्टअप प्रवद्र्धन, उद्योगसँगको साझेदारी तथा रोजगारी सिर्जनाका विविध पहललाई अघि बढाइरहेको छ। यही पहलअन्तर्गत नेपालमै पहिलो पटक केयु इम्प्लोइमेन्ट प्रोमोसन प्रोग्राम सञ्चालनमा ल्याइएको छ। यस कार्यक्रममार्फत उत्कृष्ट स्नातकहरूलाई रोजगारीका अवसर उपलब्ध गराउँदै विश्वविद्यालयबाट पेशागत जीवनमा प्रवेश गर्ने प्रक्रियालाई थप सहज बनाइएको छ।

विश्वसँग सहकार्य, समाजप्रति प्रतिबद्धता : काठमाडौं विश्वविद्यालयको शैक्षिक सञ्जाल आज विश्वका ४१ देशका २ सय ८४ भन्दा बढी संस्थासम्म विस्तार भएको छ। भारतका आईआइटी मद्रास र आईआईटी हाइदरावादसँगको संयुक्त डक्टोरल कार्यक्रम, अस्ट्रेलियाको म्याक्वारी युनिभर्सिटी, नर्वेको एनटिउनयू तथा अमेरिकाको माउन्ट सिनाई हेल्थ सिस्टमसँगको सहकार्यले विश्वविद्यालयको अन्तर्राष्ट्रिय उपस्थिति सुदृढ बनाएको छ। तर विश्वविद्यालयको पहिचान केवल अन्तर्राष्ट्रिय साझेदारीमा सीमित छैन। स्वास्थ्य शिविर, शिक्षक प्रशिक्षण, स्थानीय सरकारसँगको सहकार्य, सामुदायिक विकास कार्यक्रम तथा अन्य सामाजिक पहलहरूले विश्वविद्यालयको ‘क्याम्पस टु कम्युनिटी’ दर्शनलाई व्यवहारमा उतारिरहेका छन्। आदिवासी जनजाति आयोगबाट देशकै पहिलो ‘आदिवासी शिक्षा तथा विकास’ स्नातकोत्तर कार्यक्रम सञ्चालन गरे बापत काठमाडौं विश्वविद्यालयले प्राप्त सम्मान पनि यही प्रतिबद्धताको प्रमाण हो।

३१औं दीक्षान्त समारोह: उपलब्धिको अर्को अध्याय : ३१औं दीक्षान्त समारोहको पहिलो चरण (डिसेम्बर २०२५) मा २ हजर २ सय ९ जना विद्यार्थी दीक्षित भइसकेका छन्। तीमध्ये ५२.२४ प्रतिशत पुरुष र ४७.७६ प्रतिशत महिला रहेका छन्। यस समारोहमा अस्ट्रेलिया, भारत, जापान, अमेरिका, बेलायत, श्रीलंकालगायत १७ देशका १ सय ९६ अन्तर्राष्ट्रिय विद्यार्थीको सहभागिताले विश्वविद्यालयप्रतिको बढ्दो अन्तर्राष्ट्रिय आकर्षणलाई पनि प्रतिबिम्बित गरेको छ। 

दोस्रो चरणको ३१औं दीक्षान्त समारोह आज सन् २०२६ जुलाई ३ मा आयोजना हुँदैछ। यस अवसरमा थप १ हजार ५ सय २७ दीक्षितहरूले आफ्नो व्यावसायिक तथा व्यक्तिगत जीवनको नयाँ अध्याय सुरु गर्नेछन्। तीमध्ये ५२.३९ प्रतिशत पुरुष र ४७.६१ प्रतिशत महिला रहेका छन्। साथै अस्ट्रेलिया, बंगलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य तथा अमेरिका गरी सात देशका १७ जना विदेशी विद्यार्थी दीक्षित हुनेछन्।

समापन : दीक्षान्त कुनै यात्राको अन्त्य होइन, नयाँ जिम्मेवारीको सुरुवात हो। तीन दशकभन्दा बढी समयदेखि काठमाडौं विश्वविद्यालयले यस्तै जिम्मेवार, सक्षम र समाजप्रति उत्तरदायी जनशक्ति तयार गर्दै आएको छ। ३१औं दीक्षान्त समारोहले त्यही परम्परालाई अर्को पुस्तासम्म निरन्तरता दिँदै भविष्यका नयाँ सम्भावनाका ढोका खोलिरहेको छ। ३१औं दीक्षान्त समारोहका सम्पूर्ण दीक्षित विद्यार्थीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना। यहाँहरूले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान, सीप र मूल्यले व्यक्तिगत सफलतासँगै राष्ट्र, समाज र विश्व समुदायको समृद्धिमा पनि अर्थपूर्ण योगदान पुर्‍याओस् भन्ने शुभेच्छा।

लामा, अकाडेमिया इन्डस्ट्री कर्पोरेसनका संयोजक एवं ३१औं दीक्षान्त समारोह (दोस्रो चरण) प्रचारप्रसार समितिका सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.