माननीयको मान, सेलिब्रेटीको साख

अग्रमत

माननीयको मान, सेलिब्रेटीको साख
सुन्नुहोस्

माननीय भन्ने उपाधि मतदाताले दिन्छन् तर त्यसको गरिमा भने प्रत्येक काम र अभिव्यक्तिले जोगाउनुपर्छ।

आजकल हाम्रो समाजमा प्रतिभाभन्दा विवाद छिटो भाइरल हुन्छ। उपलब्धिभन्दा आरोपको हेडलाइन ठूलो हुन्छ। र, योगदानभन्दा स्पष्टीकरणको प्रेस मिट बढी हुन्छ। के यो ठीक हो ? यसको गम्भीर बहस हुनु जरुरी छ।

सेलिब्रेटी हुनु के अब कुनै विशेष काम वा उपलब्धि देखाउन नपर्ने हो र ? एउटा चुनाव जिते सांसद, एउटा गीत हिट भयो गायक, एउटा चलचित्र चले कलाकार, एउटा एक्सक्लुसिभ समाचार आए पत्रकार, भिडियो भाइरल भए कोही रातारात सेलिब्रिटी। केही हदसम्म त्यसरी सेलिब्रेटी होइएला। त्यसको मान चाहिँ सम्बन्धितले कसरी राखेको छ ? प्रसिद्धि कमाएर वा सेलिब्रिटी भएर पनि आफ्नो साख क्षणभरमै सकेको त छैन ? 

पछिल्ला केही प्रवृत्ति केलाउने हो भने सेलिब्रेटी बन्न जति कुदाकुद गरेको देखिन्छ, त्यसलाई कायम राख्न चाहिँ ध्यानै नदिएको समेत पाइन्छ। राजनीतिमा एकजना कहालिएका नेताको प्रकरणले एउटा कटु सत्य देखायो– दशकौंको राजनीतिक यात्राले कमाएको प्रतिष्ठा एउटा विवादले गम्भीर रूपमा प्रभावित हुन सक्छ। पदले सम्मान दिलाउँछ, तर चरित्रले मात्र त्यसलाई टिकाउँछ।

छोटो समयमा सेलिब्रेटी बनेकाहरूमा यो समस्या बढी छ। वर्षौंको लगानी, विशेष क्षमता र मेहनतसाथ सेलिब्रेटी बनेका सम्मानित नामहरू समेत यस्ता विवादमा पर्दा समाज नै दुई धार हुने गरेको प्रस्ट देखिन्छ। खेलकुदमा एक ख्यातिप्राप्त खेलाडी नेपालको क्रिकेटको चम्किलो नाम बने। तर कानुनी विवादका कारण उनको खेलभन्दा अदालत, रनभन्दा बहस र विकेटभन्दा समाचारमा बढी चर्चामा रहे। सेलिब्रेटीको जीवनमा एउटा आरोपले पनि सम्पूर्ण सार्वजनिक छविलाई कसरी प्रभावित गर्न सक्छ भन्ने यो उदाहरण बन्यो।

चलचित्र क्षेत्रमा एकजना लोकप्रिय कलाकारको प्रकरणले पनि समाजलाई विभाजित ग¥यो। कसैले कलाकार देखे, कसैले अभियुक्त। तर एउटा कुरा सबैले देखे— लोकप्रियता र सार्वजनिक उत्तरदायित्व अलग गर्न सकिँदैन।

माननीयको मान : माननीय बन्नु भनेको केवल चुनाव जित्नु होइन, आफ्ना शब्द र व्यवहारहरूलाई पनि जिम्मेवार बनाउनु हो। तर आजकल केही माननीय हेर्दा लाग्छ— 

संसद्को शपथभन्दा फेसबुक लाइभको उत्तेजना ठूलो भएको छ। एकजना नयाँ सांसदको विवादास्पद अभिव्यक्तिहरूले पनि यही प्रश्न उठाएका छन्मा-माननीय पदले व्यक्तिलाई केवल अधिकार दिन्छ कि अभिव्यक्तिमा संयम अपनाउने दायित्व पनि ? कतिपयले संसद् जनताको आवाज उठाउने ठाउँ हो भन्ने बिर्सेर व्यक्तिगत आक्रोश पोख्ने मञ्च ठानेका छन्। शब्दहरू ताली पाउन छरिन्छन्, तर तिनको दुष्प्रभाव समाजले वर्षौंसम्म बोक्नुपर्छ।

  • सामाजिक सञ्जाल आफैंमा समस्या होइन, यसको प्रयोग गर्ने हाम्रो सोच, उद्देश्य र जिम्मेवारीले यसको प्रभाव निर्धारण गर्छ। 
  • सही उद्देश्यका साथ विवेकपूर्ण रूपमा प्रयोग गर्न सके सामाजिक सञ्जाल शिक्षा, सूचना, उद्यम, नवप्रवर्तन, सामाजिक परिवर्तन र आर्थिक समृद्घिको बलियो आधार बन्न सक्छ।

माननीय उपाधि बोकेकाहरूमा समेत सेलिब्रटी हुने भूत सवार भएको पाइन्छ। पदको गरिमा भाषाको स्तरले चिनिन्छ, उत्तेजनाको स्तरले होइन। अभिव्यक्ति जति स्वतन्त्र हुन्छ, त्यसको जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ। संसद्को कुर्सीले मात्र कसैलाई ठूलो बनाउँदैन। त्यस कुर्सीमा बसेर बोलिने शब्द र उठाइने एजेन्डाले मात्र सम्मान पाउने हो। माननीय भन्ने उपाधि मतदाताले दिन्छन्, तर त्यसको गरिमा भने प्रत्येक अभिव्यक्तिले जोगाउनुपर्छ। यदि शब्दहरू नै मर्यादाविहीन भए, ‘माननीय’ केवल नामको अगाडिको विशेषणमात्र बाँकी रहन्छ। केही समय यता मिडिया र सामाजिक सञ्जालमा असरल्ल अभिव्यक्तिहरू हेर्दा कतिपय माननीयलाई आफूले के बोलेको भन्ने पनि किन थाहा नभएको होला भन्न बाध्य तुल्याउँछ।

बोल्ने र भन्ने बेला सोचविचार नगरे पनि पछि पनि तर्कने प्रयास गरेको देखिन्छ। विवादास्पद अभिव्यक्तिबाट सुरुवात भएको विषय ‘मलाई गलत बुझियो, मेरो आशय त्यस्तो थिएन, मेरो फेसबुक ह्याक भएको थियो’ आदि बहानामा उम्किने उपाय खोज्दै अगाडि बढ्छ। कतिपय माफी माग्ने भिडियो धेरै देखिन्छ। नयाँ सिर्जनाभन्दा कानुनी टोलीको परिचय धेरै सुनिन्छ। योगदानभन्दा ‘स्पष्टीकरण’ शब्द बढी चर्चित छ।

कुनै सांसद संसदभन्दा फेसबुकमा सक्रिय छन्। कुनै कलाकार अभिनयभन्दा विवादको स्क्रिप्टमा व्यस्त छन्। कुनै गायक गीतभन्दा स्टाटसका कारण चर्चामा छन्। कुनै पत्रकार समाचारभन्दा आफ्नै अभिव्यक्तिका कारण समाचार बन्छन्। लाग्छ, नेपालमा सेलिब्रिटी व्यवस्थापनका नयाँ विषयहरू पढाउनुपर्छ— ‘विवादपछि कसरी लाइभ आउने ? स्पष्टीकरण लेख्ने १०१ तरिका। चरित्र संकटमा पीआर व्यवस्थापन।’

तर जनताले भने एउटा कुरा बुझेका छन्— भाइरल हुनु र सम्मानित हुनु एउटै कुरा होइन। लोकप्रिय हुनु र विश्वसनीय हुनु फरक कुरा हो। फेसबुकका लाखौं फलोअर्सले पनि गुमेको विश्वास फिर्ता ल्याउन सक्दैनन्। अन्तत:, सेलिब्रिटीको सबैभन्दा ठूलो सम्पत्ति उसको बैंक ब्यालेन्स होइन, जनविश्वास हो। त्यो विश्वास एक दिनमा कमाइँदैन, तर एक क्षणको असावधानीले गुम्न सक्छ। यसैले प्रसिद्धिको शिखरमा पुग्नु गौरव हो, तर त्यहाँ आफ्नो साख जोगाइराख्नु नै वास्तविक सफलता हो। 

सेलिब्रेटीको साखको विषयमा कुरा गर्दा अर्को पक्ष पनि महत्वपूर्ण हुन आउँछ। सहमति र खुसीका साथ भएका संवाद, फोटो, भिडियो वा निजी क्षणहरूलाई सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेल, धम्की, बदनाम वा मानसिक दबाब दिने माध्यम बनाउनु पनि अपराध हो। नेपालको संविधानले प्रत्येक नागरिकको गोपनीयताको अधिकार सुनिश्चित गरेको छ र विद्युतीय माध्यमबाट कसैको निजी सामग्री दुरुपयोग, प्रसारण वा ब्ल्याकमेल गर्नु साइबर अपराध र कानुनअनुसार दण्डनीय कार्य हो। सहमति कमजोरी होइन, विश्वासको अभिव्यक्ति हो। तर त्यसैलाई आधार बनाएर कसैलाई शोषण गर्नु, नियन्त्रणमा राख्ने प्रयास गर्नु, धम्की दिनु वा ब्ल्याकमेल गर्नु अपराध मात्र होइन, मानवताको पनि अपमान हो। 

सम्बन्ध टुट्न सक्छ, भावना बदलिन सक्छ तर कानुन, नैतिकता र मानव मर्यादाप्रतिको जिम्मेवारी कहिल्यै टुट्नु हुँदैन। सामाजिक सञ्जालमार्फत हुने हिंसाबाट जोगिन केवल पीडकलाई ब्लक गर्नु मात्र पर्याप्त समाधान वा समस्याको अन्त्य होइन। त्यो 
केवल सम्पर्क रोक्ने उपाय मात्र हो।

वास्तविक समाधान भनेको प्रमाण सुरक्षित राख्नु, घटनाको रिपोर्ट गर्नु र आवश्यक परे कानुनी उपचार खोज्नु हो। ब्लक गर्नु सुरक्षाको पहिलो कदम हुन सक्छ, तर यदि अपराध भइरहेको छ भने कानुनी प्रक्रिया र प्रमाण सुरक्षित राख्नु नै दीर्घकालीन समाधान हो। तर केही सावधानी भने अपनाउन सकिन्छ। जस्तै– 

  •     व्यक्तिगत जानकारी, फोटो वा लोकेसन अनावश्यक रूपमा सार्वजनिक नगर्ने।
  •     गोपनीयता सेटिङ सुरक्षित राख्ने।
  •     अपमानजनक वा धम्कीपूर्ण सन्देशको स्क्रिनसट र प्रमाण सुरक्षित राख्ने।
  •     पीडाका बारेमा सम्बन्धित निकायमा रिपोर्ट गर्ने।
  •     हिंसा, धम्की, ब्ल्याकमेल वा चरित्रहत्या भएमा परिवार, विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र आवश्यक परे सम्बन्धित निकायमा उजुरी गर्ने।

सामाजिक सञ्जाल आधुनिक युगको एक शक्तिशाली सञ्चार माध्यम हो। यसको सही, जिम्मेवार र नैतिक प्रयोग गर्न सके यसले व्यक्ति, समाज, व्यवसाय र राष्ट्र सबैका लागि सकारात्मक परिवर्तनको माध्यम बन्न सक्छ। सामाजिक सञ्जालमार्फत आफ्ना उत्पादन तथा सेवाको कम लागतमा प्रभावकारी प्रचारप्रसार गर्न, नयाँ ग्राहकसँग जोडिन, व्यवसाय विस्तार गर्न तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न सकिन्छ।

 यसका साथै, आफ्ना विचार, ज्ञान, अनुभव र सिर्जनशीलता विश्वभरका मानिससँग साझा गर्न, सत्य र उपयोगी सूचना छिटो प्रवाह गर्न, शिक्षा, स्वास्थ्य, वातावरण, मानव अधिकार तथा सामाजिक सचेतनासम्बन्धी अभियान सञ्चालन गर्न पनि सामाजिक सञ्जाल अत्यन्त प्रभावकारी माध्यम बनेको छ। विपद्, आपत्कालीन अवस्था वा आवश्यक सूचना तत्काल सम्बन्धित व्यक्तिसम्म पु¥याउन यसको भूमिका झन् महत्वपूर्ण हुन्छ।

सामाजिक सञ्जालले नयाँ सीप सिक्ने, रोजगारी तथा व्यावसायिक अवसर खोज्ने, व्यावसायिक सम्बन्ध विस्तार गर्ने, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन गर्ने, प्रतिभा प्रदर्शन गर्ने र समाजका सकारात्मक कार्यलाई प्रोत्साहन गर्ने अवसर पनि प्रदान गर्छ। आज धेरै व्यक्ति र संस्थाले यही माध्यमबाट आफ्नो पहिचान निर्माण गरेका छन् र विश्वव्यापी पहुँच हासिल गरेका छन्।

 त्यसैले सामाजिक सञ्जाल आफैंमा समस्या होइन, यसको प्रयोग गर्ने हाम्रो सोच, उद्देश्य र जिम्मेवारीले यसको प्रभाव निर्धारण गर्छ। सही उद्देश्यका साथ विवेकपूर्ण रूपमा प्रयोग गर्न सके सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम नभई शिक्षा, सूचना, उद्यम, नवप्रवर्तन, सामाजिक परिवर्तन र आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.